३ नयाँ कोरोना संक्रमित
नेपालमा यो हप्ता चार जना नयाँ कोरोना संक्रमित मानिस भेटिएको स्वास्थ्य मन्त्रालयले बताएको छ, र कोरोना संक्रमित मानिसको कूल संख्या ९ पुगेको छ।
यस हप्ता भेटिएका तीनैजना मानिस सुदूर पश्चिम प्रदेशमा छन्।ती मध्ये दुइ जना भारतबाट फर्केका हुन् भने एकजना गत हप्ता भेटिएका संक्रमितकी आफन्त हुन्।
यो नेपालमै संक्रमण फैलिएको पहिलो घटना हो र अब नेपाल संक्रमणको दोस्रो चरणमा प्रवेश गरेको छ।
यसपछि शनिबार बेलुकी बसेको उच्च स्तरीय समितिको बैठकले लकडाउनमा अझ कडाइ गर्ने र एक जिल्लाबाट अर्को जिल्लामा समेत जान नदिइने निर्णय गरेको छ।
लकडाउन चैत २५ गते सम्म जारी राखिने छ र बैशाख ३ गतेसम्म अन्तर्राष्ट्रिय उडान प्रतिबन्धित गरिएका छन्।
यसका साथै कोरोनाको परीक्षणको दायरा बढाउने निर्णयका बारेमा सञ्चारमन्त्री युवराज खतिवडाले भने "जुन किसिमले कैलाली, कञ्चनपुर र बाग्लुङमा केही नयाँ केसहरु देखिए, त्यो आधारबाट त्यहाँ भएका व्यक्तिहरुबाट अरु व्यक्ति संक्रमित नहुन् भन्नका लागि अहिले ती तीनटा जिल्लामा हामीले छिटो विधिबाट त्यस्ता सम्भाव्य संक्रमित हुनसक्ने व्यक्तिहरुको टेष्ट गर्ने।"
नेपालमा कोरोना परीक्षण स्थलहरु थपिएका छन् र अब काठमाण्डु बाहेक जनकपुर, धरान, हेटौंडा, सुर्खेत, पोखरा र धनगढीमा पनि कोरोनाको परीक्षण हुँदैछ।

Nepal's cabinet meeting on Saturday, 4 April 2020 Source: RSS
विदेशी नागरिक फिर्ता
यस हप्ता थुप्रै देशले विमानहरु चार्टर गरेर आफ्ना देशका नागरिक फिर्ता लगेका छन्।
मंगलबार कतार एयरवेजको एउटा उडानमा ३०२ अमेरिकी नागरिक स्वदेश फिर्ता गएका छन् भने बुधबार नेपाल एयरलाइन्सको एउटा विमानले अस्ट्रेलिया र न्युजिल्याण्डका २५७ जना बासिन्दालाई अस्ट्रेलियाको ब्रिस्बेन पुर्याएको छ।
शनिबार चार वटा चार्टर्ड उडानमा जर्मनी, फ्रान्स, र मलेशियाले पनि आफ्ना नागरिक फिर्ता लगेका छन्।
सामान खरीदमा भ्रष्टाचारको आरोप
सरकारको स्वास्थ्य सामग्री खरीद गर्ने प्रकृया यस हप्ता निकै विवादित बनेको छ।
नेपालमा कोरोनाको परीक्षण र उपचारमा चाहिने गगल्स, गाउन, पञ्जा, मास्क, परीक्षण किट जस्ता सामग्रीको अभाव भएपछि व्यापारीहरुले त्यस्ता सामान खरीद गरेर चीनको ग्वान्जाउमा राखेका थिए। आईतबार नेपाल एयरलाइन्सको एउटा विमानले ती सामान ग्वान्जाउबाट नेपाल ल्याएको थियो।
तर ती सामग्री महंगो भएको, गुणस्तर मापदण्ड अनुसार नभएको, ल्याउनमा ढिलाई भएको र टेण्डर प्रकृया पारदर्शी नभएको भन्दै सरकारको चर्को आलोचना भएको थियो।
त्यसपछि स्पष्टिकरण दिँदै स्वास्थ मन्त्रालयका महेन्द्र श्रेष्ठले भनेः "यो हाम्रो बजार दरभाउ भन्दा २० प्रतिशत बढी छ।२० प्रतिशत ठुलो कुरा थिएन। हामीलाई तुरुन्त सामान चाहिएको थियो, त्यसैले हामीले तुरुन्त सम्झौता गर्यौं। तर वहाँहरुले समयमा हामीले भनेजति परिमाणमा औषधीहरु ल्याउनुभएन। सम्झौता रद्द गरेर धरौटी जफत गर्ने र कालो सुचीको लागि प्रकृया अघि बढाउने भन्ने निर्णय भएको छ।"
हाल सरकारले खरीद प्रकृया सेनाको जिम्मा लगाउने तयारी गरेको छ र त्यो कदमको पनि व्यापक आलोचना भइरहेको छ।

Nepalese workers make Personal Protective Equipment (PPE) dress at a garment factory in Kathmandu, Nepal on Friday, March 27, 2020. Source: Pacific Press/Sipa USA
सरकारले शुरुमा जिम्मा दिएको व्यापारिक कम्पनी ओम्नी समूहको ओबीसीआई प्राइभेट लिमिटेड कम्पनी विगतमा पनि विवादित रहेको भन्दै थुप्रै सञ्चार माध्यमले आलोचनात्मक समाचार प्रकाशन गरेका छन्।
यसै क्रममा काठमाण्डु प्रेस नामक अनलाइन समाचार संस्थाले त्यस आर्थिक अनियमततामा प्रधानमन्त्रीका आइटी सल्लाकार असगर अली, र सल्लाहकार विष्णु रिमाल र रक्षामन्त्री इश्वर पोखरेलका परिवारका सदस्य संलग्न भएको आरोप लगाएको थियो।
समाचार छापिएको भोलीपल्ट त्यो समाचार नै वेबसाइटबाट हटाइएको थियो, र सम्पादक कसमस विश्वकर्माले राजनीतिक दवावमा त्यसो गरिएको भन्दै आलोचना गरेका थिए।
त्यसको केही समयपछि वेबसाइट निर्माता कम्पनी शिरान टेक्नोलोजिजले प्राविधिक कारणले त्यो समाचार हटाइएको भन्दै एउटा विज्ञप्ति मार्फत माफी मागेको छ।
तर आरोपित असगर अली पनि शिरान टेक्नोलोजिजमा आबद्ध भएका हुनाले त्यो घटनाको छानबीन हुनुपर्ने भन्दै नेपालका २१ जना सम्पादकले संयुक्त प्रेस विज्ञप्ति जारी गरेका छन्।
सरकारको राहत प्याकेज र कोरोना कोष
नेपाल सरकारले कोरोना विरुद्ध लड्नका लागि एउटा कोष स्थापना गरेको छ जसमा विभिन्न व्यक्ति र संघ संस्थाले पैसा जम्मा गरेपछि छोटो समयमा नै दुइ अर्ब भन्दा बढी रकम जम्मा भएको छ।
सरकारले दैनिक ज्यालादारीमा काम गर्ने र जोखिममा रहेका मानिसलाई राहत दिने तयारी गरिरहेको छ, र त्यस्ता व्यक्तिहरुको तथ्यांक संकलन गर्न अर्थमन्त्री युवराज खतिवडाले वडा कार्यालयहरुलाई आग्रह गरेका छन्। सरकारले श्रमिकहरूलाई एक महिनाको घर भाडा मिनाहा गर्न पनि सम्बन्धित घरधनीलाई आग्रह गरेको छ।
यसका साथै सरकारले विद्युत, पानी आदि महसुलहरु ढिलो तिरेमा जरीवाना नलाग्ने बताएको छ, र विद्युत र विद्युतीय चुलोमा केही छुट दिएको छ। खाद्य संस्थानले बेच्ने दाल चामल लगायतका वस्तुमा १० प्रतिशत छुट दिने र चिकित्सक, स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक र प्रत्यक्ष जोडिएका सुरक्षाकर्मीलाई असार मसान्तसम्मका लागि २५ लाखको नि:शुल्क बिमा र क्षतिपूर्ति दिइने भएको छ।
राष्ट्र बैंकले बिशेष गरि कर्जालाई प्राथमिकतामा राखेर राहत प्याकेज घोषणा गरेको छ जसअन्तर्गत ब्याजको किस्ताको भुक्तानी ढिलो गर्न सकिने छ। विभिन्न स्थानीय तहले र नीजि व्यक्ति र संघ संस्थाले दैनिक ज्यालादारी गर्ने मजदुरलाई खानेकुरा बाँडिरहेका छन् भने भाटभटेनी र सेल्सबेरी जस्ता डिपार्टमेण्ट स्टोरहरुले फोनबाट अर्डर लिएर सामान घरमा पुर्याइदिने सेवा शुरु गरेका छन्।

A man wearing a face mask as a preventive measure, seats on LPG cylinders as he waits in a queue, during the ninth day of the nationwide lockdown. Source: Sipa USA Prabin Ranabhat / SOPA Images/Si
सीमापारीका नागरिकको व्यवस्था
नेपाल भारतको सिमानामा अलपत्र परेका नागरिकलाई दुइ देशले आपसी समन्वय गरेर क्वारेन्टाइनमा राख्ने व्यवस्था गरेका छन्। यस अघि सयौंको संख्यामा विभिन्न सीमानाकामा अलपत्र परेका नेपालीहरुले देश फर्किन पाउनुपर्ने भन्दै नाकाबन्दीको विरोध गरेका थिए। दार्चुलापारी फँसेका केही मानिसले महाकाली नदीमा हाम फालेर नदी तरेर नेपाल प्रवेश गरेका थिए भने केही नदीमै बेपत्ता समेत भएका थिए। यो जोखिमपूर्ण अवस्थालाई ध्यानमा राख्दै भारत सरकारले त्यहाँ फसेका नेपालीलाई र नेपाल सरकारले यहाँ रहेका भारतीयलाई चौध दिन क्वारेण्टाइनमा राख्ने निर्णय भएको छ। भारतीय क्वारेण्टाइनमा थोरै ठाउँमा धेरै मानिस बस्नुपर्दा संक्रमणको खतरा रहेको त्यहाँ रहेका नेपालीहरुको गुनासो छ।
फोर्ब्सको सूचीमा ६ नेपाली
आर्थिक गतिविधि सम्बन्धी अमेरिकी पत्रिका फोर्ब्सको एशिया 300 under 30 अर्थात एशियाका ३० वर्ष मुनिका ३०० व्यक्तित्वको सूचीमा यो वर्ष ६ जना नेपाली परेका छन्।
गल्फ खेलाडी प्रतिमा शेर्पा, महिनावारी प्याड वितरण गर्ने मेशिन सुलभ बनाउने जेस्सेलिना राना र शुभांगी राणा, बहिरा महिलालाई रोजगारी दिएको अर्बन गर्ल नामक लुगा पसलका निकिता आचार्य र किरण तिम्सिना, र खाना घरमै डेलिभरी गर्ने एप फुडमारियोका सहसंस्थापक रोहित तिवारी त्यो सूचीमा परेका हुन्।
संसारको प्रसिद्ध आर्थिक पत्रिका फोर्ब्सले वर्षेनी आफ्नो क्षेत्रमा प्रतिभा र भविष्यको सम्भावना देखाएका युवाहरुलाई यो सूचीमा उल्लेख गर्ने गर्दछ।
सेवा भट्टराई, काठमाण्डु