नयाँ अस्ट्रेलियाली नागरिकहरूले निजी बिमाबाट बाहिरिन थाले पछि अस्ट्रेलियाको निजी बिमा प्रणालीमा व्यापक सुधारको आवश्यकता रहेको प्रतिवेदन आएको छ ।
यसले गर्दा उपभोक्ता र बिमा उद्ध्योग दुवै तर्फबाट सरकारलाई निजी बिमा अझ बढी सस्तो बनाउन कदम चाल्न दबाब आएको छ।
अर्वौँ डलरको लगानी भएको बिमा क्षेत्रका लागी प्रतिकुल परिस्थिति देखिएको छ।
यस सम्बन्धी एक प्रमुख निकायले निजी स्वास्थ्य बिमा धेरै महँगो, विभेदकारी र भ्रमित पार्ने खालका भएको बताएको छ।
ग्राटन इन्स्टिच्युटको स्वास्थ्य सम्बन्धी कार्यक्रमका निर्देशक स्टेफन डकेटले यस उद्योगले आर्थिक मन्दी खेप्नु परेको बताएका छन्।

उनका अनुसार यस्ता बिमाका सदस्यता लिनेहरू ६५ वर्ष उमेरभन्दा माथिका रहनाले यस्तो अवस्था आएको हो।
"बिमामा वृद्ध अस्ट्रेलियालीहरूको सङ्ख्या मात्र बढेको होइन यस सँगै उनीहरूले स्वास्थ्य बिमाको लागी तिर्नु पर्ने रकम दरमा पनि वृद्धि भएको छ।"
बिमा शुल्क बढ्दै जाँदा युवा र स्वस्थ अस्ट्रेलियालीहरू यस प्रति कम आकर्षित भएको पाइएको छ।
उपभोक्ता स्वास्थ्य फोरमका प्रमुख कार्यकारी लीन वेल्स भन्छन् निजी स्वास्थ्यको धेरै क्षेत्र ओगट्ने किसिमको उत्पादकत्व बारे छानबिन गर्ने आयोगको आवश्यकता देखिएको छ।

स्वास्थ्य बिमा कम्पनीहरूले नै युवा पुस्तालाई निजी क्षेत्रमा राखी रहन धेरै गाह्रो भएको स्वीकारेका छन्।
तर उनीहरूले यस क्षेत्रलाई अस्ट्रेलियाको सार्वजनिक अस्पतालहरू माथिको चाप कम गर्ने व्यावहारिक क्षेत्रका रूपमा स्थापित गर्नु पर्ने बताएका छन्।
निजी स्वास्थ्य स्याहार अस्ट्रेलियाका प्रमुख प्रबन्धक रेचल डेभिडले निजी स्वास्थ्य बिमाले ७५ % आकस्मिक बाहेकका सर्जरीहरूलाई ओगटेको बताएका छन्।
तर स्वास्थ्य मन्त्री ग्रेग हन्टले चाहिँ यो उद्योग सुधार मार्गमा रहेको र यसको पछाडि गठन्धन सरकारको सुधार योजनाको हात रहेको दाबी गरेका छन्।
उनका अनुसार यस सुधार योजना अन्तर्गत युवाहरूलाई छुट दिने, ग्रामीण क्षेत्रका मानिसहरूसम्म सहज पहुँच, बुझ्न सजिलो हुने गरी गरिएको वर्गीकरण प्रणालीले नीति निर्माण र मानसिक स्वास्थ्यमा सहज पहुँच गराउने लगायतका व्यवस्था रहेका छन्।
मन्त्री हन्टको सो भनाइका सम्बन्धमा सङ्घीय स्वास्थ्य विभागका पूर्व प्रमुख समेत रहेका स्टेफन डकेट भने उक्त सुधार योजना धेरै लामो समय सम्म नटिक्ने बताउँछन्।




