मुख्य बुँदाहरू:
- आफूलाई योग्य छु जस्तो लागेपछि अस्ट्रेलियामा तलब वृद्धि गर्ने बारे जुनसुकै समयमा सोध्न सकिन्छ
- तलब वृद्धिका लागि आग्रह गर्न युनियन वा सहकर्मीहरूको सहयोग पनि लिन सकिन्छ
- तलब बढाउन आग्रह गर्नु अघि उचित तयारी महत्वपूर्ण हुन्छ, जस्तै सल्लाह खोज्ने, ज्ञान प्राप्त गर्ने, र आफ्ना तर्कहरू तयार राख्ने
तलब सम्बन्धी नियमहरू रोजगारदाता कम्पनी र पेसा अनुसार फरक पर्न सक्छन्।
तर सामान्यतया रोजगार सुरु गर्नु अघि गरिने सम्झौता पत्र वा कनट्र्याक्टमा वार्षिक रूपमा हुने 'पर्फमेन्स रिभ्यु' र तलबमा हुने हेरफेरका बारेमा पनि स्पष्ट लेखिएको हुन्छl
कामदारलाई आफूले गरेको कामको तुलनामा तलब कम भएको अनुभव भएमा भने रोजगारदाता सामु जुनसुकै समयमा प्रस्ताव लिएर जान सक्छन्।
ला ट्रोब युनिभर्सिटीमा म्यानेजमेन्ट विषयकी प्रोफेसर सुज्यान यङ बताउँछिन् कि तलब बढाउनको लागि आफ्नो राजगारदातालई नयाँ आर्थिक वर्ष सुरु हुनु अगाडी नै भन्दा उचित हुन्छ।
आर्थिक वर्षको अन्त्य जुन ३० मा हुन्छ, र त्यही समयमा नयाँ वर्षका लागि बजेटहरू छुट्याइन्छ, त्यसैले एप्रिल वा मे महिनामा प्रस्ताव राख्दा, अर्को वर्षको बजेटमा यसलाई समेट्न सकिन्छ।सुज्यान यङ, म्यानेजमेन्ट विषयकी प्रोफेसर, ला ट्रोब युनिभर्सिटी
अवस्था हेरेर, वार्षिक तलब वृद्धि कर्मचारीको कानूनी अधिकार पनि हुन सक्छ।

आफू योग्य भए नभएको कसरी थाहा पाउने?
अस्ट्रेलियाका धेरै जस्तो कार्यस्थलहरूमा फेयर वर्कको प्रणालीले राष्ट्रिय रूपमा लागु गरेका विधानहरू लागु हुन्छन्।
जस मध्ये 'अवार्ड रेट' पनि एक हो, अवार्ड रेट भनेको चाहिँ निश्चित पेसामा न्यूनतम तलब कति हुनु पर्ने हो यसको व्याख्या हो।
कुनै एक अवार्ड वेजमा आधारित कामदारहरू त्यस पेसासँग सम्बन्धित वार्षिक रूपमा बढ्ने तलबका लागि योग्य हुन्छन्।
वार्षिक रूपमा कति तलब बढ्ने भन्ने कुरा चाहिँ, युनियन र फेयर वर्क कमिसनकाबीचमा हुने वार्ताले तय गर्छ।
यसै गरी 'इन्टरप्राईज अग्रिमेन्ट' भनिने अर्को सम्झौतामा रहेकाहरू पनि वार्षिक तलब वृद्धिका लागि हकदार हुन्छन्।
यसमा कामदार, उनीहरूका प्रतिनिधि र रोजगारदाताका बिचमा छलफल गरेर, फेयर वर्क कमिसन सामु अनुमोदनका लागि पठाइन्छ।
प्राध्यापक योङ्ग तलब वृद्धिको माग वा प्रस्ताव लिएर जानु अघि आफू कुन सम्झौता अन्तर्गत छु भनेर स्पष्ट हुन अनुरोध गर्छिन्।
“आफ्नो कनट्र्याक्ट, अवार्ड वा इन्टरप्राइज बार्गेनिङ अग्रिमेन्ट भन्दा बढी तलब दिनका लागि पनि माग राख्न सकिन्छ, तोकेको भन्दा बढी काम गरेको भए पनि तलब बढाउन प्रस्ताव राख्न सकिन्छ।”

प्रभावकारी वार्ता
ह्युमन रिसोर्सेस सम्बन्धी विज्ञ क्यारन गेट्लिका अनुसार मानिसहरू अलि धेरै रकम बढाउन माग राख्दा हिचकिचाउँछन्।
अझ फरक कार्यस्थल संस्कृतिबाट आएकाहरूलाई त, तलब बढाइदिन माग राख्नु नै असभ्य बने जस्तो वा आफू भन्दा ठुलो पदमा बसेको मानिसलाई सम्मान नगरेको जस्तो लाग्न सक्ने उनको भनाइ छ।
तर तलब बढ्नका लागि योग्य छु वा माग उचित छ जस्तो लागेमा बोल्न डराउन नहुने गेट्लिले बताइन्।
“केही रोजगारदाताले कर्मचारीलाई धेरै तलब दिन चाहँदैनन्, र हुन्न पनि भन्न सक्छन्, तर आफूले गरेको कामका लागि अलि बढी तलब पाउन योग्य छु भन्ने लाग्छ भने सांस्कृतिक रूपमा पनि यसको माग राख्नु उचित छ,” उनले बुझाइन्।
“केही अपवाद बाहेक अस्ट्रेलियामा धेरै जसो मानिस वा रोजगारदाताले यसलाई सकारात्मक रूपमा लिन्छन्, त्यसैले आफू निश्चिन्त हुन पनि अस्ट्रेलियन कार्यस्थल संस्कृतिका बारेमा जान्नु आवश्यक छ।”
रोजगारसम्बन्धी विभिन्न वेबसाइटहरूमा तलब कति हुन्छ भनेर जाँच गर्ने वा आफू काम गर्ने पेसा सम्बन्धी नेटवर्कमा बुझ्दा पनि कति तलब माग गर्दा उचित हुन्छ भनेर जानकारी मिल्ने प्रोफेसर यङ बताउँछिन्।
तर एउटै कार्यालय भित्र चाहिँ तलबलाई लिएर केही गोपनीयता रहने भन्दै यङ सचेत गराउँछिन्।
यसले गर्दा महिला, अल्पसङ्ख्यक वा युवा कामदारहरू असमानताको सिकार बन्न सक्ने उनले बताइन्।
यस्तो अवस्थामा आफूले विश्वास गर्न सक्ने समूहमा आफ्ना विचार राख्ने वा कार्यालय भित्र युनियनको कुनै प्रतिनिधि भए सल्लाह गर्न सकिने उनले सुझाव दिइन्।
अस्ट्रेलियन काउन्सिल अफ ट्रेड युनियनकी अध्यक्ष मिसेल ओ’निल पनि युनियनका प्रतिनिधीहरुले, उस्तै रोजगारीका लागि, कहाँ कति तलब दिइन्छ भन्ने बारेमा तथ्याङ्क निकाल्न मद्दत गर्न सक्ने बताउँछिन्।
“आफू जस्तै पदमा रहेर अर्को कम्पनीमा काम गर्ने मानिसले कति तलब पाइरहेको छ भन्ने थाहा पाएर पनि 'उनीहरूले त यति पाइरहेका छन् मेरो किन यति?' भनेर वार्ता सुरु गर्न सकिन्छ,” ओ’निल भन्छिन्।

युनियनको सदस्य बनेर सामूहिक रूपमा तलब बढाउने माग राख्दा सजिलो हुने पनि ओ’निलले बताइन्।
उनका अनुसार युनियनमा आबद्ध कामदारहरूले , युनियनमा आबद्ध नभएका मानिस भन्दा हप्तामा ३१२ डलर अतिरिक्त कमाई गर्ने प्रमाणहरूले देखाएको छ।
तर युनियन सदस्यहरूले चाहिँ तलब बढाउन माग गर्नु अघि, युनियनसँग छलफल गर्दा आवश्यक तयारी गर्न सजिलो हुने पनि उनको भनाई छ।
“आफूलाई तयार राख्न सधैँ महत्त्वपूर्ण हुन्छ, जसमा युनियनले पनि मद्दत गर्छ, जस्तो कि पछिल्लो पटक कहिले तलब बढेको थियो, काममा आएको फेरबदल, बढेको जिम्मेवारी, काम गर्ने घण्टामा फेरबदल, वा कामको अनुपात र नयाँ सीपहरूलाई लिएर पनि तलब बढाउने कुरामा तर्क गर्न सकिन्छ।”
यता प्रोफेसर यङ भने आफ्नो लागि तलब बढाउन माग गर्न युनियनमा आबद्ध भएकै हुनु पर्ने नरहेको बताउँछिन्।
उनका अनुसार तलबका बारेमा कुरा गर्दा, संस्थालाई आफूले पुर्याएको फाइदाका बारेमा जोड दिएर वार्ता गर्न सकिन्छ।

तलब बढाउने माग गर्दा मानसिक रुपमा कसरी तयार रहने?
ह्युमन रिसोर्सेस विज्ञ क्यारन गेट्ली तलब बढाउन माग राख्दा त्यति धेरै सोच्नु नपर्ने बताउँछिन्।
उनका अनुसार को व्यक्ति समक्ष कुरा राखिएको हो र उक्त संस्था कस्तो हो भन्नेमा धेरै कुरा निर्भर गर्छ।
"मेरो विचारमा यसलाई समस्यापूर्ण समयका रुपमा नलिनुले पनि सहयोग गर्छ।"

प्रोफेसर यङ आफूले तलब बढाउनेबारे कुरा राख्दा ‘प्रोफेसनल’ व्यवहार प्रस्तुत गर्नु पर्ने भनाइ राख्छिन्।
“तलबको कुरा गर्दा भावनात्मक हुने भन्दा पनि आफ्नो मागलाई अर्थपूर्ण बनाउन प्रमाणहरू पेस गर्नुपर्छ,” प्रोफेसर यङ भन्छिन्।
“'मैले धेरै काम गरिराखेको छु, यति तलबले त म बाँच्न सक्दिन' भनेर भन्नु भन्दा पनि आफूले कम्पनीका लागि सुधार ल्याइरहेको र कडा मेहनत गरिरहेको रोजगारदातालाई देखाउन सक्नुपर्छ।”
उपयोगी लिङ्कहरू
- फेयर वोर्क कमिसनमा इन्टरप्राइज अग्रिमेन्ट अन्तर्गत तलब दरहरू, र कसरी इन्टरप्राइज अग्रिमेन्ट बनाउने भन्ने बारे जानकारी रहेको छ।
- मिनिमम वेजको बारेमा थप जानकारी यहाँ रहेको छ।
अष्ट्रेलियामा काम गर्ने व्यक्तिहरूको लागि सामान्य कार्यस्थल सुरक्षाको बारेमा जानकारी यहाँ पाउन सकिन्छ।- फेयर वोर्क अम्बड्स्म्यानले यदि ठिक तलब नपाएको लागेमा के गर्ने भन्ने बारे मार्गनिर्देशन दिएको छ साथै कार्यस्थलमा कठिन कुराकानीहरूमा मद्दत गर्न निःशुल्क अनलाइन पाठ्यक्रम सहित स्रोतहरू उपलब्ध गराएको छ।








