घुस माग्दै गरेको एउटा कथित अडिओ सार्वजनिक भएपछि सरकारका प्रवक्ता एंव सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले दिएको राजीनामा र बलात्कार प्रयासको अभियोग लागेका पूर्व सभामुख कृष्णबहादुर महरालाई काठमाण्डू जिल्ला अदालतले दियो सफाई लगायत गए ७ दिनका प्रमुख नेपाल समाचार यहाँ सुन्नुहोस्।
सञ्चारमन्त्रीको राजीनामा
घुस माग्दै गरेको एउटा कथित अडिओ सार्वजनिक भएपछि सरकारका प्रवक्ता एंव सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले गत बिहीबार राजीनामा दिएका छन्।
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियाको तयारी भइरहँदा स्वीस कम्पनीका नेपाल एजेन्टसँग कुराकानी गरिएको दाबी गर्ने टेप बुधवार अबेर सार्वजनिक भएपछि मन्त्री बाँस्कोटा विवादमा तानिएका थिए।
प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसलगायत विभिन्न दलले प्रेस विज्ञप्तिमार्फत मन्त्री बाँस्कोटालाई पदबाट बर्खास्त गर्न र कमिसन मागेको विषयमा छानबिन गर्न प्रधानमन्त्रीसमक्ष माग गरेका थिए।
उक्त विवादास्पद संवादमा उनले नेपाल एजेन्टसँग कमिसनबारे कथित छलफल गरेको सुनिन्छ।

उक्त विषयलाई उठाएर काङ्ग्रेसले सदनसमेत अवरुद्ध गरेको थियो।
सोही दिन भएको संसदको सार्वजनिक लेखासमितिको बैठकमा समेत सेक्युरिटी प्रिन्टिङ प्रेसको विषयमा सांसदहरूबीच बिना प्रतिस्पर्धा त्यसको जिम्मा दिन लागिएको भन्दै छलफल भएको थियो।
मन्त्री बाँस्कोटाको उक्त विवादास्पद टेपबारे पनि कुरा उठेपछि समितिले उक्त खरिद प्रक्रिया अर्को निर्णय नहुँदासम्मका लागि रोक्न सरकारलाई निर्देशन दिएको थियो।
सामाजिक सञ्जालदेखि संसदसम्म उक्त विषय उठेपछि सोही दिन मन्त्री बाँस्कोटाले राजीनामा दिएका थिए। तर मन्त्री बाँस्कोटाले भने आफूमाथि लागेको आरोप अस्वीकार गर्दै आएका छन्।
बाँस्कोटाले आफ्नो विषयमा प्रश्न उठेकाले नैतिकताको आधारमा मन्त्री पदबाट राजिनामा दिएको भन्दै सामाजिक सञ्जाल ट्वीटरमा लेखेका थिए।
महरालाई सफाइ
बलात्कार प्रयासको अभियोग लागेका पूर्वसभामुख कृष्णबहादुर महरालाई काठमाण्डू जिल्ला अदालतले सफाइ दिएको छ।
जबरजस्ती करणी उद्योगको आरोप लागेका महरा निर्दोस रहेको फैसला जिल्ला अदालतका न्यायधीश अम्बरराज पौड्यालको इजलासले सुनाएको हो।
संसद् सचिवालयकी एक कर्मचारीलाई यौन दुव्र्यवहार गर्न खोजेको आरोप लागेपछि महरालाई गत असोज १९ गते पक्राउ गरी हिरासतमा राखिएको थियो। उक्त आरोप लागेपछि महराले सभामुख पदबाट राजीनामा दिएका थिए।
अदालतले निर्दोस ठहर गरेसँगै उनी सोमवार नै थुनाबाट बाहिरिएका छन्।
महराविरुद्ध मुद्दा दायरभएसँगै काठमाडौं जिल्ला अदालत र उच्च अदालत पाटन दुवैले उनलाई तारेखमा छोड्न अस्वीकार गरेका थिए। उनी एकसय दिन भन्दा बढी थुनामा बसे।
अहिले काठमाडौं जिल्ला अदालतको अन्तिम फैसलामा भनेउ नीमाथिको आरोप पुष्टि हुन नसकेको बताइएको छ।
खासगरी पीडित भनिएकी महिलाले अदालतमा वकपत्र गर्दा महराले आफूलाई जबरजस्ती नगरेको भनी बयान दिएको र फरेन्सिक रिपोर्टको आधारमा पनि महरा निर्दोष देखिएको अदालतको फैसलामा उल्लेख गरिएको छ।

कानुनमन्त्रीमा तुम्बाहाङ्फे
भूतपूर्व उपसभामुख शिवमाया तुम्बाहाङ्फे कानुनमन्त्रीमा नियुक्त भएकी छन्।
केही हप्ताअघि उनले उपसभामुखबाट राजीनामा दिएकी थिइन्।
सभामुख बनाउनुपर्ने अडानमा लामो समयसम्म रहेकी तुम्बाहाङ्फेले सत्तारुढ नेकपाका अध्यक्षद्वयले पार्टीको तर्फबाट अग्नीप्रसाद सापकोटालाई सभामुखको उम्मेद्वार बनाउने निर्णय गरेपछि राजीनामा दिएकी थिइन्।
पूर्वसभामुख कृष्णबहादुर महरामाथि बलात्कारको आरोपमा मुद्दा लागेपछि रिक्त पदमा तुम्बाहाङ्फेले आफ्तो योग्यता अनुभव दुवै भएको भन्दै लामो समयदेखि आफ्नो दाबी रहेको बताउँदे आएकी थिइन्।
उनी कानुनमन्त्री भएसँगै अहिलेको सरकारमा महिलामन्त्रीको सङ्ख्या तीन पुगेको छ। तर उनले आफूलाई कानुनमन्त्री बनाउँदैमा महिला सहभागिताको सवाल सम्बोधन नहुने प्रतिक्रिया दिएकी छन्।

एमसीसी सुझाव
निकै विवादित बनेको मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसिसी सम्झौता सच्याएर मात्रै पारित गर्न नेकपाको कार्यदलले पार्टी नेतृत्वलाई सुझाव दिएको छ।
सत्तारुढ दल नेकपाभित्रै ठूलो विवाद भएपछि त्यसबारे अध्ययन गर्न नेकपाले वरिष्ठ नेता झलनाथ खनाल नेतृत्वको कार्यदललाई एमसिसी सम्झौताबारे अध्ययन गरेर प्रतिवेदन बुझाउन जिम्मा दिएको थियो।
परराष्ट्मन्त्री समेत रहेका प्रदीप ज्ञवाली र अर्का नेता भीम रावलसमेत रहेको उक्त कार्यदलले शुक्रवार पार्टी नेतृत्वलाई एमसीसीबारे सच्याउनुपर्ने बुँदासहितको प्रतिवेदन बुझाएको हो।
उक्त सम्झौता संसदबाट सिधै पारित गरे त्यसले नेपालको स्वाधीनता र सार्वभौमसत्तामाथि आँच ल्याउने भन्दै नेकपाकै नेता एवं केही दलका नेताले त्यसबारे प्रश्न उठाउँदै आएका छन्।
कार्यदलले एमसीसीमा सच्याउन र सुधार गर्नुपर्ने बुँदा औंल्याएको भए पनि ती सुझाव के हुन् भन्नेचाहिँ कार्यदलमा रहेका नेताहरूले खुलाएका छैनन्।
कोरोना भाइरस सङ्क्रमण नदेखिएको
चीनको उहानबाट उद्धार गरी ल्याइएका सबै १७५ जना नेपालीकै परीक्षण गर्दा कोरोना भाइरसको सङ्क्रमण नदेखिएको स्वास्थ्यमन्त्रालयले जनाएको छ।
उनीहरूलाई भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा क्वारेन्टाइनमा राखिएको छ।
स्वास्थ्य मन्त्रालयले गत बुधवार पत्रकार सम्मेलन गरी उनीहरूमा कोभिड १९ भनिने उक्त भाइरसको परिक्षणमा सङ्क्रमण नपाइएको जनाएको हो।
गत आइतवार नेपाल आइपुगेका उनीहरूलाई दुई साता त्यसै गरी निगरानीमा राखिने छ। त्यहाँ रहेका नेपालीहरूले आफूहरूलाई सोचेभन्दा पनि राम्रो व्यवस्थासहित निगरानीमा राखिएको बताएका छन्।
उनीहरूलाई दिनमा ४ पटक खानेकुरा दिने व्यवस्था छ भने उक्त भवनबाट बाहिर निस्किन दिइएको छैन।
उनीहरूलाई खरिपाटीमा राख्दा सङ्क्रमण फैलने भन्दे खरिपाटीका स्थानीय बासिन्दा आन्दोलित समेत बनेका थिए। सरकारले भने विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार क्वारेन्टाइनमा राखिने जनाएको थियो।

पशुपतिनाथमा १ सय ४२ किलो सुनको जलहरी
पशुपतिनाथ मन्दिरको मुख्य शिवलिङ्गमा १ सय ४२ किलो सुनको जलहरी निर्माण गरिने निर्णय पशुपति क्षेत्र विकास कोषले गरेको छ।
अहिले रहेको चाँदीको जलहरी जीर्ण बन्दै गएकाले त्यसको ठाउँमा सुनको राख्नका लागि यो निर्णय गरिएको कोषले जनाएको छ। त्यसका लागि गत मंगलबार कोषले विभिन्न सञ्चारमाध्यममा त्यससम्बन्धी सूचना प्रकाशित गरेर सार्वजनिक आह्वान समेत गरेको थियो।
उक्त सूचना अनुसार न्यूनतम एक तोलादेखि अधिकतम एक किलोसम्म सुन वा सो बराबरको रकम दान गर्न सकिने छ।





