बढ्दो कोरोनाभाइरस सङ्क्रमण र अलपत्र परेकालाई घर फर्काइयो: गत ७ दिन नेपालमा

Stranded workers in Nepal going back to their hometowns amid government's coronavirus lockdown.

Stranded workers in Nepal going back to their hometowns amid government's coronavirus lockdown. Source: RSS

पूर्वी नेपालको उदयपुरमा २८ जना कोरोनाभाइरस बाट सङ्क्रमित रहेको पुष्टि र देशभर विभिन्न ठाउँमा हिँड्दै गरेका र अलपत्र परेका मानिसहरुलाई स्थानीय निकायको समन्वयमा घर फिर्ता लगिएको लगायत गत ७ दिनका नेपालका प्रमुख समाचार यहाँ सुन्नुहोस्।


कोरोना सङ्क्रमण दर

नेपालमा कोरोना संक्रमित मानिसहरुको संख्या ५१ पुगेकको छ, जसमध्ये २८ जना पूर्वी जिल्ला उदयपुरको भुल्के भन्ने ठाउँमा रहेका छन्।

भुल्केमा स्वास्थ्य विभागले स्वास्थ्य शिविर राखेर थप परीक्षणहरु गरिरहेको छ भने संक्रमित मानिसहरुलाई बिराटनगरको कोशी अस्पतालमा उपचारका लागि लगिएको छ।

पछिल्लो विवरण दिँदै स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले भने, "१२ जना निको भएर घर फर्किसक्नुभएको छ।

धनगढीमा हाल १ जना, बीरगञ्जमा ५ जना, भरतपुरमा १ जना र बिराटनगरमा ३० जना गरी जम्मा ३७ जना उपचारको क्रममा हुनुहुन्छ। सबैको स्वास्थ्य स्थिति सामान्य रहेको छ।"

कोरोना संक्रमित मानिसको संख्या बढेसँगै नेपालले राष्ट्रिय र अन्तर्राष्ट्रिय उडानहरु आगामी मे महिनाको १५ तारिखसम्म स्थगित नै गरीरहने निर्णय गरेको छ। नेपालमा लागु गरिएको लकडाउन सोमबार सकिँदै छ। त्यसलाई अझै बढाउने कि नबढाउने भन्ने बारेमा मन्त्रीपरिषदले छिटै निर्णय गर्ने बताइएको छ।

Relief food distribution for coronavirus impacted people in Pokhara, Nepal.
Relief food distribution for coronavirus impacted people in Pokhara, Nepal. Source: RSS

अध्यादेश

प्रधानमन्त्री केपी ओलीले अचानक सोमबार राजनीतिक दल विभाजन गर्न सजिलो हुने किसिमको अध्यादेश प्रस्तुत गरेपछि त्यसको चौतर्फी विरोध भएको छ र केही दिन नबित्दै उनी अध्यादेश फिर्ता लिन बाध्य भएका छन्।

सोमबार मन्त्रीपरिषदको बैठकमा ओलीले एउटा अध्यादेश प्रस्तुत गरेका थिए जसमा पार्टी विभाजनका लागि केन्द्रिय समिति वा संसदीय दलका ४० प्रतिशत सदस्य भए पुग्ने प्रावधान थियो।

यसअघि दल विभाजनका लागि ती दुबै निकायमा ४० प्रतिशत सदस्य पुग्नुपर्ने थियो।

त्यस्तै, क्याबिनेटमा प्रधानमन्त्री र ४ जना मन्त्री मात्रै भए पुग्ने र विपक्षी दलका प्रतिनिधिको भूमिका पनि खुम्च्याउने प्रावधानहरु अध्यादेशमा थिए। ती प्रावधानले प्रधानमन्त्रीलाई एकाधिकार जमाउन सजिलो हुने भन्दै विपक्षी दल, कानुन व्यवसायी र नागरिक समाजले त्यसको विरोध गरेका थिए।

विपक्षी दल नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल भन्छन्, "एउटा त पार्टीहरुलाई तोड्ने फोड्ने र देशमा अस्थीरता ल्याउने। अर्को चाहिँ संवैधानिक आयोगहरुलाई निरर्थक बनाइदिने र स्वेच्छाचारी ढंगका नियुक्तिहरु अगाडि बढाएर आफ्नो मोनोपोली कायम गर्ने। सरकारको खराब नीयत देखियो।"

त्यस्तै, ओलीकै पार्टीभित्रबाट पनि सांसदहरुले पर्याप्त छलफल नगरी एकतर्फी रुपमा ल्याएको भनीअध्यादेशको निकै विरोध गरेका थिए।

जनमतको कदर गर्ने भन्दै शुक्रबार प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता लिएका थिए छन्।

सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश प्रमाणीकरण गरेकी थिइन् भने शुक्रबार राष्ट्रपतिले नै त्यसलाई खारेज गरेकी छिन्।

Nepal's Prime Minister KP Sharma Oli addressing the nation about coronavirus.
Nepal's Prime Minister KP Sharma Oli addressing the nation about coronavirus. Source: RSS

सांसद अपहरण

प्रधानमन्त्री केपी ओलीको अध्यादेशका कारण एकजना सांसदको अपहरण गर्ने प्रयास भएको आरोप लागेको छ।

ओलीले सोमबार अध्यादेश जारी गरेपछि धेरैले उनले आफ्नै नेकपा पार्टी फुटाउने तयारी गरेको अनुमान गरेका थिए। तर त्यस अड्कलका विपरीत नेकपा पार्टिका दुईजना सांसद महेश बस्नेत र किसान श्रेष्ठ र नेपाल प्रहरीका पुर्व प्रमुख सर्वेन्द्र खनालले महोत्तरीबाट सांसद सुरेन्द्र यादवलाई काठमाण्डु ल्याएर उनलाई समाजवादी पार्टी छोडाउने प्रयास गरेको बताइएको छ।

लकडाउनका बीचमा उनीहरुको लामो दुरीको यात्राको आलोचना भइरहेको बेलामा समाजवादी पार्टीले उनीहरुले आफ्नो सांसदलाई अपहरण गरेको आरोप लगाएको थियो।

सांसद यादवलाई उनको ईच्छाविरुद्ध काठमाण्डुको एउटा होटलमा राखिएको विवरणहरु बाहिर आएका थिए। अध्यादेश खारेज गरिएपछि यो प्रयास पनि रोकिएको थियो र सांसद यादवले प्रधानमन्त्रीले आफूलाई मन्त्रीको पद दिने प्रस्ताव गरेको सञ्चार माध्यमहरुलाई बताएका छन्।

दल फुटाउने प्रयास गरिएको भन्दै रातारात समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीले एकीकरण गरेर जनता समाजवादी पार्टीको गठन गरेका छन।

समाजवादीका तर्फबाट बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राई र राजेन्द्र श्रेष्ठ तथा राजपाका तर्फबाट महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव र शरतसिंह भण्डारीले लगायतको सहमतिमा बिहीबार नयाँ दल दर्ता गरिएको छ।

प्रधानमन्त्रीले साना दल फुटाउन खोजेर देशको राजनीतिलाई अस्थीरतातर्फ धकेलेको भन्दै चौतर्फी आलोचना भएको छ। र यो घटनाको अन्त्य भइसकेता पनि अपहरण गर्ने मानिसलाई कारवाही गरिनुपर्ने र प्रधानमन्त्रीको संलग्नताको बारेमा छानबीन हुनुपर्ने आवाजहरु उठिरहेका छन्।

मानिसहरु घर फर्काइए

देशभर विभिन्न ठाउँमा हिँड्दै गरेका र अलपत्र परेका मानिसहरुलाई स्थानीय निकायको समन्वयमा फिर्ता लगिएको छ।

लकडाउनका कारण काठमाण्डु र पोखरा जस्ता शहरमा मानिसहरु अलपत्र परेपछि थुप्रैले हिँडेर घर जाने लामो यात्रा थालेका थिए। सरकारले त्यस्ता मानिसहरुलाई जहाँ छन् त्यहीँ क्वारेण्टाइनमा राख्नु भन्ने निर्देशन दिएता पनि यस हप्ता थुपै जिल्ला र नगरपालिका जस्ता स्थानीय निकायले बसहरु रिजर्भ गरेर ठाउँठाउँमा रहेका मानिसहरुलाई फिर्ता लगेका छन्।

कति मानिस फिर्ता लगिए र कति बाँकी छन् भन्ने यकीन संख्या भने कतै छैन।

विभिन्न ठाउँमा स्वयंसेवकहरुले हिँड्दै गरेका मानिसहरुलाई खाना खुवाउने र जुत्ता चप्पल दिने जस्ता काम गरिरहेका छन्।

Stranded workers walking back home in Lumbini, Nepal after coronavirus lockdown.
Stranded workers walking back home in Lumbini, Nepal, after coronavirus lockdown. Source: RSS

प्रवासी

यसका साथै विदेशबाट आएर विभिन्न जिल्लामा दुई हप्ता क्वारेण्टाइनमा बसिसकेका मानिस पनि कोरोनाको लक्षण नदेखिएपछि घर फर्किन थालेका छन्।

भारतीय क्वारेण्टाइनमा रहेका पनि कतिपय मानिसहरु १४ दिन पुरा भएपछि घर फर्केका छन्।

विदेशमा भएका प्रवासी कामदारले भने कतिपयले जागीर गुमाएपछि नेपाल सरकार समक्ष उद्धारका लागि अपील गरेका छन्। नेपालको अर्थतन्त्रको एक तिहाई विदेशी कामदारले पठाएको विप्रेषणमा निर्भर छ, जुन विश्वव्यापी आर्थिक मन्दीका कारण घट्ने अनुमान गरिएको छ।

यसै हप्ता विश्व ब्यांकको एउटा रिपोर्टले यो वर्ष नेपालको विप्रेषण १४ प्रतिशतले घट्ने आँकलन गरेपछि नेपालको अर्थतन्त्रको बारेमा चिन्ता बढेको छ।

चाडपर्व सुनसान

यसै हप्ता परेको मातातीर्थ औंसीको चाड यो वर्ष कोरोनाको प्रकोपका कारण खल्लो भएको छ। आमाको मुख हेर्ने दिनमा मानिसहरुले आमालाई भेट्ने, खुशीयाली मनाउने र उपहार दिने गर्दछन्।

यो वर्ष भने लकडाउनका कारण धेरै मानिसहरु टाढा रहेका आमालाई भेट्न गएनन् भने आमा नहुने मानिसहरुले पूजा गर्ने काठमाण्डुको मातातीर्थ सुनसान रहेको छ।

यसका साथै शुक्रबार शुरु भएको मुसलमान धर्मावलम्बीहरुको एक महिना लामो चाड रमादान पनि मानिसहरुले घरघरमै मनाएका छन् र उपत्यकाका मस्जिदहरु सुनसान छन्।


Share

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now