अन्तर्राष्ट्रिय विद्यार्थी रक्षिता मालेपालिले गत वर्ष न्यु साउथ वेल्समा भएको सडक दुर्घटनामा ज्यान गुमाउन पुगिन् ।
भारतमा रहेका उनका माता पितालाई जब अङ्ग दानका बारेमा सोच्न आग्रह गरियो, उनीहरूले अफ्ठेरो माने।
“सुरुमा जब हामीले छोरीको दुर्घटनाका बारेमा सुन्यौ, हामी स्तब्ध बनेका थियौँ," रक्षिताका अभिभावकले भने।
"हामीलाई अङ्ग दानका लागि आग्रह गर्दा हामीले हुँदैन भन्यौँ।"
तर अन्तिम संस्कार गर्ने बेलासम्म आइपुग्दा भने उनीहरू आफ्नी मृत छोरीको अङ्ग दान गर्न तयार भए।
“हामीलाई अङ्ग दानका बारेमा थोरै ज्ञान थियो तर जब हामीलाई यसको महत्त्व बुझाइयो, हामी प्रेरित भयौँ।”
रक्षिताको परिवार उनलाई सानैदेखि चुलबुले स्वभावकी रहेकी सम्झन्छन् ।
सधैँ अरूलाई सहयोग गर्न पाउँदा प्रसन्न हुने सदस्यका रूपमा रक्षितालाई उनका परिवारजन सम्झिछन्।
उनी भारतमा रहेका आफ्ना परिवारलाई सुखी बनाउने उद्देश्य लिएर व्यापार विषय पढ्न अस्ट्रेलिया आएकी थिइन् ।
तर अहिले परिवारलाई लागेको छ कि उनी केही मानिसहरूको जीवन बचाउन अस्ट्रेलिया आएकी थिइन् ।

ड्यानियल फिसर न्यु साउथ वेल्सका अङ्ग एवम् कोशिका दान सम्बन्धी संस्थाका प्रमुख हुन् ।
फिसर भन्छिन् कि पछिल्ला दिनमा फरक सांस्कृतिक र भाषिक परिवेशबाट आएका मानिसहरू पनि अङ्ग दानका लागि स्वीकृति दिन थालेका छन् ।
हाल उनको संस्थाले बहुभाषिक, बहुसाँस्कृतिक एवम् कट्टर धार्मिक बिचार भएका मानिसहरूलाई अङ्ग दानले जीवन बचाउन गर्ने सहयोग र यसका फाइदाका बारेमा चर्चा र जानकारीहरू दिइरहेको छ ।
समुदायमा अङ्ग दानका बारेमा जानकारी दिनका लागि सहयोग गरिरहेका रुपेश उडानी पनि एक यस्ता व्यक्ति हुन जसले आफ्नो सात बर्सिया सन्तान दियानलाई २०१६ मा गुमाएका थिए ।

रुपेश भन्छन् कि उनका छोरा दियानले विद्यालयमा अङ्ग दानका बारेमा निकै सुनेका थिए र उनी चाहन्थे आफ्नो अङ्ग पनि दानमा दिइयोस्।
तर त्यति बेला उडानीलाई यो कुरा मन परेको थिएन।
केही महिना पछि दियानको ब्रेन ह्यामरेजका कारण मृत्यु भयो र उनको मन पनि परिवर्तन भयो।
रुपेश उडानी हाल अङ्ग दानको पक्षमा वकालत गर्दै हिँड्छन्।
भारतीय उप-महाद्विपबाट अस्ट्रेलिया आएका मानिसहरूलाई उनी यसबारे सम्झाउँछन्, बुझाउँछन्।
यसै कार्यका लागि उनले अघिल्लो वर्ष न्यु साउथ वेल्स हेल्थबाट स्वयंसेवकको वर्ष पुरस्कार पनि जिते।




