कोरोना
यस हप्ता नेपालमा कोरोना संक्रमित मानिसको संख्या डेढ लाख भन्दा बढी र मृतकको संख्या ८०० भन्दा बढी पुगेको छ।
सरकारले आईतबार देखि सरकारी अस्पतालले कोरोना संक्रमितको परीक्षण र उपचार निःशुल्क नगर्ने निर्णय गरेको छ। त्यस अनुसार सोमबारदेखि विभिन्न सरकारी अस्पतालले सरकारी मापदण्ड अनुसार कोरोना परीक्षण गर्न पैसा लिन थालेपछि परीक्षण गराउन आउने मानिसको संख्या घटेको छ।
कोरोना संक्रमितको पहिचान नहुँदा समुदायमा झन् फैलने डर बढिरहेको छ। सरकारको यस निर्णयको धेरै विरोध भएपछि प्रधानमन्त्री केपी ओलीले दशैंको सन्देशमा स्पष्टीकरण पनि दिएका छन्।
"सरकारले सक्ने आफैं बाँच, नसक्ने जेसुकै गर भन्यो भन्ने जस्ता हल्ला फेरि पनि सुनिएको छ । सम्बन्धित अस्पताल, विकास समिति, संक्रमित व्यक्ति वा परिवारले सक्दिन भन्ने स्वघोषणा गरेको अवस्थामा निःशुल्क उपचारको व्यवस्था निरन्तर जारी छ ।"
सरकारको निर्णयअनुसार छुट्याइएका समूहलाई भने अझै पनि निःशुल्क उपचार प्रदान गरिँदैछ।
आर्थिक रुपमा विपन्न, अशक्त तथा असहाय अवस्थामा रहेका नागरिक, असहाय एकल महिला, अति अपाङ्गता भएका नागरिक, जेष्ठ नागरिक, अग्रपंतिमा खटिने स्वास्थ्यकर्मी, सरसफाई कर्मचारी, सुरक्षाकर्मी लगायतको मात्रै लक्षण देखिएको खण्डमा मात्र परीक्षण र उपचार निःशुल्क गरिनेछ।

Nepalese devotees wearing protective gear as a precautionary measure against the coronavirus during festival in Kathmandu, Nepal, Wednesday, Oct. 21, 2020. Source: AAP
प्रहरीको हत्या
कैलालीबाट भारततर्फ केराउ तस्करी गरिरहेको बेला रोक्न खोज्दा दुई प्रहरी जवानको हत्या गर्ने ७ जानाको समुहलाई प्रहरीले पक्राउ गरेर मंगलबार सार्वजनिक गरेको छ ।
धनगढी उपमहानगरपालिकाबाट पक्राउ गरिएका अभियुक्तहरुले अघिल्लो शनिबार नियमित गस्तीमा रहेका प्रहरी सहायक निरिक्षक गोविन्द बिक र जवान रामबहादुर साउँदको हत्या गरेर भारतको मोहना नदिमा फालेको पुष्टी भएको छ।
गस्ती गर्ने क्रममा बिक र साउँद गत शनिवार राति ८ बजे नियमित रुपमा निस्किएका थिए। उनीहरुले तस्करलाई खोज्दै गर्दा तस्करहरुले उनीहरुलाई धारिलो हतियारले प्रहार गरि नजिकैको भारततर्फको मोहना नदीमा फालेर फरार भएका थिए।
घटनाको भोलिपल्ट खोजीको क्रममक असई विकको शव भेटिएको थियो र जवान साउदको शव सोही नदीमा मंगलबार फेला परेको थियो।
शुरुमा पक्राउ गरिएका १३ जना मध्ये ७ जना हत्यामा संलग्न भएको बताइएको छ।
भारतमा केराउको उच्च मागका कारण केही समययता नेतालबाट केराउ तस्करी भइरहेको पनि यस घटनाका कारण खुलेको छ। मृतकका परिवारले उनीहरुलाई शहीद घोषणा गर्नुपर्ने र परिवारको जिम्मा सरकारले लिनुपर्ने माग गरिरहेका छन्।
दशैं
नेपालका हिन्दु धर्मावलम्बीको सबैभन्दा ठुलो चाड दशैं शुरु भएता पनि यस वर्ष दशैंको रौनक निकै कम देखिएको छ।
बन्दाबन्दी भन्दा अगाडि धेरै मानिसहरु काठमाण्डुबाट बाहिर गइसकेको हुनाले यस वर्ष काठमाण्डु बाहिर जाने सार्वजनिक यातायातमा निकै कम भीड देखिएको छ।
पछिल्ला वर्षमा दैनिक १००० बस काठमाण्डु बाहिर जानेमा यस वर्ष दैनिक २०० मात्रै गइरहेको बताइएको छ।
सरकारले भीडभाड कम गरेर जनस्वाथ्यका मापदण्डको पालना गर्दै दशैं मनाउन विभिन्न माध्यमबाट आग्रह गरिरहेको छ।
स्वास्थ्य मन्त्री भानुभक्त ढकाल भन्छन्, "यस पटक कोरोना महामारीका कारण हामीले जनस्वास्थ्यका मापदण्डको पूर्ण रुपमा पालना गर्नुपर्ने भएकाले यस चाडलाई सीमित रुपमा मनाउनुपर्ने बाध्यात्मक परीस्थिति सिर्जना भएको छ। परिस्थितिको यो बाध्यता अनुरुप नै चाडपर्व मनाउन म सम्पूर्णमा अपील गर्दछु।"
दशैंमा पूजा गरिने देवीका मन्दिर वा शक्तिपीठहरुमा कतिपयले निषेधाज्ञा जारी गरिसकेका छन् भने कतिपयले भीडभाड नगर्ने चेतावनी दिएका छन्।
प्रधानमन्त्री कार्यालयमा सार्वजनिक दशैंको टिका कार्यक्रम नहुने प्रधानमन्त्री केपी ओलीले बताइसकेका छन्। थुप्रै जनप्रतिनिधिले दशैंको भत्ता फिर्ता गर्ने वा कोरोना संक्रमितको उपचारमा खर्चिने घोषणा पनि गरिसकेका छन्।

Gun salute for Fulpati in Nepal Source: RSS
भारतीय गुप्तचर सँस्था प्रमुख नेपालमा
प्रधानमन्त्री केपी ओलीले भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलसँग गुप्त रुपमा भेटघाट गरेपछि राजनीतिक वृत्तमा हलचल भएको छ।
प्रधानमन्त्रीले कुनै सरकारी निकाय वा आफ्नो पार्टीलाई पनि जानकारी नदिई गोयलसँग बुधबार भेटघाट गरेको खुलेपछि पार्टीले यसबारेमा छलफल गरेको बताएको छ।
कालापानीमा सीमा विवाद लगायतका समस्याका कारण दुई देशबीचको सम्बन्ध तनावग्रस्त रहेको बेलामा भारतले यो भेटबाट सम्बन्ध सुधार्ने प्रयास शुरु गरेको हो कि भन्ने अनुमान केहीले गरेका छन।
गोयल अनौपचारिक रुपमा व्यक्तिगत भ्रमणमा आएको भारतीय पक्षको भनाइ रहेको छ।
तर उनी नेपालको परराष्ट्र मन्त्रालयको अनुमतिप्राप्त कुटनीतिक उडानमा चार्टर्ड विमानमा आएका थिए, र प्रधानमन्त्रीसँग उनले दुई देश बीचको सम्बन्धका बारेमा वार्ता गरेको बताइएको छ।
नेपालमा विदेशीले राजनीतिक भेटघाट गर्न चाहेमा परराष्ट्र मन्त्रालयका प्रतिनिधी पनि सँगै रहनुपर्ने नियम छ। र त्यस्तो नियम पालन नगरी गरिएको व्यक्तिगत भेटघाट कुटनीतिक मर्यादा विपरीत भएको भन्दै सत्तारुढ दल नेकपाकै थुप्रैले यसको विरोध गरिरहेका छन्।
विपक्षी दल नेपाली कांग्रेसका नेता गगन थापा लगायतले यस घटनाको छानबीन गर्नुपर्ने माग गरिरहेका छन्।

Nepal's Prime Minister KP Sharma Oli giving a speech during the country's Constitution Day 2020 Source: RSS
लिम्पियाधुरा नक्शा
भारतीय गुप्तचर सँस्थाका प्रमुखसँगको भेटघाट लगत्तै दिइएको प्रधानमन्त्री केपी ओलीको शुभकामना सन्देश विवादमा परेको छ।
शुक्रबार प्रधानमन्त्री केपी ओलीले ट्वीटरमा दशैंको शुभकामना दिएको चित्रमा नेपालको पुरानै नक्शा देखिन्छ। र भारतसँग सीमा विवाद भइरहेको तर नेपालले आफ्नो भनेर नयाँ नक्शामा समेत राखेको लिम्पियाधुरा भने देखिँदैन।
भारतीय अधिकारीसँगको भेटपछि विवादित भूमी नक्शाबाट गायक हुँदा प्रधानमन्त्रीको धेरै आलोचना भएको छ।
यसपछि प्रधानमन्त्रीको सचिवालयले प्रेस विज्ञप्ती जारी गर्दै सानो नक्शामा त्यस्तो देखिनु स्वाभाविक भएको बताएको छ।
रानीपोखरी
काठमाण्डुको मध्यमा रहेका ऐतिहासिक रानिपोखरी र दरबार हाई स्कुलको भुकम्पपछि पुनर्निर्माण गरिएपछि राष्ट्रपति विध्यादेवि भण्डारीले यसै बुधबार उद्घाटन गरेकि छिन्।
कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रका उच्च सरकारी पदाधिकारीहरूको पनि सहभागिता रहेको थियो ।
यी दुवै संरचना चीन सरकारको सहयोगमा निर्माण भएका हुन् र निर्माण कार्य भुकम्प पुनर्निर्माण प्राधिकरण र स्थानीय नेवार समुदायको संयोजकत्वमा सम्पन्न भएको छ।
रानीपोखरीको बीचमा रहेको बालगोपाल मन्दिरलाई मल्लकालिन शिखर शैलीमा पुनर्निर्माण गरिएको छ।
मन्दिरलाई वि सं १९९० को भुकम्पले भत्काएपछि तत्कालिन प्रधानमन्त्री जुद्ध शमशेरले गुम्बज शैलीमा पुनः निर्माण गर्न आदेश दिएका कारण यो भन्दा अघि त्यो मन्दिर गुम्बज शैलीमा रहेको थियो।
तर उपलब्ध अभिलेख मध्ये सबभन्दा पुरानो अभिलेख अनुसार पुनर्निर्माण गर्नुपर्ने नियमअनुसार यस मन्दिरलाई मल्लकालीन शैलीमा फर्काइएको हो।

Newly renovated Rani Pokhari in Kathmandu Source: RSS