वातावरण संरक्षणमा पुनर्प्रसोधन तथा पुनर्प्रयोगको महत्त्व कति छ भन्ने बारे मा त हामीले सधैँ सुन्दै आएका छौँ।
पछिल्लो समयमा अस्ट्रेलियामा विभिन्न राज्य सरकारहरूले आफ्नो राज्यका नागरिकहरूमा रिसाइकिलिंगको महत्त्व दर्शाउने र त्यस प्रति आकर्षित गर्नका लागी प्रयोग भएका क्यान तथा कन्टेनरहरू लाई सङ्कलन गरेर फिर्ता गर्दा प्रति क्यान १० सेन्ट दिने योजना लागू भए पछि यसले सामुदायिक र सामूहिक रूपमा अभियान कै रूप लिएको छ।
त्यसमा नेपाली समुदाय पनि पछि रहेको छैन।
नेपाली समुदायमा क्यान फिर्ता गरेपछि प्राप्त हुने रकम कुनै परोपकारी कामका लागी खर्चिने एक किसिमको लहर नै देखिएको छ।
कसैले क्यानको पेय पदार्थ पिउँदै गरेको देखे निशा घले त्यस व्यक्ति माथि नजर राख्छिन्। उनको व्यक्ति वा काममा होइन त्यो पेय पदार्थ राखिएको सिसी वा क्यानमा ध्यान हुने गर्दछ।
उनको उद्देश्य थाहा नपाएर कतिपयले बट्टा फोहोर फाल्ने ठाउँमा फाल्ने गर्दछन्। तर निशा फोहोर फाल्ने बिनबाट फालिएको कन्टेनर झिक्न पनि हिच्किचाउँदिनन्।
घलेले क्यान तथा कन्टेनर जम्मा गर्नुको पछाडि एक परोपकारी सोच रहेको छ।
उनले रिटर्न एन्ड अर्न अर्थात् फिर्ता गर्नुहोस् र पैसा कमाउनुहोस् भन्ने रिसाइकल गर्न मिल्ने कन्टेनर फिर्ता गर्ने योजना अन्तर्गत कन्टेनरहरू जम्मा गर्ने गरेकी छन्।
न्यु साउथ वेल्स राज्यमा रहेका नेपाली समुदाय बिच चिरपरिचित ऋषि आचार्य पनि प्रयोग भैसकेका कन्टेनरहरूलाई फिर्ता गर्ने अभियानमा संलग्न रहेका छन्।
दक्षिण अस्ट्रेलियाको स्थानीय सरकारले वातावरण संरक्षणमा टेवा पुर्याउने दृष्टिकोणबाट सुरु भएको योजनामा नेपाली युवाहरूले परोपकारी कामका लागी संलग्नता देखाए पछि आफूलाई पनि यो अभियान तर्फ आकर्षण बढेको आचार्यको भनाइ रहेको छ।
त्यसरी जम्मा गरिएका कन्टेनर फिर्ता गरेर पाएको रकम नेपालका विभिन्न स्थानमा रहेका विद्यालयहरूलाई प्रदान गरेर शिक्षा क्षेत्रमा आफ्नो तर्फबाट सानो सहयोग गर्ने गरेको उनले बताए।
घलेले पनि आफूले सङ्कलन गर्ने रकम अनाथ बालबालिका हरूका निमित्त खर्चिने योजना बनाएको बताएकी छन्।
एक वृद्धले पुन: प्रयोग गर्न सकिने कन्टेनरहरूले भरिएको झोला बोकेको देखेर त्यसबारे जिज्ञासा राख्दा पहिलो पटक यो अभियानका बारेमा सुनेकी निशालाई आफूले पनि त्यस्तो गर्नु पर्छ भन्ने अनुभव गर्न धेरै समय लागेन।
घरमा भएका खाली सिसीहरू सङ्कलन गरेर सुरुवात गरेकी उनलाई अहिले भने त्यस्ता कन्टेनरहरू जहाँ देखे पनि टिपिहाल्न मन लाग्ने गरेको बताएकी छन्।
सिड्नीको एक वृद्ध स्याहार केन्द्रमा कार्यरत निशाले आफ्ना कार्यस्थलका साथीभाइ तथा त्यहाँ रहेका वृद्ध वृद्धाहरूलाई पनि त्यस्ता कन्टेनरहरू नफाल्न सम्झाई रहन्छिन्।
उनकै सहकर्मी आकृति शेरचन त्यस्ता कन्टेनर फालेको देखे निशाले फोहोर फ्याल्ने बिनमा हात हाल्न पनि पछि नपर्ने बताउँछिन्।
एक्लैको यो प्रयासले प्रत्येक कन्टेनर बापत १० सेन्ट मात्र पाइने भएकोले एक हप्तामा ४ डलर मात्र पाइरहेको भए पनि त्यो ४ डलरले दिने खुसी र प्रोत्साहन वर्णन गर्न नसकिने किसिमको भएको उनको भनाइ रहेको छ।

निशाको भन्दा केही फरक ऋषि आचार्यले भने सामूहिक रूपमा क्यान सङ्कलन गर्ने गरेका छन्।
"मेरो घरको पछाडि पट्टि खालि क्यानहरूले भरिएको छ," उनी भन्छन्।
हरेक महिना सङ्कलन भएको क्यान फिर्ता गरेर जम्मा हुने रकम समूहमा पालै पालो आफूले चाहेको विद्यालयका लागी खर्चिने गरेको आचार्यले बताए।
संस्थागत रूपमा नै क्यान सङ्कलनमा सक्रिय ब्रिज द ग्याप नेपालका अध्यक्ष शिव श्रेष्ठ नेपालीहरूमा व्यक्तिगत रूपमा कमाउनका लागी भन्दा पनि परोपकारी काममा खर्चिने उद्देश्य राखेर धेरै नेपाली युवाहरू यो अभियानमा लागेको आफूले पाएको अनुभव सुनाउँछन्।
न्यु साउथ वेल्स राज्यमा रहेको उक्त सामुदायिक संस्थाले आयोजना गर्ने कार्यक्रमहरूका लागी सहयोग गर्न चाहनेहरूले यो अभियानमा संलग्नता देखाएको उनले बताएका छन्।
उहाँहरूसँग गरिएको हाम्रो कुराकानी सुन्न माथि रहेको मिडिया प्लेयरमा प्ले बटन थिच्नुहोस्
ऋषि आचार्य पनि वातावरण संरक्षण र परोपकारका निमित्त नै यो अभियान नेपालीहरू माझ बढी लोकप्रिय रहेकोमा जोड दिन्छन्।
त्यसरी जम्मा भएको रकम अस्ट्रेलियामा बसोबास गर्नेहरूका लागी न्यून भए पनि नेपालमा त्यति रकमले नै पनि ठुलो महत्त्व राख्ने उनको बुझाइ रहेको छ।
उनले यो प्रयासले गर्दा आफ्ना छोराछोरीमा पनि वातावरण संरक्षण र अरूलाई सहयोग गर्ने भावना राख्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन्।

४ महिना अगाडी क्यान सङ्कलन गर्न सुरु गर्दा घलेका आफन्त र साथीभाइहरू घर बाहिर फ्याल्नु पर्ने फोहोर के घरमा जम्मा गरेर राखेको होला ? भनेर हाँस्ने गरेको सम्झन्छिन्।
तर अहिले आफ्ना श्रीमान् र साथीभाइले पनि प्रोत्साहन गर्दा त्यस्ता हाँसोलाई बेवास्ता गर्न झन् मदत पुगेको उनको भनाइ रहेको छ।
उनी भन्छिन्, "म त झन् धेरै दृढ भएको छु, म माथि कोही हाँसे पनि मलाई मतलब छैन।"





