उहाँसँग गरिएको हाम्रो कुराकानी सुन्न माथि रहेको मिडिया प्लेयरमा प्ले बटन थिच्नुहोस्
नेपाली क्रिकेट टोलीका क्याप्टेन पारस खड्काको अस्ट्रेलियासँगको सम्बन्ध अनौठो रहेको छ।
क्रिकेटमा यसरी ख्याति कमाउनु अघि विद्यार्थीको रूपमा उनी यहाँ आउन खोजेका थिए, सन् २००९ मा। तर उनको भिसाको आवेदन अस्वीकार गरियो। फलस्वरूप उनले क्रिकेटलाई मात्र ध्यान दिए र आज उनी नेपालको सर्वाधिक सम्मानित खेलाडीहरू मध्येमा पर्दछन्।
खड्का पहिलो पटक सन् २०१५ मा अस्ट्रेलिया आए र यहाँ रहेकै बेला नेपालमा ठुलो भूकम्प गयो। उनले आफ्नो बसाई लम्बाए अनि उद्धारका लागि चन्दा सङ्कलन सुरु गरे।
लगभग चार वर्षको अन्तराल पछि अहिले उनी फेरि अस्ट्रेलियाको भ्रमणमा छन्।
यसपल्ट भने, आफूले राष्ट्रिय टोलीमा भित्राएको चर्चित युवा खेलाडी सन्दीप लामिछानेले संसारकै ठुलो क्रिकेट मैदानहरूमा गनिने मेलबर्न क्रिकेट ग्राउण्ड (एम्सीजी) मै लिएको विकेट हेर्ने मौका पाए। त्यो क्षण, अरू नेपालीहरूको झैँ आफ्नो पनि छाती हर्षले फुलेको उनले एसबीएस नेपालीसँगको कुराकानीमा बताए।
यसरी, उनको हरेक पल्ट अस्ट्रेलियाससँग नाता गाँसिदा, सम्झना गर्न लायकका क्षणहरू छन्।

गत बर्षमात्र एक दिवसिय क्रिकेट खेल्ने मान्यता पाएको नेपालले आफ्ना खेलाडीहरूको मिहिनत, लगन र हौसलाका कारण एक पछि अर्को सफलता हात पार्दै गएको छ।
नेपालमा क्रिकेट व्यवस्थापन गर्ने प्रशासन गत तीन वर्षदेखि ठप्प रहेको छ। प्रशासनिक सहयोगको अभाव हुँदाहुँदै पनि देशको क्रिकेटले पाएको सफलता साँच्चै नै उल्लेखनीय मान्नु पर्छ।
“तर यो टोलीले पाएको सफलताको श्रेय अहिलेका खेलाडीहरूलाई मात्र जाँदैन,” खड्का भन्छन्।
“यसमा त हामी अघिका खेलाडी र प्रशिक्षकहरूको त्याग एवं मिहिनतको पनि उत्तिकै ठुलो हात छ।"
नेपालको क्रिकेट टोलीको सफलताले हाम्रा खेलाडीहरूलाई चिनारी दिएको दिएको छ। देश भित्रै अहिले क्रिक्रेटको लोकप्रियता बढ्दै गएको छ।
विदेशमा पनि सन्दीप लामिछाने जस्ता खेलाडीहरूको पाएको सफलताले क्रिकेट प्रति नेपालीहरूको लगाव अझै गाढा हुँदै गएको छ।

अस्ट्रेलिया बस्ने नेपाली समुदायमाझ त सन्दीप एउटा गौरवको पात्र नै भएका छन्। १८ वर्षको उमेरमै उनी अहिले बिग ब्याशको लागि “प्रतिभाशाली खेलाडी”को रूपमा चित्रित भइसकेका छन्।
तर सन्दीपको नेपाली टोलीमा भित्रिएको यात्रा पनि रोचक रहेको छ।
“हाम्रा पूर्व कोच पुबुदा, सुदूर पश्चिम जाने क्रममा चितवनमा पुग्नु भएको थियो र त्यहाँ सन्दीपको खेलप्रतिको उत्साह देखेर प्रभावित हुनु भयो,” खड्काले भने।
पुबुदाले आफूसँग सल्लाह गरेको र सन्दीपलाई टोलीमा ल्याएको खड्का बताउँछन्।
“उनमा छिट्टै सिक्ने कुशलता छ,” सन्दीपको बारेमा खड्काले भने। पुरै लगनका साथ आफ्नो खेल पनि परिष्कृत गर्दै लगेका सन्दीप, अहिले ट्वाईन्टी ट्वाईन्टी प्रतियोगिताहरूको लागि निकै उपयोगी हुँदै आएका छन्।
देशको क्रिकेट टोलीको नेतृत्व गर्दै आएका खड्काले भने अझै धेरै गर्न बाँकी रहेको बताउँदै भने, “हामी अझै पूर्ण रूपले क्रिकेट खेल्न पाउने देश भइसकेको छैनौ; टेस्ट खेल्ने मान्यता पाउन अझै केही वर्ष लाग्न सक्छ।”

अबको केही समय पछि नेपाली क्रिकेट टोली संयुक्त अरब ईमिरेट्सको राष्ट्रिय टोली विरुद्ध एक एकदिवसिय श्रृखलामा भाग लिँदै छ।
“क्रिकेटमय देश”को रूपमा बिस्तारै उदाइरहेको नेपालका लागि एकभन्दा बढी खेलको श्रृखलाको यो नयाँ अनुभव हुनेछ।
अनि यो अनुभव, खड्काले भनेझैँ, “क्रिकेटमय देश” को लागि गरिने सुनौला यात्राको एउटा सानो पाटो हुनेछ भन्ने आसा राखौँ।




