सेवा भट्टराई द्वारा प्रस्तुत रिपोर्ट सुन्न माथि रहेको मिडिया प्लेयरमा क्लिक गर्नुहोस्।
कोरोना
नेपालमा कोरोनाले नयाँ संक्रमित हुने मानिसको संख्या घट्ने क्रम जारी छ भने खोप लगाउनेको संख्या बढिरहेको छ।कोरोनाबाट संक्रमित २ लाख ७३ हजार भन्दा बढी मानिस मध्ये सकृय संक्रमित करिब १,५०० मात्र रहेका छन्।
हालसम्म २२६ खोप केन्द्रबाट ३ लाख ८० हजार भन्दा बढी मानिसले कोरोना विरुद्धको खोप लगाइसकेका छन्।
यो चरणमा शनिबर सम्म सरकारी कर्मचारी, ब्यांकका कर्मचारी, पत्रकार, स्थानीय तहका निर्वाचित जनप्रतिनिधि, र सीमामा खटिएका सुरक्षाकर्मीलाई खोप दिइएको छ। अर्को चरणमा ज्येष्ठ नागरिकलाई खोप दिइने अपेक्षा गरिएको छ।

महिला हिंसा
अदालतले एकजना धार्मिक गुरुलाई बलात्कारको आरोपमा सफाई दिएको र गत हप्ता महिला मार्चमा सहभागी महिलाहरुलाई धम्की दिइएको घटनापछि यस हप्ता नेपालमा महिला हिंसाको समस्या अझ विकराल देखिएको छ।
सिद्धबाबाका नामले चिनिने कृष्णबहादुर गिरीलाई सुनसरी जिल्ला अदालतले बलात्कारको आरोपमा सफाइ दिएको हो। उनी विरुद्ध फेसबुक च्याट जस्ता प्रमाण, र उनले आफ्ना कृयाकलाप स्वीकारेका फोन कल रेकर्ड हुँदाहुँदै पनि अदालतले यो घटना बलात्कार नभएको बरु स्वीकृतीमा भएको भन्ने फैसला गरेपछि अधिकारकर्मीहरु आक्रोशित बनेका छन्।

त्यस्तै, गत हप्ताको महिला मार्चमा सहभागी थुप्रै वक्तामाथि सामाजिक सञ्जालमा धम्की दिइएका छन्। अभियन्ता सपना सञ्जीवनीले मैथिली भाषामा यस्तो कविता वाचन गरेकी थिइन्।
"हम तोहर बहिष्कार करैछिअ
उ समाज जब कोइक स बेटा और बेटी में अन्तर क
कन्या भ्रुण हत्याके अपराध नहीँ मानल जाए
तोहर उन समाजके हम बहिष्कार करैछिअ"
सञ्जीवनी र अरु अभियन्ता विरुद्ध ज्यान मार्ने र बलात्कार गर्ने जस्ता धम्की सामाजिक सञ्जालमा देखा परेपछि अभियन्ताहरु अझ बढी आक्रोशित बनेका छन्।
गत महिना बैतडीमा बलात्कारपछि हत्या गरिएकी किशोरी भागरथी भट्टका परिवारले १५ दिन अस्पतालमा रहेको उनको शव बुझेका छन्।
दोषी पत्ता लाग्नुपर्ने माग सहित उनीहरुले शव बुझ्न अस्वीकार गरिरहेका थिए, तर प्रहरीले भट्टकै विद्यालयमा पढ्ने एकजना किशोरलाई गिरफ्तार गरेर उनले अपराध कबुल गरेपछि परिवारले भट्टको दाहसँस्कार गरेका हुन्।

प्रतिनिधिसभा विघटन मुद्दा
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको विरुद्ध सर्वोच्च अदातलमा परेका मुद्दाहरुमा वकीलहरुको बहस सकिएको छ।
पक्ष र विपक्षका वकीलको बहसका साथै यो हप्ता एमिकस क्युरे अर्थात अदालतले निष्पक्ष परामर्शका लागि बोलाएका कानुनविदहरुको बहस पनि सकिएको छ।
एमिकस क्युरेका पाँच जना कानुनविद मध्ये चार जनाले प्रधानमन्त्रीको कदम असंवैधानिक भएको बताएका छन् भने एक जनाले मात्र प्रधानमन्त्रीको समर्थन गरेका छन्।
अब अदालतले सबै प्रमाण र दस्तावेजहरुको अध्ययन गरेर चाँडै फैसला गर्ने अनुमान गरिएको छ।
अदालतलाई प्रभावित गर्ने गरी सडकमा यो विषयका पक्ष र विपक्षमा प्रदर्शनहरु भइरहेको अवस्थामा गृह मन्त्रालयले सर्वोच्च अदालतका प्रधानन्यायाधीश र निर्वाचन आयुक्तको सुरक्षा व्यवस्था थप गरेको छ।

प्रधानमन्त्रीले प्रतिनिधिसभाको विघटन गरेसँगै बैशाखमा निर्वाचनको पनि घोषणा गरेका छन, र सत्तारुढ दल नेकपा दुई टुक्रा भएको अवस्थामा दुवै समूहले आधिकारिकता पुष्टि गर्नका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन्।
आयोगले यस बारेमा फैसला गर्न ढिलाइ गरिरहँदा सडकमा भने दुवै पक्षले आफु आधिकारिक भएको दावी गर्दै शक्ति प्रदर्शन गरिरहेका छन्।
विरोध आन्दोलनहरु
प्रधानमन्त्री केपी शर्मा ओलीको कदमका विरुद्धमा विभिन्न किसिमका विरोध र प्रदर्शनहरु जारी छन्।
शुक्रबार प्रजातन्त्र दिवसको उपलक्ष्यमा बृहत नागरिक आन्दोलनले एउटा प्रदर्शन गरेको थियो, र त्यसलाई टुँडिखेल प्रवेश गर्न नदिइएकोमा उनीहरुले विरोध गरेका छन्।
टुँडिखेलमा सरकारको आधिकारिक प्रजातन्त्र दिवसको कार्यक्रम चलिरहँदा बृहत नागरिक आन्दोलनले टुँडिखेल फेरी सार्वजनिक स्थल बनाइनु पर्ने माग गर्दै टुँडिखेल नजिकैको संकटामा गएर सभा गरेको थियो। लेखक खगेन्द्र संग्रौला भन्छन्, "हामी आज टुँडिखेल हाम्रो हो भन्न आएका छौं। अघिल्लो नागरिक आन्दोलनमा हामीलाई सम्झना छ, रत्नपार्क हाम्रो हो भन्न हामी आएका थियौं। त्यसैले यो सेना नेपालका शासकहरुको बर्बरताको प्रतीक हो।"
सभामा आन्दोलनले नागरिक सर्वोच्चता फर्काइ छोड्ने प्रतिबद्धतासहित घोषणापत्र जारी गरिएको छ।
त्यस्तै, शनिबार सत्तारुढ दल नेकपाको दाहाल-नेपाल समूह र राजतन्त्रको पक्षधर दल राष्ट्रिय प्रजातन्त्र पार्टीले छुट्टाछुट्टै जुलुस गरेका छन्। प्रधानमन्त्री ओलीका पक्षधरले पनि देशका विभिन्न स्थानमा भेला र सभाहरु गरिरहेका छन्।

विद्यालयमा खाजा
सरकारले देशभरका सामुदायिक विद्यालयमा ‘जङ्क फुड’ खुवाउन निषेध गरेको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्र, सानोठिमीले सार्वजनिक विद्यालयमा दिवाखाजामा जङ्क फुड खुवाउन निषेध गरेको हो।
केन्द्रले विद्यालयमा दिवाखाजा खुवाउनका लागि मेनु पनि तयार गरेको छ। स्थानीय स्तरमा उत्पादन हुने खानेकुरालाई नै प्राथमिकतामा राख्दै विभिन्न ६० प्रकारका मेनु तयार गरिएका छन्।
विद्यार्थीलाई दिवाखाजाका लागि सात अर्ब ७२ करोड भन्दा बढी रकम ३० हजार विद्यालयमा पठाइसकेको केन्द्रले जनाएको छ। त्यस अन्तर्गत देशभरिका झण्डै ३० लाख विद्यार्थीलाई विद्यालयमा दैनिक खाजा निःशुल्क उपलब्ध गराइनेछ।
सरस्वती पूजा
यस हप्ता बुधबार देशभरका हिन्दु धर्मावलम्बीले सरस्वती पूजा मनाएका छन्। यस दिनमा विद्या लगायतका शुभ कार्यहरुको आरम्भ गर्ने प्रचलन रहेको छ।
यस अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले वसन्त श्रवण गरेकी छिन्, र देशका थुप्रै विद्यालयले अक्षरारम्भ कार्यक्रम गर्दै नयाँ विद्यार्थीको भर्ना लिएका छन्।
कोरोनाका कारणले गत वर्ष विद्यालयहरु थुप्रै समय बन्द रहेका थिए भने यस दिनदेखि थुप्रै विद्यालय फेरी खुलेका छन्। र विद्यालयहरुले नयाँ विद्यार्थीको चाप बढेको बताएका छन्।





