कोरोना
यस हप्ता नेपालमा कोरोना संक्रमित मानिसको संख्या २९१ पुगेको छ जसमध्ये ३६ जना निको भएका छन्। यससँगै कोरोनाको संक्रमण तराइका धेरैजसो जिल्लामा पुगेको छ।
काठमाण्डुमा पनि हालसम्मकै ठुलो संख्यामा अर्थात एक दर्जन भन्दा बढी मानिसमा कोरोना देखिएको छ र चन्द्रागिरी नगरपालिका लगायत कतिपय क्षेत्रहरु सील गरिएका छन्।
टिचिङ अस्पतालमा एकजना ६ वर्षीया बालिकामा कोरोना देखिएपछि अस्पतालको सम्बन्धित वार्ड सील गरिएको छ र उनीसँग सम्पर्कमा आएका २८ जना क्वारेण्टाइन गरिएका छन्।
पछिल्लो हप्ता सरकारले थुप्रैलाई सवारी पासहरु दिएको थियो र हप्ताको शुरुवातमा काठमाण्डुमा ट्राफिक जाम समेत भएको थियो। अहिले आएर सरकारले ती मध्ये कति पास रद्द गरेको छ।
पर्सामा बुधबार दुइजना कोरोना संक्रमित मानिस अस्पतालबाट भागेपछि जिल्ला प्रशासनले त्यसरी भाग्ने मानिसलाई सुरक्षा फौजले गोली हान्न समेत पाइने निर्णय गरेको थियो।
तर धेरै विरोध भएपछि त्यो निर्णय फिर्ता लिइएको छ र भागेका दुइ मानिसलाई प्रहरीले अस्पताल फिर्ता पुर्याएको छ।

कोरोना मृत्यु
नेपालमा पहिलोपटक कोरोना संक्रमित मानिसको मृत्यु भएको छ।
बिहीबार सिन्धुपाल्चोकबाट धुलिखेल अस्पताल ल्याउँदै गर्दा एकजना २९ वर्षीया महिलाको मृत्यु भएको छ, र मृत्युपछि उनको परीक्षणमा कोरोना पोजिटिभ देखिएको हो।
करीब २ हप्ता अघि ती महिलाले काठमाण्डुको टिचिङ अस्पतालमा बच्चा जन्माएर सिन्धुपाल्चोक फर्केकी थिइन्।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटा भन्छन्, "घरमा गइसकेपछि ज्वरो, श्वास प्रश्वासमा समस्या लगायतका शारीरिक समस्या भएपछि वहाँ स्थानीय अस्पतालमा उपचार गराउनुभएको कुरा हामीलाई जानकारीमा आएको छ र वहाँको स्थिति जटिल बन्दै जाँदा वहाँ धुलिखेल अस्पतालमा थप उपचारका लागि आउँदै गर्दा मृत्यु भएको खबर हामीले पाएका छौं"।
मृतक महिलासँग सम्पर्कमा आएका आफन्त र अरु मानिसको पनि परीक्षण गर्नका लागि नमुना संकलन गरिएको छ र उनको उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई क्वारेण्टाइनमा राखिएको छ।
सरकारको नीति कार्यक्रम
राषट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संसदमा आगामी वर्षका लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी छिन्।कार्यक्रममा आगामी वर्ष कृषि क्षेत्र र रोजगार शृजनामा जोड दिइने र स्वास्थ्य क्षेत्रमा व्यापक सुधार गरिने बताइएको छ।
भौतिक निर्माणका योजना पछिल्ला वर्षहरुभन्दा कम देखिएका छन् भने भ्रष्टाचार नियन्त्रण गर्ने, सेवा प्रवाहमा सुधार गर्ने, शान्ति सुरक्षाको सुदृढीकरण गर्ने र सुशासन प्रवर्द्धन गर्नेमा जोड दिइएको छ ।
नेपालले आगामी दुइ वर्षमा आफ्नै स्याटलाइट सञ्चालनमा ल्याउने, सरकारका सबै कारवाही कागज रहित बनाउने, र दुर्गम क्षेत्रमा इन्टर्नेट विस्तार गर्ने जस्ता महत्वाकांक्षी योजना पनि कार्यक्रममा रहेका छन्।
राष्ट्रपतिले कार्यक्रम प्रस्तुत गर्ने बित्तिकै त्यसको आलोचना पनि भएको छ।
कोरोनाको प्रकोपबाट पीडित मानिसलाई राहतको उल्लेख नगरेको, दीर्घकालीन योजनामा केन्द्रित भएर तत्काल आवश्यक कामहरुलाई बेवास्ता गरेको, कोरोनाका कारणले बन्द पठनपाठनको कुनै समाधान नदिएको, र खस्किँदो अर्थतन्त्रलाई सम्बोधन नगरेको प्रतिपक्षका आरोप रहेका छन्।
त्यस्तै सत्तारुढ दल नेकपाका नेताहरुले भने पार्टिभित्र सल्लाह नगरी नीति तथा कार्यक्रम प्रस्तुत गरेकोमा असन्तुष्टि व्यक्त गरेका छन्।

लिपुलेक
भारतीय सेना प्रमुख मनोज नरवानेले लिपुलेकका बारेमा नेपालको अभिव्यक्ति अरु कसैको भनाइ हो भनेपछि लिपुलेकका बारेमा विवाद चर्किएको छ।
नेपालको सबैभन्दा पश्चिमी जिल्ला दार्चुलामा रहेको लिपुलेकमा भारतले सडक बनाएको खबर गत हप्ता बाहिरिएपछि नेपालले भारतलाई आफ्नो भूमीमा कुनै गतिविधि नगर्न आग्रह गरेको थियो।
जवाफमा भारतले त्यो सडक भारतकै भूमीमा रहेको र कोरोनापछि दुइपक्षीय वार्ता गर्ने बताएको थियो।
यस हप्ता सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा समेत राष्ट्रपति विद्यादेवी भण्डारीले त्यसको उल्लेख गरेकी थिइन्। उनले भनिन्, "लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालको भूमी हो र त्यसलाई प्राप्त गर्न ठोस कुटनीतिक पहल गरिनेछ। तदनुरुप यो छुटेको भूमी समेत समावेश गरी नेपालको नक्शा जारी गरिनेछ।"
त्यसपछि भारतीय सेना प्रमुख नरवानेले चीनलाई इंगित गर्दै नेपालले यी भनाइ अरु कसैको प्रोत्साहनमा सार्वजनिक गरेको हो भनेपछि फेरी विवाद चर्किएको छ।
उनको यो भनाइको नेपालमा धेरैले विरोध गरेका छन्, तर सरकारी तवरबाट यसबारेमा कुनै प्रतिकृया दिइएको छैन।

सीमानामा अलपत्र
भारतमा रेल चल्न थालेसँगै नेपाल-भारत सीमानामा अझ धेरै नेपाली आएर बसेका छन् तर नेपालले भने उनीहरुलाई प्रवेश गर्न दिएको छैन।
सीमामा त्यसरी अलपत्र परेका नेपालीको संख्या हजारौं पुगेको छ, र उनीहरुको अवस्था झन् खराब बन्दै गइरहेको छ। कतिपयले खाना र पानी पाउन छोडिसकेको बताएका छन् र नेपाल सरकारसँग उद्धारका लागि अपील गरेका छन्।
नेपालका विभिन्न स्थानीय प्रशासनले बेलाबेलामा भारतमा १५ दिन क्वारेण्टाइन बसिसकेका मानिसहहरुलाई नेपाल ल्याइरहेको छ, र नेपालले त्यसैगरी अड्केका भारतीयलाई पनि फिर्ता पठाएको छ।
सरकारले गत हप्ता संसदमा देशबाहिर रहेका आप्रवासी कामदारलाई सुरक्षित तवरले फर्काउने एउटा सार्वजनिक महत्वको संकल्प प्रस्ताव पारित गरेको थियो, तर त्यसको कार्यान्वयन भने हुन बाँकी छ।
सत्यमोहन जोशी
नेपालका वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी १०१ वर्ष पुगेका छन्।
कला, संस्कृति र लोक गीतको क्षेत्रमा ख्याती कमाएका जोशी तीनपटक मदन पुरस्कार जित्ने एकमात्र व्यक्ति हुन्। उनी १०१ वर्षसम्म पनि कला र साहित्यमा सकृय जीवन बिताइरहेका छन्।
उनी पुस्तकहरु प्रकाशित गरिरहेका छन् र विभिन्न सार्वजनिक कार्यक्रममा आफ्नो ज्ञान बाँड्ने गर्दछन्।
मंगलबार उनले १०१ औं जन्मदिन पाटन स्थित आफ्नो घरमै मनाएका छन्। गत वर्ष उनको जन्मदिनमा ललितपुर नगरपालिकाले बिदा दिएको थियो र वर्षभरीका लागि विभिन्न कार्यक्रमहरु घोषणा गरेको थियो।
यस वर्ष भने लकडाउनका कारण कुनै कार्यक्रम नगरिएको नगरपालिकाले जनाएको छ।
सेवा भट्टराई, काठमाण्डु।




