आठ हप्ताको लामो बहस र छलफल पछि न्यु साउथ वेल्स राज्यमा गर्भपात गर्नु गराउनु अब अपराध नहुने भएको छ।
न्यु साउथ वेल्स राज्यका विधायकहरूद्वारा आफ्नो स्वयंको विवेक प्रयोग गरी मतदान गर्न पाउने अवसरका बिच उक्त विधेयक दुवै विधानसभाहरूबाट पारित भएको हो।
यसबारे बुधवार राति उपल्लो सदनमा भएको मतदानमा विधेयकको पक्षमा २६ भोट परेको थियो भने विपक्षमा १४।
समाजमा रुढीवादी छवि भएका व्यक्तित्वहरूले न्यु साउथ वेल्स प्रिमियर ग्लाडिस बेरिजिक्लियनद्वारा यस विधेयकको पक्षमा उभिएको बारे निकै नकारात्मक टिप्पणीहरू गर्दै आएका थिए र आज उनी उक्त विधेयक पारित हुने बेलामा संसद्मा अनुपस्थित रहेकी थिइन्।
यस अघि भने, उनले यो विधेयकलाइ उप-प्रिमियर जन बारिलारो र विपक्षी दलकी नेत्री जोडी मकेलेसँगै मिलेर पारित गर्न सहयोग गरेकी थिइन्।
बेरिजिक्लियन कै पार्टीकी संसद् सदश्य तान्या डेभिस यस विधेयककी सबैभन्दा कटु आलोचक रहेकी थिइन् र उनले बेरिजिक्लियन विरुद्ध अविश्वासको प्रस्ताव समेत ल्याउने बताएकी थिइन्। भलै, उनले त्यस कदमबाट पछि हटिन।
यो विधयेकलाइ प्रिमियर ग्लाडिस बेरीजिक्लिन, उप-प्रिमियर जन बारिलारो र विपक्षी दलकी नेत्री जोडी मकेले पारित गर्न सहयोग गरेका थिए।
तर, बेरीजिक्लिनको मन्त्री परिषद्कै सात सदस्यहरूले यस विधेयकको विपक्षमा भोट खसालेका थिए जसमा घरेलु हिंसा रोकथाम र कानून मन्त्री रहेका मार्क स्पिक्म्यान एक थिए।
स्वतन्त्र सांसद एलेक्स ग्रीनवीचले प्रस्ताव दर्ता गरेको यो विधेयकलाई राज्यका स्वास्थ्य मन्त्री ब्राड हजार्ड र अन्य १४ सांसदहरूले संयुक्त रूपमा प्रायोजित गरेका थिए। जसको लगत्तै, राज्यको संसद् भवन भित्र र बाहिर दुवै तर्फ एक ११९ वर्ष पुरानो कानून बारे बहस सुरु भएको थियो।
न्यु साउथ वेल्स राज्यको गर्भपात सम्बन्धी ११९ वर्ष पुरानो कानुन खारेज भएर अब उक्त राज्य पनि अस्ट्रेलियाका अन्य राज्यहरू कै बराबरीमा आएको छ।
मूल मुद्दा
यो बहसको केन्द्रबिन्दुमा रहेको छ - गर्भपतन अपराध हुन नहुने माग।
यस अघि, न्यु साउथ वेल्सको कानून अनुसार, गर्भपातको अनुमति पाउन महिलाको शारीरिक वा मानसिक समस्यामा गम्भीर खतरा रहेको भनी डाक्टरहरूले निर्णय गर्नुपर्नेहुन्थ्यो।
यसका समर्थकहरूका अनुसार गर्भवती महिलाहरूले २२ हप्ता वा साढे पाँच महिना पछि पनि गर्भपात गराउन पाउनु पर्ने मागको वकालत गर्दै आएका थिए।
तर, शिशु जन्मिने समय नजिकसम्म पनि गर्भपात गराउने अनुमति दिइए मानव अधिकारको हनन हुने भनाइ आलोचकहरूको छ।

गर्भपात बारे निर्णय गर्न पाउने अधिकार महिलाहरूसँगै हुनुपर्ने माग गर्दै आएको एक समूह - न्यु साउथ वेल्स प्रो चोइस अलायन्सकी अभियान प्रमुख शिनेड क्यन्निङ्गका अनुसार राज्यका महिलाहरूसँग अझै पनि प्रजननको पूर्ण अधिकार छैन।
“यस कारण पनि केही महिलाहरूले गर्भपतनको लागि खतरनाक बाटो रोज्न बाध्य हुनुपरेको छ,” उनी भन्छिन्।
स्थानीय अस्पताल वा जीपीहरुले गर्भपात गराउन चाहने महिलाहरूलाई फिर्ता पठाई दिए उनीहरू कहाँ जाने त?” क्यनिंग प्रश्न गर्छिन्।
गए ५० वर्ष देखि गर्भपतनलाई अपराधको रूपमा लिन नहुने अभियान सञ्चालन गर्दै आएकी वेंडी म्कार्थी भन्छिन्, “गर्भपात गराउन नपाएका महिलाहरूले सामना गर्नु परेका गम्भीर अवस्थाहरूलाई मैले धेरै पटक देखि सकेकीछु।”
“गर्भपतनलाई अपराधको रूपमा लिनाले त्यसो गर्न चाहने केही महिलाहरू आफूलाई कलङ्कित महसुस गर्ने गरेका छन्।”
यदि यस विषयले तपाईँ वा तपाईँले चिन्नु भएका कसैलाई सहयोग चाहिए लाइफ लाइनलाई १३-११-१४ मा फोन गर्नुहोला।
अथवा, यौन हमला पीडितहरूको सहयोगका लागि १८००-७३७-७३२ मा सम्पर्क गर्नुहोला।




