कोरोना
नेपालमा कोरोना संक्रमित मानिसको संख्या ३२०० नाघेको छ। यस हप्ता संक्रमण ६८ जिल्लामा फैलिएको छ र उच्च हिमाली क्षेत्रका केही जिल्ला मात्र संक्रमण मुक्त छन्।
क्वारेण्टाइनमा रहने मानिसको संख्या १ लाख ६० हजार भन्दा बढी पुगेको छ भने क्वारेण्टाइनलाई व्यवस्थापन गर्ने समस्या अझ बढिरहेको छ।
क्वारेण्टाइनमा खाना, पानी, चिकित्सक, नर्स र औषधीको अभाव जताततै देखिएको छ भने कतिपय क्वारेण्टाइनबाटै कोरोना अझ बढी फैलिरहेको छ।
विदेशबाट नागरिक ल्याउन शुरु
नेपाल सरकारले विदेशबाट आफ्ना नागरिक ल्याउने प्रकृया शुरु गरेको छ। शुक्रबार म्यानमारबाट २६ जना र संयुक्त अरब एमिरेट्सबाट १६८ जना नेपाली स्वदेश फर्किएका छन्।
उनीहरुलाई काठमाण्डुको विभिन्न होल्डिङ सेण्टरमा राखिएको छ र केही दिनपछि आआफ्नो क्षेत्रमा फर्काइनेछ।
यसरी विदेशबाट फर्किने नेपालीले भारतबाहेक अन्यत्रको हकमा आफैँ हवाई टिकट र क्वारेन्टिनको शुल्क तिर्नुपर्ने छ। सरकाले विभिन्न होटलसँग क्वारेण्टाइन र होल्डिङ सेण्टर बनाउने समझदारी गरेको छ, जसअनुसार होटलको प्रकार हेरेर एकजना मानिसलाई प्रतिदिन २ हजार देखि १५ हजार सम्म लाग्न सक्छ।
नेपालले विदेशबाट नागरिक फिर्ता ल्याउने घोषणा गरेसँगै थुप्रै देशमा रहेका नेपालीले सशर्त फर्म भरेका छन्।
अस्ट्रेलियामा १ हजार भन्दा बढीले र युकेमा ३०० जना भन्दा बढीले नेपाल फर्किनका लागि फर्म भरेका छन्। तर जुन ८ मा अस्ट्रेलिया जाने नेपाल एयरलाइन्सको विमान भने खाली नै फर्किनेछ, र त्यहाँ रहेका नेपालीलाई फिर्ता ल्याउन अरु विमान कम्पनीसँग छलफल भइरहेको बताइएको छ।

नवराज बिक मृत्यु प्रकरण
रुकुममा अन्तरजातीय विवाह प्रकरणमा भेरी नदीमा बेपत्ता भएका अन्तिम युवाको शव पनि भेटिएको छ।
यसै महिना जाजरकोटका नवराज बिकले रुकुमकी एक मल्ल थरकी किशोरीसँग अन्तरजातीय विवाह गर्ने प्रयास गर्दा नवराज बिक सहित पाँच जना युवाको ज्यान गएको थियो भने त्यसै क्रममा भेरी नदीमा हामफालेका गोविन्द शाहीको शव पनि भेटिएपछि मृतकको संख्या ६ पुगेको छ।
मल्लका आफन्त र गाउँलेले जातलाई लक्षित गरेर अपशब्द प्रयोग गरेको र आक्रमण गरेर मारेको भन्दै यो घटनाको बारेमा नेपालमा विरोध जारी छ भने सरकारका पक्षबाट यस घटनाको सत्य तथ्य अर्कै भएको दावी गरिँदै छ।
महान्यायाधिवक्ता अग्नि खरेल: “अहिले जे लेखि राखिएको छ, त्यो लेखि राखिएको कुरा, म विनम्रता पुर्वक भन्छु, अनुसन्धानमा त्यो कुरा देखिएको छैन। र प्रमाणले त्यो कुरा पुष्टि गर्नेवाला छैन, केही चीजहरु। जुन कुरा मान्छेको नीजि जीवनमा अत्यन्त गम्भीर छन्। त्यो कुरा भन्नु भन्दा अगाडि दस चोटि सोच्नु पर्ने थियो, यो कुरा लेख्नु हुन्छ कि हुँदैन भन्ने बारेमा।”
घटनाको अनुसन्धान गर्नका लागि मानव अधिकार आयोगको टोली जाजरकोट गएको छ भने कर्णालीका सांसदहरुले यो घटना नियोजित हत्या भएको निश्कर्ष निकालेका छन्।
त्यस्तै पोष्टमोर्टेमको रिपोर्टमा मृतक युवाका अनुहार र शरीरमा चोटपटक लागेको देखिएको छ। तर सरकारी पक्षका अभिव्यक्तिपछि यो घटनामा दोषीले सजाय नपाउने डर बढिरहेको छ।

अर्थतन्त्र
गत हप्ता अर्थमन्त्री युवराज खतिवडाले संसदमा प्रस्तुत गरेको बजेट निकै विवादित बनेको छ। विद्युतीय सवारी साधनमा सरकारले कर बढाएको छ, जुन सरकारकै नीति विपरीत रहेको भन्दै आलोचना गरिएको छ।
नेपाल सरकारले बिस्तारै पेट्रोल र डिजेलका सवारी साधन हटाएर वातावरण मैत्री हुने विद्युतीय सवारीसाधन तर्फ बढ्ने नीति लिएको छ।
यसका साथै बजेटमा पुस्तक आयात माथिको कर हटाइएको छैन, तर चकलेट आयातमा कर घटाइएको छ र कृषिमा प्रयोग हुने सामानहरुमा कर बढाइएको छ।
संसदमा सत्तारुढ दल नेकपा लगायतका सांसदले बजेटले सबै क्षेत्रलाई नसमेटेको भन्दै आलोचना गरेका छन्।
सांसद राजेन्द्र महतो भन्छन्, “आम नेपाली जनता चाहिँ यो बजेट आउँदाखेरी उत्साहित हुने अवस्था चाहिँ देखिँदैन सभामुख महोदय। राज्यधारीहरु जो छन्, उसको पक्षपोषणको लागि ल्याइएको बजेट।”
सरकारले जेठ २५ गते भित्र सबै कर तिरिसक्नुपर्ने म्याद राखेपछि त्यसको विरुद्धमा चौतर्फी आलोचना र प्रदर्शन भएका छन् र सरकारले त्यो म्याद बढाएर असार ७ गते सम्म पुर्याएको छ।
तर पनि, व्यापार व्यवसाय ठप्प भएको बेलामा कर तिर्न नसक्ने भन्दै यसको पनि आलोचना भइरहेको छ। र यसै बेलामा राष्ट्रपति र मन्त्री निवासहरुमा फजुल खर्च गर्न लागिएको भन्दै व्यापक आलोचना भएको छ।
कोरोना संकटका बीचमा राष्ट्रपति भवनमा गलैंचा फेर्न पौने दुइ करोड, र मन्त्रीहरुले प्रयोग गर्ने सवारी साधन र जीममा लाखौँ रकम विनियोजन गरिएपछि सरकारले लोकप्रियता गुमाउँदै छ।

बजार खुल्ने बारे अन्योल
काठमाण्डुमा राष्ट्रिय व्यवसायी महासंघका सदस्यहरुले बुधबार एउटा बैठक गरेर आंशिक रुपमा केही समयका लागि पसल खोल्ने निर्णय गरेर बिहीबार देखि पसलहरु खोल्न थालेका छन्।
बिहीबार बिहान ११ बजेसम्म काठमाण्डुका न्युरोड लगायतका शहरी क्षेत्रमा थुप्रै पसल खुलेका थिए।
तर त्यसको लगत्तै मन्त्री परिषदले पनि एउटा बैठक गर्दै सरकारले निर्देशन नदिएसम्म पसलहरु त्यसरी नखोल्न भनेको छ। तर लामो समयको बन्दाबन्दीले व्यापार व्यवसायमा धेरै क्षति भएको भन्दै समय तालिका मिलाएर आंशिक रुपमा पसल र अरु व्यवसायहरु खोल्न दिनु पर्ने मागहरु दिनदिनै बढिरहेका छन्।
सीमा सुरक्षाको नयाँ गण
पश्चिम नेपालमा लिम्पियाधुरा र लिपुलेक लगायतका क्षेत्रमा सीमा विवाद भएपछि नेपाल सरकाले सीमा सुरक्षा हेर्न सशस्त्र प्रहरीमा विशिष्टीकृत गणहरू स्थापना गर्ने योजना बनाएको छ ।
अहिले भएकै दरबन्दीलाई पुनर्संरचना गरी सीमा हेर्न छुट्टै गण स्थापना गर्न लागिएको हो ।
हाल सीमा सुरक्षालाई जिल्लाको सुरक्षासमेत हेर्ने गरी स्थापना भएका गण मातहतका बोर्डर आउट पोस्ट (बिओपी) ले हेर्ने गरेका छन्। गृह मन्त्रालयले गरेको यो निर्णयलाई मन्त्रीपरिषदले अनुमोदन गर्न बाँकी नै छ।




