भारतिय विदेश सचिवको दुई दिने भ्रमण र बलात्कारका मुद्दामा मिलापत्र गराउन खोजेमा फौजदारी अभियोग लाग्ने नयाँ अध्यादेश ल्याईएको लगायतका गत ७ दिनका प्रमुख नेपाल समाचार।
कोरोना
यस हप्ता नेपालमा २ लाख ३० हजार भन्दा बढी मानिसमा कोरोना संक्रमण पोजिटिभ देखिएको छ भने, कुल मृतकको संख्या १४ सय भन्दा बढी रहेको छ।
स्वास्थ मन्त्रालयका अनुसार अहिलेसम्म दुईवटा जिल्ला – मनाङ र डोल्पामा - शून्य संक्रमण रहेको छ ।
यसैगरि पाँच वटा जिल्लामा ५०० जना भन्दा बढिमा संक्रमण रहेको छ । काठमाडौं, भक्तपुर, ललितपुर, कास्की र रुपन्देहिमा सबभन्दा बढि संक्रमित रहेका छन्, र संक्रमणको केन्द्र काठमाण्डुमा दिनदिनै सयौंको संख्यामा संक्रमित बढिरहेका छन् ।

भारतिय विदेश सचिवको भ्रमण
भारतिय विदेश सचिव हर्षवर्धन श्रृंगलाले नेपालसंगको कुटनितिक भेटवार्ता सकेर आफ्नो मुलुक फर्किएका छन् । यस हप्ता उनी दुई दिनको भ्रमणमा नेपाल आएका हुन् ।
उनले परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीलाई सिंहदरबार गई भेटवार्ता गरेका थिए ।
यसअघि उनले दरबारमार्गमा रहेको होटेल याक एण्ड यति मा नेपालका परराष्ट्र सचिव भरतराज पौड्यालसंग वार्ता गरेका थिए । छलफलका मुल विषयहरुमा भारत नेपाल सिमा - विवाद र दुई देशबीचको मैत्री सम्बन्ध रहेका थिए ।
करिब एक वर्षयता नेपालको सरकारले नयां नक्सामा दार्चुला जिल्लाको लिम्पियाधुरा आफ्नो भुभाग हो भनेर प्रमाण रहेको तथ्यको आधारमा समावेश गरेको विषयलाई लिएर दुई देशबीच कुटनितिक तनाव उत्पन्न भएको थियो ।
श्रृंगलाको भ्रमणले दुइ देशबीचको तनाव र संवादहीनता अन्त्य गर्ने तर्फ केही कदम बढाएको बुझिएको छ।

बालिका बलात्कार र हत्या
बर्दिबासमा एक बालिकालाई बलात्कारपछि हत्या गरिएको र उनको शव बेपत्ता भएको दुई दिनपछि बोरामा हालेर आफ्नै घरनजिक फालिएको अवस्थामा फेला परेपछि उनका परिवार र त्यस ठाउँका स्थानीयवासी आक्रोशित भएका छन्।
आईतबार द्रखि हराइरहेकी बालिकाको शव मंगलबार भेटिएपछि उनीहरुले न्यायको माग गर्दै बालिकाको शवलाई सडकमै राखेर आन्दोलन गरेका थिए ।
प्रदर्शनलाई नियन्त्रण गर्ने क्रममा प्रहरीले हानेको गोली लागेर एकजना आन्दोलनरत युवक बुद्धिराज न्यैपानेको मृत्यु समेत भएको छ ।
यसपछि महोत्तरी प्रशासनले बर्दिबास नगरक्षेत्रमा निषेधाज्ञा जारी गरेर बुधबार बिहान १ बजेदेखि बिहिबार बिहान ६ बजेसम्म निषेधाज्ञा समेत लगाएको थियो ।
यस घटनामा मृतक बालिका हुने गुलब खातुनको सँगसँगै यसै हप्ता डडेलधुरा नवदुर्गा गाउंपालिका -१ की सुस्त मनस्थिति भएकी एक ३० वर्षिय महिलालाई बलात्कार गरि उक्त घटनाको तथ्य लुकाउन १ तोला सुनको प्रलोभन देखाईएको खबर पनि प्रकाशमा आएको छ।
बलात्कार अध्यादेश
नेपालमा बलात्कारका घटना बढ्दो देखिएको, बलात्कार विरुद्धको विरोध र पदर्शन बढेको र सरकारमाथि त्यस विषयमा केही कदम चाल्ने दवाव बढ्दै गएको सन्दर्भमा भर्खरै बलात्ककार विषयमा एउटा अध्यादेश जारी गरिएको छ।
यस अध्देश अनुसार अबदेखि बलात्कारको मुद्दामा मिलापत्र गराउन खोजेमा फौजदारी अभियोग लाग्ने भएको छ ।
त्यस्ता कार्यमा संग्लन व्यक्तिहरुलाई ६ महिनादेखि तीन बर्षसम्म थुनामा राख्ने नियम ल्याईएको छ । यदि सरकारी पदमा रहेका कोहि व्यक्तिले त्यस्तो कार्यमा मद्दत पुर्याउन खोजेमा थप ६ महिनाजति कैद हुने छ ।
यस सम्बन्धी पञ्चायति र अरु जुनसुकै तहको मेलापत्रलाई समेत यो कानुन लागु हुने गरि निर्देशिका तयार पारिएको छ । बलात्कारको परिभाषामा महिलालाई मात्र नभई जो कोहिलाई पनि यसको जोखिम हुन सक्ने र सोहि कानुन बमोजिम कारबाही हुने ब्यहोरा जारी गरिएको छ ।
यस्तो किसिमको अध्यादेशको आवश्यकताका बारेमा कानुमन्त्री शिवमाया तुम्बाहाङ्फे भन्छिन्, " यो यौन हिंसा न्यूनीकरण गर्नका निम्ती हामीसँग ऐन छ। तर त्यो ऐन, अहिले जुन समाजमा घटना घटरिरहेका छन्, त्यो न्यूनीकरण गर्नका निम्ती अझ प्रभावकारी बनाउनका मनिम्ती हामीसँग भएका ऐनलाई संशोधन गर्नुपर्छ भन्ने खालका कुराहरु आएको कारणले गर्दा र हामीले पनि त्यो महसुस गरेको कारणले गर्दा हामीले केही ऐनलाई संशोधन गर्नुपर्छ भनेर अगाडि ल्यायौं।"
यस भन्दा अगाडि नेपालको कानुनले महिला र बालबालिकालाई मात्रै बलात्कार पीडित हुन सक्ने मानेको थियो र वयस्क पुरुष वा अन्य लैंगिकता भएका मानिसका बारेमा कानुन मौन थियो।
१८ बर्षमुनिका कोहि नाबालिगलाई बलात्कार गरिएको थियो भने त्यस्ता पीडितले बालिग भएको एक बर्षभित्रमा उजुरी दिन पाउने प्रावधान पनि रहेको छ ।

रत्नपार्क
काठमाण्डुको केन्द्रमा रहेको रत्नपार्कलाई काठमाण्डु महानागरपालिकाले पुनर्नामाकरण गरेपछि विवादित बनेको छ। रानी रत्नको नाममा राखिएको रत्नपार्कमा गत हप्ता राष्ट्रिय विभूती शंखघर साख्वाको शालिक अनावरण गरी उनकै नाममा पार्कको नाम शंखधर उद्यान राखेको छ।
यस क्रममा साख्वाको व्यक्तित्वको परिचय दिँदै काठमाण्डु महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी भन्छिन्, "ईतिहासकारहरुले वहाँलाई काठमाण्डुका समाजसेवी व्यापारीका रुपमा चित्रण गरेका छन्, जसले विक्रम संवत ९३६ मा कान्तिपुर र भादगाउँका जनताको ऋण तिरिदिएर गुन लगाएको र सोही दिनबाट नेपाल संवतको शुरुवात भएको भन्ने ऐतिहासिक तथ्य रहेको छ।"
यो नाम राख्ने घोषण गरे लगतै विभिन्न स्तरबाट यसको विरोध भएको छ। माहानगरपलिकाको अनुसार त्यो ठाउंको नाम रत्नपार्क नै रहने र पार्कको नाम मात्र परिवर्तन हुने छ ।
नेपालका अन्तिम राजा ज्ञानेन्द्र शाहको पद खारेज गरिएपछि उक्त पार्कबाट रानी रत्नको सालिकलाई हटाईएको थियो ।
साख्वको सम्मान गर्नु आवश्यक रहेको तर त्यसका लागि ईतिहास परिवर्तन गर्न नहुने भन्दै यस कदमको विरो गरिएको हो। नारायणहिटि परिसरमै आफ्नो निवासमा बसोबास गर्ने माहारानी रत्ना अहिले ९४ बर्षकी छिन्।
पार्कमा पद्धरत्न तुलाधरको शालिक पनि सँगै राखिएको छ।
नेपाली शेफ
सिराहामा जन्मेका नेपाली मुलका सन्तोस शाह यस बर्षको अन्तरराष्ट्रिय तहको ‘मास्टरसेफ यु. के.’ (बेलायत) प्रतियोगिताको यसै हप्ता सम्पन्न भएको सेमि फाईनल राउण्डमा छनोट भएका छन् ।
शाहले कार्यक्रममा नेपाली परिकारहरुको प्रयोग गरेर सबैको ध्यानाकर्षण गरेका थिए ।
हाल बेलायतको ‘सिनामोन किचेन’ मा प्रमुख सेफ का रुपमा कार्यरत शाह १४ बर्षको उमेरमा आफ्नो करियर र परिवारलाई चलाउनको निम्ति भारत पुगेका थिए ।
उनले आफ्नो युवा अवस्थादेखिनै त्यसको करिब १३ बर्षसम्म भारतका विभिन्न होटल र रेष्टुरेण्टहरुमा काम गरे । बेलायतको आफ्ननो बसोबासमा शाहले त्यहांको ‘द ललित’ र ‘डिसुम्’ जस्ता रेस्टुरेण्टमा मुख्य ‘सेफ’ का रुपमा काम गरेका थिए ।
मास्टरशेफ युकेमा पहिलोपटक नेपाली मूलका शेफ पुगेका हुन्, जसका कारणले नेपाल भित्र र बाहिर रहेका नेपालीहरु उत्साहित बनेका छन् र उनको समर्थन गरिरहेका छन्। उनले नेपाली खानेकुरा र पाकविधिलाई पहिलोपटक अन्तर्राष्ट्रिय जगतमा यो स्तरमा प्रदर्शन गरिरहेका छन्।





