कोरोना संकट
विश्व स्वास्थ्य संगठनले जनस्वास्थ संकट घोषणा गरेको र संसारका थुप्रै देशमा संक्रमण फैलाइरेको कोरोना भाइरसको प्रकोपले नेपाललाई पनि असर गरेको छ।
हालसम्म नेपालमा एकजनामा कोरोना भाइरस देखिएको छ। चीनको वुहानमा पढेर आएका ३१ वर्षीय पुरूषमा त्यो संक्रमण देखिएको हो। तर उनी अस्पतालबाट डिस्चार्ज भइसकेका छन्।
त्यस्तै, प्रकोपको केन्द्र वुहानमा हाल रहेका नेपालीले आफूलाई त्यहाँबाट उद्धार गरिदिन नेपाल सरकारसँग आग्रह गरेका छन्।
विश्वका थुप्रै मुलुकले आफ्ना नागरिकलाई चीनको हुबेइ प्रान्तबाट उद्धार गरिरहेको समयमा नेपाल सरकारले पनि त्यहाँ रहेका नेपालीलाई फिर्ता ल्याउन एउटा विमान चार्टर गरेको बताएको छ, र त्यहाँ रहेका मानिसलाई फर्किन चाहेमा फर्म भर्न आग्रह गरेको छ।
यता नेपालमा चीनिया राजदूतले विभिन्न सरकारी पदाधिकारीहरूलाई भेटेर चीनमा रहेका नेपालीले स्वास्थ्य सेवा पाउने र चीनले नेपालीको स्वास्थ्य सुरक्षाको जिम्मा लिने प्रतिबद्धता जनाएकी छिन्।
नेपालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पनि स्वास्थ्य परीक्षण जाँच्ने उपकरणहरू राखेको छ र वुहानबाट आउने र कोरोना संक्रमणको लक्षण देखिका मानिसहरूको परीक्षण गरिरहेको छ।

सभामुख निर्वाचित
गत असोज महिनादेखि खाली प्रतिनिधि सभाका सभामुखको पदमा सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टीका सांसद अग्नि सापकोटा निर्वाचित भएका छन्।
गत हप्ता सापकोटाले आफ्नो उम्मेद्वारी दर्ता गरेपछि अरू कुनै पार्टीले उनको प्रतिद्वन्दी उम्मेद्वार मनोनित गरेन।
सापकोटा निर्विरोध सभामुख घोषित भए र सोमबार शपथग्रहण गरेका थिए। तर उनको मनोनयन अत्यन्त विवादित बनेको थियो।
नेकपाको पुर्व माओवादी पक्षका सापकोटामाथि द्वन्द्वकालमा काभ्रेका अर्जुन लामाको हत्या गरेको आरोप लागेको छ। सापकोटाले सबै आरोप अस्वीकार गरेका छन्।
पदबहाली गरेपछि अदालतमा विचाराधीन त्यो मुद्दा बारे नबोल्ने भन्दै उनले भनेः "लोकतन्त्रको मूल्य मान्यता आदर्शलाई कायम गर्ने, त्यसैगरी नेपाली जनताको सार्वभौम सर्वोच्च संस्थाको ओज गरीमा कायम राख्नका लागि तटस्थ, निष्पक्ष, सन्तुलित भुमिका निर्वाह गर्नका लागि म सधैं दत्तचित्त रहन्छु, इमानदारिता पुर्वक लाग्छु। "
तर उनको मनोनयन र निर्वाचनका विरूद्ध थुप्रै मानवअधिकारवादी अभियन्ताले प्रदर्शन गरिरहेका थिए।
संसद भवन बाहिर विरोध हुँदाहुँदै सापकोटाले शपथग्रहण गरेका थिए र त्यही दिन अर्जुन लामाकी श्रीमती पुर्णीमाया लामा सहित १२ जना प्रदर्शनकारी गिरफ्तार गरिएका थिए। सापकोटाको नियुक्ति विरूद्ध सर्वोच्च अदालतमा रिट समेत परेको छ तर प्राविधिक कारणले त्यसको सुनुवाई हुन सकेको छैन।

भिजिट नेपाल लक्ष्य
कोरोना भाइरसका कारण थुप्रै अन्तर्राष्ट्रिय एयरलाइन्सले चीन आउनेजाने उडानहरू रद्द गरेपछि नेपालको भ्रमण वर्ष २०२० को लक्ष्य नपुग्ने हो कि भन्ने शंका देखिएको छ।
नेपालले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ जसमध्ये चीनबाट धेरै पर्यटक आउने अपेक्षा गरिएको छ।
तर चीनका थुप्रै शहरमा आवागमन बन्द गरिएको र एयरलाइन्सहरू नै जान छोडेपछि चीनका पर्यटकहरू नेपालमा कम आउने सम्भावना देखिएको छ।
चीनको दूतावासले भने नेपाल भ्रमण वर्षलाई चीनले सहयोग गरिरहने र कोरोना भाइरसले त्यसलाई असर नगर्ने बताएको छ।

नेपाल भ्रमण वर्षको अभियान एकपछि अर्को व्यवधानमा फसिरहँदा पछिल्लो समयमा यसको मास्कट विवादित बनेको छ।
यती अर्थात नेपालमा बस्ने भनिएको काल्पनिक हिममानवलाई नेपाल भ्रमण वर्ष अभियानको मास्कट छानिएको थियो र यतीका १०८ वटा मूर्ती काठमाण्डुका विभिन्न स्थानमा राख्ने योजना गरिएको थियो।
चित्रकार र मुर्तिकार आङ छिरिन शेर्पाको अवधारणामा ९० भन्दा बढी कलाकारले ती मुर्ती तयार गर्न काम गर्दै छन्।
तर तयार गरेर राखिएका मुर्तिलाई कतिले यती जस्तो नदेखिएको भनेका छन् भने कतिले मुर्तीको शरीरमा कुमारी लगायतका सांस्कृतिक प्रतीकहरू बनाएर संस्कृतिको अपमान भएको बताएका छन्।
कुनै कुनै मुर्तीमा मानिसहरूले आफैंले रंगाइदिएका छन् र विरोधपछि केही मुर्तिहरू हटाइएका छन्। उता कलाकारहरूले प्रेस विज्ञप्ती निकाल्दै अभिव्यक्ति स्वतन्त्रताको बचाउ गरेका छन्।
छाउगोठ भत्काउने सरकारको अभियान विवादित
छाउपाडी प्रथा उन्मूलन गर्नका लगि छाउ गोठ भत्काउने सरकारको अभियान विवादित बनेको छ।
महिलाहरूले महिनावारी बार्नका लागि घरमा नबसेर छुट्टै गोठमा बस्ने चलन नेपालमा मध्य र सुदूर पश्चिम क्षेत्रका विभिन्न जिल्लामा रहेको छ।
कानुनले यस प्रथालाई निषेध गरेको छ र जबर्जस्ती गोठ पठाएमा जेल सजाय र जरिवाना समेत तोकेको छ। यसै क्रममा गत पुष महिनामा सरकारले छाउपाडी गोठहरू भत्काउन निर्देशन दिएपछि प्रहरीले थुप्रै गोठहरू भत्काएको छ।
तर कर्णालीका सांसद गजेन्द्र बहादुर महतले संसदमा यसको विरोध गरेका छन्।
"छाउगोठका नाममा हाम्रा घर भत्काइँदैछन्। ८ जना मानिस होटलमा मरेका छन्, के त्यसो भनेर होटल भत्काउने? स्कुलको अवस्था के छ? अस्पतालको अवस्था के छ? त्यो हेर्नु पर्दैन? के हेरेर बसेको छ गृह मन्त्रालय? काम पाएको छैन यसले?"उनले भने।
त्यस्तै, गोठ भत्काएर समस्या समाधान नहुने र गोठ भत्काए पनि महिलाहरूले महिनावारी बार्ने चलन भने कायमै राखेको भन्दै केही अभियन्ताले विरोध गरेका छन्।
Image
बाग्मती प्रदेश नामाकरण
नेपालको प्रदेश ३ ले आफ्नो नाम बाग्मती राख्ने निर्णयको विरोध भएको छ।
यसै महिना प्रदेश ३ को प्रदेश सभाले प्रदेशको नाम बाग्मती र राजधानी हेटौंडा राख्ने निर्णय गरेको हो।
त्यो नामले त्यस प्रदेशको जातीय विविधता नझल्काउने भन्दै विभिन्न समूहले प्रदर्शन गरेका छन्। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र र समाजवादी पार्टीले प्रदेशको नाम नेवाः ताम्सालिङ राख्नुपर्ने प्रस्ताव गरेका छन्।
राजनधानी काठमाण्डु समेत रहेको प्रदेश ३ मा नेवार र तामाङ सहित विभिन्न समुदायको बसोबास रहेको छ।
लीलबहादुर क्षेत्रीलाई भारतको प्रतिष्ठित पद्मश्री पुरस्कार
भारतको गुवाहाटी निवासी नेपाली भाषाका साहित्यकार लीलबहादुर क्षेत्रीलाई भारतको प्रतिष्ठित पद्मश्री पुरस्कार प्रदान गरिएको छ।
पद्मश्री पुरस्कार भारतमा सर्वसाधारण नागरिकलाई दिइने चौथो उच्च पुरस्कार हो।
८५ वर्षीय क्षेत्रीले उपन्यास र कथाहरू लेख्ने गरेका छन्। ग्रामीण पहाडी जीवनको कथा समेटिएको उनको पहिलो उपन्यास बसाईं नेपालमा मुनामदन पछि सबभन्दा बढी बिक्ने पुस्तक भएको बताइन्छ।
साहित्यमा दीर्घकालीन योगदानका लगि क्षेत्रीलाई यो भन्दा अगाडि भारतमा अकादमी पुरस्कार र नेपालमा जगदम्बाश्री पुस्कारले सम्मानित गरिएको थियो।




