१० वर्ष अगाडी रिबेका मलिक दक्षिण सुडानबाट अस्ट्रेलिया आएकी थिइन। उनका ४ बच्चाहरू मध्ये दुई हाइ स्कुलमा पढ्दछन् भने दुई प्राथमिक विद्यालयमा।
केही वर्ष यता उनले आफ्ना बच्चाहरूका शिक्षकहरूसँग भेट्ने तथा विद्यालयबाट हुने शैक्षिक भ्रमणहरूमा स्वयम्सेवकका रूपमा काम गरेर विद्यालयका कार्यक्रमहरूमा सहभागिता जनाउने गरेकी छन्।
उनले आफ्ना बच्चाहरूलाई होमवोर्क क्लबमा पनि आबद्ध गराएकी छन् र अन्य अभिभावकहरूलाई पनि यस्तै गर्न सुझाव दिन्छिन्।
उनी भन्छिन्, “यदि तपाईँ आफैँ सहभागी हुनुभयो भने बच्चाहरूलाई तपाईँको साथ पाएको अनुभूति हुन्छ र उनीहरूले आफूले चाहेको गर्न सक्छन्।”

अस्ट्रेलियाली अभिभावक परिषदकि अध्यक्ष शेली हिल पनि रिबेकाको भनाइलाई समर्थन गर्दै यसबाट बच्चाहरूलाई मात्र होइन अभिभावकलाई पनि फाइदा पुग्ने बताउँछिन्।
“यसले गर्दा बच्चाहरूलाई आफू सुरक्षित भएको महसुस त गराउँछ नै साथमा तपाईँलाई पनि नयाँ साथीहरू बनाउन र अस्ट्रेलियाको शिक्षा प्रणालीको बारेमा बुझ्न मदत पुर्याउनेछ। त्यस्तै आफ्ना बच्चाहरू कसरी आफूलाई नयाँ वातावरणमा अभ्यस्त बनाउँदै छन् भन्ने थाहा भए पछि उनीहरूलाई घरमा त्यसका बारेमा प्रश्न गर्न पनि सक्नुहुन्छ।”
कतिपय अभिभावकलाई आफ्नो सहभागिता कत्तिको स्वीकार्य हुन्छ भन्ने बारेमा जानकारी नै हुँदैन किनभने कतिपय देशमा यस्तो अभ्यास गरिँदैन।
तर हिल भने अस्ट्रेलियामा विद्यालयहरूले अभिभावकहरूको सक्रिय सहभागितालाई स्वागत गर्दछन् भनेर विश्वस्त पार्छिन्।
बहुसांस्कृतिक युवा केन्द्रकी शिक्षा योजना अधिकृत लरेन आयरल्यान्ड भन्छिन्, “अभिभावकहरूको पहिलो पहल भनेको घरबाट नै सुरु हुन्छ।”

उनका अनुसार हरेक दिन आफ्ना छोराछोरीलाई के सिक्यौ, के कुरा गर्न सबैभन्दा धेरै रमाइलो लाग्यो अथवा विद्यालयमा सिकेको के कुरा याद छ भनेर सोध्न सकिन्छ।
“उनीहरूको विद्यालयको पुस्तकहरू हेर्ने अथवा गृहकार्यबारे चासो लिने, गृहकार्यमा सहयोग गर्ने वा त्यसका लागी खलबल नहुने ठाउँ प्रदान गर्नका लागी आफ्नो समय मिलाउनु पर्दछ।”
“यदि सबै कुरा गर्न अप्ठ्यारो भए अथवा अङ्ग्रेजी भाषामा नै समस्या देखिए पनि त्यस्तो चिन्ता लिनु पर्दैन।”
बच्चाहरूलाई उनीहरूको प्राथमिक भाषा कायम राख्न प्रोत्साहित गर्न सकिन्छ, त्यसका लागी आफ्नै मातृभाषामा कथाहरू सुनाउनेदेखि अङ्ग्रेजी भाषाका पुस्तकहरूमा रहेका चित्रहरूका बारेमा छलफल गर्न पनि सकिन्छ।
आफ्ना बालबच्चाको शिक्षाबारे सहभागिता जनाउन कतिपय अभिभावकहरू भाषा नबुझ्नाले समस्या हुन सक्ने सोच्दछन्, तर लरेन यसका लागि विद्यालयहरूले दोभासे उपलब्ध गराउन सक्नेमा जोड दिन्छिन्।
विद्यालयसँग अभिभावकको पहिलो सम्पर्क हुने भनेको अभिभावक-शिक्षक भेटघाटका लागि तोकिएको दिनमा नै हो। यस्ता भेटघाट र छलफल कार्यक्रममा सदैव सहभागिता जनाउन हिलको सुझाव छ।
“सुरु-सुरुका केही पटक असहज भएता पनि पहिलो कदम चाल्नु महत्त्वपूर्ण हुन्छ,” उनको भनाई छ।
विद्यालयको निरन्तर सम्पर्कमा रहेर अथवा अभिभावक-शिक्षक छलफल कार्यक्रममा उपस्थिति जनाएर आफ्ना बच्चाहरूको शिक्षामा योगदान दिन सकिन्छ।
यसका निमित्त विद्यालय, शिक्षक एवं अन्य कर्मचारीहरूबाट पनि पर्याप्त सहयोग र समर्थन पाउन सकिने हिल बताउँछिन्।




