नेकपा उपाध्यक्ष वामदेव गौतमलाई संसदमा काम नगर्न सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिइएको र अनसनरत डा. गोविन्द केसीको समर्थनमा देशभर प्रदर्शन भएको लगायत गत ७ दिनका नेपालका प्रमुख समाचार।
कोरोना
यस हप्ता नेपालमा कोरोना संक्रमित मानिसको संख्या ७१ हजार नाघेको छ भने मृतकको संख्या ४०० भन्दा बढी छ । त्यसमध्ये ५० हजार भन्दा बढी मानिस निको भइसकेका छन्, सकृय संक्रमितको संख्या १८ हजार भन्दा बढी छ।
स्वास्थ मन्त्रालयले सकृय संक्रमितको संख्या २५ हजार पुगेमा फेरी देशभर लकडाउन गर्ने सुझाव दिएको छ।
नेपालले मार्च २४ देखि झण्डै तीन महिना लकडाउन गरेको थियो भने त्यसपछि स्थानीय निकायहरुले क्षेत्रीय स्तरमा लकडाउन वा निषेधाज्ञा जारी गरिरहेका छन्।

वामदेव
सर्वोच्च अदालतले सरकारलाई नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनित गर्ने कारण देखाउन आदेश दिँदै त्यतिञ्जेल गौतमलाई संसदमा कुनै पनि काम नगर्न/नगराउन अन्तरिम आदेश दिएको छ।
प्रत्यक्ष चुनाव हारेका गौतमलाई मन्त्री मण्डलले राष्ट्रिय सभामा मनोनित गरेपछि दुइ जनाले त्यस विरुद्ध हालेको रिटमा सर्वोच्च अदालतले त्यस्तो फैसला गरेको हो।
अधिवक्ता बद्रिराज भट्टले दर्ता गरेको रिटमा राष्ट्रपतिले गौतमलाई यो पद दिने निर्णय गलत रहेको बताइएको छ र उक्त निर्णय फिर्ता लिन माग गरिएको छ।
अधिवक्ता दिनेश त्रिपाठीको रिटमा गौतमलाई मन्त्री पद दिन नहुने र सरकारले राष्ट्रसभामा नियुक्त गर्ने व्यक्तिहरुको विषयमा मापदण्ड तयार गर्नुपर्ने माग गरिएको छ।
राष्ट्रिय सभामा राजनितिमा नलागेका कुनै विषयका विज्ञलाई मनोनित गर्नुपर्ने मान्यता छ। तर राष्ट्रिय सभामा गौतम बाहेक अरु ६ जना त्यस्ता प्रत्यक्ष चुनाव हारेका नेता मनोनित गरिएका छन्। यो प्रवृत्तीले राज्यसभाको उद्देश्य निरर्थक हुने डर बढेको छ।
डा. गोविन्द केसी
स्वाथ्य क्षेत्रमा सुधारको माग गर्दै सेप्टेम्बर १५ देखि अनसनरत डा. गोविन्द केसीको अभियानमा विभिन्न किसिमका हस्तक्षेप भएका छन्।
जुम्लामा १९औं अनसन थालेका केसीको स्वास्थ्य खराब हुँदै गएपछि उनी जुम्लाबाट नेपालगञ्जस्थित भेरी अस्पताल र त्यसपछि मंगलबार काठमाडौं ल्याईएका थिए।
उनी शिक्षण अस्पताल जाने तयारी रहेता पनि काठमाण्डुमा अवतरण गर्नेबित्तिकै उनलाई प्रहरीले जबर्जस्ती वीर अस्पतालको ट्रमा सेण्टर लगेको थियो। केसीले त्यहाँ बस्न नमानेपछि त्यसै रात उनलाई ट्रमा सेण्टरले छोडेको थियो।
हाल त्रि. वि. शिक्षण अस्पतालमा उपचार भईरहँदा पनि डा. केसीले आफ्नो ६ बुँदे माग राख्दै अनसन बसिरहेका छन्। अनसनको १२औं दिन उनले अस्पतालबाट यस्तो सन्देश दिएका थिएः
“सबै नेपालीहरुको गुणस्तरीय, निःशुल्क स्वास्थ सेवा र शिक्षामा समान पहुँच होस् र त्यसको सुनिश्चितता गरियोस्...यो सुशासनकोलागि हो…”
हप्ताभरी केसीका समर्थकहरुले देशभर प्रदर्शन गरिरहेका छन् र युवा आन्दोलनलाई प्रहरीले लगातार तितरबितर गर्ने कोशिश गरिरहेको छ। शनिबार माइतीघर मण्डलाबाट प्रहरीले केही युवालाई पक्राउ समेत गरेको छ।

बाढी पहिरो
यस हप्ता देशभर विभिन्न ठाउँमा बाढिपहिरोको कारण कम्तीमा १७ जनाले ज्यान गुमाएका छन् भने कम्तीमा १५ जना बेपत्ता भएका छन् र सयौं विस्थापित भएका छन्।
अविरल वर्षाको कारण पश्चिम नवलपरासीमा एक हजारभन्दा बढि घरहरु डुबानमा परेका छन् ।
नेपाली सेनाले यस वर्षको मनसुनमा २३४ जनाको शव व्यवस्थापन र ३९९ को जिवित उद्दार गरेको तथ्यांक पनि भरखरै सार्वजनिक भएको छ । विभिन्न सडकमा पहिरो खस्दा फेरी पनि सवारी साधन सञ्चालन अवरुद्ध भएका छन् ।
भिषण वर्षाले गर्दा गत महिना बाजुरा र बाग्लुङमा निकै ठूलो धनजनको क्षति भएको थियो ।
अगस्ट महिनामा सकिनु पर्ने मनसुन यो वर्ष सेप्टेम्बर सम्म जारी रहँदा वर्षातले धनजनको कहालीलाग्दो क्षति गरेको छ।

बलात्कार
राष्ट्रिय सभा सदस्य रामनारायण विडारीले एउटा टेलिभिजन कार्यक्रममा बलात्कारको विषयमा दिएको अभिव्यक्ति धेरै आलोचित बनेको छ।
एपीवान टेलिभिजनमा उनी भन्छन्,
“रेपको मुद्दाहरु हेर्ने हो भने, साबालकको रेप त ९० प्रतिशत रेप हैन । उमेर पुगेका मान्छेहरुले रेप गर्यो भन्यो भने, मलाई त त्यो ९० प्रतिसत होईन भन्ने लाग्छ । १० प्रतिशत हुन सक्छ। सहमतिमा आनन्द लिने अनि कुरा नमिलेपछि मुद्दा लाईदिने ।”
विडारीको यस भनाइलाई थुप्रैले सामाजिक सञ्जालमा आलोचना गरिरहेका छन् भने केही सञ्चार माध्यममा लेख पनि प्रकाशित भएका छन्।
बिडारीको यस्तो मन्तव्य आईरहेको बेला नेपालमा यौन हिंसा र बलात्कारका घटना हुने क्रम जारी छ, र वर्षेनी झण्डै २००० यस्ता घटना प्रहरीमा दर्ता गरिन्छन्।
यसै हप्ता बझाङमा एक १२ वर्षिय बालिकाको बलात्कार र हत्या, र सुनसरीमा एकजना बालिकाको शंकास्पद अवस्थामा मृत्यु भएपछि त्यसको धेरै विरोध भइरहेको छ।
आङ रिता शेर्पा
दस पटक बिना अक्सिजन सगरमाथा आरोहण गरेका आङ रिता शेर्पाको बुधबार अन्त्यष्टि गरिएको छ। ‘हिम चितुवा’का नामले परीचित शेर्पाको जोरपाटीस्थित निजि निवासमा सोमबार देहावसान भएको हो ।
सोलुखुम्बुमा जन्मेका शेर्पा ७२ वर्षका उनी गत तीन वर्षदेखि विरामी थिए ।
शेर्पाले सगरमाथा बाहेक पाकिस्तानको माउन्ट केटू र नेपालको मनास्लु, ल्होत्से, अन्नपूर्ण, धौलागिरि र अन्य दर्जनौं हिमाल आरोहण गरेका थिए। सन् १९७३ देखी सगरमाथा आरोहण थालेका शेर्पा सुप्रबल गोरखा दक्षिण बाहु पहिलो लगायत विभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय पुरस्कारबाट सम्मानित थिए।

रानी पोखरी
पाँच वर्षभन्दा बढी समय सुख्खा रहेको रानीपोखरीमा फेरी पानी हालिएको छ। मध्य काठमाण्डुको आकर्षणको केन्द्र रानीपोखरी सन् २०१५ को भूकम्पमा क्षतिग्रस्त बनेको थियो।
यसको पुनर्निमाण गर्ने क्रममा काठमाण्डु महानगरपालिकाले आधुनिक शैली र सामग्री प्रयोग गर्न लागेको भनेर विवादिन पनि बनेको थियो।
तर अभियानकर्ताहरुको प्रयासपछि भक्तपुरमा बनाइएका माटोका ईंटाले प्राचीन शैलीमा भक्तपुरका महिलाले यो पोखरीको पुनर्स्थापना गरेका छन्। रानीपोखरीको बीचको मन्दिर भने अझै पुनर्निर्माण हुने क्रममा छ।





