उक्त सङ्ख्यालाई मध्यनजर गर्दै विश्व स्वास्थ्य सङ्गठनले यो भाइरसले विश्व जगतलाई पुर्याएको जोखिमलाई सामान्यबाट बढाएर उच्च बनाएको छ।
कोरोना भाइरस बाट प्रभावित हुने र ज्यानै गुमाउनेहरूको सङ्ख्या दिन प्रतिदिन बढ्दै जाँदा विश्व स्वास्थ्य सङ्गठनले यसको जोखिम विश्वमा नै बढी रहेको घोषणा गरेको हो।
सङ्गठनका प्रवक्ता क्रिस्टियन लिन्टमाएर भन्छन् पछिल्लो रिपोर्टलाई परीक्षण गर्दा चीनमा भाइरसको जोखिम 'अत्यन्त उच्च' रहेको भए पनि विश्व स्वास्थ्य सङ्कटका रूपमा नै घोषणा गर्नलाई चीन बाहिर पनि वृहद रूपमा फैलिएको हुनु पर्दछ।

उनले यो भाइरस कसरी सर्छ, कुन माध्यम बाट सर्छ, यसको कारण बिरामीलाई कडा किसिमको लक्षणहरू मात्र देखिन्छ कि सामान्य लक्षणहरू पनि देखिन्छ भन्ने बारे पूर्णतया बुझ्न जरुरी रहेको उनको भनाइ छ।
"त्यसपछि अन्य राष्ट्रहरू र स्वास्थ्य प्रणालीले पनि यसका लागी राम्रो सँग तयारी गर्न सक्छ, साथै हामीले थाहा पाउँछौँ कि कुन कुन स्थानमा यो भाइरस भित्रने स्थानहरूका रूपमा हेर्न सकिन्छ जस्तै विमानस्थल, बन्दरगाह र रेल स्टेसनहरू।"
प्रोफेसर राइना म्याकीन्टाएर न्यु साउथ वेल्सको किर्बी इन्स्टिच्युटको बायोसेक्युरिटी कि प्रमुख हुन्।
उनी भन्छिन् अपूर्ण तथ्याङ्कका कारण यो भाइरस कत्तिको सङ्क्रमणकारी छ भन्ने अनुमान गर्न कठिनाइ भइराखेको छ।
तर उनका अनुसार यो मिडल इस्ट रेस्पीरेटरी सिन्ड्रम (मर्स) भन्दा बढी फैलने किसिमको देखिएको छ।
"सार्स को सन्दर्भमा यो समयमा हामीले अन्य देशहरूमा पनि महामारीको रूपमा देखि सकेका थियौँ। तर यो भाइरसको सन्दर्भमा हामीले त्यस्तो देखेका छैनौँ। हुन त चीनमा मात्र ठुलो सङ्ख्यामा देखिएको छ तर अन्य देशहरूमा महामारीको रूप लिएको देखिएको छैन।"

मेलबर्नको डोहर्टी इन्स्टिच्युटका वैज्ञानिकहरूले प्रयोगशालामा कोरोना भाइरस नक्कल निर्माण गर्न सफल भएका छन् जुन चीन भन्दा बाहिर गरिएको पहिलो परीक्षण पनि हो।
उक्त भाइरस प्रभावित बिरामीको नमुना रोयल मेलबर्न अस्पतालमा २४ जनवरीमा आइ पुगेपछि त्यसलाई बढाइएको थियो।
र यसलाई विश्वभरका प्रयोगशालाहरूमा पठाउनु पूर्व विश्व स्वास्थ्य सङ्गठनलाई बाँडिने छ।
प्रोफेसर म्याकीन्टाएर यसले अनुसन्धानकर्ताहरूलाई यो भाइरसको लक्षणहरूलाई बुझ्न सहयोग पुर्याउने साथै यसको प्रतिरक्षाका लागी खोपहरू विकास गर्न पनि मद्दत गर्ने बताउँछिन्।
यो पनि पढ्नुहोस्

अस्ट्रेलिया: भेट्टिए कोरोनाभाईरसका बिरामी
अहिले सम्म अस्ट्रेलियामा कोरोना भाइरस भएका पाँच जना देखिएका छन्।
ती मध्ये चार वटा न्यु साउथ वेल्समा देखिएको छ, र राज्य सरकारले अभिभावकहरूलाई आफ्ना बच्चाहरू १४ दिन भित्रमा चीन गएर फर्किएका भए उनीहरूलाई घरभित्रै राख्न भनेको छ।
तर उक्त सुझाव सङ्घीय सरकारको सुझाव सँग बाझिएको छ, किनभने सङ्घीय सरकारले भर्खरै चीन भ्रमण गरेका विद्यार्थीहरूलाई विद्यालय जान नदिने प्रावधान ल्याएको छैन।
शिक्षा मन्त्री ड्यान टीहानले नाइन नेटवर्कसँग कुरा गर्दै अभिभावकहरूले स्वास्थ्य क्षेत्रका विज्ञहरूको सुझावलाई मान्नु पर्ने बताएका छन्।
त्यस्तै सरकारले स्मार्ट ट्राभलर वेबसाइटमा सम्पूर्ण अस्ट्रेलियालीहरूलाई तत्काल चीनको भ्रमण गर्ने योजनालाई पुनर्विचार गर्न सुझाव दिइएको छ।
वुहान र हूबे प्रान्तमा रहेका सयौँ अस्ट्रेलियालीहरूलाई घर फर्कन सहयोग गर्न सङ्घीय सरकारले चिनिया सरकारसँग समन्वय गरिरहेको छ।
तर चीनको प्रभावित क्षेत्रबाट मानिसहरूलाई बाहिर ल्याउने पक्षमा विश्व स्वास्थ्य सङ्गठन प्रमुख नरहेको क्रिस्टियन लिन्टमाएर बताउँछन्।
अहिले सम्म वुहानबाट आफ्ना नागरिकहरूलाई उद्धार गर्न दक्षिण कोरिया र जापानले आफ्नो निजी विमान पठाउने भएका छन् भने युरोपियन कमिसनले पनि युरोपियन युनियन राष्ट्रका नागरिकहरूलाई घर फर्काउन मदत गर्ने बताई सकेको छ।
उता चीनमा भने यो भाइरसको केन्द्रबिन्दु भनिएको वुहान सहरका मेयरले यसका बारेमा समयमा नै जानकारी प्रवाह गर्नु पर्ने थियो भनी स्वीकारेका थिए।

११ मिलियन मानिसहरू रहने उक्त सहरमा सुरक्षा सतर्कता अपनाइएको छ।
सहरका रेल तथा हवाई सेवाहरू रद्द गरिएका छन् भने सार्वजनिक यातायात सेवालाई पनि अस्थायी रूपमा बन्द गरिएको छ र धेरै निजी सवारी साधनहरूलाई पनि सडकमा गुडाउन प्रतिबन्ध लगाइएको छ।
वुहान मेयर जो शीनआनवाङ्ग ले चीनको प्रमुख टेलिभिजन 'सिसिटिभी' सँग कुरा गर्दै विभिन्न कर्मचारीतन्त्र अन्तर्गतका औपचारिकता पुरा गर्नु पर्ने कारणले कोरोना भाइरस बारे जानकारी ढिलो गरी दिइएको स्वीकारेका छन्।
तर यदि यो भाइरस फैलनबाट नियन्त्रण गर्न सहयोग पुग्छ भने आफू र उक्त सहरका कम्युनिस्ट पार्टीका सचिव पनि आफ्नो पदबाट बाहिरिन तयार रहेको बताएका छन्।
"हामी आशा गर्छौँ कि मानिसहरूले बुझ्ने छन् यो सरुवा रोग भएका कारण यसको बारेमा समयमा नै जानकारी दिन सकिएन। जब फैलने रोगहरूको कुरा आउँछ हामीसँग यस्ता रोगहरू रोकथाम र उपचारको लागी छुट्टै कानुन छ, र त्यसमा कानुन सङ्गत मात्र जानकारी प्रवाह गर्न सकिन्छ। र हामी स्थानीय सरकार भएकाले यस्ता जानकारी दिनु पूर्व हामीलाई त्यो अधिकार प्रदान गरिनु पर्दछ।"




