अस्ट्रेलियाको पूर्वी तटीय क्षेत्रमा फेब्रुअरीको सुरुवात देखि नै भारी वर्षा हुँदा बाढी र डुबानको परिस्थिति सिर्जना भएको छ।
यसले गर्दा समुन्द्री पर्यावरणमा प्रतिकूल प्रभाव पर्न सक्ने भन्दै चिन्ताहरू व्यक्त भएका हुन्।
यस वर्षको गर्मी याम सुख्खा मौसम , प्रचण्ड गर्मी र डढेलो युक्त रह्यो।
डढेलो र ग्रामीण क्षेत्रमा देखिएको खडेरीका कारण वाक्क भएका अस्ट्रेलियालीहरूले फेब्रुअरीको सुरुवाती दिनहरू देखि जारी वर्षालाई खुल्ला हृदयले स्वागत पनि गरे।

तर यस्तो प्रकृतिको भारी वर्षाले समुन्द्री तटीय क्षेत्रमा निम्त्याउने बाढीले गर्दा समुन्द्री पर्यावरण जोखिममा रहने भन्दै विज्ञहरूले सचेत गराएका छन्।
ओसन प्रोटेक्टका संस्थापक मध्येका एक जेरेमी ब्राउन नालीहरूमा आँधीका कारण पानीमा जम्मा हुने फोहोर छान्ने उपकरणहरू बनाउँछन्।
र उनका अनुसार यो वर्षाका कारण सिड्नीका बन्दरगाहमा विगत चार दिनमा लगभग पाँच वटा ओलम्पिक आकारका स्विमिङ पुलहरू बराबरको फोहोर जम्मा हुनेछ।
"सहरी क्षेत्र, जहाँ हामी बस्छौँ, यस्ता वर्षाका कारण त्यहाँको फोहोर बगेर अन्ततः साना नदीहरू, खोला र समुन्द्र सम्म पुग्दछ।"
गएको सप्ताह अन्त्यमा भएको भारी वर्षाका कारण सिड्नीको पूर्वी तटीय क्षेत्रमा बाढी र भयानक छालहरू देखिएको थियो।
आँधीको पानी निकास गर्ने नाली समुन्द्रमा मिल्ने हुनाले पानी सहित रासायनिक तथा अन्य फोहोरहरू पनि सँगै बगेर समुन्द्रमा पुगेको बताइन्छ।

ओसन प्रोटेक्टमा वातावरण इन्जिनियर रहेका माइकल विक्स भन्छन्, "बितेका केही दिनमा निकै भारी वर्षा भएको छ, र त्यस्तो वर्षामा जति धेरै ऊर्जा हुन्छ त्यसले त्यति नै हाम्रो वरपर रहेका फोहोरहरू बगाएर लाने गर्दछ।"
मक्वयरि युनिभर्सिटीकी डा. क्याथरिन ड्याफोर्न भन्छिन् त्यो क्षति डढेलो पछि त झन् बढ्ने सम्भावना रहन्छ। डढेलोका कारण जम्मा भएका खरानी लगायत पनि बगाएर प्रदूषण झन् बढ्ने गर्दछ।
यसरी समुन्द्री पर्यावरणलाई नकारात्मक प्रभाव पार्ने मध्ये अर्को प्रमुख कारक भनेको एक पटक प्रयोग हुने प्लास्टिकका झोलाहरू भएको डा ड्याफोर्न बताउँछिन्।
"पानी निकासमा जम्मा हुने फोहोरहरू निकै ठुलो समस्याका रूपमा रहेका छन्। हामीसँग त्यस्ता नालीहरूमा फोहोर छान्ने उपकरणहरू रहेका छन् तर केही दिन देखि पानीले बगाएर ल्याएको फोहोरको त्यो परिमाणलाई धान्न ती उपकरणहरू पर्याप्त हुने छैनन्।"

यिनै चिन्ताहरूका बिच वातावरण बिगार्नु पूर्व नै त्यस्ता फोहोरहरूलाई छान्ने पूर्वाधार विकास गरिनु पर्ने आवाज उठ्न थालेका छन् र जेरेमी ब्राउन पनि अस्ट्रेलियालीहरू आफ्नो बानीमा परिवर्तन ल्याउन आग्रह गर्छन्।
"यदि कसैसँग वर्षाको पानी सञ्चित गर्ने ट्याङ्क छैन भने ल्याउनुहोस्। एक पटक मात्र प्रयोग हुने प्लास्टिकका झोला प्रयोगमा कमी ल्याउने, त्यस्तै रिसायकललाई अझ प्रभावकारी बनाउने,र अन्त्यमा समुन्द्र तटहरूमा सञ्चालन हुने सर सफाइले सर्वसाधारणलाई हाम्रो समुन्द्र कसरी प्रदूषित हुन्छ भनेर जानकारी दिन प्रभावकारी हुन्छ।"




