कोरोना
यस हप्ता नेपालमा कोरोना संक्रमित मानिसको संख्या १२,००० भन्दा बढी पुगेको छ भने अब ७७ वटै जिल्लामा कोरोना फैलिएको छ। त्यस्तै, कोरोनाको कारणले हालसम्म २८ जनाको मृत्यु भएको छ।
कोरोनाका बिरामीको संख्या बढेसँगै अस्पताल, क्वारेण्टिन र बिरामीहरुको दुर्दशा अझ बढिरहेको छ।
धनुषाको क्वारेण्टिनमा एकजना १६ वर्षे किशोर राजु सदाको मृत्यु भएपछि देशमा क्वारेण्टिनहरुको अवस्था उजागर भएको छ।
क्वारेण्टिनमा बसेको १० दिनमा मात्रै उनको कोरोना परीक्षण गरिएको थियो र परीक्षण गरेको १४ दिनपछि मात्रै रिपोर्ट आएको थियो। रिपोर्टमा कोरोना नेगेटिभ आए पनि झाडापखालाले उनको मृत्यु भएको थियो । र उनका अन्तिम क्षणहरुको भिडियो सामाजिक सञ्जालहरुमा धेरै फैलिएको छ।
प्रदेश सरकारले उनको परिवारलाई पाँच लाख राहत दिने निर्णय गरेको छ र घटनाको अनुसन्धान गर्नका लागि समिति बनाएको पनि बताएको छ।
मन्त्रालयका प्रवक्ता जागेश्वर गौतम भन्छनः “हालै मात्र भाइरस रिमुभिङ कार्ड पत्ता लागेको र यो घाँटीमा झुण्ड्याएमा कोभिड रोग लाग्दैन भन्ने भ्रम श्रृजना भएको विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ। यस किसिमको कुनै पनि कार्ड हालसम्म पत्ता लागेको छैन।”
पछिल्लो समयमा नेकपाका थुप्रै नेताले कोरोना भगाउने जन्तर भन्दै घाँटीमा एउटा कार्ड झुण्ड्याएपछि यस्तो हल्ला फैलिएको हो।

नागरिकता
संसदको राज्य व्यवस्था तथा सुशासन समितिले नेपाली पुरुषसँग विवाह गरेका विदेशी महिलाले ७ वर्षपछि अंगीकृत नागरिकता पाउने प्रावधान सहितको नागरिकता विधेयक पारित गरेको छ।
र नागरिकता नपाउँदासम्म त्यस्ता महिलालाई आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार सहितको स्थायी आवासपत्र दिइने बताइएको छ।
गृहमन्त्री रामबहादुर थापाले यसरी सरकारको कदमको बचाउ गरेका छन्। “अंगीकृत नागरिकता चाहिँ नागरिकहरुको, व्यक्तिको अस्तित्व, पहिचान र प्रगतिसित भन्दा पनि राष्ट्रको अस्तित्वसित जोडिएको प्रश्न हो। त्यस कारणले पनि यो अति संवेदनशील, अति महत्वपुर्ण, राष्ट्रको सुरक्षासित जोडिएको प्रश्न हो।”
तर यो विधेयकले व्यक्तिको हक अधिकारको हनन गर्छ भन्दै थुप्रैले यसको विरोध गरेका छन् र त्यस्ता महिलालाई सात वर्ष पर्खाउनु संवैधानिक अधिकारको विरुद्ध रहेको विपक्षीहरुको भनाइ छ।
त्यस्तै, महिला र पुरुषका लागि असमान प्रावधान राखेकोमा अधिकारकर्मीहरुले पनि यो विधेयकको विरोध गरेका छन् – विधेयकका अनुसार नेपाली महिलासँग विवाह गरेका पुरुषले नेपाली नागरिकताका लागि १५ वर्ष पर्खिनु पर्ने हुन्छ।
समितिले पारित गरेको यो विधेयकलाई दुवै संसदले पारित गर्न भने बाँकी नै छ।

सीमा विवाद
भारतसँगको जारी सीमा विवादमा समस्या समाधान गर्नका लागि नेपालले पटक पटक ताकेता गर्दा पनि भारतले बेवास्ता गरेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताएका छन्।
नेपाल कम्युनिष्ट पार्टीको स्थायी समिति बैठकमा उनले त्यस्तो बताएका हुन्।
केही महिना अगाडि भारतले लिपुलेक हुँदै मानसरोवर जाने बाटो उद्घाटन गरेको थियो, जुन भूमी नेपालले आफ्नो भनी दावी गर्दै आएको छ। कोरोना संकटको अन्त्यपछि वार्ताबाट त्यसको समाधान गर्ने भारतले आश्वासन दिएपनि समाधान तर्फ भारतले वास्ता नगरेको नेपाली अधिकारीहरुको भनाई छ।
यस हप्ता चीनतर्फ पनि सातवटा जिल्ला अतिक्रमणमा परेका भन्ने एउटा रिपोर्टले थुप्रै सञ्चार माध्यममा प्राथमिकता पाएको थियो।
तर त्यो रिपोर्ट गलत रहेको र चीनसँग कुनै समस्या नभएको परराष्ट्रमन्त्री ज्ञवालीले बताएका छन् भने कान्तिपुर दैनिकले गलत तथ्य प्रस्तुत गरेकोमा माफी मागेको छ।

एमसीसी
अमेरिकी परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन एमसीसी अन्तर्गत नेपालले पाउने ५०० मिलियन डलरको अनुदान कार्यान्वयन गर्ने समय नजीक आइसक्दा यस सम्बन्धी विवाद बढिरहेका छन्।
यो अनुदानबाट नेपालमा जलविद्युत र प्रसारण लाईन बनाउने योजना रहेको छ र यसलाई अनुमोदन नगरेमा अमेरिकासँगको सम्बन्ध नै खलबलिने अर्थमन्त्री युवराज खतिवडाको भनाइ छ।
तर एमसीसी अमेरिकाको इण्डो प्यासिफिक सैन्य रणनीति अन्तर्गत रहेको र त्यसलाई अनुमोदन गरेमा नेपालमा अमेरिकी सेनाको उपस्थिति रहने धेरैको चिन्ता छ।
सम्झौता अनुसार यो सहमति जुन ३० अर्थात यसै मंगलबार देखि कार्यान्वयन गर्नुपर्छ।
प्रधानमन्त्री केपी ओली यसलाई संसदबाट अनुमोदन गराउन लागिपरेका छन्। तर उनकै पार्टीभित्र पनि यसको विरोध भइरहेको छ भने सार्वजनिक स्थलमा पनि एमसीसीको विरोध यो हप्ता चुलिएको छ।

पत्रिकाहरु बन्द हुँदै
कोरोनाका कारणले विभिन्न सञ्चार माध्यम बन्द हुने क्रममा यस हप्ता कान्तिपुर मिडिया ग्रुपका नारी मासिक, र नेपाल र साप्ताहिक पत्रिका बन्द गरिएका छन्।
यस अघि नै नागरिक मिडियाका परिवार र शुक्रबार बन्द भइसकेका छन् भने नेपालका प्रमुख पत्रिकाहरुले आधी वा त्यो भन्दा बढी स्टाफ हटाइसकेका छन्।
सर्वेक्षणहरुका अनुसार हाल सञ्चार माध्यम पढ्ने र सुन्ने मानिसको संख्या निकै बढेको छ, तर विज्ञापनको कमी हुँदा सञ्चार माध्यम सञ्चालन गर्न भने गाह्रो भइरहेको छ।
सञ्चार सम्बन्धी संस्थाहरुले गरेको अनुमान अनुसार यो पत्रकारिता क्षेत्रले व्यहोरेको सबैभन्दा ठुलो संकट हो।
केही समय अघि बन्द गरिएका २० भन्दा बढी साप्ताहिक पत्रिकाले संयुक्त विज्ञप्ती जारी गर्दै सरकारलाई सहयोगका लागि अपील गरेका थिए। तर सञ्चार माध्यमहरुमाथि कडाइ गर्दै अएको सरकारले जानाजान यो समस्यालाई बेवास्ता गर्ने धेरैको अनुमान छ।
मनसुन र धान
नेपालमा मनसुन अगाडि नै लगातार वर्षा भएपछि सामान्यतया मनसुनमा रोपिने धान कृषकहरुले चाँडै रोप्न थालेका छन्।
नेपाल सरकारले असार १५ मा मनाउने गरेको धान दिवस यो वर्ष पनि मनाउने निर्णय गरेको छ, तर अरु वर्षको जस्तो हिलो छ्याप्ने र भीडभाड गर्ने काम भने नगर्न कृषि मन्त्रालयले आग्रह गरेको छ।
अरु वर्षको तुलनामा युवा जनशक्तिको ठुलो संख्या घरैमा रहेकाले यो वर्ष धानको फसल राम्रो हुने अपेक्षा गरिएको छ। धानले नेपालको अर्थतन्त्रमा करीब ८ प्रतिशत योगदान दिने गरेको छ।

सेवा भट्टराई, काठमाण्डु।




