कोरोना
नेपालमा कोरोना संक्रमित मानिसको कुल संख्या ४५ हजार भन्दा बढी पुगेको छ, जसमा २७ हजार भन्दा बढी निको भएका छन् ।२७० जना भन्दा बढीको मृत्यु भएको छ, जसमध्ये १ चिनिया र १ भारतीय नागरिक समेत रहेका छन् ।
काठमाडौँ उपत्यकामा अहिले संक्रमणको संख्या अत्याधिक रहेको छ।
गत हप्ता आईसोलेसनमा बसेका मन्त्रीहरु रामबहादुर थापा, ईश्वर पोखरेल र भानुभक्त ढकालको कोरोना परीक्षणको नतीजा नेगेटिभ आएको छ भने काठमाण्डु महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यलाई कोरोना संक्रमण भएपछि उनी आफ्नै घरमा आईसोलेसनमा बसेका छन्।
कोरोनाको प्रकोपका कारण मातृ शिशु स्वास्थ्यलाई पनि नकारात्मक असर परेको परिवार कल्याण महाशाखाकी पुण्य पौडेल बताउँछिन्,"एएनसी भिजिट हुन्छ। जुन हामीले चार पटक गर्नु पर्छ भन्छौं, ४, ६, ८, ९ महिनामा। पोहोर साल भन्दा चैत महिनामा २७ प्रतिशतले घटेको देखियो। यस्तो बेलामा सँस्थागत सुत्केरी पनि घटेको देखियो। सुरक्षित गर्भपतन सेवा पनि असारमा ३० प्रतिशतमा झरेको देख्यौं।"
राजधानीका विभिन्न ठाउँमा समुदायनै संक्रमित भनेर सरकारले तथ्याङ्कहरू सार्वजनिक गरेको छ र काठमाडौँको निषेधाज्ञा अर्को बुधबार सम्मका लागि लम्ब्याइएको छ ।

अन्तर्राष्ट्रिय उडान
कोभिड-१९ को कारण सरकारले २४ मार्च देखि बन्द गरेको हवाई सेवालाई गत १ सेप्टेम्बर देखि फेरी खुला गरेको छ, तर आन्तरिक हवाई उडानमा भने अझै रोक लगाईएको छ।
सरकारले बन्दाबन्दीको अवधिभरि बेला बेलामा चार्टड उडानहरु गरेतापनि व्यवसायीक हवाई कम्पनिहरुलाई यसरी उडान गर्न दिएको थिएन ।
अब भने केही तोकिएका मुलुकहरुमा मात्र यसरी उडान गर्न दिईनेछ।
यात्रुहरुको स्वास्थ्य सुरक्षा जाँचको जिम्मा नेपाली सेनालाई दिईएको छ, र यात्रुहरुले अवतरण गरेपछि होल्डिङ् सेण्टरमा आफ्नो पिसिआर रिपोर्ट नेगेटिभ नदेखाएसम्म क्वारेण्टिनमा बस्नुपर्ने हुन्छ ।
हवाई कम्पनीहरुले यात्रुहरुलाई पिसिआर परीक्षण नगरिकन ल्याएको खण्डमा आफ्नो ग्राहकहरुलाई होटेलमा क्वारेण्टिनमा राख्ने खर्च आफै बेहोर्नुपर्ने नियम लागु गरिएको छ ।
तोकिएको मुलुकबाट वा सम्म रोजगारी, उद्धार, आकस्मिक र शैक्षिक विषयसँग सम्बन्धित यात्राको लागि विशेष हवाई उडानको व्यवस्था पनि गरिएको छ ।

राष्ट्रिय सभा
राष्ट्रिय सभामा राष्ट्रपतिले मनोनित गर्ने एक सदस्यको पदमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले वामदेव गौतमलाई पठाउने निर्णय गरे सँगै अर्थ एवं सुचना तथा सञ्चार प्रविधि मन्त्री युवराज खतिवडाले पदबाट राजिनामा दिएका छन्।
अर्थविद खतिवडा राष्ट्रसभामा मनोनित गरिएपछि अर्थमन्त्री बनाइएका थिए, र राष्ट्रिय सभामा उनको पदावधी सकिन लागेको थियो।
संघीय संसदको सदस्य नभएको व्यक्ति ६ महिना मात्र मन्त्री पदमा रहन सक्ने हुनाले खतिवडाले आफू राष्ट्रियसभा सदस्यमा मनोनित नहुने भएपछि यो निर्णय लिन पुगेका हुन्।
संचारकर्मीहरुसँग कुराकानीमा खतिवडा भन्छन्, “केही कामहरु गर्दा कसैलाई चित्त दुखेको रहेछ भने, यो मन्त्रीले राष्ट्र हितको लागि काम गरेको हो, आफ्नो हितको लागि होइन भन्ने चाहिँ तपाईहरुले बुझिदिनुपर्छ। किनभने मैले व्यक्तिगत अभिष्टको लागि केहि गर्दिन, गरेको पनि छैन। मेरो निष्ठा हो यो।”
नेकपाका वरिष्ठ नेता तथा पुर्वमन्त्री गौतम सन् २०१७ को आम निर्वाचनमा बर्दियाबाट पराजीत भएका थिए।
एकातर्फ प्रतिनिधि सभाको चुनाव हारेका वामदेव गौतमलाई सभासद बनाउने नेकपाको निर्णयको आलोचना भइरहेको छ भने अर्कोतर्फ खतिवडाले सम्हालेका दुई मन्त्रालयः अर्थ मन्त्रालय र सुचना तथा सञ्चार प्रविधि मन्त्रालयको जिम्मा कसलाई दिइने हो भन्ने अड्कलहरु पनि चुलिएका छन्।

श्रमिक
बन्दाबन्दीको अघिदेखी स्थगित भएको श्रम स्वीकृति यस हप्तादेखी खुलेको छ। सरकारको यस निर्णयले करिब १ लाख ५० हजार नेपाली श्रमिक प्रभावित भएका छन्।
नेपाल वैदेशिक रोजगार व्यवसायी महासंघको तथ्यांक अनुसार त्यस मध्ये करिब ३० हजार कामदारहरु बहराइन्, ओमन, कतार र दुबई जान इच्छुक छन्।
गत जेठ महिनादेखि हजारौंको सङ्ख्यामा भारतबाट हिँडेर नेपाल फर्केका श्रमिकलाई प्रधानमन्त्री रोजगारी कार्यक्रम मार्फत केही राहत दिइने बताइएको छ।
पाँच लाख मजदुरलाई यो सुविधा प्रदान गर्ने योजना रहेको छ, जसका लागि करिब ११ अर्ब ६० करोडको बजेट छुट्याइएको छ ।
विभिन्न सञ्चार माध्यमहरुले यस कार्यक्रमको अघिल्लो योजनाहरु त्यति प्रभावकारी नरहेको र सत्तारुढ दलको आफ्नै पार्टीको कार्यकर्ताको लाभको निम्ति प्रयोग गरिएको आलोचना गरेका छन् ।

दलित हत्या
रौतहटमा प्रहरीको हिरासतमा रहेका एकजना दलित युवकको मृत्युको विरोधमा पुर्वमन्त्री विश्वेन्द्र पासवान उक्त प्रहरी कार्यालयको गेटमा आमरण अनशनमा बसिरहेका छन् ।
भदौ १० गते रौतहटको गरुडा प्रहरी कार्यालयको हिरासतमा रहेका १९ वर्षीय विजय महरा कुटपिटको कारण घाईते भएपछि उपचारको क्रममा मृत्यु भएको थियो।
प्रदेशको मुख्य न्यायधिवक्ता कार्यालयले त्यस घटनामा संलग्न ३ जना प्रहरीलाई ६ महिनाको लागि निलम्बन गरेको छ।
साउन ३१ गते हत्या गरि मारिएका निरञ्जन रामको घटनाको अनुसन्धान गर्न प्रहरीले विजय महरा सहित अन्य केहि व्यक्तिलाई हिरासतमा राखेको थियो।
निरञ्जन रामको हत्यारा अर्कै भएतापनि ती युवाहरुलाई प्रहरीले जबरजस्ती हत्या कबुल गराउने प्रयास गरेको, र घटनाको एक साता नाघिसक्दा पनि सरकारले वास्ता नगरेको पीडितहरुको गुनासो छ।
बन्दाबन्दी पछि मात्रै नेपालमा एक दर्जन भन्दा बढी दलित मानिसका हत्या वा लापरवाहीका कारण मृत्यु भएको भएकाले विभिन्न पक्षले यसको विरोध गरिरहेका छन्।

रातो मच्छिन्द्रनाथ
बिहिबार रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा ललितपुरमा प्रहरी र स्थानीयवासी बिचको झडपमा एक ट्राफिक जवान निर्घात कुटपिटमा परेका छन् ।
पुलचोकस्थित रथ तान्न प्रतिबन्ध लगाईएतापनि सडकमा केहि युवाहरुले निषेधाज्ञा तोडेर त्यसो गर्ने हुँदा प्रहरीले नियन्त्रणको निम्ति बल प्रयोग गर्नुपरेको थियो।
उपस्थित भिडले प्रहरीमाथि ढुङ्गामुढा गरेको थियो र एकजना ट्राफिक प्रहरी जवान दङ्गाको शिकार बन्न पुगेका थिए। उनको कुटपिटको अभियोगमा प्रहरीले भोलिपल्ट ९ जनालाई पक्राउ गरेको छ।
उनीहरु विरुद्ध अभद्र व्यहारको अभियोगमा मुद्दा चल्ने प्रकिया हुँदै गर्दा उनीहरुलाई पिसीआर परिक्षण गरि क्वारेण्टिनमा राखिएको छ र शुक्रबार ललितपुर महानगरपालिकामा कर्फ्यु लगाएको थियो।
यो घटनाले कोरोना प्रकोपका समयमा चाडपर्वहरु कसरी मनाउने भनेर बहस शुरु भएको छ।





