घरेलु हिंसा भनेको के हो? यसको अर्थ हामी मध्य लगभग सबै जनालाई थाहा छ - घरेलु वातावरणमा एक व्यक्तिले अर्को व्यक्तिलाई शारीरिक, मानसिक, आर्थिक वा अन्य कुनै पनि माध्यमबाट दबाबमा राख्ने अभ्यासलाई घरेलु हिंसा भनिन्छ।
यो परिभाषा फराकिलो भए तापनि "घरेलु हिंसा" भन्दा शारीरिक कुटपिटका घटनाहरू मात्र धेरै अघि आएको देखिन्छ, र यसका मानसिक, आर्थिक, भावनात्मक र अन्य पक्षहरू प्रति आवश्यक ध्यान दिइँदैन।
तर घरेलु हिंसा भनेको शारीरिक मात्र हुँदैन। मानसिक, आर्थिक या अन्य कुनै तरिकामा आफ्नो नजिकको व्यक्तिलाई नियन्त्रणमा राख्न खोज्नु पनि हिंसाको एउटा रूप हो, र सुरुवात हो।
यसका केही उदाहरण दिनु पर्दा - आफ्नो करिबको सम्बन्धमा रहेको व्यक्तिले गर्ने क्रियाकलापलाई नियन्त्रण गर्ने - जस्तै, उनीहरू कहाँ जान्छन्, को सँग भेट्छन्, को सँग बोल्छन् देखि लिएर, के खान्छन् र के लुगा लगाउँछन् - ती सबै कुराहरूमा आफ्नो हुकुम चलाउन खोज्ने।
त्यस्तै, पैसा माथि आफ्नो मात्र हक चलाउने र अर्को व्यक्तिको पहुँचलाई सीमित पारिदिने, अपमान गर्ने, इच्छा विरुद्ध शारीरिक सम्बन्ध राख्न खोज्ने, र यस्ता थुप्रै उदाहरणहरू छन्, जसलाई धेरैले सामान्य व्यवहारको रूपमा लिन्छन्, र सहेर बस्छन्।
यस किसिमको व्यवहारलाई अङ्ग्रेजी भाषामा कोअर्सिभ कन्ट्रोल (coercive control) भनिन्छ, बल या धम्कीको प्रयोग गरेर कसैलाई जबरजस्ती नियन्त्रणमा राख्ने।

यस्तै कोअर्सिभ कन्ट्रोलको सिकार बन्न पुगेकी थिइन्, पृथी रेड्डी। आफ्नो दिदी पृथीले त्यस किसिमको व्यवहारलाई समयमा बुझेको भए, उनी आज शायद ज्यूँदो हुन्थिन् होला, भन्छिन् निथ्या रेड्डी।
सन् २०१९ सालमा आफ्ना एक पूर्व प्रेमीको हातबाट पृथी रेड्डीको हत्या भएको थियो।
घरेलु हिंसाका कारण हुने हत्याहरू मध्य ९९ प्रतिशतको सुरुवात जबरजस्ती नियन्त्रण गर्ने व्यवहारबाट हुने न्यु साउथ वेल्सको कोरोनरको अदालतले गरेको समीक्षाबाट पत्ता लागेको छ।
आफ्नो दिदीको मामिला पनि यस्तै भएको निथ्या बताउँछिन्।

अघि भन झैँ, यस किसिमको व्यवहारमा आफ्नो पार्टनरलाई उनका इष्ट मित्र र नजिकका व्यक्तिहरू सँग सम्पर्कमा बस्न नदिने, सबै क्रियाकलाप माथि निगरानी राख्ने, अपमान र अस्तित्व र चरित्र माथि हात उठाउने जस्ता कुराहरू गरिन्छ।
र धेरै जस्तो मामिलाहरूमा पुरुषले यस्तो व्यवहार गरेको र महिला पीडित भएको पाइन्छ।
अस्ट्रेलियामा यस विषयमा हालै एक अभियान सुरु गरिएको छ, जस अन्तर्गत कोअर्सिभ कन्ट्रोललाई कानुनी रूपमा अपराधीकरण गर्नु पर्ने भन्दै संघीय सांसदहरूले राज्य तथा टेरिटोरीहरूलाई आग्रह गर्दै छन्।
लिन्डा बर्नी पारिवारिक र सामाजिक सेवाका लागि विपक्षी दलकी प्रवक्ता हुन्।
यो समस्या समुदायमा व्यापक रूपमा रहेको र थुप्रै मानिसहरूले यो भोगिरहेको उनी बताउँछिन्।

न्यु साउथ वेल्स र क्वीन्सल्याण्ड लगायत अन्य केही राज्यहरूले यसलाई अपराधीकरण गर्ने तरिकाहरूको बारेमा सोचिरहेका छन्। तर, जबरजस्ती नियन्त्रण गर्ने व्यवहारलाई एक कानुनी अपराध घोषित गरे तापनि, यसको सहयोग र कार्यान्वयनका लागि वर्तमान न्याय प्रणाली उचित नभएको केही विज्ञहरू बताउँछन्।
केट फिट्जगिबन मोनाश लैङ्गिक तथा पारिवारिक हिंसा रोकथाम केन्द्रकी निर्देशक हुन्।
कोअर्सिभ कन्ट्रोललाई अहिले कानुनी अपराध ठहराएमा यसले महिलाहरूलाई अदालतमा झनै नकारात्मक परिणाम दिने उनी बताउँछिन्। अहिलेको अवस्थामा यसको बारेमा पर्याप्त कानुनी ज्ञान र तालिम नभएको हुनाले गाह्रो हुने उनको भनाइ छ।
भिक्टोरियामा घरेलु हिंसाको क्षेत्रमा आबद्ध संस्थाहरू मध्य एउटा हो - InTouch Multicultural Centre Against Family Violence।

आफ्नो पार्टनरलाई जबरजस्ती र अनैतिक रूपमा नियन्त्रण गर्ने व्यवहारलाई कानुनी अपराध बनाउनु पर्ने कुरासँग आफू सहमत रहेको, त्यहाँ कार्यरत मीहाल मोरिस बताउँछिन्। तर त्यसको साथसाथै यससँग आइपर्ने जोखिमका बारेमा पनि उचित ज्ञान हुनु पर्ने पनि उनले बताइन्।
जस्तै, कतिपय समयमा कुनै घरमा घरेलु हिंसाको घटनाका लागि प्रहरी बोलाएको खण्डमा अङ्ग्रेजी भाषा राम्ररी नजान्ने मानिसहरू भएमा को अपराधी र को पीडित भनी छुट्टाउन गाह्रो हुन सक्छ।
यद्यपि, यस विषयमा उचित र प्रभावकारी ज्ञान र सामुदायिक संलग्नता जनाउन सकेमा, यस्तो कानुनले पक्कै पनि महिला र बालबालिकाहरूलाई थप सुरक्षा दिने मोरिस बताउँछिन्।





