ट्रमाबाट प्रभावित हुने हरू मध्ये धेरै शरणार्थी पृष्ठभूमिकाबाट हुन्छन् र उनीहरूले पीडादायी घटनाहरू, हिंसा, वा विषाक्त तहको तनाव देखेका हुन सक्छन्।
मनिक गाड्रेले प्रारम्भिक बालावास्थामा रहेका बच्चाहरूलाई पढाउन सुरु गरेको १६ वर्ष भयो।
त्यति बेलाको समय सम्झँदै उनी भन्छिन् कि ट्रमा भोगेका बालबालिका सँग कसरी व्यवहार गर्ने भनेर एक दमै कम छलफल हुन्थ्यो, शरणार्थी पृष्ठभूमिका बच्चाहरू हकमा त झन् यदा कदा मात्र।

गाड्रेका अनुसार, यो त्यस्तो समस्या थियो - जसका बारेमा कोही केही पनि कुरा गर्न चाहँदैन थिए।
त्यसैले उनले यसलाई एक शिक्षिकाका रूपमा परिवर्तन गर्ने लक्ष लिइन्।
"यो ठुलो मुद्दा हो जुन अदृश्य र वर्जित छ। हामी वास्तवमै विभिन्न कारणले गर्दा स्पष्ट रूपमा यसको बारेमा बोल्दैनौँ र मैले के महसुस गरे भने यो बारेमा मैले आफ्ना विद्यार्थीहरूलाई सचेत गराउनै पर्दछ किनकि म एक युवा शिक्षिकाको रूपमा यसबारे सचेत थिइनँ।”
मनिक गाड्रे अगाडी भन्छिन्, यो अक्सर स्वीकार गरिँदैन कि एक देखि छ वर्ष उमेरका बच्चाहरूले ट्रमाको अनुभव गर्न सक्दछन् र उचित हेरचाह बिना यसले किशोरावस्थादेखि वयस्क हुँदासम्मै मानसिक स्वास्थ्य समस्या निम्त्याउन सक्छ।
गाड्रे हाल टेफ न्यु साउथ वेल्समा नयाँ पुस्ताका बाल स्याहारकर्ताहरूलाई ट्रमा भोगेका शरणार्थी पृष्ठभूमिका बालबालिकाहरूको राम्रोसँग पहिचान र त्यसलाई कसरी उचित सम्बोधन गर्ने भनेर तालिम दिँदै छिन्।

अस्ट्रेलिया आइपुग्ने थुप्रै शरणार्थीहरू १८ वर्ष भन्दा कम उमेरका हुन्छन् र त्यसमा पनि शिशुहरूको अनुपात बढी नै देखिन्छ।
न्यु साउथ वेल्स आइपुग्ने त्यस्ता शरणार्थीहरू मध्ये तीन चौथाइ मानिसहरू सुरुमा पश्चिम सिड्नी तिरै बस्छन्।
यसै कारण पनि त्यस क्षेत्रमा बसोबास गर्ने समुदायलाई सुहाउँदो पाठ्यक्रम निर्माण गर्नु महत्त्वपूर्ण रहेको गार्डेको भनाइ रहेको छ।
उनी भन्छिन् कि जब शिक्षक-शिक्षिकाहरू ट्रमाका बारेमा बुझ्ने हुन्छन्, उनीहरू ट्रमा पीडित शिशुहरूको उचित रूपमा पहिचान गर्दै ठुलो आवाज जस्तो सामान्य कुराले पनि बच्चाहरूमा नकारात्मक प्रतिक्रिया देखाउन सक्छ भनेर सिक्छन्।
“धेरै समय हामी सचेत हुन सक्दैनौँ, उदाहरणका लागि यदि सडकमा अहिले एम्बुलेन्स छ, र त्यहाँ साइरन बज्यो भने बच्चाले त्यो साइरनलाई युद्धको समय बजाइने साइरन ठान्न सक्छ।”
अस्ट्रेलियन चाइल्डहुड फाउन्डेसनका प्रमुख कार्यकारी डा जो तुकी भन्छन् कि बाल स्याहारकर्ताहरूलाई बालबालिकाहरूले ट्रमाको अनुभव गरेका छन् कि छैनन् भनेर चिन्न सिकाउनु एकदमै महत्त्वपूर्ण छ।
उनका अनुसार किशोरावस्था र वयस्कहरूमा भन्दा कम उमेरका बालबालिकामा ट्रमा भिन्नै तरिकाले प्रकट हुन्छ।

यसका केही लक्षणहरूमा सामाजिक रूपले अलग्गै बस्न रुचाउनु, खाना र सुत्ने जस्ता सामान्य क्रियाहरूमा समस्या देखा पर्नु अनि हाइपरएक्टिभिटी भनिने एकदमै चञ्चल हुने र प्रतिक्रिया नजनाउने जस्ता कुराहरू पर्छन्।
टेफ न्यु साउथ वेल्सबाट आफ्नो अध्यापन सकेका एबेनेजेर अकोमेङ्ग हाल पश्चिमी सिड्नी स्थित वूडभिल अलायन्समा काम गर्छन्।
उनी भन्छन्, ट्रमा भोगेका शरणार्थी पृष्ठभूमिका बालबालिकाहरूसँग काम गर्नुका आफ्नै चुनौतीहरू छन्।
घानाबाट बसाई सरेका अकोमेङ्गले आफू पनि आप्रवासी पृष्ठभूमि भयको हुनाले त्यसको अनुभव प्रयोग गर्दा ट्रमा पीडित बालबालिकाहरूलाई बुझ्न र उनीहरूलाई सहयोग गर्न केही सहज भएको बताउँछन्।

नेपालमा जन्मेकी र हाल आफ्नो टेफ कोर्सको अन्तिम वर्षमा अध्ययनरत सरिता श्रेष्ठ भन्छिन् कि हरेक बच्चालाई सहायता गर्न उनी लालायित छिन्।
श्रेष्ठका अनुसार शरणार्थी वा आप्रवासी पृष्ठभूमिका बालबालिकाहरूसँग काम गर्दा सबैभन्दा ठुलो चुनौती मध्येको एक हो - भाषाको समस्या।
केही बालबालिकासँग आफूले बोल्ने नेपाली वा हिन्दी भाषामा कुराकानी गर्ने सरिता श्रेष्ठ आजकाल हात चलाएर पनि अन्य बालबालिकासँग कुरा गर्ने गरेको बताउँछिन्।
उनी भन्छिन् कि एकदमै सानो सङ्केतले पनि बालबालिका वा तिनका परिवारजनलाई बढी सहज महसुस गराउन सक्छ।





