२० वर्षीया गल्फ खेलाडी प्रतिमा शेर्पा नेपालको पहिलो प्रोफेसनल महिला गल्फ खेलाडी बन्ने कोशिश गरिरहेकी छिन्।
शेर्पाका आमाबुवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकैको गल्फ कोर्समा काम गर्ने गर्दथे। सानैदेखि गल्फको वातावरणमा हुर्केकी शेर्पाले बालबालिकाका प्रतियोगिता हुँदै थुप्रै राष्ट्रिय टुर्नामेण्ट जितेकी छिन्।
उनको बारेमा ESPN ले बनाएको डकुमेण्ट्रीबाट प्रभावित बनाएर एक अमेरिकी परिवारले उनलाई सहयोग गरिरहेको छ, र हाल शेर्पा उनीहरुसँगै क्यालिफोर्नियामा बसेर स्नातक तहमा पढ्दैछिन्।
हालै उनी अमेरिकी आर्थिक पत्रिका फोर्ब्सको एशिया "30 Under 30" अर्थात एशियाका ३० वर्ष मुनिका ३० मानिसको सुचीमा परेपछि सेवाभट्टराईले उनीसँग कुराकानी गरेकी छिन।
कुराकानी सुन्न माथि रहेको मिडिया प्लेयरमा क्लिक गर्नुहोस्

तपाईंले गल्फ खेल्न कसरी शुरु गर्नुभयो?
गल्फ कोर्स मै हुर्केको कारणले गर्दा बच्चैदेखि नै हो। म कहिले गल्फ कोर्समा गाएको भन्ने नै थाहा छैन, बच्चैदेखि त्यहीं हुर्केको भएर। अरुहरुले खेलेको हेरेर बस्थें, अनि आफूलाई पनि त्यसरी नै खेल्न मन लाग्थ्यो।
तपाईंको पहिलो प्रतियोगिताको बारेमा भन्दिनुहोस् न ११ वर्को उमेरमा।
ठुलो प्रतियोगिता त होइन, बच्चाहरुको प्रतियोगिता थियो। हामी २०-२५ जना बच्चाहरु थियौं। मेरो पालो लास्टमा थियो, अनि मैले जितेको थिएँ। ट्रफी र चक्लेट थियो। मेरो ध्यान चाहिँ ट्रफीमा भन्दा चकलेटमा गएको थियोः ओहो यति धेरै चकलेट पाउने भएँ भनेर। घरमा मेरो ममी ड्याडी यति धेरै खुशी हुनुभएको थियो। मेरो ममीले त आँसु नै झार्नुभएको थियो त्यो ट्रफी देखेर। मेरो पहिलो ट्रफी चाहिँ बिर्सिन नसक्ने नै थियो।
गल्फ एकखालको वर्गले मात्रै खेल्छन् भन्ने एउटा धारणा छ। तपाईंलाई यो खेलमा अघि बढ्न कत्तिको गाह्रो भयो? परिवारले कत्तिको साथ दिनुभएको छ?
मेरो ममीले चाहिँ पहिलादेखि नै खेल्न जाउ, तिमीले त्यहाँ गल्फर नबने पनि गल्फ खेल्दा अरु मानिसलाई चिनेर जागीर पाउन सजिलो हुन्छ भन्नुहुन्थ्यो। ड्याडीले चाहिँ एक समयमा म खाली गल्फ खेल्न गएको देखेर – पढाइलाई ध्यान दिनु पर्छ, पढाइ महत्वपूर्ण हो, गल्फ त केही होइन, भन्नुहुन्थ्यो। र अलिकति सपोर्ट गर्नुभएको थिएन बीचमा।
पछि चाहिँ सबैजनाको सपोर्ट भयो। म पनि अभ्यास गरिरहेको थिएँ। अरुले मानिसहरुले पनि प्रोत्साहन दिनुभयो - ल, उसले गर्न सक्छ भनेर। त्यो भएपछि चाहिँ मेरो ममी ड्याडीले पनि बुझ्नुभयो।

नेपालमा महिला खेलाडीहरु हुनुहुन्छ कि हुनुहुन्न? कस्तो छ वहाँहरुको अवस्था?
मैले शुरु गर्ने बेलामा थुप्रै महिलाहरु थिए, १०-१५ जना जति। त्यसपछि त त्यही हो, वहाँहरुको परिवारले पनि यो नगर, गल्फमा केही भविष्य छैन भन्नुभयो। हुन पनि हो, त्यो बेलामा भविष्य पनि थिएन। म चाहिँ गल्फ कोर्स मै बस्ने भएकाले एउटा फाइदा भयो गल्फ खेल्नलाई।
अहिले चाहिँ केटीहरु पनि छन्, उनीहरु पनि प्रोफेसनल बन्नलाई कोशिश गरिरहेका छन्। नेपाल गल्फले पनि केटीहरुलाई अघि बढाइरहेको छ। उनीहरुलाइ पनि बाहिर तालीममा पठाउने, टुर्नामेण्ट राख्ने गरेर। पहिलाको तुलनामा चाहिँ अहिले एकदमै बढी छ।
तपाईं पनि प्रोफेसनल बन्ने कोशिश गरिराख्नुभएको छ। त्यसको लागि अब तपाईंले के के गर्नुपर्ने हुन्छ?
अहिले चाहिँ म कलेज पढिरहेकी छु। मेरो अझै दुइ वर्ष बाँकी छ। यो कलेज भरीमा प्रोफेसनल कार्ड लिन पाइँदैन। त्यसपछि चाहिँ क्वालिफायिङ राउण्ड हुन्छ। त्यो खेलेर अनि प्रोफेसनल कार्ड लिन मिल्छ।
बीचमा तपाईंको गल्फ यात्राको क्रममा ESPN ले तपाईंको बारेमा एउटा डकुमेण्ट्री पनि बनायो। त्यसपछि तपाईंले टाइगर वुड्ससँग पनि भेट्नुभयो। वहाँ त विश्वप्रसिद्ध गल्फ खेलाडी हुनुहुन्छ। कस्तो भयो त्यो अनुभव?
म वहाँलाई भेट्न जाने बेलामा पनि विश्वासै नलाग्ने, सपना जस्तो भइराखेको थियो। म बसिराखेको थिएँ अनि वहाँले पछाडिबाट आएर "हाइ प्रतिमा" भन्नुभयो। त्यो एउटा "हाइ प्रतिमा" भनेको मलाई कस्तो एकदमै ओहो!!! टाइगर वुड्सले मलाई बोलाएको! भन्ने जस्तो भयो। एकदमै खुशी लागेको थियो।
अनि त्यसपछि सबैजनाले टाइगर वुड्ससँग फोटो खिच्नलाई दुई मिनेट मात्रै हुन्छ तिमीसँग समय। जे भन्नु छ भनेका थिए उसको सहयोगीहरुले।
अनि त्यसपछि टाइगर वुड्सले सीधै गएर ल हिँड जाउँ खेल्न भनेर गल्फ कोर्समा लगे। सबैजना ट्वाँ परे। कसैलाई पनि त्यस्तो गरेको थिएन टाइगर वुड्सले भनेर। मिडियाको मान्छेहरु पनि कुदाकुद भएको थियो, त्यस् सोचेको थिएन नि त।
वहाँले चाहिँ आफ्नो टुर्नामेण्टहरुको बारेमा गफ गर्नुभयो। गल्फ भनेको खेल मात्रै होइन, एउटा माइण्डसेट पनि हुन्छ। ९०% चाहिँ तिम्रो दिमाग हुन्छ, आफूलाई कसरी संयमित राख्ने भन्ने कुरा महत्वपूर्ण हुन्छ भन्नुभयो। अनि सबैसँग मेरो परिचय गराइदिनुभयो।
त्यो मेरो लागि मात्रै नभएर नेपाली गल्फकै लागि एउटा ठुलो कुरा थियो जस्तो लाग्छ।
वहाँले नै तपाईंलाई भेट्न खोज्नुभएको हो?
म ESPN को डकुमेण्ट्री प्रिमियरको लागि न्यु योर्कमा थिएँ। त्यहाँ टाइगर वुड्स फाउण्डेशनको एकजना सदस्य आउनुभएको रहेछ। तिम्रो मनपर्ने खेलाडी को हो? भनेर सोध्नुभयो। मैले टाइगर वुड्स भनेर भनें। मैले वहाँलाई चिनेकी थिइन।
त्यसपछि हामी होटल गयौं। अनि हामीलाई एउटा टेक्स्ट आयो। भोली तिमी टाइगर वुड्सलाई भेट्न जाँदैछौ भनेर। हामी राती ११-१२ बजे न्युयोर्कबाट निस्केर भोलीपल्टै फ्लोरिडा पुग्यौं। हामी ट्वाँ परिरहेका थियौं – ल, टाइगर वुड्सलाई भेट्न जाने! भनेर।
त्यो टाइगर वुड्स फाउण्डेशनको सदस्यले उनलाई भनेपछि टाइगर वुड्सले उसलाई बोलाउ, भनेजस्तो छ। अनि हामी भोलीपल्टै पुग्यौं।
तपाईं अहिले कलेज पढ्दा पनि खेलिराख्नुभएको छ?
हो, म कलेजको गल्फ टीममा छु। नेपालमा त यसरी टीमसँग खेल्ने मौकै पाएको थिइन। यहाँ आएर चाहिँ कलेजकै एउटा टीम छ, गर्ल्स टीम छ, सँगै अभ्यास गरिन्छ।

तपाईं अहिले भर्खरै फोर्ब्सको 30 under 30 को सूचीमा पनि पर्नुभएको छ, तपाईले यो अपेक्षा गर्नुभएको थियो?
अहँ, मैले त सपनामा पनि सोचेको थिइन।
तपाईं सानै उमेरमा धेरै प्रसिद्ध हुनुभएको थियो, अब झनै प्रसिद्ध हुनुभएको छ। यो कुरालाई कसरी लिनुभएको छ?
यो आउँदाखेरी म घरमै बसिरहेको थिएँ कोरोनाले गर्दा। के गर्नु, गल्फ पनि खेल्न पाइएन, भन्दै निराश भएर बसेकी थिएँ। अनि झन् नेपालबाट टाढा, आफ्नो ममी ड्याडीलाई मिस गरिरहेकी थिएँ, होमसिक इरहेकी थिएँ।
यो आएपछि चाहिँ, ओहो कति मानिसले मलाई माया गर्नुहुन्छ भन्ने जस्तो लाग्यो। फेरी नयाँ फिल आयो एउटा, खुशीको। राम्रो काम गर्नुपर्छ भन्ने त्यस्तो एउटा भावना आयो। यो कुराले मलाई झन् धेरै मोटिभेसन र इन्करेज गर्यो। सबै मानिसहरुको मेसेजहरु हेर्दा चाहिँ अहिले खुशी लागिरहेको छ।
यो चाहिँ नेपाली युवाहरुको लागि पनि एउटा प्रेरणाको कुरा हो। नेपाली युवाहरुलाई के सन्देश दिन चाहनुहुन्छ?
नेपाली युवाहरुलाई सबभन्दा भन्न चाहने भनेकोः हाम्रो एउटा जीवन हुन्छ। यस्तो सुन्दर यात्रा छ यो। र यो हाम्रो हातमा हुन्छ यसलाई कसरी लिने भन्ने कुरा। गाह्रो तरीकाले लिने कि रमाइलो एड्भेञ्चरको रुपमा लिने भनेर। अनि आफ्नो मेहनतको फल मीठो हुन्छ। म सधैं त्यही भन्छु। र सुन्दै आएको कुरा पनि त्यही हो, मेहनतको फल असाध्यै मीठो हुन्छ।
सबभन्दा ठुलो कुरा चाहिँ आफुले आफुलाई विश्वास गर्नुपर्छ। धेरै मान्छेहरु आउँछन्, यसले गर्न सक्दैन भन्ने। खुट्टा तान्ने मान्छेहरु धेरै हुन्छन्। त्यसलाई चाहिँ एउटा चुनौतीको रुपमा लिएर अघि बढ्यौं भने चाहिँ जीवनमा अवश्य सफल भइन्छ।





