Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

अमेरिका: आफै जहाज बनाई उडाउने नेपाली

Pramod Regmi

Taking Control: Pramod Regmi flying in the American sky. Source: Supplied

धेरै परिवारहरु सप्ताहन्तमा लामो दूरीको “ड्राईभ” गर्लान्, तर प्रमोद रेग्मी भने आफैले बनाएको जहाजमा “फ्लाई” गर्छन्।


Published

Updated

By Sameer Ghimire

Source: SBS



Share this with family and friends


धेरै परिवारहरु सप्ताहन्तमा लामो दूरीको “ड्राईभ” गर्लान्, तर प्रमोद रेग्मी भने आफैले बनाएको जहाजमा “फ्लाई” गर्छन्।


प्रमोद रेग्मी कुनै काममा आफू लागेपछि लाटो झैं एकोहोरो हुने बताउँछन् । रेग्मीको ‘लाटो एकाग्रता’ले नै होला, अहिले उनी छोटो समयमै आफ्नो हवाई जहाज आफै निर्माण गर्न सफल भएका छन्।

 

सन् १९९८ मा ओभरसीयरको डिग्रीका साथ अमेरिका प्रवेश गरेका रेग्मी, हाल एरिजोना राज्यमा बसोबास गर्छन्।

 

शुरुमा हवाईजहाज उडाउने हुट्हुटि लागेपछि, त्यससम्बन्धमा अध्ययन र तालिम लिएका रेग्मी, पछि त आफै हवाईजहाज बनाउनेतर्फ लागे।

 

हवाई उडानमा चासो बढ्दै गयो, मनमा प्रभाव गहिरिदै गयो, अनि त्यै क्षेत्रका साथीभाईसँग मात्र हवाई जहाजकै कुराकानी हुन थाल्यो। “अनि यहाँका केही अमेरिकनहरुले गरे झैं, मलाई पनि आफ्नो विमान आफै बनाउन मन लाग्यो,” रेग्मी भन्छन्। 

Pramod Regmi's Aircraft Design
Pramod Regmi's Aircraft Design Source: Facebook/Pramod Regmi

दुई पाङ्ग्रे साईकल त झिना-मसिना समस्या आउदा चल्न मान्दैन, हावामा उड्ने जहाजको त के कुरा। सानाभन्दा साना कुराहरुलाई ध्यान दिनु पर्छ, र सबै पार्ट-पूर्जा ठिक ठाउँमा हुनु पर्छ। अनि विभिन्न ठाउँहरुबाट सामानहरु जुटाउने झन्झट त छँदैछ।

 

उनले जहाजको ईन्जिन अस्ट्रियाबाट मगाएका थिए भने, अन्य धेरै सामानहरु अमेरिकाभित्रैबाट किनेका थिए। 

 

फेरि,  जहाज उडाउनु अघि कडा नियमका साथ परिक्षण गरिने सरकारी प्रावधानमा पनि उतीर्ण हुनै पर्छ। यी सबै कुराहरु १४ महिना भित्रै गरिनु वास्तवमै असधारण उपलब्धि नै हो।

 

उनको सीप, जाँगरबाट प्रभावित भएर सम्बन्धित कम्पनीहरुले उनलाई जागीरको प्रस्ताव पनि दिए।

रमाईलो कुरा त के भने, जहाज उनको घरकै ग्यारेजमा बनेको थियो।

“पखेटा जोड्ने बेलामा चाहि नजिकै रहेको ह्याङ्गरमा गई जहाजलाई पूर्णता दिएको थिएँ,” एसबीएस नेपालीसँग कुरा गर्दै रेग्मीले बताए।

Pramod Regmi's aircraft at a hanger
Pramod Regmi's aircraft in a hanger Source: Supplied

कतिलाई लाग्न सक्ला, पार्ट-पूर्जा किनेर एकरुपता दिने त हो नि- त्यति गरेपछि जहाज त बनिहाल्यो नि भनेर। तर यो प्रक्रिया त्यति सजिलो नभएको रेग्मी बताउँछन्।

 

“हो, धेरै सामानहरु किनेर ल्याएर जोडजाड त गरिन्छ, तर कतिपय उपकरणहरु किन्नै पाईदैन। आफै बनाउनुपर्छ। यसका लागि ‘हेभी ड्युटि ईनजिनेरिङ्ग’को ज्ञान र सीप चाहिन्छ,” उनी बताउँछन्।

Regmi working on his aircraft
Regmi working on his aircraft Source: Facebook/Pramod Regmi

मिहेनत मात्र हैन, उनको यो शौखले त पैसा पनि निकै सोस्यो।

“नेपालमा १० हजार डलरले के के गर्न सकिन्छ, तर मेरो जहाजमा खर्च झ्वाम झ्वाम लागिरहेको थियो। बिमान बनुन्जेलसम्म डेढ लाख डलर खर्च भई सकेको थियो,” उनी भन्छन्।

परिवारको साथ र हौसला त उनलाई सधै थियो। तर साथी-भाईले चाहिं ‘बाटो बिराएको’ किसिमको सन्देश दिन्थे।

 

“उनीहरुले अगाडि त भन्दैनथे, तर हाव-भावबाट चाहिं किन यो नचाहिने काम गरेको होला भन्ने सन्देश मैले पाउँदथें,” उनी भन्छन्।

Pramod Regmi with his few friends and his aircraft
Pramod Regmi with his few friends and his aircraft Source: Facebook/Pramod Regmi

यिनै कारणहरुले होला, रेग्मी जहाज बनाउने क्रममा प्रचार गर्दैनथे। मानिसहरु घरमा आउँदा पनि, बन्दै गरेको जहाज देख्लान् भन्ने डरले, ग्यारेज लग्दैनथे।

 

“म आफैले डेढं बर्ष सामाजिक सञ्जाल चलाईन। अहोरात्र लागि परेर जहाज बनाई छाडे,” गर्वकासाथ उनी बताउँछन्।

आफै जहाज बनाएर उडाउने रेग्मी संभवत पहिलो नेपाली हुन्।

“एक नेपालीले पनि यो चुनौतिपूर्ण काम आफै गर्न सक्दो रहेछ भन्ने सन्देश हाम्रो समुदायमा गएको छ। यो कुराले म धेरै खुशी छु,” उनले भने। त्यसो भन्दा, उनको आवाजमा गौरवता लुकेको थियो।

 

अठोट र एकाग्रपना भएपछि, समय त लाग्ला तर सफलता अवश्य पनि पाईन्छ भन्ने उदाहरण रेग्मीले दिएका छन्।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now