मुख्य बुँदा:
- छिमेकीले दुख दिएको खण्डमा समस्या समाधानका लागि अदालतमा पुग्नु भन्दा आपसी समझदारीमा आउनु उचित मानिन्छ।
- अस्ट्रेलियामा मध्यस्थकर्ता र सरकारी एजेन्सीहरूले समस्या समाधानका लागि सहयोग गर्न सक्छन्।
- आफ्नो स्थानीय काउन्सिल मार्फत उजुरी हाल्ने र अन्य सहयोगहरूका बारेमा थाहा पाउन सकिन्छ।
चाहे ठुलो बगैँचा भएको घरमा बस्नुस् वा सहरी क्षेत्रको कुनै अपार्टमेन्टमा, छिमेकीसँग चित्त नबुझे घरै फेर्नुपर्ने स्थिति पनि आउन सक्छ।
जग्गाको सिमानाको निहुँमा होस् वा चर्को आवाज निकालेको झोँकमा, घरपालुवा जनावरले गर्ने फोहर वा पार्किङको विषय होस्, छिमेकीसँग विवाद हुन सक्ने खतरा सधैँ रहन्छ।
कहिले काहीँ छिमेकीको व्यवहार वा उनीहरूले सामान्य नियमहरूको उल्लङ्घन गर्दा तपाईँलाई उक्त कुरा बिझ्न सक्छ।
तर अस्ट्रेलियाको कानुनले छिमेकीको चिढ्याउने व्यवहारलाई मात्र, दुई छिमेकी बिचको मनमुटाव हुने कारण मान्दैन।
सिड्नी विश्वविद्यालयको अर्न्तगतको कानुन विभागकी प्राध्यापक बार्बरा म्याकडनल्डस् भन्छिन् कि 'आफ्नो घरसम्पत्तिबाटमा आनन्द प्राप्त गर्नबाट छिमेकीको कामले वञ्चित गरेको भए यसलाई मनमुटावका रूपमा परिभाषित गर्न मिल्छ।'
“मलाई के लाग्छ भने मान्छेहरू नजिक बस्दा विवाद त निम्ति हाल्छ, नजिकै बस्नु पर्छ भन्ने पनि छैन, एक किलोमिटर पर बसे पनि चर्को आवाज वा आफ्नो घरमा छिर्ने बाटो कसैले छेके पनि विवाद हुन सक्छ।”

कानुनी सहयता लिने कि मध्यस्थकर्ताको?
छिमेकीबिचको समस्या अदालतको सहयोग मार्फत छिनोफानो गर्ने परिस्थिति आएको खण्डमा विभिन्न कुराहरूले प्रभाव पार्ने बताइन्छ।
"जस्तो कि तपाईँ अदालतसम्मै पुग्नुभयो भने छिमेकीले तपाईँ ठ्याक्कै कसरी अफ्ठेरोमा पारे वा उनीहरूको के कदमले तपाईँलाई आफ्नो तरिकाबाट जीवनको मजा उठाउन नसक्ने अवस्था आयो भनेर प्रस्ट्याउनु सक्नु पर्ने हुन्छ"
कहिले काहीँ रातिको समयमा छिमेकीले ठुलो स्वरमा सङ्गीत सुन्दा/बजाउँदा वा अनुमति प्राप्त समय भन्दा बाहिर निमार्ण सम्बन्धी कार्य गर्दा पनि अरू कसैको निजी जीवनमा वाधा पुगेको हुन सक्छ।
प्राध्यापक म्याकडनल्डस् आफू वरिपरिका विभिन्न पक्षसँग विवादको प्रत्यक्ष सम्बन्ध हुने बताउँछिन्।
विवाद ठुलो हुनु अगावै छिमेकीसँग औपचारिक वार्ता गरी यसको समाधानको प्रयास गरिनु पर्दछ।
विवाद समाधान गर्न तेस्रो पक्षको आवश्यकता परेको खण्डमा मध्ययस्तताकर्ताको सहयोग लिन सकिन्छ।
यस्तो अवस्थामा कम्युनिटी जस्टीस सेन्टर जस्ता सरकारी एजेन्सीले सहयोग गर्न सक्छन्।

तर कानुनी रूपमा अदालतमा समस्या समाधान गर्ने निर्णय लिँदा भने समय र पैसाको खर्च त हुन्छ नै, छिमेकीसँगको सम्बन्धमा पनि थप दरार पैदा हुन सक्छ।
प्राध्यापक मेक्डोनल्ड्स सबैभन्दा पहिले समस्याका बारेमा छिमेकीलाई जानकारी दिएर, समाधानको कोसिस गर्नु पर्ने बताउँछिन्।
“मेरो विचारमा सबैभन्दा पहिले छिमेकीलाई के भइरहेको छ भन्ने बारेमा जानकारी दिन लिखित नोट पठाउनु ठिक हुन्छ, त्यसो हुँदा आफुल् छिमेकीलाई लिखित रूपमा जानकारी गराएको प्रमाण पनि आफूसँग हुन्छ र उसले पनि गुनासो गरेको विषयमा केही गर्ने पाउँछ,” प्राध्यापक मेक्डोनल्डस् भन्छिन्।
“तर छिमेकीले यसका बारेमा वास्तै गरेन भने चाहिँ मध्यस्थकर्ताको सहयोग लिन सकिन्छ।”
क्यानबेरा स्थित मध्यस्थता गर्नका लागि सहयोग गर्ने संस्था कन्फिल्क्ट रिजोलुसन सेन्टरकी प्रमुख कार्यकारी मेलिसा हेली पनि समस्या समाधानका लागि अन्य उपायहरू लगाउनु भन्दा मध्यस्थता धेरै कारणले उचित हुने बताउछीन।
उनका अनुसार मध्यस्थताको विकल्प प्रयोग गर्दा, समस्याको समाधान खोज्ने मात्र नभई, समस्या किन सिर्जना भयो भन्ने कुराको जड पत्ता लगाउन सजिलो हुन्छ।

यसबाहेक भविष्यमा आउने समस्या समाधानका लागि समेत यसले बाटो देखाउने उनको भनाई छ।
“वास्तवमा यसले दुवै पक्षलाई शक्तिशाली बनाउँछ र राम्ररी अगाडी बढ्नलाई सहयोग पुर्याउँछ, कानुनी प्रक्रियामा जाँदा एक जना व्यक्तिले उसका अगाडी राखिएका कुराहरूका आधारमा निर्णय लिन्छ, जसमा विवादमा रहेका दुई पक्षको समस्या समाधानमा कुनै भूमिका नै पाउँदैनन्।” हेलीले बताइन्।
तर समस्या समाधानमा सहभागी हुँदा, साँच्चीकै समाधान गर्ने मनसाय भने हुनुपर्ने हेलिले बताइन्।

एउटा विवादमा धेरै मानिसको संलग्नताले कस्तो रूप लिन्छ?
विवाद समाधानका क्रममा प्रभावित बाहेकका मानिसहरूको उपस्थितिलाई पनि सामान्य मान्न सकिने कन्फिल्क्ट रिजोलुसन सेन्टरकी हेलिको भनाई छ।
विशेष गरी युनिट र अपार्टमेन्टमा बस्ने छिमेकीहरू बिच विवाद हुँदा धेरै मानिसको संलग्नता हुने सम्भावना रहन्छ।
सिड्नीमा बस्ने क्रममा नमिच्दा किरिवाट्डुवाले एक दिन यस्तै समस्या भोगे।
उनका अनुसार छिमेकीको घरको बरन्डामा पानी चुहिने समस्या रहेछ।
एक दिन कसैलाई जानकारी नै नदिई, उनका छिमेकीले बरन्डामा केमिकल पानी खन्याएर जाँच गर्ने निधो गरेछन्।
“यो जाँच गर्दा चाहिँ बरन्डा भरी केमिकल घोलेको पानी राखिने रहेछ, यसले कुनै हानि त नगर्ने रहेछ तर हाम्रो केसमा भने यो रातो केमिकल भएकाले, जब हामी घर आयौ हाम्रो घरको छत पुरै रातो भएको थियो, र तरल पदार्थ भुईँमा चुहिरहेको थियो, यो देखेर हामी एक छिन आत्तियौ” उनले भने।
पछि उनले यसका बारेमा प्रर्पटी म्यानेजमेन्टलाई खबर गरे, सँगै फेयर ट्रेडिङ्गमा पनि यसका बारेमा जानकारी गराए।
लिक टेस्ट गर्ने छिमेकी स्ट्राटा कमिटीमा समेत भएकाले त्यो समस्या समाधान गर्न आफूलाई निकै गार्हो भएको उनी सम्झन्छन्।
तर अन्तिममा ढिला भए पनि क्षतिपूर्ति पाउन भने उनी सफल बने।

यसरी अपार्टमेन्ट वा युनिटमा स्ट्राटा मार्फत भएका विवाद समाधान गर्दा, भविष्यमा यस्ता समस्या आएको अवस्थामा के गर्ने भन्ने बारेमा पनि योजना बनाउन हेली जोड दिन्छिन्।
तर व्यक्तिगत घरमा भने छिमेकीसँगको विवाद परेको खण्डमा काउन्सिल मार्फत आगामी कदमका बारेमा जानकारी पाउन सकिने उनको भनाई छ।
“तपाईँको काउन्सिलले कहाँ गएर सहयोग लिने भन्ने बारेमा जानकारी दिन सक्छ, मध्यस्थकर्ता लागि अस्ट्रेलियामा निजी वा सरकारी स्तरका संस्थाहरू रहेका छन्। यस बाहेक आवश्यक कानुनी साहायता पनि पाउन सकिन्छ।” हेले भन्छिन्।

तर विवादलाई रोक्न वा यसलाई ठुलो रूप हुनबाट रोक्ने उपायहरू पनि छन्।
यसका लागि उत्तम उपाय भनेको चाहिँ, नयाँ स्थानमा सर्दै गर्दा छिमेकीसँग आफ्नो परिचय गराएर मित्रवत् व्यवहार गर्नु हो।
“मैले मानिसहरूलाई भन्ने पहिलो कुरा के हो भने, आफू नयाँ ठाउँमा सर्दै हुनुहुन्छ भने, छिमेकीसँग आफ्नो परिचय गराउनुहोस्, यसको मतलब वेस्ट फ्रेन्ड हुनुपर्छ भन्ने होइन, तर यसले ठुलो प्रभाव भने पार्छ।”

अस्ट्रेलियामा मध्यस्थकर्ता सेवाका लागि तलको लिङ्कमा जानुहोस:




