कोरोनाभाइरसको सङ्क्रमण नेपालमा देखिएको छैन, तर यसको प्रभाव भने धेरै क्षेत्रमा परिरहेको छ। नेपालको अर्थतन्त्रमा यसले कस्तो प्रभाव देखाएको छ?
सबैभन्दा बढी प्रभावित क्षेत्र पर्यटन हो। चीनबाट आउने पर्यटकको हिस्सा २०% जति थियो। होटेलको अकुपेन्सी चाहिँ १०% मा झरिसकेको छ भन्ने तथ्याङ्क बाहिर आएको छ।
उडानहरू रद्द भएको र स्वदेशी उडानहरूमा पनि चाप घटेको कारणले गर्दा यातायात क्षेत्रमा पनि त्यसको थोरै प्रभाव पर्ने देखिन्छ। बढ्दो नाकाबन्दी भएर आयातमा कटौती हुने भयो भने व्यापारको क्षेत्रमा पनि त्यसको केही नकारात्मक असर देखा पर्न सक्छ।
केही सरकारी प्रोजेक्टहरू जहाँ चिनियाँ कामदारले काम गर्थे अथवा चिनियाँ ठेकेदारहरूले बनाइरहेका थिए, त्यसमा केही प्रभाव निर्माण क्षेत्रमा परेको देखिन्छ। त्यसै गरेर रेमिट्यान्समा पनि केही प्रभाव परेको देखिन्छ, धेरै त घटेको छैन।

हामीले केही अनुमान गर्न सक्छौँ, यसले नेपालको अर्थतन्त्रमा कति प्रतिशत कमी ल्याउँछ भनेर?
अहिले नै त्यस्तो आधिकारिक अनुमान बनाउन सम्भव छैन, किनकि हाम्रोमा चाहिँ कोरोनाको त्यति धेरै प्रत्यक्ष असर परेको छैन। भारतमा कति असर पर्छ भन्ने कुराले अलि बढी महत्त्व राख्छ।
कुल गार्हस्थ्य उत्पादनमा १.१% सम्म क्षति हुन सक्छ भनेर एसियाली विकास बैङ्कको अनुमान चाहिँ आएको छ बाहिर।

विप्रेषणको कुरामा, एकातर्फ नेपालले अनुमति दिन बन्द गरिसकेको छ भने अर्कोतर्फ कतारमा २,००० नेपाली क्वारेन्टाइनमा छन् भन्ने खबर आएको छ। बाहिर भएका नेपालीहरू क्वारेन्टाइनमा पर्दै गए भने त रेमिट्यान्स र हाम्रो कुल अर्थतन्त्रमा ठुलो असर पर्ला नि ?
रेमिट्यान्समा चाहिँ केही नकारात्मक असर पर्छ कि भन्ने अनुमान छ। तर त्यसको ठिक उल्टो चाहिँ यदि डलर अझ बलियो हुँदै गयो भने नेपालमा पैसा पठाउँदा बढी पैसा आउँछ। एक्सचेन्ज रेटले विप्रेषण घट्नुलाई धेरथोरै कम्पेन्सेट गर्छ कि भन्ने छ।
तर नेपालको रेमिट्यान्सको ठुलो श्रोत नै खाडी राष्ट्रहरू हो। त्यहाँ सङ्क्रमण बढ्दै गयो भने चाहिँ पक्कै रेमिट्यान्समा नकारात्मक असर पर्छ।
पर्यटन र उड्डयन क्षेत्रबाट नेपालमा विदेशी मुद्रा भित्रिने गरेको छ। यसबाट आउने राजस्व चाहिँ नेपालले कति गुमायो वा कति गुमाउने आकलन छ?
वर्षमा लगभग ९०० अर्व नेपाली रुपैयाँ भित्रिने विप्रेषणबाटै हो। पर्यटनबाट भित्रिने भनेको ७०-८० अर्व मात्रै हो, विप्रेषणको तुलनामा एकदमै कम। निर्यात गरेर पनि हामीले १०० अर्व जति मात्रै कमाउने हो। त्यसैले निर्यात घटेर वा पर्यटनको आम्दानी घटेर हामीलाई धेरै ठुलो क्षति हुँदैन किनकि त्यसको आकार नै एकदम सानो छ हाम्रो आम्दानीमा।
पर्यटकबाट आम्दानी त घट्छ, तर त्यसको ठिक्क उल्टो जुन नेपालीहरू विदेश पढ्न जान्थे, त्यो विदेश पढ्न जाने क्रम रोकिएको छ अहिले ठ्याक्कै। विदेश भ्रमणमा जाने क्रम रोकिन्छ। त्यहाँबाट पनि बचत हुन्छ हामीलाई। हाम्रो जुन डलर विदेश जान्थ्यो त्यो रोकिन्छ।
होटेल रेस्टुरेन्ट बन्द भयो भने तिनीहरू चैँ सङ्कटमा पर्न सक्छन्। त्यहाँबाट चाहिँ हुन सक्छ क्षति।

कुनै कुनै क्षेत्रलाई फरक परे पनि कुल अर्थतन्त्रमा धेरै ठुलो थपघट नहुने जस्तो कुरा भयो?
नेपालको आर्थिक संरचना हेर्ने हो भने सबभन्दा ठुलो योगदान कृषि क्षेत्रको छ। अहिलेको कोरोना सङ्क्रमणले कृषि क्षेत्रलाई त्यति ठुलो असर पर्ने देखिँदैन। पर्ने भनेको मासु उत्पादनमा पर्ला थोरै।
अर्को ठुलो योगदान दिने क्षेत्र भनेको व्यापार हो। एक दुई महिना मात्रै डिस्टर्ब भयो भने वर्षभरिको उत्पादनमा खासै ठुलो असर पार्दैन।
अर्को ठुलो क्षेत्र भनेको शिक्षा, स्वास्थ्य हो। विद्यालयहरूको पढाइ सकिन लाग्यो र कलेजहरूले पनि शुल्क उठाइसके, त्यसैले त्यसमा त्यति फरक पर्दैन।
उता स्वास्थ्य क्षेत्रमा सरकारले थप लगानी गर्नुपर्छ, र थप लगानी गर्ने हो भने त्यो क्षेत्रको उत्पादन झन् बढ्छ।
पर्यटन क्षेत्र र होटेल क्षेत्र घट्छन्, तर त्यसको योगदान २% मात्रै छ कुल उत्पादनमा।

कोरोनाको कारणले आर्थिक मन्दी हुन्छ भन्ने जुन त्रास छ, त्यो नेपालमा लागु हुँदैन?
त्यो त्रास चाहिँ कस्तो देशमा बढी हुन्छ भने अमेरिका जस्तो देशमा स्टक मार्केटमा विदेशीहरूको लगानी एकदमै धेरै हुन्छ। र सानो थपघट हुने बित्तिकै विदेशीहरुले लगानी झिक्छन्। भारतको केस पनि त्यही हो। हामी चाहिँ बाहिरी विश्वसँग त्यति कनेक्टेड छैनौँ।
यी सबै अनुमानहरू तत्कालका लागि गरिएका छन्। दीर्घकालमा चाहिँ के हुन्छ? त्यो हामी भन्न सक्दैनौँ हैन त?
त्यो अनिश्चितता चाहिँ छ किनकि कोरोनाले कति क्षति गर्न सक्छ भन्ने कुरा हामी अहिले भन्न सक्दैनौँ।
जति बाहिरी देशसँग आबद्धता कम छ, त्यति आफू स्वतन्त्र हुने, अथवा जति विश्वव्यापीकरण भयो त्यति आफ्नो अर्थतन्त्रलाई नकारात्मक असर बढ्ने जस्तो देखियो। यसले त एउटा पाठ सिकाए जस्तो छ, अर्थतन्त्र जति लोकल भयो त्यति राम्रो भन्ने। के त्यो सही हो?
अन्तर्राष्ट्रिय सङ्कट आएको बेला चाहिँ त्यो राम्रो हो। तर फेरी कनेक्टेड्नेस कम भयो भने वित्तीय श्रोत साधनहरू फ्लो हुन पाउँदैन। जस्तो अमेरिकामा चाहिनेभन्दा बढी स्रोतसाधन छ तर नेपालमा अपुग छ।
कनेक्टेड्नेस कम हुनु सामान्य अवस्थामा राम्रो होइन, तर यस्तो शक आएको बेलामा चाहिँ त्यसले जोगाउँछ।
केही क्षेत्रलाई चाहिँ कोरोनाले धेरै नै प्रभावित गरेको छ। यसको समाधानको लागि कोरोना नै निर्मूल हुनु पर्ने हो कि अथवा आर्थिक क्षेत्रबाट पर्यटन र होटेल जस्ता क्षेत्रलाई केही गर्न सकिन्छ?
सरकारले अथवा राष्ट्र ब्याङ्कले केही सहुलियत ल्याइदियो भने उनीहरू समस्याबाट जोगिन सक्छन्। जस्तो, उनीहरूले तिर्नु पर्ने कर वा कर्जा केही समय पछाडि सारिदिने। यस्ता सहुलियतहरू अरू देशमा पनि आएको छन्।





