कोरोना
यस हप्ता शनिबार सम्ममा नेपालमा कोरोना संक्रमित मानिसको संख्या ५८० भन्दा बढी पुगेको छ। पछिल्लो तथ्यांकका बारेमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटा भन्छन् “डिस्चार्ज भएका व्यक्तिहरुको संख्या प्रदेशिक विवरण अनुसार प्रदेश १ मा २६, आजसम्म प्रदेश २ मा ६, बाग्मती प्रदेशमा ९, गण्डकी प्रदेशमा २, प्रदेश ५ मा २२ र सुदूरपश्चिम प्रदेशमा ५ जना गरी ७० जनाको हालसम्म डिस्चार्ज भएको छ।”
विभिन्न ठाउँमा उपचारका लागि बसेका कोरोना संक्रमित मानिसहरु निको भएर घर फर्किने क्रम बढिरहेको छ। बाँकेमा एकै टोलमा २१ जना निको भएर फर्किएपछि जोलहनपुर्वा टोलमा खुशियाली छाएको छ।
यसका साथै नेपालको लकडाउन आगामी जुन महिनाको २ तारिख सम्मका लागि बढाइएको छ।

कोरोना मृत्यु
नेपालमा कोरोनाका कारण मृत्यु हुने मानिसको संख्या ३ पुगेको छ। गत हप्ता सिन्धुपाल्चोककी एक महिलाको मृत्यु भएपछि यस हप्ता बाँकेका एकजना २५ वर्षीय पुरुष र गुल्मीका एकजना ४१ वर्षका पुरुषको मृत्यु भएको छ।
मृत्यु भएका मानिसको दाहसंस्कार गर्न समस्या भएपछि सरकारले कोरोना संक्रमित मानिसको शव व्यवस्थापन सम्बन्धी कार्यविधि बनाएको छ।
सरकारले तयार पारेको कार्यविधि अनुसार शव उठाउनुअघि शव वाहनका चालक र कर्मचारीले र अन्तिम संस्कारमा सहभागी हुने आफन्त सबैले अनिवार्य रुपमा पन्जा, चस्मा, टोपी, मास्क सहितको पीपीई लगाउनुपर्ने छ।
मृतकको शवलाई कमभन्दा कम चलाउने गर्नुपर्छ र सकेसम्म छिटो अन्तिम संस्कार गर्ने ठाउँमा पुर्याउनु पर्नेछ।
अन्तिम संस्कारमा परम्परा अनुसार गर्नुपर्ने कामहरु शव नछोई गर्नुपर्छ। र मृतकका आफन्तले कम्तिमा एक मिटर टाढाबाट पालैपालो मात्र शव हेर्न पाउनेछन्।
https://www.sbs.com.au/labsembeds/covid-dashboard-by-country/index.html?lang=nepali&country=NP" data-module="iframe-resize_module">
नेपाल भारत सीमाना
नेपालले भारतसँगको सीमानामा अड्केका मानिसलाई प्रवेश दिने नीति लिएपछि पश्चिम नेपालमा थुप्रैले नेपाल प्रवेश गरेका छन्। त्यसको लागि सबै नाका भने खुला गरिएका छैनन्।
कैलालीको जमुनाहा, गौरीफण्टा र बैतडीको झुलाघाट बाट भारतमा विभिन्न स्थानमा अलपत्र परेका र क्वारेन्टाइनमा बसेका हजारौं मानिसले यस हप्ता नेपाल प्रवेश गरेका छन्।
उनीहरुलाई स्थानीय निकायको समन्वयमा सम्बन्धित जिल्लामा फर्काइने र क्वारेण्टाइनमा राखिने नीति लिइएको छ।
तर सीमानामा भने ज्वरोको सामान्य स्वास्थ्य परीक्षण मात्रै गरिएको छ र सम्बन्धित स्थानीय तहले नै परीक्षण गर्ने बताइएको छ।
यसका साथै नेपालमा अलपत्र परेका भारतीय नागरिकहरुलाई पनि नेपाल सरकारले फिर्ता पठाइरहेको छ। र यस्ता मानिसको अदानप्रदानपछि नाका फेरी बन्द गरिएको सीमाका अधिकारीहरुले बताएका छन्।
तर भारत बाहेक अरु देशमा अलपत्र परेका मानिसलाइ फिर्ता ल्याउन भने सरकारले कुनै कदम चालेको छैन।

क्वारेण्टाइन समस्या
नेपालमा बाहिरबाट आउने मानिसलाई राख्ने क्वारेण्टाइन व्यवस्थित नहुँदा जताततै समस्या बढिरहेका छन्। सबै स्थानीय तहले क्वारेण्टाइनमा राख्नका लागि तयारी गरेका छैनन्।
कतिपय ठाउँमा क्वारेण्टाइनमा राखिएका मानिसले खान बस्नदेखि लिएर साफ सफाइ, शौचालय र हात धुने पानी समेतको समस्या भएको बताएका छन्। र साथै क्वारेण्टाइनमा स्वास्थ्य परीक्षण गरिनुपर्ने तर कतिपय स्थानीय निकायले त्यसो नगरेको गुनासो पनि गरेका छन्।
बाँकेको नरैनापुरमा क्वारेण्टाइनमै बसेका २५ वर्षीय युवकको मृत्यु भएपछि क्वारेण्टाइनहरुको अवस्था उजागर भएको छ र थुप्रै मानिसहरु क्वारेण्टाइन छोडेर भाग्ने गरिरहेका छन्।
अव्यवस्थित क्वारेण्टाइनबाटै कोरोनाको संक्रमण बढ्ने डर बढिरहेको छ। र नेपाल भारत सीमानामा अड्केका थुप्रै मानिस भित्रिएपछि उनीहरु सबैलाई राख्ने क्वारेण्टाइनको व्यवस्था नहुँदा त्यो डर अझ बढिरहेको छ।
कर्णाली प्रदेशमा क्वारेण्टाइनहरु मापदण्ड अनुसार नभएको भन्दै अधिवक्ता पदमप्रसाद शाहीले उच्च अदालतमा रिट दर्ता गरेका छन्।
लिम्पियाधुरा
सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटिएको राजनीतिक तथा प्रशासनिक नक्सासहितको निसान छाप परिवर्तन गर्न संसद्मा संविधान संशोधन प्रस्ताव दर्ता गराएको छ ।
मन्त्री परिषदको यो निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता युवराज खतिवडाले भने, “त्यो निसान छाप परिवर्तन गर्नुको कारण नेपालको संविधानको अनुसुची ३ मा रहेको नेपालको निसान छाप भित्र अंकित नेपालको नक्शालाई नेपालको वास्तविक सीमा अनुरुप मिलाउन अवश्यक भएकोले यो संविधान संशोधन गर्नु परेको हो।”
गत हप्ता नेपालले सबैभन्दा पश्चिमको दार्चुला जिल्लामा रहेका ती विवादित भूमीहरु राखेर देशको नयाँ नक्शा जारी गरेपछि निसान छाप पनि फेर्ने कदम चालेको हो।

भारतले नेपालको त्यो भूमी हुँदै सडक बनाएको खबर बाहिरिएपछि नेपालले आफ्नो भनेको भूमी दावी गर्न त्यस्तो कदम चालेको हो। तर भारतको विदेश मन्त्रालयका एकजना प्रवक्ताले नेपालको त्यो नक्शालाई भारतले मान्यता नदिेने बताएपछि दुइ देश बीचको तनाव बढिरहेको छ।
नेपालमाथि यो मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्ने दवाव बढिरहेको छ। तर नेपालले भने त्यसो नगर्ने र कुटनीतिक तरीकाबाट यो मुद्दाको समाधान गर्ने बताई रहेको छ।
तै पनि नेपालले त्यो विवादित भूमीमा सशस्त्र प्रहरीको बोर्डर आउटपोस्ट बनाउने निर्णय गरेको छ र सशस्त्र प्रहरीको टोली त्यहाँ पुगिसकेको छ।
दिवेश पोखरेल
अमेरिकाको टेलिभिजनमा प्रसारण हुने रियालिटि शो अमेरिकन आइडलमा एकजना नेपाली युवा दिवेश पोखरेलले दोस्रो स्थान हासिल गरेका छन्।अमेरिकाको कान्सास राज्यको विचिटामा बस्ने पोखरेल अमेरिकन आइडलमा प्रतिस्पर्धाको त्यो चरणमा पुग्ने पहिलो नेपाली हुन्।
कला जगतमा उनी आर्थर गनका नामले परीचित छन्। प्रतिस्पर्धाको अन्तिम चरणमा मतदान गर्न मिल्ने भएपछि नेपालबाट पनि थुप्रैले मतदान गरेर उनलाइ समर्थन गरेका थिए।





