नेपाली दास प्रथा विरुद्धको निरन्तर लडाई पछि उर्मिला चौधरीलाई अन्तराष्ट्रिय सम्मान

Urmila Chaudhary after receiving Laureate Freedom from Fear Award 2018 in Netherlands.

Urmila Chaudhary after receiving Laureate Freedom from Fear Award 2018 in Netherlands. Source: Supplied

नेपालमा बालिकाहरुलाई दासको रूपमा प्रयोग गरिने कमलारी प्रथालाई सरकार द्वारा पाँच वर्ष अगाडी गैरकानूनी घोषणा गरिएता पनि अझै पनि धेरै बालिकाहरु बेचिने गरेको बताउँछिन् उर्मिला चौधरी | ६ वर्षको उमेरमा आफै पनि कमलारी प्रथाको सिकार भएकी चौधरीले पुर्व कमलारीहरुको हक अधिकारको लागि जारी राखेको लडाई बापत उनलाई एक अन्तराष्ट्रिय पुरस्कार बाट सम्मानित गरिएको छ| 'लउरियट फ्रिडम फ्रम फियर’ नामक उक्त उपाधि पाउनेहरुमा नेल्सन मन्डेला, एन्जिला मार्केल, हुसेन इब्राहिम सलेह, आङ साङ सुकी र मलाला युसफजई पनि रहेका छन् । उर्मिला चौधरीले आफ्नो काम र पुरस्कारबारे एसबिएस नेपालीसँग गरेको कुराकानी|


उर्मिला चौधरीसँगको पुरा कुराकानी सुन्न माथिको मिडिया प्लेयरमा रहेको प्ले बटन थिच्नुहोस्

१. हालै ‘लउरियट फ्रिडम फ्रम फियर' अवार्डबाट सम्मानित हुनुभएको छ । पूर्व कमलरीहरुको शिक्षामा जोड दिइरहनुभएको तपाईका लागि यो अवार्डले कत्तिको महत्वपूर्ण छ ?

थारु समुदायमा रहेको कमलरी प्रथा उन्मुलनको लागि विभिन्न चरणका आन्दोलनहरु गरेका थियौ । थारु चेलीहरु प्रथाको नाममा जनावरसरह बेचिन्छन् भन्ने कुरा बुझाउँदा दुःख पाएका थियौं ।

हाम्रो आन्दोलनका कारण सरकारले कमलरीको लागि बजेट जुटाउन बाध्य भएको थियो । कमलरी प्रथा अन्त्यसँगै पूर्व कमलरीहरु शिक्षाबाट बञ्चित हुनुहुन्न भनेर लागि परेको छु । नेपालको लागि यो अवार्ड महत्वपूर्ण छ । त्यसले मलाई थप जिम्मेवार बनाएको छ ।

२.सरकारले २०७० सालमा कमलरी मुक्तिको घोषणा गर्दा देशभरबाट कति संख्यामा कमलरीहरु मुक्त भएका थिए ? मुक्त कमलरी अभियान संञ्चालनदेखि हालसम्मका परिवर्तनहरुलाई कसरी मूल्यांकन गर्नुभएको छ ?

हाम्रो तत्यांकमा अहिलेसम्म १३ हजार कमलरीहरु मुक्त भइसकेका छन् । लुकिछिपी कमलरी राख्ने काम भने अझै रोकिएको छैन । सुरुवाती दिनमा बोल्न डराउने पूर्व कमलरीहरु अहिले आफैं सिपमूलक काम संञ्चालन गरिरहेका छन् ।

केहीले पढाईमा जोड दिएका छन् भने अधिकांश सिप विकास गर्न लागि पर्नुभएको छ ।

विभिन्न ५ जिल्लामा खोलिएका ४२ वटा सहकारीबाट ऋण लिएर मुक्त कमलरीहरु विभिन्न व्यवसायहरु गरिरहेका छन् ।

Urmila Chaudhary after receiving Laureate Freedom from Fear Award 2018 in Netherlands.
Urmila Chaudhary after receiving Laureate Freedom from Fear Award 2018 in Netherlands. Source: Supplied

३.पूर्व कमलरीहरु मुक्त हुँदै गर्दा प्रारम्भिक चरणमा कस्ता खालका समस्याहरु आएका थिए ?

यो अभियान र तिब्र गतिको बस उस्तै भएकाले सुरुमा मुक्त हुनको लागि संघर्ष गर्नुपरेको थियो । मुक्त भएपनि जनचेतनाको कमी भएका पूर्व कमलरीका अभिभावकलाई सम्झाउन ग्राहो भएको थियो ।

त्यसक्रममा म विभिन्न खालका धम्की र आक्रमणमा परेको थिए । कमलरी बस्दाको अवधीमा कुमारी आमा बनेका, जलेका अपांग भएका लगायत पूर्व कमलरीहरुको उद्धार गरेर समाजमा पुर्नस्थापित गर्न चुनौतीपूर्ण थियो ।

४. कमलरी प्रथाको सिकार भएर झण्डै ११ वर्ष अर्काको घरमा कमलरी बस्दाको अवधीलाई कसरी सम्झनुहुन्छ ?

नयाँ जुत्ता र लुगा पाइन्छ भन्ने लोभमा ६ वर्षको कलिलो उमेरमा कमलरी बस्न आएको याद छ ।

काठमाडौंको झिलिमिली हेर्न पाइने भयो भनेर खुसी भएको थिएं ।काठमाडौं आएपछि मलाई आफूभन्दा ठूला केटाकेटीलाई हेर्ने जिम्मा दिइयो । उनीहरु झोला बोकेर स्कुल पठाउन र लिन जान्थे ।

पढ्छु भन्दा ‘तँलाई काम गर्न ल्याएको, खुरुक्क काम गर किन पढ्नुपर्यो’ भन्दै हकार्थे ।

विसं २०६३ सालमा कमलरीबाट मुक्त भएर दाङस्थित घर फर्किएं । त्यसपछि पढाईमा जोड दिएं र कमलरी प्रथाविरुद्ध अभियान संञ्चालन गर्न लागिपरें । फलस्वरुप सरकारले विसं २०७० असार १३ मा कमलरी मुक्तिको घोषणा गरेको थियो ।

मुक्त कमलरीहरुको साझा संगठन मुक्त कमलरी विकास मञ्चमार्फत पूर्व कमलरीहरुको निशुल्क शिक्षाका लागि खटिरहेको छु । 

५.अहिले कमलरी प्रथाको अन्त्य भइसक्यो भन्न सकिने स्थिति छ ?

सरकारबाट कमलरी प्रथा उन्मुलन भइसकेको सत्यलाई मान्नुपर्छ । तर, हामीले कमलरी प्रथा उन्मुलन भएको अनुभूति भने गर्न पाएको छैनौं । सरकारले पूर्व कमलरीहरुलाई परिचय पत्र दिने घोषण गरेपनि अधिकांशले पाइसकेका छैनन् ।

सरकारसँग भएको १० बुँदे समझदारी पूर्ण रूपमा कार्यान्वयनमा आउन सकेको छैन । हामीले आफ्नो हक र अधिकारी संधै मागी रहनुपर्ने हो कि भन्ने अनुभव भएको छ ।

६. सन् २०१६ मा तपाईको जीवनीमाथि बनेको ‘उर्मिलाः माइ मेमारी इज माइ पावर’ नामक डकुमेन्ट्री कसरी निर्माण भएको थियो ?

यो डकुमेन्ट्रीको पात्र म भएपनि पूर्व कमलरीको कथा समेटिएको थियो । मेरो जीवनको झण्डै ११ वर्ष मेरा लागि निकै पीडादायी रह्यो । मुक्त भएपछि सम्पूर्ण कमलरी मुक्तिका लागि काम गरेँ ।

यसले कमलरी प्रथाबाट सिकार भएका चेलीको जीवनमा आएको सकारात्मक परिवर्तनको कथा प्रस्तुत गरेको छ । यो डकुमेन्ट्री हेरेपछि धेरैले कमलरी प्रथाबारे बुझेका थिए ।


Share

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now