कोरोना
नेपालमा यस हप्ता कोरोना संक्रमित मानिसको संख्या एकै दिनमा एक सय भन्दा बढीको दरले बढ्न थालेको छ।
यो हप्ता शुक्रबार १७० जना, बिहीबार १५६ जना र बुधबार ११४ जनामा संक्रमण पुष्टि भएको थियो। पछिल्लो तथ्यांकका बारेमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटा भन्छनः “थप भएका संक्रमितहरुको संख्या १८९ रहेको छ जसमध्ये १८५ जना पुरुष र ४ जना महिला हुनुहुन्छ। कुल संक्रमितको संख्या हालसम्म १४०१ रहनुभएको छ देशभर। र संक्रमण निको भएर जाने व्यक्तिहरुको संख्या २१९ पुगेको छ जसमध्ये १७२ जना पुरुष हुनुहुन्छ भने ४७ जना महिलाहरु हुनुहुन्छ।”
यसका साथै नेपालमा कोरोनाको संक्रमण ५३ जिल्लामा फैलिएको छ र यसबाट मृत्यु हुने मानिसको संख्या ६ पुगेको छ र लकडाउन अगामी जुन महिनाको १३ तारिखसम्म बढाइएको छ।
लकडाउनको हालको तरीका लामो समयसम्म जारी राख्नु हानीकारक हुने विज्ञहरुले बताइरहेका छन् र केही क्षेत्र र उद्योगहरु बिस्तारै खोल्नुपर्ने सल्लाह दिइरहेका छन्। तर सरकारले भने हालसम्म लकडाउनमा परिवर्तन गर्ने बारे केही बताएको छैन।

दलित मृत्युका घटना
संयुक्त राष्ट्रसंघको मानव अधिकार उच्चायुक्त मिशेल बाचेलले एउटा वक्तव्य जारी गर्दै नेपालमा गत हप्ता अन्तरजातीय विवाहका कारणले थुप्रै युवाले ज्यान गुमाउनु परेका घटनाको निन्दा गर्दै ती घटनामाथि स्वतन्त्र अनसन्धान हुनुपर्ने बताएकी छिन्।
गत हप्ता रुकुममा अन्तरजातीय विवाह गर्न गएका एकजना युवा र उनका साथीहरुलाई युवतीका परिवार र गाउँलेले आक्रमण गरेपछि पाँच जनाको ज्यान गएको थियो र एकजना अझै भेरी नदीमा बेपत्ता छन्।
त्यसै हप्ता अन्तरजातीय सम्बन्धको खुलासा भएपछि रुपन्देहीको देवदहमा एकजना किशोरीले आत्महत्या गरेकी छिन्।
बाचेलले आजको समयमा पनि जात सम्बन्धी भेदभाव हुनु निकै दुःखद भएको भन्दै विकासका लागि यस्तो भेदभाव पूर्ण रुपमा हटाउनु जरुरी भएको बताएकी छिन्।
पीडित र उनीहरुका परिवारले सत्य, न्याय र क्षतिपूर्ती पाउनुपर्ने उनले बताएकी छिन्। नेपालमा पनि अझैसम्म विभिन्न स्थानमा यो घटनाको विरोध भइरहेको छ।

बजेट
अर्थमन्त्री युवराज खतिवडाले बिहीबार प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा आगामी वर्षको बजेट प्रस्तुत गरेका छन्। आगामी वर्षको बजेट १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको हुने भएको छ, जुन गत वर्षको भन्दा घटेको छ।
कोरोनाको प्रभावमा अर्थतन्त्र संकुचित हुने अनुमान गरिएको बताउँदै खतिवडाले बजेटका यस्ता प्राथमिकता उल्लेख गरेका छन्:
“कः संक्रामक लगायत सबै प्रकारका रोगबाट नागरिकको जीवन रक्षा गर्दै जनजीवनलाई सुरक्षित बनाउने।
खः उपलब्ध साधनश्रोत, अवसर र क्षमताको उच्चतम परिचालन गरी शीघ्र आर्थिक पुनर्उत्थान गर्दै विकासको गतीलाई निरन्तरता दिने।”
कोरोनाले आक्रान्त समयमा बजेटको प्राथमिकतामा स्वास्थ्य क्षेत्र परेको छ। स्वास्थ्य क्षेत्रमा यो वर्ष बजेट वृद्धी गर्दै ९० अर्ब ६९ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ, जुन पछिल्लो वर्षको ६८ अर्ब ७८ करोड रुपैयाँ भन्दा निकै बढी छ।
विदेशबाट आउने व्यक्तिको अनिवार्य स्वास्थ्य परीक्षण गर्न तथा प्रमुख प्रवेश नाकामा आवश्यक उपकरण सहित हेल्थ डेस्क स्थापना गर्नका लागि बजेट विनियोजन गरिएको छ।
कोरोना संक्रमण नियन्त्रणको लागि तत्काल आवश्यक औषधि, उपकरण तथा उपचारको लागि ६ अर्ब बजेट छुट्याइएको छ ।
सबै स्थानीय तहमा ५ देखि १५ शैय्या सम्मका आधारभूत अस्पताल र आगामी वर्षमा थप २७२ अस्पतालका लागि १४ अर्ब २७ करोड बजेट छुट्याइएको छ ।

यसका साथै कृषिलाई पनि प्राथमिकतामा राखिएको छ।
पेट्रोल, डिजेल, चुरोट, गुट्खा जस्ता केही चीजमा कर बढेको छ भने घरेलु उत्पादनका लागि आयात गरिने सामानमा कर घटाइएको छ र लघु, घरेलु तथा साना उद्योग व्यवसायीलाई ७५ प्रतिशतसम्म आयकर छुट दिइएको छ ।
र कोरोना रोकथाम तथा नियन्त्रणमा खटिएका बाहेक सबै सरकारी कर्मचारीले पाउँदै आएको भत्ता कटौती गरिएको छ ।
अर्थविदहरुले यो बजेटको लक्ष्य चुनौतीपूर्ण रहेको बताएका छन् भने कोरोनाका कारणले सबभन्दा बढी प्रभावित पर्यटन व्यवसायका मानिसले बजेटले पर्यटन उद्योगका समस्या र बेरोजगार मानिसलाई पर्याप्त सम्बोधन गर्न नसकेको बताएका छन्।
पठनपाठन
सरकारले आगामी शैक्षिकसत्रको पठनपाठन भर्चुअल, अनलाइन, रेडियो तथा टेलिभिजनको माध्यमबाट अघि बढाउने भएको छ ।
कोरोनाका कारणले विद्यालय र कलेजहरुमा पठनपाठन ठप्प भएको छ। कतिपय विद्यालय र कलेजले अनलाइन शिक्षा सञ्चालन गरिरहेका छन्, तर सरकारले त्यस्तो कक्षा नचलाउन र त्यसका नाममा कुनै शुल्क नलिन निर्देशन दिएको छ।
आगामी वर्षमा भने सबै बालबालिकामा आधारभुत शिक्षाको पहुँच सुनिश्चित गर्ने लक्ष्य लिइएको छ।
अर्थमन्त्री युवराज खतिवडाले बजेट प्रस्तुत गर्दा विद्यालय जाने उमेर समुहका सबै बालबालिकालाई विद्यालय भर्ना गर्ने बताए र कोरोनाका कारणले विद्यार्थीलाई परेको मनोसामाजिक समस्या समाधान गर्न श्रृजनात्मक विकासका कार्यक्रम सञ्चालन गरिने बताए ।
सगरमाथा दिवस
सगरमाथा दिवसका रुपमा मनाइने मे २९ को दिनमा यो वर्ष कोही पनि सगरमाथा चढेनन्।
सन् १९५३ मा यही दिनमा न्युजीलण्डका एडमण्ड हिलरी र नेपालका तेञ्जिङ नोर्गेले पहिलोपटक विश्वको सर्वोच्च शिखरको आरोहण गरेका थिए।
त्यसपछि प्रत्येक वर्ष जसो यो मौसममा सगरमाथा आरोहण गर्ने मानिसको भीड लाग्ने गर्दछ। यसका कारणले सगरमाथामा निकै फोहोर जम्मा भएको भन्दै सगरमाथा आरोहण केही वर्षका लागि बन्द गर्नुपर्ने र त्यो क्षेत्र सफा गर्नुपर्ने आवाजहरु पनि उठिरहेका छन्।
गत वर्ष नेपाली आरोही निर्मल पुर्जाले खिचेको सगरमाथामा भएको ट्राफिक जामको फोटो चर्चित भएपछि यो विषयले अझ प्राथमिकता पाएको थियो।
तर पर्वतारोहणबाट ठुलो आय आर्जन हुने नेपालमा सरकारले यस तर्फ कुनै कदम चालेको थिएन।
यस वर्ष भने कोरोनाका कारणले सगरमाथाको नेपाल तर्फको दक्षिणी मोहडा पुर्णतया सुनसान छ भने पर्यटन मन्त्रालयमा सानो कार्यक्रम गरेर सगरमाथा दिवस मनाइएको छ।





