Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

दक्षिण अष्ट्रेलियामा नेपाली भाषा सिक्ने युवाको संख्या बढ्दो

Students at a Nepali Language Class

Published

Updated

By Indra Adhikari

Source: SBS




Share this with family and friends


"रिपोर्ट सुन्न माथि रहेको मिडिया प्लेयरको प्ले बटन थिच्नुहोस्"

दक्षिण अष्ट्रेलियामा नेपाली-भाषी भुटानी समुदायको मागलाई सम्बोधन गर्दै यहाँको राज्य सरकारले सार्वजनिक विद्यालयमा नेपाली भाषालाई एउटा ऐच्छिक विषयका रुपमा स्वीकृत गरेको छ।

अहिले साताको पाँच घण्टाको हिसाबले यहाँका विभिन्न सरकारी विद्यालयमा नेपाली भाषाको पढाई हुन्छ । ग्रेड ८, ९, १०, ११ र १२मा पढ्ने १२२ जना युवा-युवतीहरुले नेपालीलाई आफ्नो ऐच्छिक विषयका रुपमा छानेका छन्। तीन वर्ष अघि नेपाली पढ्न चाहाने विद्यार्थीहरुको संख्या ७९ थियो।

"हामी स्कुलमा सबै विद्यार्थीहरुलाई निरन्तर रुपमा विभिन्न भाषा सिक्नका लागि पहुँच, छनौट र निरन्तरता होस् भन्ने चाहान्छौं। नेपाली भाषा लायजन अफिसर र समुदायसितको छलफल पछि नै उनीहरुको माग अनुसार नेपाली भाषा समावेश गरेका हौं," स्कुल अफ ल्याङ्ग्वेजेसकी प्रिन्सिपल लिया टेडेस्कोले एसबीएस नेपालीलाई बताइन्।

उनका अनुसार गएको तीन वर्षमा नेपाली सिक्न चाहानेहरुको संख्या निकै बढेको छ।

यसरी पढ्ने युवाहरु सामाजिक र पारिवारिक सम्बन्धलाई बलियो बनाउन नेपाली भाषा आवश्यक रहेको ठान्छन्। १२ सकेर हालै विश्वविद्यालय सुरु गरेकी प्रियङ्का भट्टराई भन्छिन,

"समाज र परिवारमा बाबा आमा र अन्य धेरै मानिसहरु अंग्रेजी नबुझ्ने छन्। उनीहरुसितको सम्बन्धलाई निरन्तरता दिन नेपाली भाषा आवश्यक छ। त्यसो त यसले हामीलाई विश्वविद्यालयमा प्रवेशका लागि आवश्यक एटारमा राम्रो स्तर ल्याउन पनि यसले सहयोग पुर्‍याएको छ।"

बुढा-पाकालाई अब नेपालीमा बोलिदिने साथी मात्र हैन नेपाली ग्रन्थहरु पढेर सुनाई दिने मानिसको पनि आवश्यकता पर्न थालेको छ। छिमेकीसँग गफ गर्दा, चिकित्सक वा अन्य त्यस्तै सेवा लिदा, सरकारी कार्यलय धाउँदा वा घरमै वसेर टिभी हेर्दा होस, अंग्रेजीलाई नेपालीमा उल्था गरिदिने जस्ता काममा यो नयाँ पुस्ताले सहयोग पुर्‍याएको देखिन्छन।

Nepali Pathshala
Source: Indra Adhikari

अभिभावकले पनि नेपाली भाषा बोल्न, लेख्न र पढ्न आफ्ना छोराछोरीलाई प्रोत्साहन नै गर्ने गरेका छन्। यसैको प्रतिफल औपचारिक शिक्षामा एउटा ऐच्छिक विषय नेपाली राख्ने विद्यार्थीहरुको संख्या हरेक वर्ष बढीरहेको छ।

हाल दुई जना नेपाली शिक्षकहरु छन्। यही अनुपातमा नेपाली भाषा सिक्नेको संख्या बढेमा थप नेपाली शिक्षकहरुको आवश्यकता देखिन्छ।

तर औपचारिक शिक्षामा नेपाली भाषालाई ऐच्छिक विषय बनाउनेमा हालसम्म भुटानी समुदायका विद्यार्थीहरु मात्र छन्। नेपाली समुदायले भने नेपाली सिकाउने प्रयास भने केवल आफै सञ्चालन गरेको नेपाली पाठशालामा सिमित छ।

नेपाली भाषा कक्षा एडिलेडको उत्तरी सबर्ब सल्स्बरी र आसपासका क्षेत्रमा मात्र सञ्चालन हुने र नेपाली समुदाय खासगरी पुर्वी एवं दक्षिणी भागमा बस्ने भएका कारण पनि उनीहरुले आफ्ना छोरा-छोरीलाई यहाँ पठाउँन नसकेको देखिन्छ।

त्यसो त नेपाली समुदायमा ग्रेड ८-१२ मा पढ्ने विद्यार्थीको संख्या यकिन गर्न नसकिए पनि सानो छ।

भुटानी समाजको जस्तो एकिकृत बसाई नभएका कारण पनि औपचारिक शिक्षामा नेपालीलाई ऐच्छिक विषय बनाउनका लागि के गर्ने भन्ने अन्योल देखिन्छ।

यसमा नेपाली समुदायका एक अग्रज भुवन शर्मा सहमत छन्। उनी भन्छन्, "नेपाली भाषा आफ्ना बालबालिकालाई सिकाउने वा नसिकाउने भन्ने विषयमा पनि नेपाली अभिभावक विभाजित छन्। जो सिकाउन चाहान्छन् उनीहरुले आफ्नै पहलमा नेपाली भाषा कक्षाहरु सञ्चालन गरिरहेका छन्।"

"नेपाली बोल्नु, लेख्नु र पढ्नु आफ्नो पहिचान र संस्कृति संरक्षणका लागि आवश्यक छ। मातृभाषा सिक्नु हाम्रो सामाजिक दायित्व हो," नेपाली भाषा शिक्षक लोक पौडेल भन्छन्।

उनका अनुसार सोचे भन्दा धेरै युवा युवती नेपाली भाषा पढ्न र सिक्न आएका छन्। "हामीले कसैलाई आउ भनेका छैनौं। तर पढ्न आउने हरेकलाई हामी पहिले किन पढ्ने भनेर प्रश्न गर्छौ। नयाँ पीडिमा नेपाली भाषा प्रतिको लगाब हामीले राम्रै पाएका छौं," पौडेलले थपे।  

भुटानी र नेपाली समुदायमा सञ्चालनमा रहेका नेपाली बाल कक्षाहरुमा बालबालिकाको रुची जगाइराख्न सके सरकारबाट सञ्चालित नेपाली कक्षाहरुमा पनि नयाँ पिढींको उपस्थिति देख्न पाइनेछ। यो सायद कालान्तरमा बाबु-आमाका लागि उल्था गरिदिने कामका लागि मात्र नहुन सक्छ। यो आफू ‘नेपाली’ हु भनेर चिनाउने एउटा माध्यम पनि हो ।

यसै विषयसँग सम्बन्धित सामाग्री:


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now