खोप वितरणको पहिलो चरण सम्पन्न र प्रम ओलीको प्रदर्शन: गत ७ दिन नेपालमा

Nepal PM KP Sharma Oli addressed his supporters in front of the former royal palace in Kathmandu

Nepal PM KP Sharma Oli addressed his supporters in front of the former royal palace in Kathmandu Source: RSS

कोरोना भाइरस विरुद्धको खोप दिने कार्यक्रमको पहिलो चरण शनिबार सकिएको र भूतपुर्व राजपरिवार बस्ने नारायणहिटी दरबार अगाडि प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको सम्बोधन लगायत गत ७ दिनका प्रमुख नेपाल समाचार यहाँ सुन्नुहोस्।


कोरोना

नेपालमा कोरोना भाइरस विरुद्धको खोप दिने कार्यक्रमको पहिलो चरण शनिबार सकिएको छ।

पहिलो चरणमा डेढ लाख भन्दा बढी मानिसलाई खोप दिइएको छ, जसमा स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, महिला स्वास्थ्य स्वयंसेविका, सरसफाइ कर्मी लगायत अग्रपंक्तिमा खटिएका मानिस परेका छन्।

अर्को चरणमा ६० वर्ष काटेका ज्येष्ठ नागरिक र दीर्घ रोग भएका मानिसलाई खोप दिइने स्वास्थ्य मन्त्रालयले बताएको छ।

हाल नेपालमा सकृय संक्रमितको संख्या करीब २,००० मात्र रहेको छ भने दैनिक पुष्टि हुने संक्रमितको संख्या २०० को हाराहारीमा छ। कोरोनाको नयाँ संक्रमण घट्ने क्रम देखिएपछि विद्यालय लगायत थुप्रै क्षेत्रहरु सामान्य अवस्था तर्फ फर्किँदै छन्।

A Nepal's Armed Police Force doctor wearing a mask receives an Oxford-AstraZeneca vaccine dose against the Coronavirus (COVID-19) at the Armed Police Force Hospital.
A Nepal's Armed Police Force doctor wearing a mask receives an Oxford-AstraZeneca vaccine dose against the Coronavirus (COVID-19) Source: Sipa USA Prabin Ranabhat / SOPA Images/Si

संवैधानिक नियुक्ती

प्रधानमन्त्री केपी शर्मा ओलीले अचानक विभिन्न संवैधानिक निकायहरुमा प्रमुख सहित ३० भन्दा बढी पदाधिकारी जनाको नियुक्ती गरेपछि सभामुख अग्नि सापकोटाले त्यस विरुद्ध रिट नवेदन दर्ता गरेको छ र त्यसको विरोधमा नेकपाको प्रचण्ड-नेपाल समूहले हड्ताल गरेको छ।

महिला आयोग, थारु आयोग लगायत विभिन्न आयोग थुप्रै वर्षदेखि प्रमुख आयुक्त विहीन रहेका थिए। यसै क्रममा डिसेम्बर १५ मा प्रधानमन्त्री केपी ओलीले संवैधानिक परिषदको बैठक बोलाएका थिए, जसले सुनुवाई गरेपछि मात्रै ती आयोगमा नियुक्ति गर्ने नियम रहेको छ।

परिषदमा संघीय संसदका सभामुख अग्नि सापकोटा अनुपस्थित भएपछि त्यसै दिन प्रधानमन्त्रीले अध्यक्षसहित बहुमत सदस्य उपस्थित भए संवैधानिक परिषद्को बैठक बस्न सक्ने गरी अध्यादेश ल्याएका थिए। त्यो अध्यादेशको विरोध भइरहँदा ओलीले त्यसकै आधारमा अचानक संवैधानिक निकायहरुमा नियुक्ति गरेका हुन्।

नियुक्तीलाई असंवैधानिक भन्दै नियुक्त गरिएका पदाधिकारी र राष्ट्रपति समेतलाई विपक्षी बनाएर सभामुख अग्नि सापकोटाले रिट दर्ता गरेपछि यस्तो भनेका थिए, "राज्य सञ्चालनका विधि, पद्धती र प्रकृया मिच्दै संविधानको ठाडो उल्लंघन भएको छ। यसले कानुनी शासन र संवैधानिक विकासमा ठुलो अवरोध सिर्जना गरेको छ।"

बुधबार प्रधानमन्त्रीले त्यस्तो विवादित नियुक्ति गरे लगत्तै नेकपाको प्रचण्ड-माधव नेपाल समूहले देशव्यापी हड्तालको आह्वान गरेको थियो।

प्रधानमन्त्रीको कदमको धेरैले विरोध गरिरहँदा हड्तालको पनि चर्को विरोध भएको छ। हड्तालको क्रममा थुप्रै ट्याक्सीमा आगजनी गरिएको थियो, र धेरै मानिसको व्यापार व्यवसाय र दैनिकामा अवरोध पुगेको थियो।

नेपालमा लामो समयदेखि रोकिएको नेपाल बन्द र हड्तालको सिलसिला फेरी शुरु भएकोमा थुप्रै मानिसले आक्रोश पोखिरहेका छन्। हड्तालका क्रममा प्रमुख नेताहरु भने गाडीमा हिँडिरहेका तस्वीरले मानिस अझ आक्रोशित बनेका छन।

PM KP Sharma oli appoints new government officials in Nepal
PM KP Sharma oli appoints new government officials in Nepal Source: RSS

प्रम ओलीको प्रदर्शन

प्रधानमन्त्री केपी ओलीले शुक्रबार नारायणहिटी दरबारबाट मानिसलाई सम्बोधन गरेकोमा चर्को आलोचना भएको छ।

भूतपुर्व राजपरिवार बस्ने नारायणहिटी दरबार अगाडि ओलीले भव्य मञ्चको निर्माण गराएका थिए, दरबारमार्गको सडकबाट अवरोधहरु हटाई सडक खाली गराएका थिए, सडकका ल्याम्प पोष्टहरुमा आफ्नो तस्वीर टाँस्न लगाएका थिए, र थुप्रै बेरसम्म वरीपरीका क्षेत्रमा सार्वजनिक यातायात निषेध गरिएको थियो।

आफ्नो पार्टीगत कार्यक्रमका लागि सडक कब्जा गरेको, सर्वसाधारणलाई अप्ठ्यारोमा पारेको र नारायणहिटीबाट राजतन्त्रको झझल्को दिने गरी तानाशाही शैलीमा प्रस्तुत भएको भन्दै उनको चर्को आलोचना भइरहेको छ। तर ओली भने त्यो कार्यक्रमलाई यसरी व्याख्या गर्छन्।

"यो कास्टिङ मात्रै हो। हामीले आमसभा गर्नपर्छ भने काठमाण्डुका सबै सडकमा स्क्रीन राखेर, साउण्ड सिस्टम राखेर काठमाण्डु भरीको आमसभा गर्न पर्ने अवस्था आउन सक्छ। म हाम्रा आलोचक मित्रहरुलाई मन थामेर बस्न आग्रह गर्न चाहन्छु।"

सम्बोधन गर्ने क्रममा ओलीले आफ्नै चुनावी नारा दोहोर्याएका छन्।

ओलीले गत महिना संघीय संसद विघटन गरेर बैशाखमा चुनावको घोषणा गरेका छन्, तर उनको त्यो निर्णय असंवैधानिक छ भन्दै त्यस विरुद्ध थुप्रै रिट परेका छन्। अदालतमा मुद्दा विचाराधीन हुँदाहुँदै ओलीको त्यो भनाइको धेरैले विरोध गरेका छन्।

Supporters of Nepal's PM KP Sharma Oli during a rally in Kathmandu,
Supporters of Nepal's PM KP Sharma Oli during a rally in Kathmandu, Source: RSS

संक्रमणकालीन न्याय निकाय

संक्रमणकालीन न्यायका मुद्दाहरु हेर्नमा लागि गठित सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोगको म्याद राष्ट्रपति विद्यादेवी भण्डारीले थप गरेकी छिन्।

भण्डारीले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोगको तेस्रो संशोधनको अध्यादेश शुक्रबार जारी गरेकी हुन् ।

नेपालमा सन् २००६ मा सशस्त्र माओवादी द्वन्द्वको अन्त्य भएपछि यी मुद्दाको किनारा लगाउने प्रयास भइरहेको हो।

दुई आयोगमा गरेर ६० हजार भन्दा बढी मुद्दा दर्ता गरिएका छन, तर हालसम्म कुनै पनि मुद्दा टुंगो लागेको छैन। यसपटक राष्ट्रपतिले ६ महिनाका लागि दुई आयोगको म्याद थप गरेकी हुन्।

बर्ड फ्लु

नेपालमा लामो समयपछि बर्ड फ्लुको संक्रमण पुष्टि भएपछि सरकारले नेपालमा कुखुराजन्य वस्तुको आयातमा प्रतिबन्ध लगाएको छ।

काठमाण्डुको तारकेश्वरमा पालिएका हाँस र टर्कीमा बर्ड फ्लु देखिएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ। तीन हप्ता अगाडि भारतमा देखिएको बर्ड फ्लु नेपालमा पनि देखिन थालेको स्वास्थ्य मन्त्रालयले विज्ञप्ती मार्फत् जनाएको छ।

भारतबाट रोग सार्न सक्ने सबै वस्तुको आयातमा रोक लगाइएको बताइएपनि नेपालमा भारतबाटै आएका वस्तुबाट संक्रमण भएको आशंका विज्ञहरुको छ।

संक्रमण देखिएको ठाउँमा पशु विभागले सयौं हाँस, बट्टाई, कुखुरा, टर्की, अण्डा र ७५ किलो दाना नष्ट गरेको छ। अन्यत्र संक्रमण नफैलियोस भन्नका लागि रोग सार्नसक्ने अरु सामग्री पनि नष्ट गरिएको विभागले जनाएको छ।

लामो खडेरी पछि वर्षा

नेपालमा लामो खडेरी पछि बिहीबार यता वर्षा र हिमपात भएको छ। सामान्यतया जाडो महिनामा डिसेम्बर या जनवरी महिनामा वर्षा र हिमपात हुने गर्थ्यो भने यस वर्ष थुप्रै ठाउँमा जाडो याममा पाहिलपटक त्यस्तो भएको हो।

हिमाली क्षेत्रमा हिउँले जनजीवन कष्टकर बनेको छ भने किसान हिउँदे बाली सप्रिने भन्दे खुशी भएका छन्। हिमपातले मनाङ जिल्लाका जंगलमा केही हप्तादेखि लागेको डढेलो पनि साम्य पारेको छ।

Snowfall Khalanga, Nepal
Snowfall Khalanga, Nepal Source: RSS

Share

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now