सयौँ अस्ट्रेलियालीहरू लाई उनीहरूको विभिन्न क्षेत्रमा पुर्याएको सेवा, योगदान र अन्य महत्त्वपूर्ण उपलब्धिहरूका कारण अस्ट्रेलिया दिवस को सम्मान गर्ने सूचिमा राखिन्छ।
हरेक बर्ष प्रदान गरिने सो सम्मान त्यस्ता व्यक्तिहरूलाई दिइन्छ जसले अरूको जीवनमा सुधार गर्न आफ्नो समय खर्चिएका हुन्छन्।
यसरी सम्मान पाउने सूचीलाई हेर्दा कुनै लैङ्गिक समानता रहेको नदेखिने भए पनि यसपालि भने यो सूचिमा ४१ प्रतिशत महिलाहरू रहेका छन् , जुन अहिले सम्म कै सबैभन्दा बढी हो।
अस्ट्रेलिया डे अनर पाउने मध्येका एक हुन् क्विन्सल्याण्डका हिन्दु धर्मावलम्बीहरू माझ चिर परिचित नाम उमेश चन्द्र।

चन्द्र पूजा गर्नका लागी ब्रिसबेनको उत्तरी सबर्ब तर्फ रहेको एक सानो मन्दिरमा जाने गर्छन्।
यो हेर्दा सामान्य लाग्ने भवनले उनको हृदयमा भने विशेष स्थान राख्दछ।
१९८८ मा स्थापना भएको ब्रिसबेन कै सबैभन्दा पहिलो हिन्दु मन्दिर बनाउने कार्यमा लागी परेका थिए उनै उमेश चन्द्र।
क्विन्सल्याण्डको हिन्दु समाज र राज्यकै बहु सांस्कृतिक परिषद्का सोच कर्ता रहेका चन्द्रले समुदायमा नमेटिने छाप छोडी सकेका छन्।
सन् २००९ मा अन्तर्राष्ट्रिय समुदायकै ध्यान खिच्ने गरी सिड्नी र मेलबर्नमा भारतीय समुदायको विरुद्ध आपराधिक क्रियाकलापहरू बढ्दा पनि चन्द्रले निकै महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए।
क्विन्सल्याण्ड सरकारले त्यति बेला थप तनाव हुन बाट रोक्न उनलाई भारतीय विध्यार्थिहरूको सम्पर्क व्यक्तिका रूपमा नियुक्त गरेको थियो।
"उनीहरूले के भई रहेको छ भनेर देखेका थिए र क्विन्सल्याण्डमा पनि ठ्याक्क त्यस्तै अवस्था नआओस भनेर सचेत थिए। मेरो भूमिका त्यहाँ विद्यार्थीहरूसँग सम्पर्क बनाएर उनीहरूले कुनै चुनौतीको सामना गर्नु परिरहेको छ कि भनेर हेर्ने थियो र यसमा क्विन्सल्याण्ड प्रहरी सँग मिलेर काम गर्ने गरिन्थ्यो।"
यस अस्ट्रेलिया डेमा अर्डर अफ अस्ट्रेलिया सम्मानबाट सम्मानित हुनेमा तिनै उमेश चन्द्र पनि रहेका छन्।
अद्भुत काम गरे बापत प्रदान गरिने यो सम्मान पाउनेहरूको यस पटकको सूचिमा रहेका ८ सय ३७ जना मध्येका चन्द्र एक हुन्।
लेखक, वक्ता र शारीरिक बनावट सम्बन्धि अभियन्ता कार्ली फिन्ड्लेलाई पनि अस्ट्रेलियामा रहेका अपाङ्गहरूको पक्षमा वकालत गरेको भन्दै यो सम्मान प्रदान गरिएको छ।

र उनी भन्छिन्, "म साँच्चै आशा गर्छु कि यो सम्मानले अन्य अपाङ्गता भएकाहरूलाई पनि के गर्न सम्भव छ भन्ने बारे देखाउने सक्ने छ।"
ब्लगिङ्ग, एक पोडकास्टको सह सञ्चालिका, साथै मेलबर्नको फ्रिन्ज फेस्टिभलमा समावेशिताको लागी काम गरेकी फिनड्लेको प्रभाव देशभर अनुभव गर्न सकिन्छ।
३८ वर्षीय फिन्ड्ले आफ्नो बढ्दो प्रभावकारितालाई समावेशिताका लागी प्रयोग गर्ने इच्छा राखेकी छन्।
समानताका लागी नै लामो समय देखि लड्दै आएकी आदिवासी पृष्ठभूमिकी प्रोफेसर लारीस्सा बेरेन्टले पनि अस्ट्रेलिया दिवसमा प्रदान गरिने सम्मान प्राप्त गरेकी छन्।

उनले राष्ट्रिय आदिवासी टेलिभिजन एनआइटिभीको स्थापना गर्न पनि भूमिका निभाएकी छन् भने आदिवासी समुदायमा शिक्षा, कानुनी र कलाको क्षेत्रमा पुर्याएको सेवाका लागी पनि उनलाई सम्मानित गरिएको हो।
साथै उनले अहिले विश्व प्रख्यात रहेको ब्यांगारा डान्स कम्पनीमा अध्यक्षता पनि गरिसकेकी छन्।
"मलाई लाग्छ अब मलाई आफू भित्रै एक सङ्कल्प गरेर मानिसहरूलाई उनीहरूको आफ्नै आवाज दिने, उनीहरूलाई स्थान दिनेमा बढी रुचि छ। र सबै सुविधा पाएकाहरूले यी सबै कसरी अरू समक्ष पनि बाड्ने भनेर सोच्न जरुरी छ।"
बेरेन्टका लागी कुख्यात बोराभिलमा भएको हत्या प्रकरणमा ज्यान गुमाउनेहरूको परिवारको पक्षमा आवाज उठाउनु र इनोसेन्स बिट्रेड नामक वृत्तचित्र बनाउनु नै आफ्नो कामहरू मध्ये सबैभन्दा ठुलो उपलब्धिहरू हुन्।
त्यस्तै लोक गीतका चर्चित गायक किथ अर्बन र लर्ड अफ रिङ्ग्स र म्याट्रिक्सका कलाकार ह्युगो विभिङ्ग पनि यस वर्षको अर्डर अफ अस्ट्रेलियाको सूचिमा परेका छन्।
नेबर नामक टेलिचलचित्रकि कलाकार, लिङ्ग परिवर्तन गरी महिला भएकी जर्जी स्टोन सबैभन्दा कम उमेरमा यो सम्मान पाउने व्यक्ति बनेकी छन्।

१९ वर्षीय स्टोनलाई लैङ्गिक विविधता भएको समुदायमा पुर्याएको सेवाका लागी सम्मान गरिएको हो।
सबै पदकको पछाडि मानिसहरूको एउटा भिन्नै जीवन कथा लुकेको हुन्छ जसमा समुदाय र देशका लागी नै महत्त्वपूर्ण योगदान पुर्याइएको हुन्छ।
गभर्नर जनरल डेभिड हार्लेद्वारा प्रदान गरिने अस्ट्रेलिया दिवस २०२० को सम्मान पाउने हरूको सूचिमा १ हजार ९९ जना रहेका छन्।
जसमध्ये ८३७ जनाले सामान्य विधामा अडर अफ अस्ट्रेलिया पाउने छन् भने २६ जनाले सैन्य क्षेत्रमा पुर्याएको योगदानका लागी।
त्यस्तै २३६ जनाले सार्वजनिक क्षेत्र, सुरक्षा, अग्नि सेवा लगायतका क्षेत्रमा प्रशंसा योग्य कार्य गरे बापत यो सम्मान प्राप्त गर्ने छन्।





