SKIP TO MAIN CONTENT

अस्ट्रेलियामा घाम ताप्दै सुन्तला, स्याउ खाएर रमाउँदै नेपाली अभिभावकहरू

Nepali senior citizens in Australia
Some of the many seniors visiting their friends and family in Australia pose for a photograph at Nepal Festival 2018 in Sydney's Tumbalong Park Source: SBS Nepali

सिड्नीमा हुने धेरै नेपाली कार्यक्रमहरूमा ढाका टोपी लगाएका प्रौढहरूको सङ्ख्या हेर्दा रत्नपार्कमा गफिन भेला भएको जमात भन्दा कम देखिँदैन। त्यस्तै दृश्य गत शनिवार डार्लिंग हार्बरमा आयोजित नेपाल महोत्सवमा पनि देखियो।


Published

Updated

By SBS Nepali

Source: SBS



Skip to podcast episode content

सिड्नीमा हुने धेरै नेपाली कार्यक्रमहरूमा ढाका टोपी लगाएका प्रौढहरूको सङ्ख्या हेर्दा रत्नपार्कमा गफिन भेला भएको जमात भन्दा कम देखिँदैन। त्यस्तै दृश्य गत शनिवार डार्लिंग हार्बरमा आयोजित नेपाल महोत्सवमा पनि देखियो।


झुन्ड-झुन्ड बनाएर कार्यक्रम स्थलको चौरमा बसेका नेपाली अभिभावकहरूले एक अर्कालाई 'बिराटनगरे', 'चितवने' भन्दै सम्बोधन गरेको सुन्दा उनीहरूको घनिष्टता पनि प्रस्ट देखिएको थियो।

त्यही समूहमा बसेका चितवनका बासिन्दा भवानी प्रसाद सेढाईको यो दोस्रो सिड्नी बसाई हो। ४ वर्ष अगाडी पट्यारलाग्दो बसाई भएको बताउने उनलाई यो पटकको बसाई भने निकै रमाइलो लागेको बताउँछन्।

नेपाल अभिभावक कल्याण समाजमा आबद्ध भएपछि विभिन्न क्रियाकलाप गर्न सहज भएको र पट्यार लाग्ने गरी दिनभर कोठामा नै बस्नु पर्छ होला भन्ने सोचाई परिवर्तन भएको झापा दमकका गिरिराज नेपालको भनाई रहेको छ।

घाम ताप्दै सुन्तला र स्याउ खाँदै गरेका अभिभावकहरूमध्येका अर्जुन कार्कीले टुँडिखेलमा बसेको जस्तो भान भएको बताइरहेका थिए भने कतिपयले रत्नपार्कसँग तुलना गरे।

सम्पूर्ण सुविधा सम्पन्न र व्यवस्थित भए पनि दिन रात नभनी आफ्ना छोराछोरीले काम गर्नु परेको भन्दै केही अभिभावकहरूले दुखेसो व्यक्त गरे।

अस्ट्रेलियामा छोराछोरीलाई भेट्न पनि गाह्रो पर्ने बताउँदै उनीहरूको त्यो व्यस्ततालाई देखेर नेपालमा नै सुविधा र रोजगारी सिर्जना गरिदिए विदेशमा आउनु पर्दैन थियो भन्छिन् तुलसा नेपाल।

अभिभावक भिसामा अस्ट्रेलिया आउनेहरूको सङ्ख्या बढेसँगै उनीहरूको अस्ट्रेलिया बसाई सहज बनाउन तिनै अभिभावकहरूको एक समूहले विभिन्न कार्यक्रमहरूको आयोजना गर्ने गरेको छ।

नेपाल अभिभावक कल्याण समाजका संयोजक बोधविक्रम दवाडी अभिभावकहरूलाई एक्लोपन महसुस नहोस् भनेर प्रत्येक आइतबार घुम्न जाने गरेको र सोमबार नेपालबाट आउने अभिभावकहरूको स्वागत र नेपाल फर्कनेलाई बिदाइ कार्यक्रम गर्ने गरिएको बताउँछन्।

"समाजमा ४३० जति अभिभावकहरुको नाम दर्ता भईसकेको छ," उनले थपे। 

नेपाल लेखिएको भादगाउँले टोपी लगाएका भीम चुडाल भन्छन्, "मलाई सिड्नी आएको जस्तो लागेकै छैन मलाई नेपालमा नै छु जस्तो लाग्छ।"

"यति धेरै नेपालीहरूलाई एकै ठाउँमा भेला गर्ने गरी कार्यक्रमहरू आयोजना हुनु भावी पुस्ताहरूको लागि नेपाली संस्कृति बुझाउन सहयोगी हुन्छ।"

अस्ट्रेलिया नेपाली नै  नेपालीहरूले भरिएको नभए पनि नेपाली आप्रवासीहरुको सङ्ख्या बढेसँगै अभिभावक भिसामा आउनेहरूलाई समय व्यथित गर्न आफू जस्तै अन्य अभिभावकहरूलाई पार्कमा वा बाटोमा भेट्न धेरै सङ्घर्ष भने गर्नु पर्दैन।

"खासमा म आएको ९/१० महिना भयो तर यो समय कसरी बित्यो मलाई पत्तो भएको छैन," एक अभिभावक नारायण श्रेष्ठ भन्छन्।

पार्कमा बसेर दु:ख सुखका कुराहरू साटासाट गर्ने, नाचगान, भजन इत्यादिले मनोरञ्जन गर्ने गरेको काठमाडौँ निवासी विष्णु प्रसाद भेटवाल बताउँछन्।

कुराकानी कै क्रममा दुर्गा चुडालले आफूले रचना गरेको कविता पनि वाचन गर्न भ्याईहालिन:

हे आमा नेपाल तिमीलाई संसारकै राम्री बनाउँला,

दुई कोटि जन मिलेर सुसार गर्दै जाउँला। 

अस्ट्रेलियामा अभिभावकहरूलाई के कुराको समस्या छ भन्ने प्रश्नमा प्राय:ले भाषा समस्यालाई प्रमुख बताए।

आफूलाई चाहिएको सामान देखाएर वा इसारा गरेर बुझाउने गरेको बताउने एक अभिभावकले अब अर्को पटक आउँदा चाहिँ अङ्ग्रेजी भाषा सिकेर आउने बताइन।

दुर्गा चुडालले आफू एक पटक हराएको घटनालाई स्मरण गर्दै अलि-अलि अङ्ग्रेजी भाषा आएकै कारण सोधखोज गरेर घर फर्कन सफल भएको बताइन।

भिजन फर मोटिभेसनमा आबद्ध म्याक्स बाबु यसरी अभिभावकहरूलाई एक ठाउँमा ल्याएर उनीहरूको अस्ट्रेलिया बसाइ सहज बनाउन प्रयासरत छन्।

उनी भन्छन् "कतिपयले कार्य व्यस्तता वा अन्य कारणले आफ्ना आमा बुवाहरूसँग पाँच मिनेट गफ गरेर बिताउन सक्दैनन्।

"जीवनका धेरै अनुभव सँगालेका उनीहरूसँग कुरा गरेर मात्र पनि मैले धेरै कुरा सिक्न पाएको छु।"

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now