कोरोना
यस हप्ता नेपालमा कोरोना संक्रमित मानिसको संख्या एकै हप्तामा झण्डै ४ हजार थपिएको छ। कूल संक्रमितको संख्या २६ हजार भन्दा बढी पुगेको छ भने मृत्यु हुने मानिसको संख्या १०० भन्दा बढी पुगेको छ।
काठमाण्डुमा मात्र संक्रमितको संख्या १२०० भन्दा बढी पुगेपछि धेरैतर्फ संत्रास फैलिएको छ।
यस क्रममा स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार भइरहेको भन्दै स्वास्थ्य मन्त्रालयका प्रवक्त्ता जागेश्वर गौतमले त्यस्तो दुर्व्यवहार नगर्न आग्रह गरेका छन्।
"उपचारमा संलग्न चिकित्सक, नर्स तथा अन्य स्वास्थ्यकर्मी पनि संक्रमित भएका छन्। उनीहरुको सेवाको उच्च मूल्यांकन गर्नुको साटो दुर्व्यवहार गरेको समेत घटना सार्वजनिक भएका छन्। यसरी दुर्व्यवहार भएको पाइएमा कानुन बमोजिम कारवाही हुने व्यहोरा समेत जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।"

संक्रमित मानिसको संख्या अचानक बढेपछि परीक्षण स्थलहरुलाई भ्याइ नभ्याइ भएको छ भने अस्पतालहरुमा पनि ठाउँको अभाव बढेको छ।
सरकारले नीजि अस्पतालका पनि २० प्रतिशत बेडहरु कोरोना संक्रमितलाइ खाली राख्ने, र सम्पूर्ण मेडिकल कलेजहरुले पनि एक तिहाइ बेडहरु आइसोलेसनका लागि छुट्याउने सूचना दिएको छ। र भएका बिरामीमा कोरोनाको संक्रमण देखिएमा सोही अस्पतालले व्यवस्थापन गर्नुपर्ने समेत बताएको छ।
आइसोलेसन केन्द्रहरुमा ठाउँ नपुग्न थालेपछि सरकारले बिरामीको लक्षण नदेखिएका कोरोना संक्रमितलाई घरैमा बसेर आइसोलेसनमा रहने निर्देशन दिएको छ।
आवतजावतमा कडाई
कोरोना संक्रमित मानिसको संख्या निकै ने बढेपछि नेपालमा फेरी आवतजावतमा कडाई गरिएको छ। अगस्ट १७ देखि फेरी सञ्चालन हुने भनिएका अन्तर्राष्ट्रिय उडानहरु कम्तीमा अगस्ट अन्त्य सम्म रोकिने भएका छन्।
थुप्रै जिल्ला, नगर र वडाहरुले समेत स्थानीय स्तरमा निषेधाज्ञा जारी गरेका छन्।
काठमाण्डुमा राती राती हिँड्न नपाइने भएको छ भने राजधानी भित्रिने नाकाहरुमा कडाई गरिएपछि नागढुंगाबाट १,००० भन्दा बढी गाडी फर्काइएको बताइएको छ।
काठमाण्डुमा पुर्णतया लकडाउन नगरेपनि धेरै संक्रमित देखिएका क्षेत्रहरु सील गर्ने र कम्तिमा अगस्ट ३१ सम्म कडाई गरिने बताइएको छ।
संक्रमितको संख्या धेरै देखिएपछि धेरै आवतजावत हुने काठमाण्डुको कुलेश्वर क्षेत्र सील गरिएको छ। त्यहाँ ठुलो तरकारी बजार भएपनि बिहान ५ देखि ९ बजेसम्म मात्रै ट्रकहरु चल्न दिइने भएको छ, र अरु क्षेत्रहरुमा पनि दिउँसो पसलहरु बन्द गर्न र अत्यावश्यक काम परेमा मात्रै घरबाट निस्किन निर्देशन दिइएको छ।

शिक्षा
अगस्ट १७ देखि फेरी शुरु गरिने भनिएको शिक्षा क्षेत्र कोरोना संक्रमितको संख्या बढेपछि अन्योलमा परेको छ र त्रिभुवन विश्वविद्यालयले तत्काल परीक्षा भने सञ्चालन नगर्ने भएको छ ।
अगस्ट १७ देखि लामो दूरीका यातायात सञ्चालन भएपछि विद्यार्थी काठमाण्डु आउने र त्यसपछि परीक्षा सञ्चालन गर्ने तयारी गरिएको थियो ।
कोरोना भाइरसको सङ्क्रमण बढदै गएपछि गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भदौ १५ गतेसम्मका लागि लामो दूरीका यातायात चल्न नदिने निर्णय गरेको छ ।
यसका साथै विद्यालय स्तरको पठनपाठन पनि तुरुन्तै परम्परागत रुपले गर्न नसकिने देखिएको छ।
अन्योलमा परेको शैक्षिक सत्रलाई मान्यता दिने प्रयास शिक्षा मन्त्रालयले गरिरहेको छ।शिक्षामन्त्री गिरिराजमणि पोखरेलले पाठ्यक्रम विकास केन्द्रलाई शैक्षिक क्षतिको न्यूनीकरणका उपाय खोज्न निर्देशन दिएका छन्।
निर्देशनअनुसार कार्यसम्पादनमा जुटिसकेको त्रिभुवन विश्वविद्यालय र पाठ्यक्रम विकास केन्द्रले जनाएका छन्।
अगस्ट १७ देखि कक्षाकोठामा उपस्थित भएर पठनपाठन गर्नु सम्भव नभएकाले अरु नै तरिकाहरुबाट पढाउन थाल्नुपर्ने र वैकल्पिक शिक्षा विधि थाल्नुपर्ने विज्ञहरूको सुझाव छ।

बाढीपहिरो
यस हप्ता नेपालमा फेरी पनि भारी वर्षा भएर विभिन्न ठाउँमा बाढी पहिरो गएको छ। सिन्धुपाल्चोकको लिदी गाउँमा भीषण पहिरोले झण्डै ४० घर पुरेको छ भने ३९ जना मानिस पनि पुरिएका छन्।
पहिरो गएपछि गृहमन्त्री रामबहादुर थापा राहत लिएर त्यो स्थानमा पुगेका छन् र त्यो ठाउँ अत्यन्त जोखिममा भएको बताएका छन्।
"जो यहाँ विस्थापित भएका छन्, उनीहरुको लागि खाद्यान्न, लुगा लत्ता र उनीहरुको लागि तत्काल आवासको व्यवस्था गर्ने काममा सरकार लागेको छ। यो वडा, र यो सिंगो क्षेत्र नै जोखिमयुक्त ठाउँमा छ भन्ने हाम्रो पहिलेदेखिको आँकलन थियो। यहाँ अझ ठुलो क्षति हुन सक्थ्यो भन्ने हाम्रो अनुमान छ।"
अत्यन्त जोखिममा रहेको भनेर पहिल्यै पहिचान गरिसकिएको भएतापनि त्यहाँको बस्ती नसारेको भनेर संघीय सरकार र स्थानीय सरकारले एक अर्काको आलोचना गरिरहेका छन्।
गृहमन्त्री थापाले उद्धार सकिएपछि बस्ती स्थानान्तरण गरी पीडितहरुका लागि उपयुक्त स्थानमा वासस्थानको व्यवस्था मिलाउन प्रक्रिया शुरु गरिने आश्वासन दिएका छन्। यसका साथै देशमा विभिन्न स्थानमा बाढी पहिरोले जनधनमा क्षति पुर्याउने क्रम जारी छ।

इनफ इज इनफ
इनफ इज इनफ नाम अन्तर्गत कोरोनाको व्यवस्थापनमा सुधारका लागि आन्दोलन गरिरहेका युवाले अनसन तोडेका छन्।
पीसीआर परीक्षणको संख्या बढाउने, आइसोलेसनहरु व्यवस्थापन गर्ने र मापदण्ड बनाउने, घर फर्किने आप्रवासी श्रमिकहरुको उचित व्यवस्थापन गर्ने, लगायतका मागहरु यो समूहले राखेको थियो।
त्यही क्रममा केही युवाहरुले फेसबुक ग्रुपमार्फत विरोधको कार्यक्रम आह्वान गरेपछि हजारौं युवाहरुले प्रदर्शन समेत गरेका थिए।
पछिल्लो समयमा २३ दिनदेखि तीन जना युवाहरु ईः, समाइरा श्रेष्ठ र करण गुरुङले खाना र पानी समेत नखाइ अनसन बसिरहेका थिए। स्वास्थ्य मन्त्रालयसँग एउटा सहमतिमा हस्ताक्षर गरेपछि स्वास्थ्य मन्त्रालयकै अधिकारिहरुको उपस्थितिमा उनीहरुले अनसन तोडेका हुन्।

नेपाल नक्शा
लिम्पियाधुरासम्म समेटिएको नेपालको राजनीतिक/प्रशासनिक नक्साको अंग्रेजी संस्करण तयार भएको छ ।
नापी विभागले तयार गरेको नक्सा भूमि व्यवस्था मन्त्रालयले शुक्रबार स्वीकृत गरेको छ। अब अंग्रेजी भाषामा तयार भएको नक्सा संयुक्त राष्ट्रसंघसहित अन्तर्राष्ट्रिय समुदायलाई पठाइने मन्त्रालयले जनाएको छ ।
नेपालले आफ्नो भनी दावी गरेका यी क्षेत्रमाथि भारतले पनि दावी गरेको छ। नेपालको सबैभन्दा पश्चिमको जिल्ला दार्चुलासँग जोडिएको त्यो भूभागमा भारतले केही महिना अघि सडक बनाएपछि नेपालले त्यसको विरोध गर्दै आएको छ।
नेपालले नयाँ नक्शा जारी गरेता पनि भारतले त्यसलाई मान्यता दिएको छैन, र कोरोनाको प्रकोपपछि वार्ताबाट यस विषयको समाधान गर्ने बताइरहेको छ।




