शिला उप्रेती, आफ्नो ९ वर्षको छोरी र ६ वर्षको छोरा लाई लिएर हरेक आइतबार क्याम्प्सी स्थित नेपाली भाषा विद्यालय “शब्दमाला” पुग्छिन् ।
उनकी छोरी विगत ३ वर्ष देखि नेपाली भाषा सिक्नका लागि विद्यालय जान थालेकी हुन् ।
आफ्नो सानो छोरालाई पनि उनले यसै वर्ष देखि नेपाली भाषा विद्यालयमा भर्ना गरी दिएकी छन् ।
अर्का अभिभावक जीवन चालिसे आफ्ना दुई सन्तानलाई विगत तिन वर्ष देखि नेपाली भाषा विद्यालयमा लिएर आउने गरेका छन् ।

जीवन र शिला मात्र होइन करिब २ सय विद्यार्थीका अभिभावन यसै गरी हरेक आइतबारका दिन शब्दमालाले विभिन्न स्थानमा सञ्चालन गरेको भाषा विद्यालयमा पुग्ने गरेका छन् ।
न्यु साउथ वेल्स राज्यको सामुदायिक भाषा सङ्घ अन्तर्गतको सहयोगमा सञ्चालित नेपाली भाषा विद्यालय राज्यभरका ६ वटा स्थानबाट सञ्चालित छ ।
न्यु साउथ वेल्सका विभिन्न स्थानका विद्यालयहरूमा पढिरहेका ५ देखि १२ वर्ष उमेर समूहका विद्यार्थीलाई लक्षित गरी उक्त भाषा विद्यालयको सञ्चालन गरिएको संस्थाले जानकारी दिएको छ ।
गोर्खा नेप्लिज कम्युनिटी र गुठी अस्ट्रेलियाको समन्वयमा सन् २०१० देखि उक्त विद्यालय सञ्चालनमा रहेको छ ।
नेपाली समुदायको बाहुल्यता रहेका क्षेत्र क्याम्प्सी,कार्लटन साउथ,ग्रान्डभिल,मक्वरी फिल्ड,नोर्मानहस्र्ट र द पोण्ड्समा गरी ६ स्थानबाट उक्त भाषा विद्यालय हाल संचालिन छ ।

आफ्ना सन्तानलाई नेपाली भाषा सिकाउन आएका अधिकांस अभिभावकहरूले नेपाल सँगको सम्बन्धलाई बचाईराख्नका लागि आफ्ना नेपाली भाषाको ज्ञान जरुरी रहेको एस बी एस सँगको कुराकानीमा बताएका छन् ।
आफ्नो ६ वर्षको छोरालाई लिएर आएकी शशिकला भन्छिन् “भाषा विद्यालय आउन थालेपछि छोराले नेपाली राष्ट्रिय गान गाउन सिकेको छ ।”
“नेपाली साथीहरू बनाउँछ,नेपाली संस्कृति सँग सम्बन्ध हुन्छ, हाम्रो पुष्ठभुमीका बारेमा थाहा हुन्छ,सबैभन्दा ठुलो भोलि ठुलो भइसकेपछि दुई फरक संस्कृति बिच समन्वय गर्न सहज हुन्छ ।”
अर्का अभिभावक जीवन भन्छन् “नेपाली पढाउने मात्र नभई सांस्कृतिक पर्वहरूका बारेमा जानकारी दिने र मनाउने भएकाले बालबच्चा उत्साहित देखिन्छन् ।”
“भाषा मात्र नभएर संस्कृति पनि सिक्ने र नयाँ साथीहरू पनि बनाउने भएकाले म सबै अभिभावकलाई आफ्ना सन्तानलाई यहाँ लिएर आउन आग्रह गर्छु । ” उनले भने ।

क्याम्प्सी स्थित विद्यालयका संयोजक स्याम सैजु सिड्नीमा रहेका नेपाली पुष्ठभुमी भएका दोस्रो पुस्तालाई भाषा र संस्कृतिका बारेमा ज्ञान दिने उद्देश्यले खोलिएको विद्यालय भएको बताउँछन् ।
“बालबालिका हुर्किसकेपछि आफ्नो भाषा सिकोस् भन्ने सबै अभिभावकको उद्देश्य हुन्छ, हामी नेपालको मूलबाट यहाँ आएका हौ भन्ने कुराको चिनारी भाषा बाटै आउने भएकाले साहित्य ,संस्कृति,धर्म,कर्म सबै भाषाबाटै आउँछ, भाषा नै सिकेन भने यो सबै वञ्चित हुन पुग्दछ ।” उनले भने ।
सिड्नीमा मात्र नभएर नेपाली बस्ने अन्य राज्यहरूमा समेत भाषा विद्यालयलाई भोलिका दिनमा बिस्तार गर्ने लक्ष्य रहेको उनले बताए ।
“तर त्यसका लागि सबैको सहयोग चाहिन्छ, आफ्नो भाषा,संस्कृति र रीतिरिवाजका बारेमा सिकाउन जमर्को गर्नुस् । ” उनले भने ।



