सभामुख संकट
गत आईतबार हुने भनिएको प्रतिनिधि सभाको बैठक फेरी पछि सारिएको छ र सभामुखको निर्वाचन अझै हुन सकेको छैन। गत असोज महिनामा तत्कालीन सभामुख कृष्णबहादुर महरामाथि बलात्कारको आरोप लागेर उनले राजीनामा दिएपछि सभामुखको पद खाली छ।
संविधानमा सभामुख र उपसभामुख एउटै पार्टीको हुन नपाउने प्रावधान छ र उपसभामुख शिवमाया तुम्बाहाम्फे पनि सत्तारूढ दल नेकपाकै भएकाले नेकपाले सभामुख पदका लागि उम्मेदवारी दिन पाउँदैन। गत हप्ता नेकपाले तुम्बाहाम्फेलाई राजीनामा दिन लगाएपछि तुम्बाहाम्फेले अस्वीकार गरेकी थिइन। उनी अझै पनि आफ्नो अडानमा कायम छिन्।
उनी भन्छिनः "दलले निर्देशन दिइसक्यो तर अटेर गर्यो भन्ने कुरा पनि मैले सुनेको छु। यो प्रतिनिधिसभा एउटा संस्था हो, जुन संस्थालाई मैले नेतृत्व प्रदान गर्नुपर्छ र गरिरहेको छु। नेतृत्व गरिरहेको व्यक्तिलाई कुनै एउटा व्यक्ति वा दलले राजीनामा देउ भन्न मिल्दैन। मैले जतिबेला उपसभामुखको शपथ लिएको थिएँ, संविधानमा टेकेर संविधानलाई कार्यान्वयन गर्छु भनेर कसैको डर नमानी अघि बढ्छु भनेर शपथ लिएको छु।"
नेकपा र तुम्बाहाम्फे दुबै आ आफ्नो अडानमा कायम हुँदा देशको ऐन कानुन बनाउने संयन्त्र ठप्प भएको छ।
धनुषा हत्याकाण्ड
गत हप्ता धनुषामा अवैध उत्खननको विरोध गर्ने युवक दिलिप महतो मारिएपछि त्यसको असर थुप्रै क्षेत्रमा देखा परेका छन्।
दिलिपलाई पहिला हतियारले हत्या गरेपछि टिपरले किचिएको अनुसन्धानले देखाएको छ र हत्याको अभियोगमा चुरियामाई बालुवा प्रशोधन उद्योगका मालिक बिपिनकुमार महतो सहित ४ जना पक्राउ परेका छन्।
यो घटनाले टिपरहरूको बलजफ्ती गर्ने शैली र टिपर चालकप्रतिको नकारात्मक धारणा प्रकाशमा ल्याएपछि काभ्रेमा प्रहरी र व्यवयासीले टिपर चलाउँदा लापर्बाही नगर्ने प्रतिबद्धतासहित टिपर चालकलाई सपथ खुवाएका छन्।
सपथमा मादक पदार्थ सेवन गरेर सवारी नचलाउने, तीव्र गतिमा नकुदाउने, जथाभावी ओभरटेक र पार्किङ नगर्ने, जस्ता कुराहरू गरिएका छन्।
प्रदेश २ मा भने दिलिपको हत्यापछि प्रदेश सरकारले अवैध क्रसर उद्योगहरू बन्द गर्ने निर्देशन दिएको छ। धनुषामा हाललाई सबै क्रसर उद्योगहरू स्थगित गरिएका छन्।
वैध उद्योगहरूलाई पनि प्रहरी लगाएर नियन्त्रण गर्दा आफूलाई अन्याय भएको भन्दै क्रसर व्यवायसायीहरू आन्दोलनमा उत्रेका छन्।
प्रदेश सरकारले भने सबै उद्योगको स्थलगत निरीक्षण पछि मात्रै मापदण्ड अनुसार चलेका उद्योगलाई फेरी चल्न दिने बताएको छ।
माघे संक्रान्ती
नेपालमा थुप्रै समुदायले उल्लासका साथ मकर संक्रान्ती मनाएका छन्। विशेषगरी थारू र मगर समुदायले विभिन्न नाचगान गर्दै यो पर्व मनाएका छन् भने नुवाकोट र रसुवाका कतिपय स्थानमा गोरू जुधाइ पनि भएको छ। तरूल, घिउ र चाकु मकर संक्रान्तीका विशेष परिकार हुन्।
यसदिन पछि सूर्य दक्षिणबाट उत्तरतिर लाग्छ र क्रमश दिन लामो र रात छोटो हुँदै जान्छ भन्ने मान्यताका साथ विभिन्न धार्मिक विश्वासहरूसहित यो पर्व नेपाल र दक्षिण एशियाका अन्य देशमा मनाइन्छ।

Maghi celebratio in Nepal Source: RSS
दुर्गा प्रसाईं
झापा विर्तामोडस्थित बी एन्ड सी अस्पताल र प्रस्तावित मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंको नाममा भक्तपुर प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ। प्रसाईंले लामो समयदेखि स्वास्थ्य शिक्षामा रूची राख्दै थप मेडिकल कलेज खोल्ने कोशिश गरिरहेका छन्।
स्वास्थ्य शिक्षा ऐन आफ्नो अनुकूल गराउन सरकारलाई बारम्बार दवाव दिएको र प्रधानमन्त्री केपी ओलीसँग नजीकको सम्बन्ध देखिएको कारण उनी विगतमा चर्चामा आएका थिए। हालसालै प्रसाईंले पत्रकार सम्मेलन गरेर चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले मेडिकल कलेज सम्बन्धनका लागि आफुसँग २० करोड घुस मागेको बताएका थिए।
दुर्गा प्रसाईः "वहाँलाई मैले द्वारिका होटलमा भेटेकै हो। मसँग कुरा भएकै हो। मैले म त्यत्रो पैसा दिन सक्दिन भनेर चुप लागेर हिँडेकै हो। वहाँले मसँग २० करोड रूपैयाँ मागेकै हो। हो सीधै माग्नुभो। मैले २० करोड मिल्दैन भनें, १० – २० लाख भनेको अर्कै कुरो हो।"
यस्तो सार्वजनिक अभिब्यक्तिपछि गिरीले त्यसको खण्डन गर्दै प्रहरीमा उजुरी गरेर मानहानीको मुद्दा हालेका थिए। गिरीको आरोपलाई अदालतले सदर गर्दै प्रसाईंलाई पक्राउ गर्ने अनुमति दिएको हो। तर प्रसाईं भने फरार छन् र प्रहरीको सम्पर्कमा आएका छैनन्।
आत्महत्या
धादिङका एक युवा जोडीले दुइ नाबालक छोरासहित नदीमा हामफालेर आत्महत्या गर्ने कोशिश गरेपछि नेपालमा आत्महत्याको समस्या उजागर भएको छ।
श्रीमान श्रीमती विनय लामिछाने र जानुका रेग्मीले आफ्नो सुसाइड नोटमा ऋणका कारण त्यस्तो कदम चालेको बताएका छन्।
विनय लामिछानेको उद्धार भएको छ भने जानुका रेग्मीको शव प्रहरीले बरामद गरेको छ। दुइ वर्ष र छ महिनाका दुइ बालकको भने अत्तोपत्तो छैन।
नेपालमा आत्महत्यालाई कानुनले अपराध मानेको छ तर नेपालमा वर्षेनी सरदर ५,००० मानिसले आत्महत्या गर्छन्। त्यो संख्या प्रत्येक वर्ष बढिरहेको छ।
विश्व स्वास्थ्य संगठनको एउटा अनुमान अनुसार नेपालको आत्महत्याको दर विश्वभरमै सातौं उच्च हो। मानिसक समस्याको उचित पहिचान र उपचार नहुँदा यस्तो हुनगएको विज्ञहरू बताउँछन्।
मौसम

Snow-filled Mamkha, Kalikot of Nepal Source: RSS
यो हप्ता नेपालमा बिहीबार र शुक्रबार भारी वर्षा भएको छ र उत्तरी क्षेत्रहरूमा हिमपात भएको छ। मौसम पुर्वानुमान महाशाखाले सुरक्षित रहन चेतावनी समेत जारी गरेको छ।
थुप्रै स्थानमा हिमपहिरो गएका छन् र अन्नपुर्ण पदमार्गमा केही पर्यटकहरू सम्पर्कविहीन भएका छन्। मौसममा क्रमिक सुधार आउँदै गएता पनि यो हिउँदे वर्षा एक हप्तासम्म पर्न सक्ने अनुमान गरिएको छ।
खगेन्द्र थापामगरको निधन
विश्वकै सबभन्दा होचो मानिस भनेर गिनिज बुकमा दर्ता गराएका खगेन्द्र थापामगरको निधन भएको छ। २८ वर्षीय मगरको मुटुको समस्याको कारण मणिपाल शिक्षण अस्पताल पोखरामा मृत्यु भएको हो। बाग्लुङ निवासी मगरको उचाई करीब २२ इञ्च र तौल ६ किलोको हाराहारीमा थियो।