कोरोना
यस हप्ता नेपालमा कोरोना संक्रमित मानिसको संख्या २ लाख २० हजार नजीक पुगेको छ भने मृत्यु हुनेको संख्या करीब १३०० छ। काठमाण्डु उपत्यकामा मात्र संक्रमितको संख्या एक लाख नाघेको छ।
हालसम्म संक्रमणको संख्या निकै कम देखिएको हुम्ला जिल्लामा एकै विद्यालयमा ३२ जना विद्यार्थीमा संक्रमण देखिएपछि जिल्लाका विद्यालयहरु बन्द गरिएका छन्, र जिल्ला भित्र बाहिर ओहोरदोहोर गर्न निषेध गरिएको छ।
यसै बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड-१९ विरुद्धको खोप उपलब्धता सहज बनाउने लगायतका व्यवस्था गर्न मन्त्रिपरिषदको सिफारिशमा एउटा अध्यादेश जारी गरेकी छन्।
यस अध्यादेश अन्तर्गत आपतकालीन अवस्थाका लागि मात्रै अनुमतिप्राप्त खोप भएता पनि नेपालले विदेशी कम्पनीहरुबाट त्यस्ता खोप आयात र प्रयोग गर्न पाउनेछ। 
नेकपा फूट
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्रको द्वन्द्व यस हप्ता निकै चर्किएको छ। निकै पछि सरिसकेको नेकपाको सचिवालयको बैठक बुधबार बसेको थियो, जसमा नेकपाका एकजना अध्यक्ष प्रचण्डले एउटा प्रतिवेदन बुझाएका थिए।
प्रतिवेदनमा बहुमतको समर्थन सहित प्रचण्डले प्रधानमन्त्री केपी ओली सरकार र पार्टी सञ्चालनमा असक्षम भएको र ओलीको सरकार नै भ्रष्टाचारमा लिप्त भएको भन्दै उनलाई पदत्याग गर्न माग गरेका छन्।
ओलीले त्यो प्रतिवेदन फिर्ता गराउने कोशिश गरेका थिए तर असफल भएपछि त्यसलाई खण्डन गर्ने किसिमको प्रतिवेदन सचिवालयको अर्को बैठकमा प्रस्तुत गर्ने बताएका छन्।
पछिल्लो बैठकपछि पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले सञ्चारकर्मीलाई यस्तो जानकारी दिएका थिए।
"१३ गते सचिवालयको बैठक बस्नेछ। बैठकमा यस अगाडि प्रस्तुत सबै सामग्री र प्रस्ताव र अध्यक्ष कमरेड केपी शर्मा ओलीले प्रस्तुत गर्नुहुने प्रस्ताव समेतका आधारमा छलफल गरेर निकास निकाल्ने प्रयत्न गरिनेछ।"
ओली भने राजीनामा नदिने आफ्नो अडानमा अडिग छन्। भूतपुर्व माओवादी र भूतपुर्व एमाले पार्टीहरु मिलेर बनेको नेकपामा दुइ अध्यक्ष बीचको तनावका कारण यो भन्दा अघि पनि पार्टी विघटनको संघारमा पुगिसकेको छ।
संसदको वर्खे सत्रको समयसीमा नपुग्दै ओलीले विघटन गरेपछि हिउँदे सत्र नबोलाएकोमा राजनीतिविदहरुले पनि उनको अलोचना गरिरहेका छन्, र ओलीले एकलौटी रुपमा सरकार चलाउन खोजेको र सत्तामा टिकिरहन खोजेको बुझाइ बढिरहेको छ।

भारतीय चिनीया भ्रमण
सत्तारुढ दल नेकपाभित्र आन्तरिक संघर्ष उत्कर्षमा पुगेको बेला नेपालका दुवै छिमेकी मुलुकका उच्च पदस्थ अधिकारीको भ्रमण हुने भएपछि नेपाली राजनीतिमा छिमेकी मुलुकहरुको चासो बढेको बुझिएको छ।
नोभेम्बर २६ मा भारतका विदेश सचिव हर्षवर्धन श्रृंगला दुइ दिने भ्रमणका लागि नेपाल आउने भएका छन्।
पछिल्लो केही हप्तामा मात्रै भारतबाट गुप्तचर सँस्थाका प्रमुख सामन्तकुमार गोयल र स्थल सेनाका प्रमुख मनोज मुकुन्द नरवणेले नेपाल आएर प्रधानमन्त्री केपी ओलीसँग भेट गरेका छन्। यो लगातारको भ्रमणले नेपाल भारतबीच तनावग्रस्त रहेको सम्बन्ध सुधार्न भारत उत्सुक रहेको अनुमान गरिएको छ।
भारतका विदेश सचिवको भ्रमण लगत्तै चिनीया रक्षामन्त्री वेइ फेङ्हे नोभेम्बर २९ मा नेपालको एक दिने भ्रमणमा आउन लागेका छन्।
नेकपा विवादका बीच प्रधानमन्त्री केपी ओली र चिनीया राजदूत होउ याङ्छिले भेटवार्ता गरेका थिए, र यी सबै घटनाका कारण चीनले नेपालको राजनीतिमा हस्तक्षेप गर्न खोजेको अनुमान गरिएको छ।
नेकपाले भने यस्ता अड्कललाई अस्वीकार गर्दै अएको छ। चीन-नेपालको औपचारिक सम्बन्ध गाँसिएको ६५ वर्षको उपलक्ष्यमा रक्षामन्त्री फेङ्हे आउन लागेको र उनले दुइ देशबिचको सम्बन्धका बारेमा छलफल गर्ने बताइएको छ।

निःशुल्क खाना बाँड्ने ठाउँ सारियो
काठमाण्डुमा समाजसेवीहरुले मार्च महिना देखि गर्दै आएको निःशुल्क खाना बाँड्ने कार्यक्रम काठमाण्डु महानगरपालिकाले बुधबार देखि खुला मञ्चबाट थापाथलीमा सारेको छ।
काठमाण्डुका मेयर विद्या सुन्दर शाक्यको आपत्ती र अर्कै ठाउँ उपलब्ध गराउने वाचापछि समाजसेवीहरुले तिहार पछि त्यसरी खुलामञ्चमा खाना नबाँड्ने सहमति गरेका थिए। तर वैकल्पिक ठाउँको व्यवस्था नहुँदा उनीहरुले खुला मञ्चमै खाना बाँड्न जारी राखेका थिए।
बुधबार प्रहरीले गाडीमा हालेर खाना खान आएका मानिसलाई थापाथली पुर्याएको थियो। तर त्यहाँ खाने मानिसहरु कम आइपुगेको र त्यो ठाउँ सबैलाइ पायक नपरेको गुनासो स्वयंसेवीहरुको छ।
महानगरपालसकसाले खानेपानी र शौचालय सहितको ठाउँ बन्दोबस्त गर्ने वाचा गरेको थियो तर हालसम्म त्यो पुरा गरेको छैन, र अझै पनि त्यस्तो ठाउँ खोजिरहेको बताएको छ।
कोरोनाका कारण लकडाउन शुरु भएदेखि स्वयंसेवीहरुले दैनिक सयौं मानिसलाई खुवाइरहेका छन्, र बेरोजगारीका कारण खाना खान आउने मानिसको संख्या बढ्दो रहेको बताउँछन्।
निकिशा श्रेष्ठ
प्रहरीले पारलिंगी महिला निकिशा श्रेष्ठमाथि दुर्व्यवहार गर्ने तीनजनालाई गिरफ्तार गरेको छ।
टिकटकमा प्रख्यात रहेकी १५ वर्षीय निकिशा श्रेष्ठलाई मोटरसाइकलमा रहेका युवाले उनको लैंगिकता सम्बन्धीअपशब्द बोल्दै गरेको र श्रेष्ठले उनीहरुलाई लखेटेको भिडियो यस हप्ता सामाजिक सञ्जालमा देखा परेको थियो।
यस भिडियोको सामाजिक सञ्जालमा निकै विरोध भएको थियो। एकजना सञ्चारकर्मी माल्विका सुब्बा भन्छिन्, "कसैको यौनिकता, कसैको लैंगिकताका हिसाबले भेदभाव गर्न मिल्दैन। त्यो मानव अधिकारको विरुद्धमा हो भनेर हामीले कति चेतना फैलाइरहेका हुन्छौं। तर हाम्रै साना भाइहरुले युवाले यस्तो कदमहरु चाल्नुहुन्छ। जुन तरीकाले तपाइँले त्यो भिडियोमा एक व्यक्तिलाई सताउनुभएको छ, अलिकति त विवेक राख्नुहोस्। समभाव राख्नुहोस्।"
लैंगिक विविधता सम्बन्धी काम गर्ने सँस्थाले यस विरुद्ध कारवाही गर्न पनि प्रहरीसँग माग गरेका थिए। यसै क्रममा प्रहरीले साइबर ब्युरोको अगुवाइमा दुर्व्यवहार गर्ने र भिडियो खिच्ने तीन जना युवालाई पक्राउ गरेको हो।
यस घटनाले पारलिंगी वा अन्य लैंगिक विविधता भएका मानिसमाथि हुने गरेको दुर्व्यवहारलाई उजागर गरेको छ। केही मात्रामा सामाजिक सञ्जालमा परीचित श्रेष्ठ माथि भएको घटना चाँडै चर्चित भएको छ र प्रहरी समक्ष पनि पुगेको छ, तर त्यस्ता घटना आफुमाथि बारम्बार भइरहने अरु लैंगिक विविधता भएका मानिस बताउँछन्।

तिहार र छठ
हिन्दु धर्मावलम्बिको तिहार पर्व सोमबार भाइटिका लगाएर सकिएको छ। भाइटिकाका अवसरमा मात्र खुल्ने काठमाण्डुको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर यो हप्ता पाँच वर्षपछि खुलेको छ।
सन् २०१५ को भूकम्पमा क्षतिग्रस्त बनेको मन्दिर पुनर्निर्माण गरिएपछि यस वर्ष खोलिएको हो।
यसका साथै नेवा समुदायले आफ्नो नयाँ वर्ष मनाएका छन्, र विभिन्न समुदायले स्थानीय चाडबाड मनाएका छन्। मधेसमा थुप्रै मानिसले सूर्यलाई अर्घ्य दिएर छैठ पर्व मनाएका छन्।
खोला वा पोखरीको किनारमा गएर मनाइने यो पर्वमा यस वर्ष सार्वजनिक स्थानमा कम सहभागीता देखिएको छ, र थुप्रै मानिसले घरघरमै वा छिमेकमा कृत्रिम पोखरी बनाएर अर्घ्य दिएका छन्।





