रुसी विपक्षी नेता अलेक्सी नभालनी माथि नोभिचोक समूहको ज्यादै नै घातक विषालु पदार्थ प्रयोग भएको जर्मन सरकारले निष्कर्ष निकालेको छ । सोभियत संघको पालामा तयार पारिएको भनिएको उक्त विषालु पदार्थ पूर्वी रुसी जासुसहरुको ज्यान लिन प्रयोग गरिने गरेको आरोप रहेको छ।
रुसी विपक्षी दलका नेता अलेक्सी नभालनी माथि संसारकै सबैभन्दा विषालु मानिएको नोभिचोक समूहमा पर्ने पर्दाथको प्रयोग भएको जर्मन सरकारले ठहर गरेको छ ।
राष्ट्रपती भ्लादिमिर पुटिनका आलोचक मानिने नभालनी अगस्ट महिनाको २० तारिखमा साईबेरीयाबाट मस्को आउँदै गर्दा एक्कासि विमानमै बिरामी परेका थिए ।

उनी देशमा भ्रष्टाचारको विपक्षमा उभिने खरो नेताका रूपमा पनि चिनिन्छन् ।
आकस्मिक रूपमा विमानमा बिसन्चो भएपछि विमान डाईर्भट गरी साईबरीयाको ओमास्क अस्पतालमा पुर्याइएको थियो । केही समय पछि जर्मन शहर बर्लिनको एक अस्पताल पुर्याएपछि गत हप्ता मात्र चिकित्सकहरूले उनी माथि विषाक्त पर्दाथ प्रयोग भएको निष्कर्ष निकालेका थिए ।
जर्मन रक्षा मन्त्री अनेग्रेट क्रैम्प करनवाउरले नयाँ परीक्षणबाट नोभेचोक समूहको विषालु पर्दाथ प्रयोग भएका पुष्टि भएको बताए । उनी भन्छन् “सरकारको बैठकपछि हामी नभालनी रसियामा विषालु पर्दाथको सिकार भएको प्रस्ट भएका छौ ”
उता चान्सलर एङ्गेला मर्केल भन्छिन् “रुसमा अग्रणी विपक्षी नेता माथि विष प्रयोग गरी गरिएको हत्या प्रयासले सबैलाई चौकाएको छ, अलेक्सी नभालनी एउटा जघन्य अपराधको सिकार भएका छन् ।”

रसियन विदेश मन्त्रालयका प्रवक्ता मारिया जाखारोभाले भने प्रतिक्रिया दिन हिच्कीचाईन् ।
उनले अनुसन्धानका विषयमा रसियाली सरकारलाई कुनै जानकारी नदिएकोमा जर्मनीलाई दोष समेत दिन भ्याइन् ।
यता सन् २००६ मा रेडियो एक्टिभ विषाक्तताबाट मारिएका रुसी एजेन्टकी पत्नी मारिना लिटभिनेन्को भन्छिन् “यस्तो लाग्दै छ कि शासकहरू जे गर्न पनि पछि हट्दैनन् , आज भन्दा अघि नभालनीलाई विष दिइएको बिषय पुष्टि भएको थिएन तर यो पुष्टि भएपछि यो निकै नै गम्भीर विषय भएको छ।”
"पश्चिमी सरकारहरूले अब रुसी राष्ट्रपति सँग कसरी सम्झौता गर्ने भनेर सोच्नुपर्ने बेला आएको छ।"
नभालनीको हाल भेन्टिलेटरमा उपचार भइरहेको अस्पतालले बताएको छ।
उनी स्वास्थ्य हुन केही समय अझै लाग्ने तर विषको दीर्घकालीन प्रभाव भने हटाउन नसकिने अस्पतालको भनाई छ ।





