गम्भीर प्रकृतिको तातो हावाको बहावका कारण यस सप्ताह अन्त्य र आगामी साता सम्म दक्षिण पूर्वी अस्ट्रेलियाका धेरै ठुलो क्षेत्र प्रभावित हुने पूर्वानुमान गरिएको छ।
उच्च तापक्रम र कडा हावाका कारण अहिले जलिरहेका डढेलोलाई थप बल पुग्ने साथै नयाँ डढेलो सुरु हुने प्रति अग्नि नियन्त्रकहरूको चिन्ता बढेको छ।
उच्च तापक्रम र तातो हावा दक्षिण - पूर्व तर्फ अगाडी बढी रहँदा न्यु साउथ वेल्स, भिक्टोरिया र दक्षिण अस्ट्रेलियामा यसको लागी तयार हुनु पर्ने बताइएको छ।
क्रिसमसको समयमा तापक्रममा केही गिरावट आउँदा दमकल कर्मीहरूलाई देशका तिन राज्यहरूमा लागेको डढेलोलाई नियन्त्रण गर्न सकिने दायरा सम्म ल्याउन सहयोग पुगेको थियो।

न्यु साउथ वेल्सका स्वयम् सेवी दमकल कर्मीहरूले आगो लाई नियन्त्रणमा ल्याउने प्रयास स्वरूप चाडबाडको समय समेत डढेलो ग्रस्त क्षेत्रहरूमा बिताएका थिए।
तर उच्च तापक्रमको र तातो हावा चलेर स्थिति झन् बिगार्नु पूर्व नै अवस्थालाई नियन्त्रण परिधि भित्र ल्याउन दमकल कर्मीहरू अहोरात्र खटेको न्यु साउथ वेल्स ग्रामीण अग्नि सेवा आयुक्त शेन फिट्ज़सिमनले स्काई न्युज सँगको कुराकानीका क्रममा बताएका छन्।
न्यु साउथ वेल्सको आगो निभाउने कार्यमा सघाउन अस्ट्रेलियाको रक्षा बलका सदस्यहरूलाई पनि खटाइने भन्ने खबरहरू आइरहँदा मौसम बिग्रने चेतावनी पनि जारी गरिएको छ।
सेनाका अधिकारीहरूले व्यवस्थापकीय सहयोगका लागी काम गर्ने छन् साथै सैन्य सामाग्रीहरू, बुल्डोजर, ठुलो मात्रामा पानी बोक्ने साधन लगायतका सामाग्रीहरूको सञ्चालन गर्न सहयोग पुर्याउने बताइएको छ।

आयुक्त शेन फिट्ज़सिमनले यसलाई अत्यन्त राम्रो सुरुवात भन्दै स्वागत गरेका छन्।
दक्षिण पूर्वी तातो हावाका कारण भिक्टोरियाका अधिकारहरूले गर्मी मौसममा स्वास्थ्यका दृष्टिले अपनाउनु पर्ने सावधानीका सम्बन्धमा आधिकारिक चेतावनी नै जारी गरेका छन्।
४० डिग्री सम्म अधिकतम तापक्रम उक्लन सक्ने सो राज्यका अग्नि नियन्त्रकहरूमा विशेष चिन्ता थपेको छ।
भिक्टोरियाको पूर्वी गिप्स्ल्याण्ड क्षेत्रमा बलिरहेको डढेलोलाई यो मौसमी अवस्थाले झन् बल प्रदान गर्ने चिन्ता बढेको हो।
भिक्टोरियाका आपत्कालीन व्यवस्थापन आयुक्त एन्ड्रु क्रिस्पले मानिसहरूलाई त्यस्तो गर्मी मौसममा घरबाट धेरै बाहिर ननिस्कन आग्रह गरेका छन्।

दक्षिण अस्ट्रेलियाका बासिन्दाहरूले पनि अत्याधिक गर्मीको सामना गर्नु पर्ने देखिएको छ। यसले सप्ताह अन्त्यमा पनि निरन्तरता पाउने भएकोले राज्य भर कोड रेड जारी गरिएको छ।
कोड रेड जारी भए पछि घरबार बिहिनहरूले गर्मि बाट राहत पाउन चिसो ठाउँमा लाने र पर्याप्त पिउने पानीको व्यवस्था गर्ने सुनिश्चित गर्दछ।
दक्षिण अस्ट्रेलियाका ग्रामिण अग्नि सेवाका प्रवक्ताले तातो हावाका कारण अहिले जारी डढेलोलाई बल पुग्ने चिन्ता ब्यक्त गरेका छन।
"ग्रामिण अग्नि सेवा (सीएफएस) ले सबैजनालाई डढेलो लागे के गर्ने भन्ने योजनाका साथ् बस्न आह्वान गरेको छ, सबैभन्दा सुरक्षित क्षेत्र भनेको डढेलो लाग्न सक्ने स्थानबाट टाढा जाने हो।"
यही समयमा प्रधान मन्त्री स्कट मोरिसनले एक बक्तब्य जारी गर्दै दमकल कर्मी र डढेलो बाट प्रभावित सबैलाई सहयोग प्रदान गर्ने आफ्नो प्रतिबद्धता फेरी पनि दोहोर्याएका छन्।





