Key Points
- अस्ट्रेलियाका प्रथम बासिन्दाका समुदायहरू बिच व्यापक रूपमा विविधता छ
- अस्ट्रेलियाभर छरिएर रहेका यस्ता लगभग ५०० आदिवासी समुदायहरूको आ-आफ्नै मौलिक चालचलन, संस्कृति, आनीबानी, भाषा, जीवनशैली अनि पारिवारिक संरचनाहरू छन्
- अस्ट्रेलियामा आदिवासी र अन्य समुदायका मानिसहरू बिच किन खाडल छ भनेर जान्न सबै एबोरिजिनल तथा टोरेस स्ट्रेट आइल्यान्डर समुदायहरू फरक-फरक छन् भन्ने बुझ्नु जरूरी छ
अस्ट्रेलियाभर छरिएर रहेका यस्ता प्रथम बासिन्दाहरूको आ-आफ्नै मौलिक चालचलन, संस्कृति, आनीबानी, भाषा, जीवनशैली अनि पारिवारिक संरचनाहरू हुन्छन्।
यस्तो विविधतालाई बुझ्न सकियो भने एबोरिजिनल तथा टोरेस स्ट्रेट द्विप समूहका मूल बासिन्दाहरूसँग काम गर्दा वा उनीहरूको सामीप्यमा आफूलाई पाउँदा अन्य सबै पृष्ठभूमिका मानिसहरूलाई सजिलो त हुन्छ नै, विश्वासिलो एवं अर्थपूर्ण सम्बन्ध गाँस्न पनि मद्दत पुग्न सक्छ।
अस्ट्रेलियाका आदिवासीहरू यहाँको भूमि वा माटोसँग निकै महत्त्वपूर्ण सम्बन्ध राख्छन् जुन उनीहरूको पहिचान र आफ्नोपनका लागि अपरिहार्य हो।
यसबारे राम्ररी बुझ्न तपाईँले अस्ट्रेलियाका प्रथम बासिन्दाका समुदायहरू बिच व्यापक रूपमा विविधता छ भनेर मनन गर्नै पर्छ।

आन्टी मुन्या एन्ड्रूज, वेस्टर्न अस्ट्रेलियाको किम्बर्ली क्षेत्रमा पर्ने बार्डी राष्ट्रकी आदिवासी अगुवा हुन्।
उनी भन्छिन् कि यो विविधता बारे बुझ्न सबैभन्दा पहिले अस्ट्रेलियाको आदिवासी नक्सा हेर्नु राम्रो हुन्छ।
आन्टी मुन्या आदिवासी अगुवा हुनुका साथै एक लेखिका, वकिल इभल्भ कम्युनिटिज नामक संस्थाकी सह-निर्देशिका पनि हुन्।
उनले सबै आदिवासीहरूलाई एकै घानमा हालेर हेर्दा सही नहुने कुरामा जोड दिन्छिन्।

कार्ला रोजर्स आन्टी मुन्यासँगै काम गर्ने आदिवासीहरूकी एक सहयोगी हुन्।
आजसम्म पनि अस्ट्रेलियामा आदिवासी र अन्य समुदायका मानिसहरू बिच रहेको खाडल बारे जान्न सबै एबोरिजिनल तथा टोरेस स्ट्रेट आइल्यान्डर समुदायहरू फरक-फरक छन् भन्ने ज्ञान अपरिहार्य रहने उनी थप्छिन्।
आन्टी मुन्याका अनुसार सबै आदिवासी राष्ट्र वा इन्डिजिनियस नेसनका आ-आफ्नै मौलिक संस्कृति, भाषा, कला, रहन-सहन र पारिवारिक संरचना हुन्छन्।
यस्ता कुराहरूमा राम्ररी ध्यान पुर्याउन सके कुन आदिवासी अस्ट्रेलियाको कुन कुनाको हो भनेर राम्ररी छुट्ट्याउन सकिने पनि उनी बताउँछिन्।
सदाकालदेखि बहुसांस्कृतिक अस्ट्रेलिया
अस्ट्रेलियाका आदिवासीहरू बहु संस्कृतिवादका विशेषज्ञ नै हुन् भन्छिन् आन्टी मुन्या।
जापानी पृष्ठभूमि पनि रहेकी डा मारिकको स्मिथ युइन समुदायकी महिला हुन्।
म्युजियमकी एक क्युरेटरका साथै समाजशास्त्री तथा इतिहासविद् पनि रहेकी उनी भन्छिन् कि आदिवासी समुदाय बिच पाइने विविधता बारे समाजमा सचेतनाका अभावका कारण हुर्कँदै गर्दा आफूले निकै चुनौतीहरूको सामना गर्नुपर्यो।

अहिलेसम्म पनि अस्ट्रेलियाका आदिवासीहरूलाई लिएर थुप्रै गैर आदिवासी अस्ट्रेलियावासी बिच यस्तै रूढीवादी सोच व्याप्त रहेको डा स्मिथ बताउँछिन्।
उनका अनुसार साँच्चिकै अर्थमा समावेशी समाज हुने हो भने अस्ट्रेलियाले यो विविधतालाई मान्यता दिँदै यसलाई अँगाल्नुपर्छ।
गैर आदिवासी मानिसहरूले यो विविधतालाई बुझ्न नसक्दा भने उनीहरूबाट गल्तीहरू हुन सक्छ।
यसै कारण, अस्ट्रेलियाको आदिवासी नक्सा हेरेर आफू कुन राष्ट्रमा छु पत्ता लगाउनुहोस् अनि उनीहरूको संस्कृति। जस्तो कि तपाईँ विश्वका अन्य महादेशमा जाँदा गर्नुहुन्छ!
स्थानीय आदिवासी भूमि परिषद् वा लोकल एबोरिजिनल ल्यान्ड काउन्सिल वा तपाईँ बस्ने ठाउँको स्थानीय काउन्सिल दुवैले तपाईँलाई विस्तृत जानकारी दिन सक्छन्।
अनि यो स्व अध्ययनको विषय भएको पनि आन्टी मुन्याको भनाई छ।







