कोरोना
नेपालमा यस हप्ता कोरोनाको खोप लगाउने अभियान शुरु गरिएको छ ।
भारतले उपलब्ध गराएको खोप पहिलो चरणमा गत हप्ता १० लाख डोज भित्राईएको छ। पहिलो खोप लगाउनेमा टेकु अस्पतालका डाक्टर सागरराज भण्डारी थिए।
खोप दिने पहिलो चरणमा सरकारले स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सरसफाईमा खटिएका सरकारी कर्मचारीहरुलाई प्रार्थमिकता दिएको छ, र देशका सबै जिल्लामा खोप दिइँदै छ।
हालसम्म ३० हजार भन्दा बढी मानिसलाई खोप लगाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। खोप लगाए पनि स्वास्थ्य सुरक्षाका मापदण्ड भने अपनाइरहनुपर्ने स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठी बताउँछन्।
"आगामी दिनहरुमा पनि हामीले मासक लगाउने, भौतिक दूरी कायम गर्ने र भीडभाडयुक्त स्थानमा नजाने जस्ता उपायहरो पालना गरिरहनुपर्दछ। किनभने खोपहरुले रोग मात्रै नभइ संक्रमण र फ्लावटबाट कति हदसम्म सुरक्षा दिन्छ भन्ने विषयमा हामी अनभिज्ञ छौं।"
यसैगरी, नेपालमा कोरोनाको प्रकोप घट्ने क्रम जारी छ। कोरोना संक्रमित मानिसको कूल संख्या २ लाख ७० हजार भन्दा बढी छ, जसमध्ये सकृय संक्रमत करीब ३,००० मात्र रहेका छन्। र साथै, कोरोना माहामारी फैलिएपछि झण्डै ६ महिनापछि पहिलोपटक यस हप्ता बिहीबार कोरोनाका कारणले मृत्यु हुने मानिसको संख्या शून्य देखिएको छ।

निर्वाचन आयोग
निर्वाचन आयोगले शुक्रबार सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका दुवै पक्षका नेतालाई छलफलको लागि बोलाएको थियो, तर वार्तामा नेकपाको दाहाल–नेपाल पक्ष उपस्थित नभएपछि वार्ता प्रयास असफल भएको छ।
प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा नेकपाका नेताहरु प्रचण्ड र माधव नेपालले उनको नेतृत्व नस्वीकार्ने घोषणा गरेपछि पार्टाका दुई खेमाबीच कुन चाहिँ आधिकारिक हो र कुन चाहिँले नेकपाको नाम र चुनाव चिह्न पाउने भन्ने विषयमा विवाद चलिरहेको छ।
आयोगले यस भन्दा अगाडि दुवै पक्षका प्रमाण पर्याप्त नभएको उल्लेख गरेको छ। आयोगले छलफलका लागि बोलाएपछि दाहाल–नेपाल समूहले निर्वाचन आयोगसँग थप समय मागेको छ।
प्रधानमन्त्रीको विरोध
देशभर नेकपाको केपी शर्मा ओली समुह विरुद्ध विपक्ष दलहरुले विरोध जुलुश प्रदर्शन गरिरहेका छन्।
प्रतिनिधिसभा विघटन विरुद्ध गत हप्तादेखि नै सुरु भएको प्रचण्ड र माधव नेपाल समूहको आमसभामा थुप्रै मानिसको सहभागिता रहेको छ। बुटवल, धनगढि, बिराटनगर लगायत देशका विभिन्न ठाउँमा विशाल आन्दोलन तथा आमसभा भएका छन्।
कार्यक्रमहरुमा नेपाली कांग्रेस, राप्रप्रा र अरु विभिन्न राजनितिक दलहरु समावेश छन्।
यसै क्रममा यस हप्ता राजधानीमा शान्त प्रदर्शनकारी माथि नियन्त्रण गर्ने निहुँमा सुरक्षाकर्मीले पानीको फोहोरा हानेको विषयमा पनि चर्को आलोचना भईरहेको छ।
बृहत नागरिक आन्दोलन अन्तर्गत कवि, लेखक, साहित्यकार, पत्रकार आदिको प्रदर्शनमाथि त्यस्तो बल प्रयोग गरिएको हो, जसबाट थुप्रै जना घाइते भएको भन्दै आन्दोलनले विज्ञप्ती निकालेको छ।
शुक्रबार शहीद दिवसको दिनमा टेकुमा शहीद शुक्रराजलाई फाँसी दिइएको ठाउँमा सुतेर मानिसहरुले विरोध प्रदर्शन गरेका छन्।

प्रधानमन्त्रीले अदालतको अपहेलना
प्रधानमन्त्री केपी शर्मा ओलीले एकजना अग्रज अधिवक्ताका बारेमा अमर्यादित टिप्पणी गरेको विषयमा रिट परेपछि लिखित जवाफ लिएर आफैं उपस्थित हुन प्रधानमन्त्रीका नाममा अदालतले आदेश गरेको छ।
९४ वर्षीय वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी नेपालका जेठा कानुन व्यवसायी हुन्, र उनी प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेको विरुद्धमा संवैधानिक इजलासमा बहस गरिरहेका छन्।
गत हप्ता प्रधानमन्त्री ओलीले भण्डारीको बारेमा यस्तो टिप्पणी गरेका थिएः
"कोही वकीलहरुले कुरा फिटेका फिट्यै छन्। एकजना बाजे वकीललाई पनि लिएर गएछन् त्यहाँ तमासा देखाउन। किन दुःख दिएका हुन् बुढा मान्छेलाई?"
प्रतिनिधिसभाको विघटनका विरुद्धमा परेका एक दर्जन भन्दा बढी रिट निवेदनहरुको एकमुष्ट सुनुवाई संवैधानिक इजलासमा जारी छ।
यसका साथै नागरिकको हैसियतमा प्रधानमन्त्री ओलीको विरोध गरेका चार जना पुर्व प्रधान न्यायाधीशहरुलाई पनि अदालतले त्यस्तै गरी लिखित जवाफ लिएर आफैं उपस्थित हुने आदेश दिएको छ।
दुईवटा छुट्टाछुट्टै मुद्दामा अदालतले त्यस्तो आदेश दिएपछि नागरिकको व्यक्तिगत अभिव्यक्ति स्वतन्त्रतामाथि पनि प्रहार भएको धेरैको डर रहेको छ।

सीमा नाका
कोरोनाको प्रकोपका कारण शुरु भएको बन्दाबन्दीमा बन्द गरिएको सीमा नाकामध्ये ३० वटा नाका यस हप्ता खुला गरिएका छन्।
भारत र चीनसँग जोडिएका ३० वटा नाका खोलिएको गृह मन्त्रालयले जनाएको छ। यसअघि १४ नाका खोलिएकोमा माघ ११ को मन्त्रिपरिषद्ले थप १६ नाका खुलाउने निर्णय लिएको हो। मन्त्रालयका अनुसार भारतका २८ र चीनका दुईवटा नाका खोलिएका छन् ।
मार्च २४ देखि ती नाकाहरु बन्द गरिएका थिए। नाका खुलेसँगै सर्वसाधारणको आवतजावत बढ्न थालेको छ । नाका खुलेपछि नाका क्षेत्रका होटल व्यवसायी, आयात निर्यातकर्ताहरूले पनि सहजता महसुस गरेका छन्।
नेपालले खानेकुरा, अत्यावश्यक वस्तु लगायत थुप्रै कुरा भारतबाट आयात गर्ने हुँदा नाका बन्द हुँदा नेपालको व्यापार व्यवसायलाई निकै फरक परेको थियो।
यी सीमानाकाबाट आवतजावत गर्ने नेपालीहरुले स्वास्थ्यका मापदण्ड अपनाउनु पर्ने छ। पैदल यात्रुका लागि नाका खुलेतापनि सवारी साधनका बारेमा सरकारले ठोस निर्णय नगरेको हुनाले केही अन्योल पैदा भएको छ।
साथै नाका खुलेपछि नेपालमा भारतीय पर्यटक भित्रिन थाल्ने पनि अपेक्षा गरिएको छ र पर्यटन व्यवसायी उत्साहित बनेका छन्।
स्वस्थानी
बिहीबार देखि नेपालमा स्वस्थानी व्रतकथा र माधव नारायण मेला शुरु भएको छ। माघको महिनाभरी हिन्दु धर्मावलम्बीको घरघरमा स्वस्थानी व्रतकथा वाचन गर्ने परम्परा रहेको छ भने भक्तजनहरु साँखुको शाली नदीमा नुहाउन पुग्दछन्।
यस पटक व्रतालुहरूको पीसीआर र निमोनिया परीक्षण रिपोर्ट अनिवार्य गरिएको माधवनारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समितिले जनाएको छ। जम्मा ४९ जना व्रतालुलाई कोरोनाका कारणले एकै घरमा राखिने बताइएको छ।
साथै यस वर्ष माधवनारायण मेला नगरी व्रतमात्र गर्ने गरी तयारी गरिएको छ र साबिक भन्दा कम चहलपहल हुने अपेक्षा गरिएको छ।





