Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE starting June 12 2026

भारतीय सेना प्रमुखको नेपाल भ्रमण र र्यापर भिटेनलाई कारवाही गर्न प्रहरीको निर्देशन: गत ७ दिन नेपालमा

Nepali rapper VTEN

भारतीय सेनाका प्रमुख भ्रमणमा आउने र भिटेन नामले चिनिएका र्‍यापर समीर घिसिङलाई कारवाही गर्न प्रहरी प्रधान कार्यालयको निर्देशन लगायत गत ७ दिनका नेपालका प्रमुख समाचार।


Published

Updated

Source: SBS



Share this with family and friends


भारतीय सेनाका प्रमुख भ्रमणमा आउने र भिटेन नामले चिनिएका र्‍यापर समीर घिसिङलाई कारवाही गर्न प्रहरी प्रधान कार्यालयको निर्देशन लगायत गत ७ दिनका नेपालका प्रमुख समाचार।


कोरोना

यस हप्ता नेपालमा कोरोना संक्रमित मानिसको संख्या एक लाख ७० हजार भन्दा बढी र मृतकको संख्या ९०० भन्दा बढी पुगेको छ।

दशैंका कारणले गर्दा कोरोनाको परीक्षण संख्या कम भएको देखिएको छ भने मानिसहरुबीच भेटघाट साबिकभन्दा बढी भएको कारणले कोरोना समुदायमा अझ बढी फैलिएको आशंका गरिएको छ।

दशैं बिदाका कारण अझैसम्म पनि स्वास्थ्य मन्त्रालयका प्रवक्ताले कोरोनाको विवरण प्रत्यक्ष रुपमा दिएका छैनन्, र मन्त्रालयले सामाजिक सञ्जालमा प्रेस विज्ञप्तीहरुबाट जानकारी दिइरहेको छ।

Nepalese devotees wearing protective gear as a precautionary measure against the coronavirus carry the chariot during Pachali Bhairav festival in Kathmandu, Nepal, Wednesday, Oct. 21, 2020.
Nepalese devotees wearing protective gear as a precautionary measure against the coronavirus during festival in Kathmandu, Nepal, Wednesday, Oct. 21, 2020. Source: AAP

भारतीय सेना प्रमुखको भ्रमण

आगामी हप्ता भारतीय सेनाका प्रमुख मनोज मुकुन्द नरवाणे तीन दिनका लागि नेपाल भ्रमणमा आउने  भएका छन् ।

यस भ्रमणको उद्देश्य हालसालै नेपाल र भारतबिचको सिमाको सम्बन्धमा भएको विवाद सुल्झाउने र दुई राष्ट्रबिचको कुटनीतिक सम्बन्ध सुधार गर्ने अनुमान गरिएको छ ।

केहि महिनाअघि भारतले लिपुलेकमा सडक बनाएपछि नेपालले विरोध गरेको थियो। र त्यो विषयलाई लिएर नरवाणेले नेपाल चीनबाट परिचालित छ भन्ने आशयको एउटा टिप्पणी गरेका थिए ।

यस विषय लगायत अन्य सीमा विवादका विषयमा नेपालका उच्च पदाधिकारी र भारतका सेना प्रमुखबीच छलफल हुने अनुमान गरिएको छ।

गत हप्ता प्रधानमन्त्री केपी ओलीले भारतका गुप्तचर सँस्थाका प्रमुख सामन्तकुमार गोयलसँग भेट गरेपछि दुई देशबीच कुटनीतिक सम्बन्धमा केही सुधार गर्न खोजिएको अड्कलबाजी बढेका छन्।

पर्सा प्रकरण

पर्सामा नेकपाका दुई नेताहरु शपथग्रहण गर्ने क्रममा झडप भएपछि एकजनाको मृत्यु भएपछि वीरगञ्ज तनावग्रस्त भएको छ।

मृतक मुकेश चौरसियाका परिवारले आरोपित राजकुमार गुप्ता विरुद्ध जाहेरी दर्ता गर्न खोज्दा प्रहरीले दर्ता नगरेपछि वीरगञ्जमा मानिसहरु हत्याको विरोधमा सडकमा उत्रिएका छन्।

Protests in Parsa over death of Mukesh Chaurasia.
Protests in Parsa over death of Mukesh Chaurasia. Source: RSS

मृतक चौरसियालाई गुप्ताले योजनाबद्ध रुपमा हमला गरेको र घाईते बनाइएको, र उनलाई सत्तारुढ दल नेकपाको संरक्षण रहेकोले प्रहरीले जाहेरी दर्ता नगरेको उनीहरुको आरोप रहेको छ।

जाहेरी दर्ता नगरेकोमा प्रदर्शनकारीले पर्साका प्रहरी प्रमुख गंगा पन्तको पुतला समेत जलाएका छन्। पन्तले भने सञ्चारकर्मीका प्रश्नको जवाफ दिँदै त्यो जाहेरी दर्ता गरिएको बताएकी छिन्।

"जिल्ला सरकारी वकीलको कार्यालयबाट वहाँहरुले त्यही प्रकारको जाहेरी ल्याउनुभएको छ। र कानुनी व्यवस्था पनि त्यही हो। प्रहरी कार्यालयमा जाहेरी दर्ता नभएको खण्डमा, अथवा प्रहरी कार्यालयमा नआएर पनि सीधै वहाँहरु त्यहाँ जान सक्नुहुन्छ। १२ जनाको नाममा किटानी जाहेरी आएको अवस्था छ। जाहेरी दिए पनि नदिए पनि घटना भएपछि प्रहरीले अनुसन्धान गर्नुपर्थ्यो। सरकारी वकिलबाट कार्यालयबाट आएपछि फरक हुने वा प्रहरी कार्यालयमा दर्ता भएर फरक हुने भन्ने कुरा हुँदैन। अनुसन्धानका आफ्नै तरीका हुन्छन्, त्यही अनुसार नै अगाडि बढ्ने हो।"

प्रहरीले घटनाको अनुसन्धान गर्न नचाहेको देखिएपछि गर्दा मृतकका परिवारले थुप्रै दिन उनको शव बुझ्न मानेका थिएनन्। 

घटना दर्ता गरिएपछि शुक्रबार चौरसियाका परिवारले उनको अन्त्येष्टि गरेका छन्। यस घटनामा एकातर्फ प्रहरीको कम सकृयता र सत्तारुढ दलको समेत बेवास्ता देखिएपछि नेपालको न्याय प्रणालीमाथि प्रश्न उठिरहेका छन् भने अर्कोतर्फ नेकपा पार्टीभित्रका पुर्व एमाले र पुर्व माओवादी समूह बीचको फाटो सतहमा आएको छ।

केन्द्रिय चिडियाखाना

ललितपुर महानगरपालिकाले जावलाखेल स्थित केन्द्रिय चिडियाखानालाई १० लाख रुपैंया अनुदान दिएको छ। कोभिड-१९ का कारण चिडियाखानामा भ्रमण गर्न आउने मानिसको संख्या कम भएपछि कारण चिडियाखाना सञ्चालन गर्न गार्हो हुँदै आईरहेको बेला यस्तो सहयोग गरिएको हो।

रकम हस्तान्तरण गर्ने क्रममा ललितपुर महानगरपलिकाका प्रमुख चिरिबाबु महर्जनले भने, “ललितपुर महानगरपालिकाको तर्फबाट एउटा टोकन मनिको रुपमा हामीले वहाँहरुलाई दश लाख रुपौंयाको सहयोग प्रदान गरेका छौं। हुन त यत्रो ठूलो प्रोजेक्टमा दश लाख रुपैयाँ भनेको वास्तवमै केहिपनि हैन, तरैपनि यसले चैं अलिकति प्रोत्साहन होस् ।” 

गत मार्च २० देखि बन्द रहेको उक्त चिडियाखानाले त्यसअघि दिनको तीन देखि पाँच हजार टिकट बेच्दै आएको थियो ।

हरेक वर्ष १६ करोड आम्दानी गर्ने चिडियाखानाले यस वर्ष आम्दानी गर्न सकेको छैन। त्यहाँका कुल ६८ जना कर्मचारी आधा तलबमा काम गर्न बाध्य छन् । 

A couple of Bengal Tigers are seen resting at the central Zoo in Kathmandu, Nepal, 26 August 2012. According to a tiger census conducted last year, a total of 121 breeding tigers live in protected areas in the country.
A couple of Bengal Tigers are seen resting at the central Zoo in Kathmandu, Nepal. Source: EPA/NARENDRA SHRESTHA

विश्व ब्यांक

विश्व ब्यांकले नेपालमा ८ करोड डलरको लगानी गर्ने परियोजना स्वीकृत गरेको छ,‍ जसको उद्देश्य नेपालमा कृषि क्षेत्रको सुदृढिकरण गर्नु रहेको छ ।

यस परियोजनाले नेपालको सन् २०१५ देखि २०३५ सम्मको कृषि विकास रणनीतिलाई सहयोग गर्ने छ।

परियोजानामा ग्रामीण क्षेत्रको कृषिसँग सम्बन्धित गतिविधिहरुलाई प्रोत्साहन गर्ने, रोजगारीको सृजना गर्ने तथा महिलाहरुलाई प्राथमिकता दिने नीति रहेका छन् ।

त्यो योजना अन्तर्गत कृषक र साना उद्दमीसंग साझेदारी गर्ने  र नेपालको कृषि बजारलाई अन्तराष्ट्रिय कृषि बजारसंग जोड्ने सुविधाहरुको विस्तार गराउने गतिविधी हुनेछन् । यस योजनामा देशका पाँच वटा आर्थिक कोरिडोर समावेश हुने गरी विभिन्न प्रदेशलाई लक्षित गरिएको छ । 

र्‍यापर भि टेन

भिटेन नामले चिनिएका र्‍यापर समीर घिसिङलाई कारवाही गर्न प्रहरी प्रधान कार्यालयले साईबर ब्युरोलाई पत्राचार गरेर निर्देशन दिएको छ। एक हप्ता अगाडि भिटेनले पोस्ट गरेको एक नयाँ म्युजिक भिडियोमा प्रहरी प्रशासन र महिलाबारे अश्लील शब्द प्रयोग गरेको आरोप लगाईएको छ।

गत वर्ष पनि भिटेनलाई भिडियोमा अश्लील शब्द प्रयोग गरेको र विवादास्पद चित्र बोकेको कसुरमा पक्राउ गरिएको थियो।त्यसबेला भविष्यमा त्यस्तो कार्य नगर्ने शर्तमा प्रहरीले उनलाई कारवाही बिना छोडिदिएको थियो।

 गीत गाएकै भरमा वा केही बोलेकै वा लेखेकै भरमा कलाकार र अभियन्तामाथि कारवाही गर्ने क्रम नेपालमा बढिरहेको छ, र यसले अभिव्यक्ति स्वतन्त्रताको हक खुम्च्याइरहेको भन्दै थुप्रैले विरोध गरिरहेका छन्।

हत्याको किटानी जाहेरी दर्ता नगर्ने तर गायक वा कलाकारलाई गिरफ्तार गर्ने भन्दै प्रहरी प्रशासनको प्राथमिकता र कार्यशैलीको पनि निकै आलोचना भइरहेको छ।

र्‍यापर भिटेनले भने एउटा विज्ञप्ती मार्फत क्षमायाचना गर्दै आपत्तीजनक शब्दहरु परिवर्तन गरेर गीत फेरी निकाल्ने बताएका छन्।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now