अस्ट्रेलियाको वातावरण र सामुन्द्रिक पर्यावरणलाई जोगाइराख्न सरकारले प्लास्टिक जन्य उत्पादनहरूलाई निरुत्साहित गरी रहँदा यसको विकल्पका रूपमा बायोडिग्रेडेबल सामाग्रीहरू पनि बजारमा पाइन थालेको छ।
प्लास्टिकका प्लेट, चम्चा, स्ट्रको विकल्पमा बजारमा उपलब्ध भएका जैवअपघट्य वा बायोडिग्रेडेबल उत्पादनहरूको व्यवसायमा अस्ट्रेलियामा रहेका नेपाली भाषीहरूको पनि संलग्नता रहेको छ।
नेपाली संस्कृतिमा महत्त्वपूर्ण स्थान राख्ने टपरी लगायत अन्य बायोडिग्रेडेबल उत्पादनहरूलाई अस्ट्रेलियाको बजारसम्म पुर्याउने काममा इन्द्र अधिकारी र प्रकाश गौतम लागेका छन्।
साउथ अस्ट्रेलियाका इन्द्र अधिकारी पेसाले पत्रकार हुन् तर उनलाई राज्य सरकारले केही प्लास्टिक जन्य उत्पादनहरूलाई निषेधित गर्ने निर्णय गरी रहँदा आफू पनि यो अभियानमा लाग्ने सोच आएको बताउँछन्।

"खास गरी ओसनमा चाहिँ माछाहरू, पानीमा बस्ने अरू जनावरहरूले प्लास्टिक खाएर मरेको समाचारहरू आइराखेको छ। त्यसले मलाई कतिपय समयमा नराम्रो फील गराउँछ।"
यस क्षेत्रमा जसरी हुन्छ आफ्नो तर्फबाट योगदान दिने सोचाइ पहिले देखि नै रहेको र साउथ अस्ट्रेलिया सरकारले प्लास्टिक जन्य केही सामाग्रीहरू प्रतिबन्ध गराउने बताए पछि भने साथीहरूसँग मिलेर यो व्यवसाय सुरु गर्न थालेको अधिकारीको भनाइ छ।
सालको पातबाट बनेको टपरी, सुपारीको खबटाबाट बनेको थाल तथा बटुका, उखुको खोस्टाबाट बनेका थाल, बटुका र कपहरू, काठबाट बनेका काटा, चम्चा तथा फर्कहरू आफूहरूसँग उपलब्ध रहेको उनले बताए।

अधिकारीसँगको कुराकानी सुन्नुहोस्:वातावरण मैत्री सामाग्रीहरूबारे समुदायमा जनचेतना जगाउन आवश्यक छ: इन्द्र अधिकारी हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवाप्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
प्लास्टिकको स्ट्रको सट्टा अहिले बजारमा उपलब्ध रहेको पेपरको स्ट्रहरूको समेत विकल्प खोजी राखिएको अधिकारीको भनाइ छ।
"तर त्यो पेपरको स्ट्र चैँ तपाइले विशेष गरी कोक खानु भयो भने त्यो खाइ नसकीकनै बिलाएर जान्छ।"
बाँसबाट बनेका स्ट्रहरू चीनबाट आयात गर्न सकिए पनि त्यसको लागत मूल्य नै उच्च हुँदा त्यसले अस्ट्रेलियामा बजार पाउनेमा उनलाई आशङ्का छ।
अनुसन्धानको क्रममा गहुँको बाला निकाली सके पछि बाँकी रहेको सिन्का यसको उत्तम विकल्प हुने पाइएको उनी बताउँछन्।
"खोज्दै जाँदाखेरि भियतनाम तिर त्यसको (प्लास्टिकको) रिप्लेस्मेन्टमा (गहुँको सिन्काबाट) बनाउने अर्को फ्याक्ट्रीहरू भेट्टाएको छौँ। त्यो हामी प्रयास गर्दै छौँ।"
नेपालमा पनि सुपारी खेती हुने भए पनि निर्यात गुणस्तरको सामाग्री नबन्ने भएकाले सुपारीको खबटाबाट बन्ने सामाग्रीहरू भियतनाम र भारतबाट ल्याउने गरिएको छ।
तर सालको पातबाट बनेको टपरी भने नेपालबाट नै निर्यात गर्ने गरिएको अधिकारीले एसबीएस नेपालीलाई बताए।

यो व्यवसायबाट कस्तो फाइदा हुन्छ भन्ने प्रश्नमा अधिकारी भन्छन् सामान्य व्यवसाय सञ्चालन गर्दाको खर्च निकाल्ने प्रयास हुने गरे पनि फाइदा नै प्रमुख प्राथमिकतामा भने रहेको छैन।
"बिजनेस गर्ने र बिजनेसबाट फाइदा लिने चाहिँ हाम्रो मेन उद्देश्य नभएर खास गरी प्लास्टिकबाट भएको देखेको त्यो पलुसनलाई चाहिँ कसरी रिप्लेस गर्ने, हाम्रो कम्युनिटीमा चाहिँ कसरी त्यो अवेरनेस ल्याउने भन्ने बढी प्रयास रहन्छ।"
टपरी नेपालबाट आयात गर्न उनीसँगै सहकार्य गर्ने भिक्टोरिया निवासी प्रकाश गौतमले त्यस्तै विचार राखेका छन्।
सालको टपरी:
पेसाले सिभिल इन्जिनियर रहेका प्रकाश गौतमले नेपालबाट सालको पातबाट बनेको टपरी अस्ट्रेलियामा ल्याउने गरेका छन्।
उनले हरेक क्षेत्रमा अहिले वातावरण मैत्री योजनाहरूलाई प्राथमिकता दिने कुरा बुझेका छन्।

त्यसैले उनले पनि व्यावसायिक हिसाबले भन्दा पनि सामाजिक दायित्व सम्झेर नेपालबाट टपरा आयात गर्ने योजना बनाएको बताउँछन्।
यसरी टपरी नेपालबाट आयात गर्दा नेपालमा पनि रोजगारी सिर्जना गर्दै अर्थतन्त्रमा थोरै भए पनि टेवा पुग्ने गौतमको विश्वास छ।
"नेपालबाट यदि साँच्चिकै हाम्रो इकोनोमी चैँ केही न केही रूपमा परिवर्तन गर्न सकिने भन्या यो एउटा पनि सानो टेवा हो।"
नेपालका साना ठुला गरेर ३० वटा उत्पादकहरूबाट मगाइएको टपरा वर्षमा २ लाखको हाराहारीमा अस्ट्रेलियाको बजारमा खपत हुने उनको भनाइ छ।

तर यसरी टपरी आयात गर्दा शिपिङ्ग गर्दा लाग्ने खर्च निकै बढेको कारण यो खर्चिलो नै भएको उनले बताए।
"नेपालमै पनि अहिले एकदमै महँगी बढेर भूकम्प पछि भनौँ, अनि कोभिडले गर्दाखेरि हामीले सुरुवात गर्नु भन्दा अहिले टु हन्ड्रेड टाइम्स हामीलाई प्राइस नेपाल मै महँगो पर्छ।"
साथै अन्तर्राष्ट्रिय गुणस्तरको टपरा बनाउन त्यसलाई प्रशोधन गर्ने देखि टिकाउ बनाउन अपनाइने प्रक्रियाले गर्दा मेहनत पनि उत्तिकै लाग्ने गरेको उनको भनाइ छ।

गौतमसँगको पुरा कुराकानी सुन्नुहोस्: सालको पातबाट बनेको टपरी अस्ट्रेलियाको बजारमा चिनाउँदै प्रकाश गौतम हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवाप्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
यसरी बनाइएको टपरा चुहिने डर पनि नहुने र प्रयोग पश्चात् सजिलै कुहिने भएकोले यो पर्यावरण संरक्षणका लागी निकै उत्तम विकल्प भएको उनको दाबी छ।
उनी यसलाई उखुको खोस्टाबाट बन्ने र कागजका प्लेटहरू भन्दा स्वास्थ्यका दृष्टिले पनि राम्रो भएको बताउँछन्।
" सुगर केन प्लेटहरू, पेपर प्लेटहरूमा केमिकलहरू युज गरिन्छ। यो वातावरणका लागी लाभदायक भए पनि हाम्रो स्वास्थ्य लागी साँच्चै लाभदायक छ त भन्नेमा हामी धेरै निश्चिन्त छैनौँ।"
उनी थप्छन्, "तर सालको चाहिँ जरा देखि पात सम्म सबै कुरा आयुर्वेदिक मेडिसिनको लागि नै प्रयोग हुन्छ। अनि यो चाहिँ तिनीहरू भन्दा निकै बेटर छ।"

गौतमले भिक्टोरियामा टपरी लगायत अन्य बायोडिग्रेडेबल सामाग्रीहरूको माग राम्रो रहेको र भविष्यमा यसको महत्त्व झन् बढेर जाने बिचार व्यक्त गरे।
इन्द्र अधिकारीले साउथ अस्ट्रेलियाका नेपाली समुदायले यसको महत्त्व राम्रोसँग बुझेको भए पनि भुटानी समुदायमा यसको बारेमा थप जनचेतना बढाउनु पर्ने आवश्यकता महसुस गरेका छन्।
अस्ट्रेलियामा प्लास्टिक जन्य उत्पादन:
अस्ट्रेलियाली सरकार कृषि, जल तथा वातावरण विभागको पछिल्लो एक रिपोर्टमा अस्ट्रेलिया भर सन् २०१८ देखि २०१९ सम्म ३५ लाख टन प्लास्टिक प्रयोग गरिएको र त्यसमध्ये १३ प्रतिशत मात्र रिसाइकल हुँदा ८४ प्रतिशत प्लास्टिक फोहोरका रूपमा रहेको तथ्याङ्क छ।

यसै गरी प्लास्टिकको प्रयोजन यसरी नै जारी रहने हो भने सन् २०५० सम्ममा समुन्द्रमा माछा भन्दा बढी प्लास्टिक हुने अनुमान गरिएको छ।
यो अवस्थालाई मध्यनजर गर्दै देशका विभिन्न राज्य तथा प्रदेशहरूले प्लास्टिकजन्य उत्पादनहरूमा प्रतिबन्ध लगाउने क्रम पनि बढेको छ।
न्यु साउथ वेल्समा सन् २०२२ को जुन देखि एक पटक प्रयोग हुने प्लास्टिकका झोला, पेय पदार्थमा प्रयोग हुने स्ट्र, कटन बढ, प्लेट, बटुका र चम्चाहरू पूर्णतया प्रतिबन्ध गर्दै छ।
यी मध्ये कतिपय सामाग्रीहरूलाई बायोडिग्रेडेबल सामाग्रीहरूले प्रतिस्थापन गरिसकेका छन्।
त्यस्तै क्वीन्सल्याण्डमा स्ट्र, स्टर्र, प्लेट, टेकअवे खानाका लागी प्रयोग हुने पोलिस्टाइरिन बट्टाहरू र त्यस्तै कपहरू सेप्टेम्बर सन् २०२१ देखि नै प्रतिबन्धित छन्।
टास्मेनिया र नर्दर्न टेरीटरीमा हलुका प्लास्टिकका झोलाहरू मात्रै प्रतिबन्धित छन्।
पश्चिम अस्ट्रेलियामा पनि धेरै उत्पादनहरूमा प्रतिबन्ध लागिसकेको भए पनि सन् २०२३ देखि कटन बड्स, माइक्रोबिड्स र प्लास्टिक प्रयोग भएका कफी कपहरूमा प्रतिबन्धहरू लागू हुनेछ।

केही सामग्रीमा प्रतिबन्ध लगाए पनि एसीटी, क्वीन्सल्याण्ड र साउथ अस्ट्रेलियामा अझै पनि केही प्रस्तावित प्रतिबन्धहरू छलफल कै प्रक्रियामा छन्।