कोरोना
यस हप्ता नेपालमा कोरोना संक्रमित मानिसको संख्या ८००० भन्दा बढी पुगेको छ भने हालसम्म कोरोनाका कारणले मृत्यु हुने मानिसको संख्या २२ पुगेको छ। शनिबार सम्मको तथ्यांकका बारेमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतम भन्छनः
”हाल सम्म संक्रमितहरुको संख्या ८,६०५ पुगेको छ। त्यसमध्ये महिला ७५६ जना र पुरुष ७,८४९ जना हुनुहुन्छ। यसैगरी संक्रमित जिल्लाको संख्या जम्मा ७४ पुगेको छ।”
मन्त्रालयले असार महिनामा संक्रमित मानिसको संख्या ४० हजार सम्म पुग्ने अनुमान गरेको छ र सतर्कता अपनाउन आग्रह गरेको छ।
ती मध्ये ८० प्रतिशत अर्थात् ३२ हजारमा कुनै लक्षण तथा असर नदेखिने भएकाले उनीहरुलाई होम क्वारेन्टाइन वा होम आइसोलेसनमा राख्नुपर्ने र १५ प्रतिशत अर्थात् ६ हजारलाई अस्पताल, आइसोलेसन बेड र ५ प्रतिशत अर्थात् २ हजारलाई सघन उपचार चाहिने प्रक्षेपण गरिएको छ।

लकडाउन खुलेको
गत सोमबार देखि नेपालमा लकडाउन केही खुकुलो बनाइएको छ। नीजि सवारी साधनहरु जोर बिजोर प्रणाली अन्तर्गत चलिरहेका छन् भने सार्वजनिक यातायात चलेका छैनन्।
उद्योग, व्यवसाय, पसल र ब्यांकहरु खुलेका छन् भने रेष्टुरेण्टबाट टेक अवे सर्भिस अन्तर्गत खाना प्याक गरेर लान पाइन्छ।
सबै किसिमका स्वास्थ्य संस्थाहरु खुलेका छन्, र निर्माणका कामहरु जारी छन्। तर विद्यालय भने खुलेका छैनन् र मानिसहरु भेला हुने किसिमका कार्यक्रम अझै पनि गर्न पाइँदैन।
लकडाउन खुकुलो भएसँगै शहरी क्षेत्रमा सवारी र मानिसको चाप बढेको देखिन्छ। र नेपालमा संक्रमण झन बढ्दै जाँदा लकडाउन खुकुलो गरेकोमा यस कदमको आलोचना भइरहेको छ।
अन्तर्राष्ट्रिय उडानहरु
विभिन्न देशमा अलपत्र परेका नेपालीलाई स्वदेश फिर्ता ल्याउने क्रम यो हप्ता पनि जारी छ।
यो हप्ता अफगानिस्तान, बांग्लादेश, ओमान, श्रीलंका, माल्दिभ्स्, कुवेत, कम्बोडिया, सिंगापुर, थाइल्याण्ड, कतार, साउदी अरेबिया, संयुक्त अरब एमिरेट्स लगायतका देशबाट सयौं नेपालीलाई फिर्ता ल्याइएको छ, र कूल नेपाल फर्किने मानिसको संख्या २,८०० भन्दा बढी पुगेको छ।
अझै पनि नेपाल फर्कनका लागि फर्म भरेका हजारौं नेपाली उद्धारको प्रतीक्षामा छन्।
यी उडानहरुको भाडादर साबिक भन्दा निकै चर्को भएको र नेपाल फिर्ता आउन चाहने श्रमिकमाथि अन्याय भएको गुनासोहरु धेरैले गरिरहेका छन्, तर नेपाल सरकारले त्यस बारेमा कुनै समाधान दिएको छैन।
नेपालबाट पनि चार्टर्ड उडानहरुमा केही मानिस बाहिर गइरहेका छन्।
नेपाल सरकारले शिक्षा वा रोजगारीका लागि विदेश जान चाहने मानिसलाई नरोक्ने निर्णय गरेको छ, तर नियमित व्यवसायिक उडानहरु नहुँदा त्यो व्यवहारिक रुपमा सम्भव भने छैन। अस्ट्रेलियाका लागि भने जुन १७ मा हुने भनिएको नेपाल एयरलाईन्सको उडान जुन २२ लाई सारिएको छ।

नागरिकता
यस हप्ता नेपाल सरकारले नागरिकता ऐन २०६३ संशोधन गर्ने निर्णय गरेपछि फेरी पनि यो ऐन विवादमा फँसेको छ।
नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलाले ७ वर्षपछि र नेपाली महिलासँग विवाह गर्ने पुरुषले १५ वर्षपछि मात्रै अंगीकृत नेपाली नागरिकता पाउने विधेयक संसदको राज्य व्यवस्था तथा सुशासन समितिले प्रस्ताव गरेको थियो।
नेपालको हालको नागरिकता सम्बन्धी ऐनमा र संविधानमा समेत नेपाली महिलासँग विवाह गरेका पुरुषलाई नेपाली नागरिकता दिने व्यवस्था छैन भने नेपाली पुरुषसँग विवाह गरेका विदेशी महिलाले भने तत्कालै नागरिकता पाउने व्यवस्था छ।लगत्तै यो विधेयकको थुप्रै पक्षले विरोध गरेका छन्।
केही राजनीतिज्ञले यो राष्ट्रियतासँग जोडिएको विषय हुनाले त्यस्ता पुरुषलाई नागरिकता दिन नहुने बताएका छन् भने महिला अधिकारकर्मीले महिला र पुरुषबीचको असमान व्यवस्थाको विरोध गरेका छन्, र केही विपक्षीले त्यस्ता महिलाले ७ वर्षपछि होइन तत्कालै नागरिकता पाउनु पर्ने अडान राखेका छन्।
शनिबार भएको नेकपा पार्टी कार्यालयको छलफलले विधेयककै प्रावधानलाई सदर गरेपछि विरोध अझ बढेको छ। संसदमा थुप्रै वर्षदेखि विचाराधीन यो विधेयक पटक पटक यसरी विवादमा फँस्दै अएको छ।
रुकुम घटना
रुकुममा नवराज बिकसहित ६ जना युवाहरु मारिएको घटनालाई लिएर फेरी झडप भएको छ।
पोष्टमोर्टेमको रिपोर्टमा जालझेल भयो भन्दै मृतकका आफन्तले अस्पताल तोडफोड गर्नुका साथै शवगृहमा पनि आगजनी गरेका छन्, र प्रहरीले हवाइ फायर पनि गरेको छ। मृतकहरुको शरीरमा चोटपटक देखिए पनि रिपोर्टमा डुबेर मृत्यु भएको लेखिएपछि आफन्तहरु आक्रोशित भएका हुन्।
गत महिना दलित जातीका नवराज बिकले उच्च जातकी एकजना किशोरीलाई विवाह गर्न जाँदा किशोरीका आफन्त र गाउँलेले आक्रमण गरेपछि ६ जना युवाको ज्यान गएको हो।
त्यसपछिका विभिन्न टोलीका अनुसन्धान र पीडित, प्रत्यक्षदर्शी र अरोपितहरुको बयानमा यो घटनामा किशोरीका आफन्त र गाउँलेको सकृय संलग्नता देखिँदै अएको छ। तर अरोपितहरुलाई छुटाउनका लागि राजनीतिक चाल भइरहेको पीडित र अरुको गुनासो छ।

सरकार र प्रधानमन्त्रीको विरोध
यस हप्ता पनि राजनीतिमा असंलग्न युवाहरुले सरकार विरुद्ध शान्तिपुर्ण प्रदर्शन जारी राखेका छन् र शनिबार पनि शहिदगेटमा भुइँमा सुतेर प्रदर्शन गरेका छन्।
प्रधानमन्त्री केपी ओलीले भने वैकल्पिक शिक्षा प्रणाली शुरुवात गर्ने क्रममा युवाहरुलाई सम्बोधन गर्दै कुनै समाधान दिनुको सट्टा सुशासन कायम हुने आश्वासन मात्र दिएपछि त्यसको झनै विरोध भएको छ।
यसका साथै प्रधानमन्त्री ओलीले कोरोनाको उपचार भन्दै बेसारको बारेमा निकै लामो समय संसदमा बोलेका छन्।
“जे को पनि उपचार हो बेसार? भन्ने पनि निस्किए। बेसार उपचार होइन मात्रै होइन कहिले कहिले बेसारले बिखको काम पनि गर्छ। तर एउटा एण्टिबायोटिक तत्व भएको, औषधीय गुण भएको तत्व हो बेसार, भनिएको हो। त्यसको अर्थ कुनै पनि चीजको साइड इफेक्ट हुँदैन अथवा कतिबेर खान हुन्छ कतिबेर खान हुँदैन भन्ने कुरा त हुँदैन। बेसार पनि कोही कोही अवस्थामा खान हुँदैन।“
प्रधानमन्त्री ओलीका पछिल्ला अभिव्यक्तिहरुका बारेमा धेरै कार्टुनहरु बनाइएका छन् र सामाजिक सञ्जालमा समेत थुप्रै मानिसले यसलाई मनोरञ्जनका रुपमा लिएका छन्।
सेवा भट्टराई, काठमाण्डु।




