उर्मिला चौधरीसँगको पुरा कुराकानी सुन्न माथिको मिडिया प्लेयरमा रहेको प्ले बटन थिच्नुहोस्
१. हालै ‘लउरियट फ्रिडम फ्रम फियर' अवार्डबाट सम्मानित हुनुभएको छ । पूर्व कमलरीहरुको शिक्षामा जोड दिइरहनुभएको तपाईका लागि यो अवार्डले कत्तिको महत्वपूर्ण छ ?
थारु समुदायमा रहेको कमलरी प्रथा उन्मुलनको लागि विभिन्न चरणका आन्दोलनहरु गरेका थियौ । थारु चेलीहरु प्रथाको नाममा जनावरसरह बेचिन्छन् भन्ने कुरा बुझाउँदा दुःख पाएका थियौं ।
हाम्रो आन्दोलनका कारण सरकारले कमलरीको लागि बजेट जुटाउन बाध्य भएको थियो । कमलरी प्रथा अन्त्यसँगै पूर्व कमलरीहरु शिक्षाबाट बञ्चित हुनुहुन्न भनेर लागि परेको छु । नेपालको लागि यो अवार्ड महत्वपूर्ण छ । त्यसले मलाई थप जिम्मेवार बनाएको छ ।
२.सरकारले २०७० सालमा कमलरी मुक्तिको घोषणा गर्दा देशभरबाट कति संख्यामा कमलरीहरु मुक्त भएका थिए ? मुक्त कमलरी अभियान संञ्चालनदेखि हालसम्मका परिवर्तनहरुलाई कसरी मूल्यांकन गर्नुभएको छ ?
हाम्रो तत्यांकमा अहिलेसम्म १३ हजार कमलरीहरु मुक्त भइसकेका छन् । लुकिछिपी कमलरी राख्ने काम भने अझै रोकिएको छैन । सुरुवाती दिनमा बोल्न डराउने पूर्व कमलरीहरु अहिले आफैं सिपमूलक काम संञ्चालन गरिरहेका छन् ।
केहीले पढाईमा जोड दिएका छन् भने अधिकांश सिप विकास गर्न लागि पर्नुभएको छ ।
विभिन्न ५ जिल्लामा खोलिएका ४२ वटा सहकारीबाट ऋण लिएर मुक्त कमलरीहरु विभिन्न व्यवसायहरु गरिरहेका छन् ।

Urmila Chaudhary after receiving Laureate Freedom from Fear Award 2018 in Netherlands. Source: Supplied
३.पूर्व कमलरीहरु मुक्त हुँदै गर्दा प्रारम्भिक चरणमा कस्ता खालका समस्याहरु आएका थिए ?
यो अभियान र तिब्र गतिको बस उस्तै भएकाले सुरुमा मुक्त हुनको लागि संघर्ष गर्नुपरेको थियो । मुक्त भएपनि जनचेतनाको कमी भएका पूर्व कमलरीका अभिभावकलाई सम्झाउन ग्राहो भएको थियो ।
त्यसक्रममा म विभिन्न खालका धम्की र आक्रमणमा परेको थिए । कमलरी बस्दाको अवधीमा कुमारी आमा बनेका, जलेका अपांग भएका लगायत पूर्व कमलरीहरुको उद्धार गरेर समाजमा पुर्नस्थापित गर्न चुनौतीपूर्ण थियो ।
४. कमलरी प्रथाको सिकार भएर झण्डै ११ वर्ष अर्काको घरमा कमलरी बस्दाको अवधीलाई कसरी सम्झनुहुन्छ ?
नयाँ जुत्ता र लुगा पाइन्छ भन्ने लोभमा ६ वर्षको कलिलो उमेरमा कमलरी बस्न आएको याद छ ।
काठमाडौंको झिलिमिली हेर्न पाइने भयो भनेर खुसी भएको थिएं ।काठमाडौं आएपछि मलाई आफूभन्दा ठूला केटाकेटीलाई हेर्ने जिम्मा दिइयो । उनीहरु झोला बोकेर स्कुल पठाउन र लिन जान्थे ।
पढ्छु भन्दा ‘तँलाई काम गर्न ल्याएको, खुरुक्क काम गर किन पढ्नुपर्यो’ भन्दै हकार्थे ।
विसं २०६३ सालमा कमलरीबाट मुक्त भएर दाङस्थित घर फर्किएं । त्यसपछि पढाईमा जोड दिएं र कमलरी प्रथाविरुद्ध अभियान संञ्चालन गर्न लागिपरें । फलस्वरुप सरकारले विसं २०७० असार १३ मा कमलरी मुक्तिको घोषणा गरेको थियो ।
मुक्त कमलरीहरुको साझा संगठन मुक्त कमलरी विकास मञ्चमार्फत पूर्व कमलरीहरुको निशुल्क शिक्षाका लागि खटिरहेको छु ।
५.अहिले कमलरी प्रथाको अन्त्य भइसक्यो भन्न सकिने स्थिति छ ?
सरकारबाट कमलरी प्रथा उन्मुलन भइसकेको सत्यलाई मान्नुपर्छ । तर, हामीले कमलरी प्रथा उन्मुलन भएको अनुभूति भने गर्न पाएको छैनौं । सरकारले पूर्व कमलरीहरुलाई परिचय पत्र दिने घोषण गरेपनि अधिकांशले पाइसकेका छैनन् ।
सरकारसँग भएको १० बुँदे समझदारी पूर्ण रूपमा कार्यान्वयनमा आउन सकेको छैन । हामीले आफ्नो हक र अधिकारी संधै मागी रहनुपर्ने हो कि भन्ने अनुभव भएको छ ।
६. सन् २०१६ मा तपाईको जीवनीमाथि बनेको ‘उर्मिलाः माइ मेमारी इज माइ पावर’ नामक डकुमेन्ट्री कसरी निर्माण भएको थियो ?
यो डकुमेन्ट्रीको पात्र म भएपनि पूर्व कमलरीको कथा समेटिएको थियो । मेरो जीवनको झण्डै ११ वर्ष मेरा लागि निकै पीडादायी रह्यो । मुक्त भएपछि सम्पूर्ण कमलरी मुक्तिका लागि काम गरेँ ।
यसले कमलरी प्रथाबाट सिकार भएका चेलीको जीवनमा आएको सकारात्मक परिवर्तनको कथा प्रस्तुत गरेको छ । यो डकुमेन्ट्री हेरेपछि धेरैले कमलरी प्रथाबारे बुझेका थिए ।