गए हप्ता अध्यागमन मन्त्री रहेका डेभिड कोल्म्यानले आगामी मे १८ को सङ्घीय चुनाव पछि लिबरल गठबन्धन सत्तामा फर्कन सफल भए मोरिशन सरकारले नेपाली सामुदायिक भवन निर्माणको लागि १० लाख डलर दिने घोषणा गरे।
सिड्नीमा आयोजना भएको गैर आवासीय नेपाली सङ्घको ओसेनिया क्षेत्रीय सम्मेलनमा प्रमुख अतिथिको रूपमा आएका लिबरल सांसद कोलम्यानले उक्त घोषणा गरेका हुन्।
दक्षिण सिड्नीको ब्यान्क्स नामक निर्वाचन स्थलबाट उठेका कोल्म्यानले उक्त रकम नेप्लिज अस्ट्रेलियन एसोसिएसनलाई प्रदान गरिने बताएका थिए।
त्यसको एक दिन पछि विपक्षी लेबर पार्टीका ब्यान्क्सका उम्मेदवार क्रिस ग्याम्बीयनले पनि सामुदायिक भवनका लागि नेपाली समुदायलाई १० लाख डलर दिने बाचा गरे।
नागरिकता र बहुसंस्कृतिवाद सम्बन्धी छाया मन्त्री र लेबर सांसद टोनी बर्कसँगको संयुक्त विज्ञप्ति मार्फत उक्त घोषणा गरिएको थियो।

शनिवारको चुनाव पछि आफ्नो नेतृत्वमा सरकार बनाउने आशा गरेका प्रमुख पार्टीहरूद्वारा नेपाली समुदाय प्रति आफ्नो ध्यान केन्द्रित गरिएको विषयले धेरैलाई खुसी बनाएको छ।
अर्को तर्फ छिमेकी निर्वाचन स्थल बार्टनमा नेपाली मूलका प्रमेज श्रेष्ठलाई लिबरल पार्टीद्वारा र पश्चिम अस्ट्रेलियामा ग्रीन्स पार्टीले भुवन खड्कालाई चुनावमा उठाउने निर्णय गरे देखि आगामी चुनाव प्रति नेपालीहरूको रुचि पनि बढेको छ।
तर अस्ट्रेलियामा रहेका धेरै नेपाली भाषीहरूले नेपालीहरूका लागि मात्र नभई गैर नेपाली पृष्ठभूमिका उम्मेदवारहरूका लागि पनि प्रचार अभियानमा धेरै सहयोग पुर्याई रहेका छन्।
यसैक्रममा चुनावी उम्मेदवार भन्दा उनीहरूको सहयोगमा खटेका नेपाली मूलका स्वयंसेवकहरू को हुन् र किन उनीहरूले आफ्नो समय दिई रहेका छन् त राजनीतिज्ञहरूका लागि?
मतदान गर्ने दिन नजिकिँदै जाँदा, नेपाली समुदायबाट पनि विभिन्न निर्वाचन प्रचार अभियान लगायतका कार्यक्रमहरू आयोजना भई रहेका छन्।
आफू समर्थित पार्टी उम्मेदवारहरूलाई समुदाय समक्ष परिचित गराउन आयोजना हुने कार्यक्रमहरूमा मात्र होइन, नेपालीहरू सक्रिय रूपमा नै स्वयंसेवकका रूपमा पनि निर्वाचन प्रचार प्रसारमा संलग्न रहेका छन्।
सक्रिय रूपमा एक पार्टी समर्थित प्रचार प्रसारमा संलग्न नेपालीहरू विशेष गरी प्रमुख राजनीतिक दलहरू लेबर र लिबरलका लागी स्वयंसेवकका रूपमा खटेका छन्।
तर यसो भनिरहँदा समर्थनका दृष्टिले चाहिँ ग्रिन्स र अन्य साना दलहरूको नीतिमा आफ्नो विश्वास रहेको बताउनेहरूको पनि कमी छैन।

सिड्नी निवासी सुजन ज्ञवाली लेबर पार्टी निकट युनाइटेड भ्वाइस नामक मजदुर सङ्घमा आबद्ध रहेका छन्।
अस्ट्रेलियाका हस्पिटालिटी क्षेत्र (सरसफाइ, होम केयर, बाल स्याहार, सुरक्षा गार्ड) का मजदुरहरूको हकहितका लागी वकालत गर्ने भनिएको सो युनियनमा आबद्ध भएपछि लेबर पार्टी तर्फ आफ्नो आकर्षण बढेको सुजनको भनाइ रहेको छ।
उनी भन्छन्, “युनियन भनेको चाहिँ म जस्तै वा नेपालबाट अस्ट्रेलिया आएको एक कर्मचारी वर्गका मानिस जस्तालाई, काममा समस्या पर्यो भने ती युनियनहरूले मद्दत गर्ने हुँदा म त्यस तर्फ ढल्केको हुँ।”
आफू सरसफाइको क्षेत्रमा काम गर्ने उनले सप्ताहन्तहरुमा घरदैलो कार्यक्रम लगायतमा आफ्नो पूर्ण सहभागिता जनाउने गरेका छन्।
“म फुल-टाइम काम गर्ने भएकोले कामको बाहिरको समयमा र वीकेण्डमा नै हो।"
मजदुरहरूको हक हितको लागी आवाज उठाउने लेबर पार्टीको समर्थक ज्ञवाली जस्तै मेलबर्न निवासी सुनिल मैनाली पनि एक स्वयंसेवक हुन्। लिबरल पार्टीको सदस्यता लिएका डोरिन-मरन्डा नेप्लिज कम्युनिटीका अध्यक्ष मैनाली भने धेरै आप्रवासीहरू लेबर समर्थक भएको देखेरै केही फरक हुन लिबरल पार्टी तिर आकर्षित भएको बताउँछन्।

“विशेष गरेर इण्डियन नेप्लिज कम्युनिटी चाहिँ लेबर प्रति धेरै झुकाव छ। सबैतिर हाम्रो प्रतिनिधि हुनुपर्यो भनेर नै हामी लिबरल समर्थक भयौँ, उनले भने।
आफ्नो स्थानीय नेपाली समुदायलाई भविष्यमा केही सहयोग होस् भन्ने हेतुका साथ मैनाली मक्इवेनका लागि सङ्घीय सांसद बन्ने दाउमा रहेका फिलिप फुस्कोलाई सघाइरहेका छन्।
समुदाय अन्तर्गत हुने कार्यहरूमा विशेष रुचि राख्ने म्याक्स बाबु नेपाली समुदाय माझ नौलो नाम होइन।
स्वयंसेवकका रूपमा काम गर्न हरेक केही समय छुट्ट्याएका बाबु भन्छन्, “अहिले चाहिँ मैले लेबर पार्टीको लागि मैले हप्ताको बाह्र घण्टा दिन्छु तर आउँदा दिनहरूमा चाहिँ पार्टीको लागि हप्ताको बीस घण्टा सम्म दिएर समुदायको लागि काम गर्ने लक्ष्य राखेको छु।”
उक्त समयलाई समुदायका समस्याहरू सम्बन्धित निकायसम्म पुर्याउने माध्यमका रूपमा काम गर्ने गरेको बताउने बाबुका अनुसार राजनैतिक दलमा आबद्ध भएपछि सम्बन्धित निकायसम्मको पहुँच अलिक सहज हुने धारणा छ।

म्याक्स बाबु जस्तै सुनिल मैनाली पनि हप्ताको तीन दिन जति “शिफ्ट” गरिरहेको बताउँछन्।
“आफ्नो काम नभएको बेला ३ देखि ५ घण्टासम्म म पार्टीलाई दिन्छु र यो समयमा धेरैजनासँग घुलमिल हुन पाइन्छ। नयाँ-नयाँ मानिसहरूको विचार बुझ्न पाइन्छ। केही थप कुरा पनि सिकिन्छ। समयको राम्रै सदुपयोग भएको ठान्छु म।”
मैनाली जस्तै उनको श्रीमती समा शर्माले पनि सम्भव भएसम्म लिबरल पार्टीलाई यस पटकको चुनावी दौडमा सघाइरहेकी छिन्।
“कार पार्कहरू तिर उभिएर ब्रोसरहरु बाँड्ने, ‘हेल्लो-हाइ’ गर्न पाउँदा रमाइलै अनुभव पाइएको छ, उनी भन्छिन्।
मेलबर्नको उत्तरी भेगमा पर्ने मक्ईवेनमा आप्रवासीहरूको उल्लेखनीय उपस्थिति रहेको र द्रुत गतिमा नेपाल लगायत भारतीय उपमहादेशका मानिसहरूको समुदाय बढी रहेको कारण पनि आफ्नो भूमिका महत्त्वपूर्ण रहेको शर्माको भनाइ छ।

लेबर पार्टी समर्थकहरूको भिडमा गणेश तामाङको नाम पनि चिरपरिचित रहेको छ।
मेलबर्नकी शर्माको जस्तै तामाङ पनि यो निर्वाचनमा नेपाली पृष्ठभूमिका मतदाताहरूलाई मतदान गर्ने र आफ्नो मत खेर जान नदिने प्रक्रिया बारे समेत जानकारी दिन सक्रिय रहेका छन्।
“भोट खेर नजाओस भन्नका निम्ति भोट हाल्ने तरिका बारे पनि सिकाउने गर्छौँ,” तामाङ भन्छन्।
शर्मा भने धेरै मानिसले भोट कसरी गर्ने भन्ने पर्चाहरू पढेरै पनि सजिलोसँग मत दिएको अनुभव सुनाउँछिन्।
“मानिसहरूलाई प्राय: जानकारी हुन्छ, नभए पनि हेरेर-पढेरै पनि बुझ्ने गर्छन्।”
पार्टी सदस्य समेत रहेका तामाङ र मैनाली जस्ता थुप्रै नेपालीहरू अहिले सामुदायिक कार्यक्रमहरूमा सहभागी हुने र पार्टी प्रतिनिधि र मतदाताहरू बिच भेट गराउने बाहेक आ-आफ्नो पार्टीका नीतिहरू बारे जानकारी दिने गर्दछन्।
तामाङले नेपाली भोटरहरूलाई फोन गर्दा रमाइलै हुने भन्दै अगाडी थप्छन्, “चुनावी उम्मेदवारहरूसँग चाहिँ मतदाताहरूको नाम र फोन नम्बर रहेको हुन्छ र नेपाली नाम हामीले चिन्ने भएकोले उनीहरूलाई फोन गरेर चुनाव बारे थाह छ कि छैन भन्ने सोद्दध्छौँ, छ भने कसलाई भोट दिनुहुन्छ भन्ने पनि गर्छौँ। “
“तर, लेबर वा लिबरललाई भोट दिनु भनेर भन्नु भन्दा पनि उहाँहरूलाई राजनीतिक दलको नीति बारे बताउने गर्दछौँ।”
मैनाली यहाँको चुनावका क्रममा आफूले सिकेका राम्रा कुरा नेपालमा पनि लिएर जान मिल्ने र यहाँकै समुदायलाई समेत राम्रो टेवा दिन सकिने तर्क राख्छन्।
“यहाँ सिकिएको कुरा नेपालमा गएर अरूलाई पनि बुझाउने मौका छ। आफ्नो झुकाव रहेको पार्टीको सदस्यता लिएर चुनावमा उठेका मानिसहरूसँग भेटघाट गर्दै ‘भोलनटियर’ हुनुहोस् र आफू पनि सिक्दै समुदायमा केही योगदान गर्नुहोस्।”





