दुई स्वयम् सेवी दमकल कर्मीहरूको न्यु साउथ वेल्समा मृत्यु भएको घटनाका कारण पुरै अस्ट्रेलिया शोकाकुल भएको समयमा प्रधानमन्त्री स्कट मोरिसनले पनि आफ्नो पारिवारिक बिदा छोट्ट्याउन बाध्य भएका छन्।
प्रधानमन्त्री र पिताको जिम्मेवारी मध्ये एकलाई छान्नु पर्दा सात हप्ता अगाडी तय भएको बिदा मनाउन हवाई गएको मोरिसनले बताएका छन्।
साथै उनले सोही समयमा डढेलो सङ्कटबाट पीडितहरूलाई आफ्नो अनुपस्थितिले ठेस पुर्याएकोमा माफी समेत मागेका छन्।
गत हप्ता मात्र मोरिसनको प्रधानमन्त्री निवास किरीबिल्ली अगाडी सयौँ जलवायु अभियन्ताहरूले उनले देश फर्कनु पर्ने र जलवायु परिवर्तनको क्षेत्रमा काम गर्नु पर्ने भन्दै प्रदर्शन गरेका थिए।
साथै न्यु साउथ वेल्स राज्यमा डढेलोका कारण संकटकालको घोषणा र बिहीबार दुई अग्नि नियन्त्रकहरू जेफ्री किटन र एन्ड्रु ओ'ड्वाएरको मृत्यु पश्चात् प्रधानमन्त्री माथि बिदा छोट्ट्याएर देश फर्कन दबाब परेको थियो।

भर्खरै मात्र बाबु भएका दुवै अग्नि नियन्त्रकहरूको सिड्नीको दक्षिण पश्चिमी भागमा लागेको डढेलो निभाउने क्रममा बिहीबार ज्यान गएको हो।
यो घटना पश्चात् परिवारका साथ बिदा मनाइरहेका प्रधानमन्त्री स्कट मोरिसनले पनि आफ्नो बिदा छोट्ट्याउनै शनिवार अस्ट्रेलिया फर्किएका छन्।
३२ वर्षीय जेफ्री किटन र ३६ वर्षीय एन्ड्रु ओ'ड्वाएर न्यु साउथ वेल्स ग्रामीण अग्नि सेवा अन्तर्गत पश्चिम सिड्नीको हर्स्ली पार्क ब्रिगेडका सदस्य रहेका थिए।
लामो समय देखि स्वयम् सेवक अग्नि नियन्त्रकका रूपमा काम गरेका उनीहरू सिड्नीको दक्षिण- पश्चिमी क्षेत्रको बक्स्टन भन्ने स्थान नजिक एक ट्रक भित्र रहेका थिए।
र त्यही बेला उनीहरूको बाटोमा अवरोध पुर्याउने गरी एउटा रुख ढलेपछि सो ट्रक सडकबाट बाहिर पल्टिन पुगेको थियो।

घटना स्थलमा नै दुई जनाकै ज्यान गयो भने तिन जना घाइते दमकल कर्मचारीहरूलाई उपचारका लागी अस्पताल पठाइयो।
उनीहरू सबै ग्रिन वाटल क्रिकको डढेलो निभाउने काममा सक्रिय रहेका थिए।
न्यु साउथ वेल्स कि प्रिमियर ग्लाडिस बेरेजिक्लिएनले मृत्यु पश्चात् किटन र ओ'ड्वाएर सम्पूर्ण स्वयम् सेवी दमकल कर्मीहरूको प्रतिनिधि पात्र बनेका छन्।
"यी दुई बहादुर युवाहरू जसले आफ्नो ज्यान गुमाए, उनीहरूले हजारौँ हजार स्वयम् सेवी अग्नि नियन्त्रकहरूको प्रतिनिधित्व गर्छन्, जो आज, भोलि र आउँदा दिनहरूमा पनि आफ्नो जीवन र सुरक्षाको पनि वास्ता नगरी अरूको जीवन जोगाउन आगो निभाउन लागि परेका छन्"
ग्रामीण अग्नि सेवा आयोगका शेन फिज़सिमनले मृतक दमकल कर्मीहरूको परिवारसँग समय बिताएका छन्।
१९ महिनाका बच्चा रहेका दुवै दमकल कर्मीहरूलाई फिज़सिमनले नायकको संज्ञा दिएका छन्।
सङ्घीय लेबर नेता एन्थनी अल्बनिजी भन्छन् किटन र ओ'ड्वाएर जस्ता मानिसहरूले नै अस्ट्रेलियाको सबैभन्दा राम्रो पक्षलाई देखाउँछन्।
"यो साच्चिकै जोखिमयुक्त छ। र हामीले अस्ट्रेलियाको सबैभन्दा असल पक्षलाई देखेका छौँ। हामीले देखेका छौँ कि मानिसहरूले आफ्नो समय दिनुका साथै बहादुरी देखाएका छन्, लचकता देखाएका छन् र साच्चिकै आफ्नो जीवनलाई जोखिममा राखेका छन्।"

नेता अल्बनिजीले त्यस्ता स्वयम् सेवी दमकल कर्मीहरूलाई उनीहरूको सेवाको सम्मान गर्दै विभिन्न योजनाहरू ल्याउन आह्वान गरेका छन्।
उनका अनुसार उनीहरूलाई कर छुट गर्ने, एकमुष्ट रकम दिने वा विशेष बिदाको व्यवस्था गरेर पनि राहत दिन सकिन्छ।
देशभर डढेलो सङ्कट रहेको समयमा प्रधानमन्त्री स्कट मोरिसन भने परिवारका साथ हवाईमा बिदा मनाउन गएको भन्दै कडा आलोचना भएको थियो।
तर दुई दमकल कर्मीहरूको मृत्युको खबर पश्चात् भने प्रधानमन्त्री मोरिसनले आफ्नो बिदा घटाएर जतिसक्दो चाँडो अस्ट्रेलिया फर्कने घोषणा गरेका थिए ।
उनले शुक्रवार मक्वरी रेडियोसँग कुरा गर्दै उनी र उनकी श्रीमती, जेनी लाई डढेलो पीडितहरूलाई आफूहरूको अनुपस्थितिले ठेस पुर्याएकोमा खेद व्यक्त गरेका थिए।
साथै शनिवार अस्ट्रेलिया फर्किएका मोरिसनले जलवायु परिवर्तनलाई लिएर सरकारी नीति परिवर्तन गर्ने सम्बन्धमा भने यो डढेलो सङ्कटका कारण हतारमा कुनै निर्णय भने नलिइने स्पष्ट पारेका छन्।

"हामी के चाहिँ गर्दैनौँ भने हामी सङ्कटको समयमा हताश मनस्थितिमा कुनै निर्णय लिँदैनौँ। यस्तो हताश भएर लिइने कदमले केही सहयोग गर्दैन।"
यही हप्ता २०१० को एक भिडियो ले चर्चा पनि पायो जहाँ भिक्टोरियाकी तात्कालिक प्रहरी प्रमुख क्रिस्टिन निक्सनले भिक्टोरियाको कालो शनिवार भनेर चिनिने डढेलोका समयमा एक पबमा गएर डिनर खाएकोमा मोरिसनले कडा आलोचना गरेका थिए।
उक्त भिडियो मा मोरिसनले एबीसीको क्यु- एंड -ए कार्यक्रममा निक्सनको निर्णयलाई लिएर आफ्नो बिचार राखेका छन् र सो भनाइ निक्सनलाई पदच्युत गर्नु पर्ने सर्वत्र माग भई रहेको समयमा आएको थियो।
र उक्त भिडियो मा भनिएको छ, "उनले गलत निर्णय गरेको स्पष्ट नै छ। यस्तो मानिसहरूको जीवनमा पटक पटक हुन्छ तर यो त अत्यन्त गम्भीर मुद्दा हो। मलाई लाग्छ अहिले समाजमा के गर्ने वा नगर्ने भन्ने सम्बन्धमा गरिने निर्णयलाई लिएर एउटा चिन्ता देखिएको छ।"
यही समयमा न्यु साउथ वेल्सको फाएर ब्रिगेडका कर्मचारीहरूको युनियनले सरकारले आफ्नो लगानी कटौती गर्न लागेको बताएको छ।
राज्य सचिव लेटन ड्रुअरि ले उनलाई सरकारले बजेट कटौती गर्ने बारी जानकारी गराइएको र सो कटौती उनका तलब लिने अग्नि नियन्त्रकहरूको दुई प्रमुख विभागमा गर्न लागिएको बताएका छन्।
उनले ती अग्नि नियन्त्रकहरूले स्वयम् सी अग्नि नियन्त्रकहरू सँगै काम गर्ने गरेको पनि बताएका छन्।
यो बजेट कटौतीले गर्दा मानिसहरूलाई जोखिममा राख्ने उनको भनाइ रहेको छ।
"दुई वटा ग्रामीण समुदायहरू, उरुङ्गा र पिक हिलमा उनीहरूले अग्नि सेवाहरू कटौती गर्दैछन भनेर मलाई जानकारी गराइयो। अहिले हामीलाई आगो निभाउन एउटा ट्रकमा चार जना अग्नि नियन्त्रकहरू चाहिन्छ। र उनीहरूले त्यसलाई घटाएर दुई जना बनाएका छन्। यो अत्यन्त अपमानजनक हो।"

डढेलोका घटना गम्भीर हुँदै जाँदा न्यु साउथ वेल्स राज्यभर घर बाहिर आगो बाल्न पूर्ण प्रतिबन्ध लगाइएको छ।
शनिवार राज्य भर १०० भन्दा बढी डढेलोहरू बलिरहेको समाचारहरूमा जनाइएको छ।
शनिवार दिउसो मात्र उच्च तापक्रम र हावा र न्यून उष्णता का बिच ११२ वटा डढेलो बलेको तथ्याङ्क रहेको छ।
शनिवार ग्रामीण अग्नि सेवाले थप २०० ट्रकहरू घटनास्थलहरूमा पठाएको छ भने डढेलोका जोखिममा रहेका क्षेत्रका बासिन्दाहरूलाई तत्काल सुरक्षित स्थान तर्फ जान भनिएको छ।
गत अक्टोबर देखि सुरु भएको डढेलो लाग्ने क्रम निरन्तर जारी रहँदा अस्ट्रेलिया भर पछिल्लो समयमा २०० भन्दा बढी डढेलो बलिरहेको र ९०० घरहरू डढेलोका कारण ध्वस्त भइसकेका छन्।

साथै डढेलोका कारण धेरै राजमार्गहरू बन्द भएका कारण बिदा मनाउने योजनामा रहेकाहरूलाई धैर्य गर्न र आफ्नो यात्राको योजनालाई तत्कालका लागी थाती राख्न आग्रह गरिएको छ।





