अडियो रिपोर्ट सुन्न माथि रहेको मिडिया प्लेयरमा क्लिक गर्नुहोस्
कोरोना
नेपालमा थप मानिसलाई कोरोना विरुद्धको खोप लगाउनका लागि खोपको मात्रा अपुग हुने देखिएपछि खोप अभियान स्थगित गरिएको छ।हालसम्म नेपालमा १६ लाख भन्दा बढी मानिस अर्थात जनसंख्याको करीब ५ प्रतिशतले खोप लगाएका छन्।
यस बीचमा कतै कतै खोप अपुग भएको छ भने कतै खोपको मात्रा धेरै हुँदा शिक्षकहरुले पनि खोप लगाएका छन्।
अब नेपालसँग भएको मात्राले पहिलो डोज लगाइसकेका मानिसलाई दोस्रो डोज दिन मात्र पुग्ने भएकाले हाललाई नयाँ मानिसलाई खोप नदिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ।
स्वास्थ्य मन्त्रालयले मार्चको ७ तारिख देखि कोरोना विरुद्धको खोप दिन शुरु गरेको थियो, र मंगलबार सम्ममा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार र ६५ वर्ष माथिका मानिसहरुले खोप लगाएका छन्।
यस हप्ता राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्द बहादुर पुनले पनि खोप लगाएका छन्। खोप लगाएपछि भण्डारी भन्छिन्, "म मेरै उमेर समूह पर्खेर बसेको थिएँ। तर मलाई एउटा मित्र राष्ट्रको भ्रमण गर्नुपर्ने भयो, यो टार्नै नसकिने पर्यो। त्यसैले मेरो प्रतिनिधिमण्डलमा सामेल हुने सदस्यहरुलाई अनुमति दियौं भनौं, लगाउनु पर्यो।"

नेपाललले भारतको सिरम इन्स्टिच्युटबाट ५० लाख डोज खोप किन्ने प्रस्ताव गरेको छ। यस बारेमा इन्स्टिच्युट सकारात्मक भएता पनि विश्वमै खोपको माग अत्यधिक भएकाले इन्स्टिच्युटले कहिले खोप उपलब्ध गराउने भन्ने बारेमा स्पष्ट जवाफ नदिएको मन्त्रालयले बताएको छ।
इन्स्टिच्युटबाट अझै १० लाख खोप आउनै बाँकी छ भने चीनले अनुदानमा दिने भनेको ८ लाख खोप पनि नेपालले आफैं ल्याउनु पर्ने भएकाले चीनमै थन्किरहेको बताइएको छ।
यसै गरी, कोरोना रोकथाम र खोप अभियानमा सघाउन विश्व ब्यांकले नेपाललाई ७ करोड ५० लाख अमेरिकी डलर अर्थात झण्डै ९ अर्ब नेपाली रुपैयाँ दिने भएको छ। यो सहयोगले नेपालका एक तिहाई जनसंख्यालाई खोप दिन मिल्ने विश्व ब्यांकको अपेक्षा रहेको छ।
नेपालमा कोरोनाको प्रकोप घट्ने क्रम जारी छ। कूल संक्रमित करीब २७ लाख मध्ये सकृय संक्रमितको संख्या १,००० भन्दा कम छ भने प्रति दिन नयाँ संक्रमित हुने मानिसको संख्या १०० भन्दा कम छ। तर यसैबेलामा छिमेकी मुलुक भारतका विभिन्न राज्यमा संक्रमितको संख्या बढेपछि नेपालमा पनि त्यसको असर पर्ने डर बढिरहेको छ।
प्रतिनिधि सभा
पुनर्स्थापित गरिएपछि बस्न थालेको प्रतिनिधिसभाको बैठकमा शनिबार पहिलो पटक सांसदहरुले सम्बोधन गरेका छन्।
प्रधानमन्त्री केपी ओलीले गरेको प्रतिनिधिसभाको विघटनलाई सर्वोच्च अदालतले बदर गरेपछि गत हप्तादेखि पुनर्स्थापित प्रतिनिधिसभाको बैठक बस्न थालेको हो, तर बैठकमा शोक प्रस्ताव मात्र अघि बढिरहेका थिए।
शनिबार दोस्रो तहका नेताहरुले प्रतिनिधिसभालाई सम्बोधन गर्दै समसामयिक राजनीति र प्रधानमन्त्री केपी ओलीप्रति असन्तुष्टि जनाएका छन्।
तर, संसदमा प्रधानमन्त्रीको दलको बहुमत नरहेको अवस्थामा सरकार कसरी अघि बढाउने भन्ने विषयमा संसदमा कुनै प्रस्ताव वा गतिविधि अघि नबढ्दा राजनीतिक गतिरोधलाई संसदले निकास दिन नसकेको अवस्था छ।

एमाले
यस हप्ता प्रतिनिधिसभाको सबभन्दा ठुलो दल एमाले भित्रको फुट अझ चर्किएको छ। एमाले पार्टीभित्र पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र वरिष्ठ नेताहरु माधव नेपाल र झलनाथ खनालका समूहले छुट्टाछुट्टै गतिविधि गरिरहेका छन्।
प्रधानमन्त्री केपी ओलीले डिसेम्बरमा संसद विघटन गरेपछि नेपाल र खनालले उनको नेतृत्व नस्वीकार्ने बताएका हुन्।
खनाल नेपाल समूहले यस हप्ता काठमाण्डुमा राष्ट्रिय कार्यकर्ता भेलाको आयोजना गरेका छन्। दुवै पक्षले आआफ्ना समूहको सांसदको भेला गरेका छन्।
ओली पक्षले खनाल नेपाल पक्षको भेलालाई अनधीकृत भन्दै कारवाही गर्ने चेतावनी दिएको छ। ओलीको निम्तो खनाल नेपाल पक्षले अस्वीकार गरेपछि ओली भन्छन्, "एक थरी अनुहारका साथीहरु चियापानमा देखिनुभएन। हिजो बेलुका मैले सुनें, बैठक बसेर निर्णय गर्नुभयो रे, पार्टीको चियापानमा नजाने! कसका चियापानमा चाहिँ पाए जानुहुन्छ? पार्टी अध्यक्षको, प्रधानमन्त्रीको निमन्त्रणामा नजाने, कसको निम्ता पाए जानुहुन्छ? हुन त सबैलाई थाहा छ तर नभनुँ।"
यस्तै, ओलीले शनिबार बालुवाटारमा शनिबार एमालेको केन्द्रिय कमिटीको बैठक बोलाएका छन्, र बैठकले पार्टीको हितविपरीत काम गरेको भन्दै माधव नेपाल सहित चार जना नेतालाई स्पष्टिकरण माग्ने निर्णय गरेको छ।

राष्ट्रपति सर्वदलीय बैठक
राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार बोलाएको सर्वदलीय बैठक निश्कर्ष विहीन रुपमा सकिएको छ।
राष्ट्रपति भण्डारीले मार्चको २२ र २३ तारिखमा बंगलादेशको राजकीय भ्रमणमा जाने बारे जानकारी गराउन सर्वदलीय बैठक आव्हान गरेको बताएकी छिन्। तर राजनीतिक उथलपुथल भएको समयमा बोलाइएको यो बैठकलाई राजनीतिक चासोका साथ हेरिएको थियो।
बैठकमा अपेक्षाकृत रुपमा समसामयिक राजनीतिका बारेमा पनि छलफल भएको छ, र प्रधानमन्त्री केपी ओलीले फेरी पनि चुनावको उल्लेख गर्दै देश नयाँ जनादेशमा जानुपर्ने धारणा राखेका थिए। थुप्रै नेताहरुले ओलीको भनाइप्रति आपत्ति जनाएका थिए।
राष्ट्रपति भण्डारीले वर्तमान राजनीतिक परिस्थितिबारे आफू चिन्तित रहेको उल्लेख गर्दै दलहरुसँग मिलेर अघि बढ्न आग्रह गरेकी थिइन्।
प्रधानमन्त्री केपी ओलीको सिफारिसमा डिसेम्बर महिनामा प्रतिनिधिसभा विघटनलाई सदर गरेपछि राष्ट्रपति भण्डारीको व्यापक आलोचना भएको थियो ।
यो बैठकलाई राष्ट्रपतिले आफ्नो छवि सुधार्न गरेको प्रयासका रुपमा हेरिएको छ।

कतार
कतार सरकारले आप्रवासी अदक्ष श्रमिकलाई दिइने न्यूनतम तलब बढाएको छ, जसले कतारमा काम गर्ने तीन लाख भन्दा बढी नेपालीलाई पनि फाइदा पुर्याउने अपेक्षा गरिएको छ।
प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालयले खाना र बस्न बाहेक श्रमिकको न्यूनतम तलब एक हजार रियाल (झण्डै ३० हजार रुपैयाँ) तोकेको छ। र यो न्यूनतम तलब घरेलु कामदारको हकमा समेत लागू हुनेछ।
अब रोजगारदाताले न्यूनतम तलब एक हजार रियाल, खानाबापत ३ सय र आवासबापत ५ सय रियाल दिनुपर्नेछ।
खुशी सूचकांक
संयुक्त राष्ट्रसंघ अन्तर्गतको एउटा निकायले तयार पारेको विश्व खुशीयाली प्रतिवेदन २०२१ मा नेपाल दक्षिण एशियाको सबैभन्दा खुशी मुलुक देखिएको छ।
त्यो सूचीमा नेपाल ८७ औं स्थानमा परेको छ श्रीलङ्का १०९ औं, पाकिस्तान १०५ औं, बङ्गलादेश १०१ औं र भारत १३९ औं स्थानमा परेका छन्।
यस सूचकांकमा विश्वको सबभन्दा खुशी मुलुक फिनल्याण्ड देखिएको छ।
अस्ट्रेलियाको पछिल्लो समाचार, नेपाली भाषामा - सुन्नको लागि यो लिंकमा हेर्नुहोस्: https://podfollow.com/sbs-nepali




