कोरोना
नेपालमा कोरोना सङ्क्रमित मानिसको संख्या भयावह तरीकाले बढ्न थालेको छ। गत हप्ता सकृय सङ्क्रमितको संख्या पाँच हजारको हाराहारीमा थियो भने यस हप्ता बीस हजार पुगेको छ।
सङ्क्रमित हुनेमा पुर्व राजा रानी ज्ञानेन्द्र शाह र कोमल शाह पनि रहेका छन्।
कूल सङ्क्रमितको संख्या ३० लाख पुग्न लागेको छ भने निको हुने मानिसको दर घट्दै ९३% पुगेको छ, जुन कुनै समयमा ९८% थियो। मृतकको संख्याले पनि ३१०० नाघेको छ।
यस्तो अवस्थामा सरकारले फेरी विभिन्न कृयाकलापमा कडाइ गरेको छ।
२५ जना भन्दा बढी भेला हुन नपाइने भएको छ, सभा सम्मलेन वा भोज भतेर गर्नका लागि पार्टी प्यालेसहरुले जिल्ला कार्यालयको स्वीकृति लिनु पर्ने भएको छ, र शहरी क्षेत्रका विद्यालय बन्द गरिएका छन्। कतिपय स्थानीय निकायले स्थानीय तहमा बन्दाबन्दी गरिरहेका छन् भने अस्पतालहरुले क्षमता भन्दा बढी बिरामी आएको गुनासो गरिरहेका छन्।

नेपालमा कोरोनाको खोपको दोस्रो चरण शुरु भएको छ।
पहिलो चरणमा खोप लगाएका स्वास्थ्यकर्मी लगायतका पेशाकर्मीले यो हप्ताको मंगलबार देखि शनिबार सम्म दोस्रो चरणको खोप लगाएका छन्। हालसम्म १९ लाख भन्दा बढी मानिसले खोप लगाइसकेका छन्।
यसै बीचमा शुरु भएको मुसलमान धर्मावलम्बीको एक महिना लामो चाड रमादानमा मानिसहरु सामाजिक दूरी कायम गरेर मस्जिदहरुमा प्रार्थना गरिरहेका छन्। र सरकारी तर्फबाटै सरकारको अपीलको उल्लंघन भइरहेकोमा धेरै आलोचना भएको छ।
रामनवमीको अवसरमा हिन्दु मिथकका पात्र राम, सीता लक्ष्मण र हनुमानको मुर्ती सहितको शोभायात्रालाई मंगलबार काठमाण्डुबाट प्रधानमन्त्री ओली आफैंले बिदाइ गरेपछि उनको आलोचना भएको छ। ती मूर्ती बुधबार चितवनको माडी पुर्याइएका छन्।
संसद
मन्त्रीपरिषदको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशनको अन्त्य गरेपछि त्यसको सर्वर्त्र विरोध भएको छ।
संसदमा छलफल हुनुपर्ने महत्वपुर्ण विषयहरु हुँदाहुँदै अकस्मात अधिवेशन अन्त्य गरेको भन्दै नागरिक समाज र विपक्षी दल नेपाली कांग्रेसले यो कदमको विरोध गरेका हुन्।
माओवादी पार्टीका सभामुख अग्नि सापकोटाले आफुसँग सल्लाह नगरी त्यसो गरेकोमा असन्तुष्टि व्यक्त गरेका छन्।
"संघीय संस्द राष्ट्रिय हितको सवालमा दृढतापुर्वक अघि बढ्न शुरु गर्यो। त्यहीँबाट संघीय संसदमाथि घेराबन्दी हुन थाल्यो। निकै ठुलो घेराबन्दी भइरहेको छ।"

प्रधानमन्त्री केपी ओलीले सरकारको अवधी दुई वर्ष बाँकी हुँदाहुँदै गत डिसेम्बरमा अकस्मात चुनावको घोषणा गरेर संसद विघटन गरेपछि त्यसको विरुद्धमा परेका रिट मुद्दामा फैसला गर्दै सर्वोच्च अदालतले गत फेब्रुअरीमा संसद पुनर्स्थापना गरेको थियो।
संसदको यो अधिवेशनले ओलीको सरकार विरुद्ध अविश्वासको प्रस्ताव ल्याउने र सरकार परिवर्तन गराउने अपेक्षा गरिएको थियो। तर त्यसो हुन नपाउँदै, र एउटा पनि विधेयकमा बसह नगरी अन्त्य गरिएको संसदको यो अधिवेशन विफल मानिएको छ।
फेरी पनि ओलीले अविश्वासको प्रस्ताव तर्काउन त्यसो गरेको आरोप लागिरहेको छ।
एमाले
संसद विघटनको प्रधानमन्त्रीको कदमपछि उनीसँग असन्तुष्ट नेताहरुले छुट्टै बैठकहरु गर्न थालेर विभाजनको संघारमा पुगेको सत्तारुढ दल एमालेमा यो हप्ता विभाजनले औपचारिकता लिन थालेको छ।
एमालेको दसौं महाधिवशेन आयोजक कमिटीले एमालेको नयाँ स्थायी कमिटी गठन गरेका छन्, जसमा माओवादी पार्टीबाट आएका नेताहरूलाई समेटिएको छ, तर प्रधानमन्त्री ओलीको विरोध गरिरहेका एमाले नेताहरु झलनाथ खनाल र माधव नेपाल समूहका नेता छैनन्।
ओलीले नेपाल सहित २७ जना सांसद्लाई स्पष्टीकरण सोधेका छन्, र अधिकांशले त्यो स्पष्टीकरणको लिखित जवाफ बुझाएका छन्। कर्णाली प्रदेशमा त्यसै गरी फ्लोर क्रस गर्ने चार जना सांसदलाई एमाले पार्टीले कारवाही गरिसकेको छ, र त्यस्ता कदमको विरोधमा प्रधानमन्त्री ओलीले चेतावनी दिएका छन।
"पार्टीकै नाउँमा पार्टीभित्रबाट काँहीँ फ्लोर क्रस गर्ने! नेपालको लोकतान्त्रिक आन्दोलन र संसदीय ईतिहासमा यति साह्रो अराजक। यस्तो दृश्य काँहीँ कतै देखिएको छैन। पार्टीभित्र गुट बनाउने! अनि मेरो गुटको यति भाग भन्ने! यस्ता भागबण्डाहरु अब उप्रान्त पार्टीमा चल्दैन! हामीले धेरै अनुभवले देखिसक्यौं!"
छुट्टै पार्टी गठन गरेको निहुँमा नेपाल र खनाल लगायतका नेतालाई पार्टी र संसद पदबाट निश्कासन गर्ने बताइरहेका छन्।
नेपाल र खनालले भने ओलीको यो भनाइको विरोध गरिरहेका छन्, र पार्टीभित्रको विवादलाई सांसद पदसँग जोड्न नमिल्ने भन्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन्।

मौसम र पर्वतारोहण
नेपालमा केही दिन वर्षातपछि बिहीबार देखि मौसम खुलेको छ र अधिकांश ठाउँमा गत हप्ताको वायु प्रदुषणको समस्या घटेको छ। यससँगै पर्वतारोहण क्षेत्रमा चहलपहल बढेको छ।
वसन्त याम अर्थात अप्रिल र मे महिनामा गर्न सकिने सगरमाथा आरोहणका लागि नेपाल सरकारले ३९४ जनालाई अनुमति दिएको छ, जुन हालसम्मकै सर्वाधिक हो।
गत वर्ष कोरोनाका कारणले पर्यटन र पर्वतारोहण गतिविधि बन्द भएपछि यस वर्ष धेरै मानिस उत्साहित भएको अनुमान गरिएको छ।
पर्यटन विधागले शुक्रबारसम्म सगरमाथासहित १६ वटा हिमालका लागि ७९ आरोहण दललाई अनुमति दिइसकेको छ।
विभागले सगरमाथा आरोहणका क्रममा भीड नगर्न भन्दै अनुमतिपत्र लिएको क्रमका आधारमा एकपटकमा १५० देखि १७० जना मात्र चढ्न पाउने नियम बनाएको छ। तर त्यसले गर्दा पछि अनुमति लिने पर्वतारोहीलाई अन्याय हुने भन्दै धेरैले यसको विरोध गरिरहेका छन्।

धरहरा
सन् २०१५ को भूकम्पमा क्षतिग्रस्त बनेको धरहराको पुनर्निर्माण सकिएपछि प्रधानमन्त्री केपी ओलीले यसै हप्ता उद्घाटन गरेका छन्।
सन् १८३२ मा बनेको ११ तले धरहरा त्यतिबेला काठमाण्डुको सबभन्दा अग्लो संरचना थियो। सन् १९३४ को भूकम्पमा पनि भत्किएको धरहरा त्यसपछि ९ तला मात्र बनाइएको थियो।
सन् २०१५ को भूकम्पपछि हाल पुनर्निर्माण गरिएको संरचनामा बाहिरबाट ११ तला देखिएपनि भित्र २२ तला र दुईवटा लिफ्ट पनि रहेका छन्।
काठमाण्डुको मध्यमा व्यस्त व्यापारिक क्षेत्रमा रहेको धरहराको वरीपरी विश्रामस्थल सहितको बगैंचाको पनि बनाउने योजना रहेको छ। शनिबार प्रधानमन्त्री ओलीले धरहरा चढेर माथिबाट पुष्पवृष्टि गरेर उद्घाटन गरेका छन्।




