कोरोना
यस हप्ता नेपालमा कोरोना संक्रमित मानिसको संख्या २ लाख ४० हजारको नजीक छ भने मृतकको संख्या झण्डै १६०० पुगेको छ।
नेपालमा कोरोनाको संक्रमण दर घट्दै गएको देखिएको छ। प्रतिदिन करीब १० हजार जनाको परीक्षण हुँदा १०००-१२०० जनाको हाराहारीमा मात्र संक्रमण देखिएको छ।
तर आजकाल मानिसले परीक्षण कम गराउने भएकाले पनि संक्रमण घटेको जस्तो देखिएको केही विज्ञ बताउँछन्।
मानिसहरु विदेश जाने तयारीमा मात्र परीक्षण गर्ने र अन्यथा लक्षण देखिए पनि परीक्षण नगराउने प्रवृत्ती बढेकाले संक्रमण घटेजस्तो देखिएको, तर समुदायमा भने झनै फैलिएको आशंका गरिएको छ।

रामचन्द्र पौडेल
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई बुधबार तनहुँमा प्रहरीले गिरफ्तार गरेपछि देशभर त्यसको विरोध भएको छ। विपक्षी दलका नेता पौडेल तनहुँको बुल्दी पुल उद्घाटन गर्न गृह जिल्ला पुगेका थिए।
तनहुँमा सत्तारुढ नल नेकपाका स्थानीय नेताले पौडेललाई पुल उद्घाटन गर्न नदिने र पुलको निर्माण समितिले भने उनीबाटै गराउने तयारी गरेपछि झडप हुने सम्भावनाका कारण जिल्ला प्रशासनले त्यहाँ निषेधाज्ञा जारी गरेको थियो। तै पनि पौडेल उद्घाटन स्थलमा पुगेपछि प्रहरीले उनलाई गिरफ्तार गरेको थियो।
सामाजिक सञ्जालमा देखिएका थुप्रै भिडियोमा प्रहरीले पौडेलमाथि बल प्रयोग गरेको देखिन्छ।
कांग्रेसका नेता शेरबहादुर देउवा लगायतले उनको रिहाईको माग गरेपछि प्रहरीले राती उनलाई छोडेको हो। यो घटनाको देशभर विरोध भइरहेको छ, र भोलीपल्ट पौडेलले नै पुल उद्घाटन गर्ने क्रममा भनेः "यो पुलिसको डण्डाले मेरो करङ पेलेको मलाई हिजो दिउँसो भन्दा साँझ दुःख्यो र हिजोभन्दा आज बढी दुःखिरहेको छ। अहिले मलाई बोल्न अलिकति असजिलो भएको छ। यो ७० वर्षको लडाइँमा पुलिसको दमन र पेलानले कहिले पनि छोडेन। देशमा लोकतन्त्र आईसकेपछि पनि यो पेलानमा पर्नुपर्ने स्थिति विद्यमान रहनाले लोकन्त्र साकार अझै गर्न बाँकी छ भन्ने सिद्ध भएको छ।"
यस घटनाको विरोधमा नेपाली कांग्रेसले तनहुँमा विशाल जुलुस र काठमाण्डुको माइतीघरमा प्रदर्शन सहित देशभर नै विरोध कार्यक्रम गरेको छ, जसका क्रममा थुप्रै कार्यकर्ता घाइते भएका छन्।
सत्तारुढ दल नेकपाले शक्तिको दुरुपयोग गरेको र सर्वसत्तावाद तर्फ बढेको धेरैको आरोप छ।
यो भन्दा अघि पनि प्रहरीले स्वास्थ्य क्षेत्रका अभियन्ता डा. गोविन्द केसी लगायत थुप्रै मानिसलाई कुनै ठोस अपराध बिना गिरफ्तार गरेर यस्तो प्रवृत्ती देखाइसकेको छ।

राजावादी प्रदर्शन
देशभर राजावादी प्रदर्शनहरु बढ्दै गएपछि गृह मन्त्रालयले राजनीतिक आन्दोलन, जुलुस लगायतका प्रदर्शनमा कडाई गर्ने निर्णय गरेको छ।
यस हप्ता काठमाण्डु, पोखरा लगायत देशका थुप्रै शहरमा हजारौंको संख्यामा राजावादी समूहहरुले प्रदर्शन गरेका छन्। प्रायःजसो प्रदर्शनहरु अहिलेसम्म राजनीतिक पार्टीका रुपमा नाम नसुनिएका समूहले गरेका छन्।
राष्ट्रवादी नागरिक समाज, वीर गोर्खाली अभियान, नेपाल विद्वत परिषद, स्वतन्त्र देशभक्त नागरिक, लगायतका समूहले प्रदर्शन गरिरहेका छन् भने राजावादी जनता र नेताले स्वतःस्फुर्त रुपमा यस्ता अभियानमा भाग लिइरहेका छन्।
राजावादी एजेण्डा भएको राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले भने आफ्ना पार्टीका सदस्यलाई यस्ता कार्यक्रममा सहभागिता जनाउने निर्देशन दिएको छ।
प्रदर्शनका कारण भीडभाड बढ्दै गएको भन्दै यस्ता प्रदर्शन नियन्त्रण गर्न गृह मन्त्रालयले प्रहरी र जिल्ला प्रशासनहरुलाई निर्देशन दिएको छ, र शनिबारको देशव्यापी प्रदर्शनमा ठुलो संख्यामा प्रहरीको उपस्थिति रहेको छ।
राजावादीको पक्षमा उठेको यो लहरले वर्तमान परिस्थिति र नेतृत्वप्रति मानिसहरुको असन्तुष्ट देखिएको धेरैको बुझाइ छ। तर यो नेतृत्व वा गणतन्त्रात्मक राज्य संरचना जतिसुकै चित्त नबुझ्दो भएतापनि राजतन्त्रलाई ब्युँताउन भने नहुने सामाजिक सञ्जालमा धेरैको प्रतिकृया छ।

कक्षा १२ को परीक्षा
कोरोनाको संक्रमणका कारण रोकिएको कक्षा १२ को परीक्षा यसै हप्ता मंगलबार सकिएको छ, र एक महिनामा नतीजा दिने सरकारको तयारी रहेको छ।
नौ हजार भन्दा बढी परीक्षा केन्द्रमा झण्डै साढे चार लाख विद्यार्थीले परीक्षा दिएका छन्।
प्रायःजसो विद्यार्थीले आफुले पढेको विद्यालयमा अर्थात होम सेण्टरमा परीक्षा दिएका छन्। प्रत्येक परीक्षा स्थलमा हेल्थ डेस्कको व्यवस्था गरिएको, हात धुने र तापमान नाप्ने व्यवस्था गरिएको र प्रत्येक कोठामा २० जना मात्र परीक्षार्थी राखिएको बताइएको छ।
विशेष परिस्थितिका कारण ४० पुर्णांकको संक्षिप्त परीक्षा मात्र लिइएको छ। परीक्षाको उत्तर पुस्तिका परीक्षा बोर्डले जाँचेपछि कक्षा ११ को पुर्णांकसँग मिलाएर नतीजा निकालिने छ।
कोभिड प्रभावित ऋणी
कोरोना प्रभावित ऋणीहरुले ६ महिनासम्म ब्याज तिर्न नसके पनि धितो लिलामी नहुने नेपाल राष्ट्र ब्यांकले बताएको छ। नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको त्रैमासिक समिक्षा गरेपछि त्यस्तो निर्णय गरेर अन्य ब्यांकहरुलाई पनि त्यस्तै निर्देशन दिएको हो।
कोरोनाका कारण धितो लिलामी हुने अवस्थामा पुगेका हजारौं ऋणीहरुले केहि समयका लागि राहत पाउने भएका छन् ।
गत असारदेखि ब्याज तिरे/नतिरेको गणना हुनेछ । यसका साथै कोभिड–१९ संक्रमणबाट अधिक प्रभावित होटल लगायतका पर्यटन व्यवसाय र पशुपन्छी पालन व्यवसायलाई प्रदान गरिने पुनर्कर्जामा थप सहजीकरण गरिने पनि समीक्षामा बताइएको छ।
टिकटक
प्रधानमन्त्री केपी ओलीले टिकटकमा अकाउण्ट खोलेर भिडियो पोस्ट गरेपछि त्यसको पक्ष र विपक्षमा निकै चर्चा भएको छ। विशेषगरी युवापुस्ता माझ लोकप्रिय टिकटकमा मानिसहरुले छोटोछोटो भिडियो बनाएर राख्ने गर्छन्।
नाच, अभिनय र भ्वाइस ओभरका पोस्टहरु यो एपमा धेरै गरिन्छन् र यो मनोरञ्जनका लागि बढी लोकप्रिय छ। भेरिफाइड अकाउण्ट बनाएका प्रधानमन्त्री ओलीले भने टिकटकमा आधिकारिक जानकारीहरु राखिरहेका छन्।
"मालपोत, विद्युत महसुल, आन्तरिक राजस्व, भन्सार महसुल, सवारी चालक अनुमतिपत्र, र नवीकरण जस्ता नागरिकसँग प्रत्यक्ष जोडिएका सेवालाई एकीकृत सूचना प्रणालीमा आबद्ध गराउने प्रकृया शुरु भइसकेको छ।"
प्रधानमन्त्री जस्तो जिम्मेवार पदमा रहेका मानिसले यस्तो मनोरञ्जन प्रधान एपमा समय दिन नहुने धेरैको तर्क रहेको छ र सामाजिक सञ्जालमा यसको विरोध पनि भइरहेको छ।
अर्कोतर्फ, देश विदेशका नेताले यस्ता युवा पुस्तामाझ लोकप्रिय इन्स्टाग्राम र स्न्यापच्याट प्रयोग गर्ने गरेका छन्, र युवा पुस्तासँग सम्पर्क बढाउनका लागि नेपालका प्रधानमन्त्रीले पनि त्यसो गर्नुलाई सकारात्मक रुपमा लिने पनि थुप्रै छन्।





